अन्तर्प्रश्न

अपुर्णता एउटा ठूलो शिक्षक रहेछ जीवनको ! मान्छेसँग जे हुँदैन त्यसको कौतुहलता र ग्यान को नशाले अझ चाँडो बुझ्छ ति कुराहरु । कसै कसैले जीवन जिउन नपाएर पनि जीवन चाँडै बुझ्छन् । शायद त्यसमध्येकी म पनि एक हुँला ।

रमा दिदी , पाँच बजी सक्यो त ,कति कुर्सिमैँ टाँसीइ राख्नु भएको ! घर जाने होईन ?

घर शब्द मलाई सँधै चसक्क बिझाउने गर्छ । एक्लै निरस र उदेश्यहिन जीवन काट्ने छानो कुनै परिभाषामा पनि घर कहलाईँदैन होला ! मैले आफ्नो पावरवाला चश्मा को बिचबाट सुजातालाई नियालेँ । मेरी आमा भन्नुहुन्थ्यो मेरा आँखाहरु असाध्यै राम्रा र ठूला छन् रे ,आजकल त्यहि चश्मा बाहिरबाट गहिरो र नराम्रो देखिन थालेको छ । सत्यहरु सँधै शाश्वत रहँदैनन् । मलाई मन नपर्ने सत्यहरु मध्येको एक !

सुजाता सँधै जस्तै अफिसबाट बाहिर निस्किँदा मलाइ पनि आग्रह गर्दै हिँडेकी थिई । मैले कहिल्यै उसलाइ बहिनी मानिन न मलाई यि महत्वबिनाका सम्बन्धका गहिराई सँग मतलब छ , तै पनि कोहिकोहि बुझीदिँदैनन् मलाई ! मैले अफिसको घडि हेरेँ घडिमा पाँच पाँच भइसकेको थियो । म बिस्तारै उठेँ अफिसको सेक्युरिटि गार्ड अफिस बन्द गर्न मलाइ कुरेर बसिरहेको थियो । म रोकिएको छैन जीवनमा ,गतिशिल छु तर पनि कहिले काहिँ मेरो गति स्थिर बसेका प्रतिद्वन्दि सँग पनि हार्ने गर्छ ।

साग कसरि मुठा ? मैले मेरो कोठा तलतिरको दोकानदारसँग प्रश्न राखेँ । त्यो टोलमाँ उ म भन्दा पहिले आएको हो । म आएकै करिब पाँच बर्ष भइसक्यो । राम्ररि दोकान चल्दैन , कसरि धान्छ यस्तो महँगिमा काठमाण्डौमा ! सँधै जस्तो टाउको उठाएर मलाई हेर्यो अनी हेरिरह्यो । थाहा छैन के देख्छ उ म मा ! मलाई उसको अनौठो हेराई मन पर्दैन ।

यो साग कसरि मुठा भनेको ? मैले क्रमभंग गरेँ ।

पाँच रुपियाँ ! उसले टाउको उठाई उठाई जवाफ दियो । उसको हेराई यथावत थियो । सागको मुठाभन्दा म मा ज्यादा ध्यान थियो । मैले उसको ध्यानबाट आफ्नो ध्यान हटाउने प्रयास गरेँ ।

साग पहेँलो थियो ,ओइलिएको , तिनचार दिन देखी पानीकै भरमाँ बचाइराखेको जस्तो । मैले साग को गुण दोषको बारेमा छलफल गर्न पनि जरुरि ठानिन ।

छेउछाउमा अरु तरकारि पसल छैनन् ,टाढाबाट बोकेर आउन मलाई मन लाग्दैन । यो पनि एक किसिम को सम्झौता हो । दुइ किसिम को दुख बिचको । ति मद्ये जुन सानो लाग्छ त्यहि अपनाउन खोज्छु म !

सबैले मलाई सामान्य आइमाई भन्दा भिन्न देख्छन् होला , एउटा चालिस बर्ष कि अबिवाहित अनि एक्लि युवति । यति बाट मेरो बारेमा निष्कर्ष के निक्लिन्छ थाहा छैन । पक्कै पनि म एउटा निष्कर्षहिन कथा हुँला । तर मेरा पनि भोगाइहरु छन् । म र मेरो मुटुको कुनामा गाडिएका कसै कसैले वाचा बेगर छोडेका स्पर्षहरु छन् । मैले वाचा मागिन । त्यो सहि थियो वा गलत थियो थाहा छैन । पक्कै पनि उसकै जस्तो जीवन मेरो पनि भएको भए म अहिले सहि गलत तराजुमा जोखेर बस्ने थिईन होला ।