पोस्ट सिस्मिक-मेरो शहरको एउटा रात

खोइ कोही आउँछन् जस्तो छैनन्!” सरिताले चुरोट सल्काई
“चुरोट नसल्का न , यो गुम्ममा पेट हुँडल्दैन ?”
“कसैको नभको तेरो पेट !”
हर्केले सरितालाई हेर्यो उ धुवाँ फुक्न थालीसकेकी थिई
उसले ट्याक्सीको झ्याल खोल्यो धुवाँ बाहिर निस्कियो । निष्पट्ट अँध्यारो अनि सिमसिम पानी । धुवाँ पानीमा पनि त मिसियो होला थोरै । कस्तो अचम्म दुइ विपरित धार मिसिए । पर पिल पिल वल्दै गरेको वत्ति अचानक निभ्यो।
“आज लोडशेडिंग हो कि के हो ?”
सरिताले प्रश्न गरी
“के बार हो आज ?”
“भइ दे पनि हुन्थ्यो , कहिलेकाहिँ त अनुहार नहेरी काम टुंग्याउन पाए नी हुन्थ्यो जस्तो लाग्छ !” उ खिस्स हाँसी
“पर्खी पर्खी कोहि आए जस्तो छ !”
“त्यो ?” उसले नाक खुम्च्याइ ।
“किन ?”
“गोजी पनि गाला जस्तै रस सिद्दिएको होला । खवटे ।खान त पाए जस्तो छैन । पैसा के देला !”
“देला हौ पैसा त !”
“अघि खैनी पनि माड्दै थियो ,मुख गन्हाउँछ !” सरिताले आनाकानी गरी।
“मुख नजोड्नु नि त !” हर्के खितित्त गर्यो । सरिताले उसलाई हिर्काइ।
“मान्दै मान्दैनन् , जोड्नु पर्ने ठाउँ जोडेपछि त पुग्नु पर्ने हो !”
“नशा हौ सरिता नशा !” हर्केले आंग तान्यो ।
“उ त्यो परको ? ज्याकेटमा छ नी ! जा त , सोध त एक चोटी”
परेबाट ज्याकेट मात्रै देखियो । अनुहार देखिएन। सरिताले हर्केलाई अह्राइ ।
“मानेन भने चाहिँ यो पानीमा वेक्कारमा भिजिन्छ !”
“जा न जा !” उसले हर्केलाई धकेल्दी बाहिर !
*************** ***************** ************** *************** **************
“भाइ चाहिने हो ?” हर्के गएर दाह्री कन्ह्यायो । हर्केको दाह्री अलि अलि फुल्न थालेको छ । दाह्री देखेर उसलाई बिरक्त लाग्छ। तर बिहान बिहानै काट्ने जागर पनि चल्दैन । त्यहि भएर बिहान खासै ऐना हेर्दैन ।ऐनाको जातै बेइमानी जे छ त्यहि देखाउनुपर्ने, कहिलेकाहिँ नभएको देखाइदियोस् , सुधारेर देखाइदियोस् , कति खुशी हुन्थे होला मान्छे !
“के?”
“सामान !” हर्के नजिकै गएर फुसफुसायो ।
“कति ?”
“एक हजार !”
“महँगो भएन ?”
“एक चोटी गएर हेर्नु , महँगो लागे जवर्जस्ती गर्दिन !”
उ लुरु लुरु पछि आयो ।
हर्केले ट्याक्सीको भित्रको वत्ति बाल्यो । सरिताको अनुहार देखियो ।
“हुन्छ !” उसले सुस्तरी बोल्यो ।
“ट्याक्सीमा चढ्नुस्!”  हर्केले पछाडीको ढोका खोल्यो
उ सरिताको छेवैमा गएर वस्यो । ट्याक्सी हुइँकियो । सरिता टाँस्सीएर वसी ।
“के हो नाम ?”
“गौरी !” सरिताले ढाँट्दिई ।
“ढाँटेको ?” उ मुस्कुरायो ।
“किन ?”
“त्यत्तिकै !”
“तँपाइलाई नाम सँग के मतलव !”
“तिमीहरुलाई बाटो बाटो मा यसो गर्न डर लाग्दैन ?” उसको भाव अचानक परिवर्तन भो ।
“के को डर सर ? पुलिसलाई हामीले सेटिंग गरेको छ।“ अघिल्लो सिटवाट हर्के बोल्यो।
“म को हुँ चिनेको छौ ?”
“ग्राहक , ग्राहक भगवान सरह हुन्छ अरे , आज तँपाइको पुजा गर्ने !” सरिताले उसको छातीमा हात राख्दै भनी !
“तिमीहरुलाई नै पक्डिन आएको  ! म अनुसन्धानको मान्छे ! गाडी रोक !” उ अचानक कड्कियो ।

पात्र-१ (सरिता)

सानो हुँदा मलाई रात मन पर्दैन थियो । दाजु भुतका कथाहरु सुनाउथियो । म सुनीसकेपछि कुंग्लिंग परेर सिरक भित्र आमाको नजिकै घुस्रीन्थे । आमा दाजुलाई कराउनुहुन्थ्यो ।
“फेरि तर्साइस् बहिनीलाई !”
आजकल समय फेरिएको छ । मलाई रात मन पर्छ । रात सवैमा समान व्यवहार गर्छ । सवै कालो देखिन्छन् । उज्यालोमा त मात्र छायाँ कालो हुन्छ। रातमा मान्छे, छायाँ ,अस्तित्व,आत्मा सवै कालो ।
************* **************** ************** ***************** ***************** **************** ****
“म काठमाण्डौ जान्छु” मैले एसएलसी सिद्दिने वित्तिकै जिद्दी गरेकी थिएँ। आमाले भने गाली गर्दै भन्नु भएको थियो “ किन जिल्लाको कलेजले भएन तँलाई ?”
साथीहरु पनि काठमाण्डौ जाँदै थिए । मलाई गाउँ किन किन आफ्नो लागेन । सुस्तरी भने
“कहाँ काठमाण्डौमा पढे जस्तो हुन्छ र !”
“ बस्न , खान ! मलाई अफ्ठ्यारो हुन्न ? पर्दैन जानु !”
“तारा दिदी सँग वस्छु ,अस्ति गाउँ आउँदा सोधेको !हुन्छ अरे !”
विवाद खासै लम्बिएन , मैले जिद्दी गरेर जितेँ ।
तारा दिदीको कोठामा एउटा सुत्ने खाट पाइयो , कलेजमा एड्मिसन भयो , जीवन दगुर्न थाल्यो । मैले सोचेकी थिएँ जीवन यस्तै हुन्छ चलिरहन्छ । मैले सोचेका कुरा पुगिरहन्छन् । तर वैशाख १२ मा भुइँचालो आयो ।
************** ************* **************** ************** *******************
“अव तेरो पढाइ को खर्च बेहोर्न सक्दिन कान्छी !” वुवाको तेह्र दिनको दिन आमाले वोली फोड्नु भयो ।
“चिन्ता नलिनु , म केहि काम खोजुम्ला !” मैले भुइँ कोर्दै जवाफ फर्काएँ
छेवैको भत्किएको घर हेरेँ ।त्यो घरको झ्यालबाट पुर्व तिर उदाएको सुर्य कति रमाइलो देखिन्थ्यो । आज बिहानै देखी धुम्मिएको छ। मेरो जीवन जस्तै आकाशमा पनि काला बादल !  दाजु आउन भ्याएन बाहिर वाट । शुरुको दुइ चार दिन टिकट नै पाएन । त्यसभन्दा पछि छुट्टी पाएन। बल्ल बल्ल लाखौँ खर्च गरेर वाहिर गएको । उसले खर्चको हिसाव किताव गर्यो । तराजु जोख्दा वुवाको किरिया भन्दा उसको आउने जिन्दगी नै भारी लाग्यो उसलाई । पछि आमालाई पैसा पठाइदिने वाचा गर्यो । रेडियोले फुक्यो “ दश हजार तुरुन्तै” । म भत्केको घर र आमालाई गाउँ छोडेर काठमाण्डौ आएँ।
************ *************** ************ ************ ************* **********
काठमाण्डौ ,
भित्ता चर्किएका थिए । मैले तारा दिदीलाई सोधेकी पनि थिएँ
“यहिँ वस्ने ?”
“कोठा पाउन गाह्रो छ अव , अनि महँगो पनि !”
“दिदी केहि काम गर्न पर्यो अव !”
“माथी घरपेटीको छोरालाई पढाइदे न त , खोज्दैछन् पढाउने मान्छे” उनले ऐना हेर्दै जवाफ फर्काइन् । खोइ के देख्छिन त्यो ऐनामा हेरिरहन्छिन तारा दिदी । हुन त त्यो ऐना पनि जव्वर छ प्रतिविम्व देखाउनमा । भुइँचालोको बेला टेवलबाट खसेको । केहि भएन । कहिलेकाहिँ शिषा पनि ढुंगा भन्दा कडा हुँदो रहेछ ।
*********** *************** *************** *********** ************* ********
समय ,काल परिस्थिति फेरिएको छ। पहिला हामी अंग्रेजी पढ्न ट्युशन खोजी गर्थ्यौँ ।घरपेटीको छोरोलाई आठ क्लासको नेपाली ट्युशन पढाउनुपर्ने । उसको ध्यान भने कितावमा हुन्नथ्यो । खोइ केमा केमा । कहिलेकाहिँ उसका साथीहरु चिहाउँदै आउँथे । उ पुलुक्क हेर्थ्यो । मैले हेरेपछि भाग्थे उसका साथीहरु ।मलाई रिस उठ्थ्यो अनि कराइदिन्थे
“के हो तिमी पढाइमा ध्यान छैन ? मलाई सानोमा यसरी पढाइदिने मान्छे भए ! सवैले पाउन्नन मौका !”
उ खिस्स हाँस्थ्यो ।
सँधै जसो त घरपेटी घरमै हुन्थे । तर त्यो दिन उनी बाहिर थिए । लोडशेडिंग थियो । इन्भर्टरमा थोरै वाटको वत्ति भएर होला वत्ति मधुरो थियो । उ लेख्दा लेख्दै रोकियो । म आफ्नै किताव पढ्दै थिएँ , उ लेखेको मौका पारेर ।
“के पढ्नु भएको?”
“मेरो पनि कलेजको इक्जाम छ !”
“मलाइ त नेपाली पढ्नै मन लाग्दैन !” उसले टाउको कन्यायो ।
म थोरै मुस्कुराएँ।
“तँपाइ हाँस्दा कति राम्री देखिनुहुन्छ ! मेरो साथीहरुले भनेको तपाइँसँग पढ्न पाउनु मेरो भाग्य अरे !”
“अरु के के भन्छन् त तिम्रो साथिले ?” उसको कुरामा मलाई नि चाख लाग्यो । तारिफ कसलाई पो मन पर्दैन र !
उसले केहि भनेन । तर उसको आँखामा अनौठो परिवर्तन देखेँ । मलाइ घोच्ने किसिमको ।
“ल ल पढ !” म अलि सम्हालिएँ । तर त्यो दिन पत्ता लाग्यो । उसको ध्यान पढाइमा नभएर के मा थियो । उ नजिकै सर्यो । अनि मेरो हात समात्यो । मैले हात झट्कार्न खोजे । उसले अझ जोडले समात्यो अनि भन्यो
“वुवा घरमा हुनुहुन्न , कसैलाई पनि थाहा हुन्न , मेरो पनि यो पहिलो पल्ट हो, तँपाइलाई पनि मन लाग्छ रे , साथीहरुले भनेको !” उसले विस्तारै मेरो छातीमा हात राख्यो , अनि अनुहार मेरो नजिकै ल्यायो ।
म उसलाई चिथोरेर भागेँ । घर बाटै बाहिर निस्किएँ । धेरैवेर वाहिर घुमेर फर्केपछि ढोका थुनेर वसेँ । कसैलाई केहि भनिन ।
त्यहि रात तारादिदीलाई घरपेटीले मलाई निकाल्न लाएछन् । म राम्रो क्यारेक्टरकी थिइन रे , छोरोले भनेको अरे !
************* ************** ************** ************ ********************
 रेस्टुरेन्टको काम पाइयो ।निकै कम तलव थियो । मलाई गिज्याएर साहु भनिरहन्थ्यो
“ग्राहक खुशी पारे टिप्स पाइन्छ ! सजिलो छ लोग्ने मान्छेलाई खुशी पार्न ”
मलाइ काठमाण्डौ वस्ने खर्च भए पुग्छ जस्तो लाग्थ्यो ।
गाउँमा पैह्रो गयो । रेडियोमा “दश हजार”को सट्टा “पचास हजार” र “एक लाख पचास हजार” को बहस सुनिन थाले । तर मेरी आमा वस्ने ठाउँ भएन । विरामी पनि हुनु भयो । मैले आमालाई लिएरै आएँ काठमाण्डौ ।
समयले कोल्टे फेर्यो । थलिएकी आमा अनि आफ्नो अँध्यारो कोठा हेर्थेँ । पैसा केहि होइन जस्तो लाग्थ्यो , तर रिनले थिचेको अध्यारो जीवनमा पैसा उज्यालो रहेछ । पैसा अन्तिम सत्य रहेछ ।
 रिन विस्तारै थपिदै जाँदा  मलाई नि टिप्स चाहिने भो ।
************* ************** ************** *************** *********** ******
हर्केसँग रेष्टुरेन्टमा भेट भयो ,
“ट्याक्सीमा राम्रो छ बिजनेस !”दुइ चार दिन भेट वाक्लिएपछि उसले छुस्स मलाई भन्यो । मैले रेष्टुरेन्ट छोड्दिएँ । आमालाई पनि राम्रो जागिर पाएँ भने । थलिएकी आमा थोरै भएनि खुशी हुनुभयो।
त्यो रात अझै सम्झना छ , पानी सिमसिम परेको थियो ।
उसलाई हर्केले तानेर लिएर आयो , उ सकपकिएर वसेको थियो । थोरै भिजेको थियो , थोरै आत्तिए जस्तो पनि थियो , नयाँ स्वाद चाख्नु अघिको अफ्ठ्यारो होला भन्ने ठाने । उसलाई सजिलो बनाउन खोज्दै थिएँ , अचानक कड्कियो
“तिमीहरुलाई नै पक्डिन आएको  ! म अनुसन्धानको मान्छे ! गाडी रोक !”
मैले हात हत्तपत्त हटाएँ उसको छातिवाट । हर्केले घ्याच्च ब्रेक लाएर पछाडी हेर्यो ।
उसले कार्ड देखायो आफ्नो
“ म तिमीहरुसँग छु , अफिसमा थाहा छ । तिमीहरुको ट्याक्सी नम्वर थाहा छ । मलाई केहि गर्न खोजिस् भने भोली नै पक्डाउ पर्छस् । हिँड अव थानातिर !”
उसले आदेश दियो । म चुप नै बसेँ । विस्तारै अँध्यारो कोठामा थलिएकी आमा याद आयो । आज छुटिदैँन ,भोलि विहानको दवाइ कसले दिन्छ?

*********** **************** ****************** ****************** **********
पात्र-२ (हर्के)
ट्याक्सीमा खासै फाइदा छैन । आएजति पैसा साहुलाई वुझाउँदैमा जान्छ । तिँ माथी भुइँचालोले पिर थप्यो भएको घर पनि भत्काइदियो । डुंग्रुंग लडेको घरको वाहिर उभिएर धेरै वेर आफ्नो अतित सम्झेँ । त्यहि घर त थियो मलाई अंशमा आएको । त्यो घर र जग्गा वेचेर काठमाण्डौ सरुँ की भन्ने पनि सोच्दै थिएँ । अव त माथीबाट पहिरो झर्ला जस्तो छ । कसले किन्छ मेरो त्यो घरबारी ।
 एक दिन साथीले ट्याक्सीमा कमाइको तरिका सुझायो । भत्केको घर सम्झेँ । अव गाउँ फर्कन सकिन्न । काठमाण्डौ मा अलि स्थायी भएर बसोवासको व्यवस्था मैले गर्नै पर्छ ।
“पुलिसको डर छैन ?”
“मिलाउनुपर्छ , अलि अलि कमाको वाँड्नुपर्छ !” उसले दाँत देखायो । मैले वुढीको गन गन सम्झेँ
“घर कहिले बनाउँछौ अव ?”
सँधै जस्तो चुप लाग्थेँ । भित्ता तिर फर्किदिन्थेँ । उ फतफताइ रहन्थी । म उडाइ रहन्थे । जीवन उ फतफताउनु र मैले उसका कुरा नसुन्नु नै हो जस्तो लाग्थ्यो । रात ढल्किँदै गर्दा छोरी निदाउँथी । उ मेरो शर्टका टाकका वटन खेलाउँदै भन्थी
“बुढा पैसा कमाउने केहि उपाय त गर्नै पर्छ , कति दिन चल्छ यसरी, छोरी पनि ठूलि हुँदै छे !”
उसले भनेका सवै सत्य । मेरो मुखमा वुझो लाग्थ्यो । म उसलाई अँगालो मार्थे । उ चुप लाग्थी ।
************** **************** ************** ************* ****************
रेष्टुरेन्टमा सरिता सँग भेट भयो । कुरा मिल्यो । त्यो दिन कोठा पुगेर ढल्किँदै गर्दा सानी छोरीलाई पनि हेरेँ । अनि सोचेँ , पोहोर महँगो भनेर भर्ना नगरेको वोर्डिंगमा यसपाली भर्ना गरिदिनु पर्ला , यो काम वन्यो भने !
त्यो दिन मैले नै हो उसलाई तानेर लिएर आएको । सरिताले पहिला औँलाले देखाउँदै भनी
“उ पर ज्याकेट लगाएको !”
ट्याक्सी भित्रबाट अनुहार देखिएन । पहिला मोल मोलाइ भयो अनि उ लुखुर लुखुर आयो । थोरै छुस्स दाह्री अनि क्याप पनि थियो । शायद पानीले भिज्ने डरले पनि होला । सिम सिम पानी परिनै रहेको थियो । गाडीमा मैले सानो स्वरले नारायण गोपाल बजाएँतिमी जुन रहरले ममा भुल्न आयौ !” अनि गाडी थोरै हुइँक्याएँ । अरु ट्याक्सीमा जस्तो मलाई तडक भडक वाला गित लाउन मन पर्दैन । सरिता उ सँग खास खास खुस खुस गरीरही । कहिलेकाहिँ त ट्याक्सीमै शुरु गरुम्ला जस्तो गर्छे । ग्राहक गए पछि कराउँछू
“गाडीमा नगर , म सफा गर्न सक्दिन !”
“मुड बनाइदिनु पर्छ क्या , थाहा नपाए जस्तो गर्छ !” उ इत्तरिन्छे म सँग ।
“कसैको नभको मुड !”
म त्यहाँ भन्दा वढी भन्दिन । बोल्न पनि सक्दिन । सरितालाई हेर्छु । मेरो सुनको अण्डा दिने कुखुरी । मेरो भुइँचालोले भत्केको घर उसैले बनाउनेछे ।
अचानक उ कड्कियो ,
“तिमीहरुलाई नै पक्डिन आएको  ! म अनुसन्धानको मान्छे ! गाडी रोक !”
मैले गाडी घ्याच्च रोकेँ । पछाडी फर्केँ ।
“ म तिमीहरुसँग छु , अफिसमा थाहा छ । तिमीहरुको ट्याक्सी नम्वर थाहा छ । मलाई केहि गर्न खोजिस् भने भोली नै पक्डाउ पर्छस् । हिँड अव थानातिर !”
उसले कार्ड देखाउँदै भन्यो । वुढी घरमा पर्खेर बसेकी होली । छोरी पनि । छोरीले आज क्याडवरी ल्याइदिनु ल भनेर अघि भर्खरै मोवायलमा फोन गरेको छ्यास्स सम्झेँ । अनि सम्झेँ मेरो भुइँचालोले भत्काएको घर जसको अगाडी वसेर म धेरै वेर टोलाएको थिएँ ।
***************** **************** ************** *************** **************
पात्र ३ (दिपक)
करारको जागिर थियो । भुइँचालो आएपछि हाकिमलाई घर जान्छु भनेर एक चोटी फकाउन गएको । फकाउन सकिएन । सोधेका थिए
“कसैलाई केहि भयो ?”
मैले टाउको हल्लाएँ । पशुपतिनाथकै कृपाले होला घरमा कसैलाई केहि भएको थिएन । सवै खेतमा थिए । घर भने ढल्यो
।एकवर्ष अघि त्यतिखेर त विदा दिएनन् दिएनन् ,अहिले त गाउँमा पहिरो नै गयो ।गाइवस्तु  गोठ नै भत्काएर सवै सोत्तर पार्यो । दुइटा वाख्रा मरे , एउटा गाइ पनि । कान्ला मुनि उत्तानो परेछ । घरको सम्पत्तिको नाम मा त्यत्तिनै । दाजुले फोन गर्दा दुखेसो सुनाका थिए
“दुध वेच्दै गरेको गाइ नि मर्यो , थोरै पैसा भए लिएर आइज , गाउँमा सवै चिजको भाउ वढ्यो , पैसा चाहियो !”
“वुढी दुइ जीउकी छे , कसरी छोडेर आउनु !” मैले झर्किँदै जवाफ फर्काएँ।
“माइतमा छोडेर आइज न , आमा अनुहार हेर्न मन लाग्यो भन्दै हुनुहुन्थ्यो !” दाजुले थप कर गरेका थए
“हेरुम !” भन्दै मैले फोन राख्देको थिएँ।

“दाजु छन् हैन घरमैँ ?” हाकिमले अर्को प्रश्न तेर्स्याए
छन् भन्न सकिन । मात्र टाउको हल्लाएँ  स्विकारोक्तीमा ।
“हेरीहाल्छन् नि , कसैलाई छुट्टि नदिनु भन्ने आदेश छ !” हाकीमले विदाको अध्याय बन्द गर्दिए।
आशा भने गाउँ जाने भनेपछि काज मिलाएर टिएडिए नि पाइन्छ भन्ने थियो । विदा नै नदिने भएपछि टिएडिएको पनि कुरा आएन ।
“आमालाई ज्वरो आयो , सदरमुकाम लानु पर्ने भो । खर्च छैन । नआए पनि खर्च पठा न !”

छैन भन्न सकिन । काठमाण्डौमा काम गर्छ छोरो । त्यति आश सवैमा हुन्छ । गोजीमा हेरे , पठाउन लायक पैसा छैन । कोठामा घरपेटी र्याल काडेर वसिरहेका छन् मेरो आउने तलवमा । बुढीको अवस्था त्यस्तो छ। किन किन कोठा जानै मान लागेन । रत्नपार्क तिरै डुलेर वसिरहेँ ।
छेवैको केटालाई एउटाले कोट्यायो ।
“भाइ जाने हो ?”
“कहाँ ?”
“सामान छ ट्याक्सीमा” उसले ट्याक्सी देखायो ।ट्याक्सी भित्र एउटा युवति लिपस्टिक पोत्दै होली ।सँध यस्तै हो ,विगारेका छन् यो शहरलाई !

****************** *************** ****************** ***************** ********
अचानक राती बुढी छट्पटाउन थाली । भख्खर सात महिना मात्रै हुँदैछ। अस्ति डक्टरले कम्प्लिकेसन हुन सक्छ भनेर त भन्दै थियो । मलाइ आजकल गाउँमा पहिरो र मेरो जीवनमा दुखको पहिरो सल्लाह गरेर आए जस्तो लाग्छ । पन्ध्र दिन अघी हो रेगुलर चेकअप मा गएको । हस्पिटल चाहारेँ ।  छोइनसक्नु छ अस्पताल । बल्ल बल्ल भर्ना भो । उसको अनुहार पिडा सहन नसकेर रातो भएको हेरेर बसेँ । मान्छे जहिले जहिले आफुलाई शक्तिशाली ठान्छ । प्रकृतिले उसलाई विवश देखाएरै छोड्छ। त्यो रात हस्पिटलमैँ काटेँ । बुढीकी बहिनिले खाना ल्याइ । खासै रुचेन । भोली हाकिम सँग जसरी नि टिएडिएको कुरा गर्छु गएर ।
********************* ******************* *************** **************** *****
“जाँदै नगको मान्छेलाई कसरी टिएडिए दिनु !” हाकिम कड्कियो ।
“वुढी बिरामी छे सर !”
“कहिले आमा बिरामी ,कहिले वुढी बिरामी ?”
त्यो भन्दा वढी भन्न सकिन । रिसले रन्थनिएर निस्केँ ।रत्नपार्क तिर गएर घोत्लिएँ ।
फेरि त्यहि पुरानो चिनेको बोलीले छेउको केटालाई जिसक्यायो
“भाइ जाने हो ?”
“कहाँ ?”
“सामान छ ट्याक्सीमा” उसले ट्याक्सी देखायो
“कति ?”
“दुइ हजार !”
“कस्तो महँगो !”
“सवैलाई मिलाउनुपर्छ भाइ , पुलिसलाई पनि ! त्यहि भएर !”
उ लुखुर लुखुर पछि लाग्यो ।
किन किन मलाई पनि पछि जाउँ जाउँ लाग्यो । गएर ट्याक्सीको नम्वर टिपेँ । ट्याक्सी घुइँकियो ।
************** *************** ******************* ******************* ********
बल्ल बल्ल गरेर पुतलिसडकमा नक्कली कार्ड बनाइयो ।
“राष्ट्रिय अनुसन्धान विभाग , डिएसपी प्रकाश खत्री !” सुम्सुम्याएँ अनि रत्नपार्क तिर लागेँ । सिमसिम पानी पर्दै थियो ,उनीहरु ग्राहक कुरेरै बसिराखेका होलान् रत्नपार्कमा । मलाई पनि दशबाह्र जना उनीहरु जस्तै ग्राहकको खाँचो छ , विस्तारै सम्झिँदैछु भन्नुपर्ने कुरा !
“तिमीहरुलाई नै पक्डिन आएको  ! म अनुसन्धानको मान्छे ! गाडी रोक ! म तिमीहरुसँग छु , अफिसमा थाहा छ । तिमीहरुको ट्याक्सी नम्वर थाहा छ । मलाई केहि गर्न खोजिस् भने भोली नै पक्डाउ पर्छस् । हिँड अव थानातिर !”
त्यसपछि वार्गेनिंग गर्नुपर्छ ।











#सेभ धृतराष्ट्र

मेरो दाह्री काट्दिदै गर्दा उ अडियो । मैले घडी हेरेँ , नौ बजिसकेको छ । अफिस जानु छ , अनि मेरो दाह्री आधा मात्र काटिएको छ ।  झनक्क रिस उठ्यो । मेरो घरबाट सवैभन्दा नजिकैको सेलोन । सँधै आउँछु । उसलाई मेरो समय थाहा छ । त्यहि पनि अड्किन्छ ।
“ के भो ?”झर्केकै स्वरमा सोधेँ ।
“निउज हेर्नु न !” उ उत्साही देखियो ।
“मेरो अफिस जानु छ ! चाँडो गर न यार !” मलाई उसको टिभीमा आएको निउजमा कुनै चासो छैन । वुढीले खाना पस्केर मेरो मोबायलमा छिटो आउनु भनेर म्यासेज गरेको पाँच मिनट जति भयो । मैले पाँच मिनट नै भनेर रिप्लाइ गरेको थिएँ ।त्यो रिसाएको अनुहार देखी मलाई सवै भन्दा डर लाग्छ । राजा भन्दा नी !!!!
“खोइ आज अफिस जानुहोला जस्तो लागेन , कर्फ्यु लाग्ने हल्ला छ ,हस्तिनापुरमा !” उ खिस्स हाँसिदियो । रिसाए जस्तो पनि कसरी गरौँ । छुरा उसैको हातमा छ । दाह्री सँग सँगै गाला पनि काटिदियो भने ? थोरै डर पनि लाग्यो ।
“किन के भो र ?” अलि नरम भएर सोधेँ ।
उसले टिभीको भोल्युम वढायो । टिभीमा द्रौपदीका अर्धनग्न तस्विरहरु छ्यापछ्याप्ती आएका थिए । हस्तिनापुर निउजमा राजदरवारको रिपोर्टर हिजो को घटना बारे विस्तार लाउँदै थियो । युधिष्ठिरले भाइहरु सहित ,द्रौपदीलाई नि जुवामा हारेछन् । त्यो खेलेको खाल टिभिमा पटक पटक जुम इन जुम आउट हुँदै थियो । उ चिच्याउँदै थियो “यहि हो त्यो जुवाको खाल जसमा द्रौपदीलाई बाजी थापियो !” द्रौपदी माथी जोर जवर्जस्ती नै भएछ । भित्रै बाट कसैले सिसिटिभिको फुटेज लिक गरेपछि महिला अधिकारवादीहरु बाहिर निक्लेछन् । एक जनालाई गोली पनि लागेछ । अहिले राजदरवार नजिकैको स्थिति तनावग्रस्त हुँदै छ । कर्फ्यु लाग्ला जस्तो छ भनेर तलका स्क्रोलहरु बताउँदै थिए । म आधा दाह्री मै सोचमग्न भएँ । के हुन लाग्या हो यो द्वापर युगमा ! घोर द्वापर युग !!!!
मोवायल फेरि भाइव्रेट गर्यो
“पाँच मिनट भएन ?” घरवाट टेक्स्ट आएछ । आज घरकी लक्ष्मी रिसाउली जस्तो छ।
“छिटो काट्दे यार !” मैले टेक्स्ट हेर्दै उ सँग अनुरोध गरेँ । उ मुन्टो टिभितिरै राखेर भए नि मेरो नजिकै आयो ।
“ध्यान दिएर काट ल, गाला नि काटिएला !”
मैले सुस्तरी अनुरोध गरेँ ।
हुन्छ” मुन्टो टिभितिरै राखेर उसले हुन्छ भन्ने आशयमा हल्लाइदियो!
******************** **************** ***************** ****************** *****
“किन ढिलो ?” उ थोरै ठुस्किइ
आँखामा हेरेँ , ठुस्के पनि त्यो ठुस्काई क्षणिक र झुटो थियो, पत्ता लाएँ । उसको बोलीले त सँधै ढाँट्छ , त्यहि भएर आँखा पढ्न मन लाग्छ । उसलाई मैले चिल्लिएको गाला देखाएँ ।
“अव काहिँ नभएर नाराबाजी , वन्द ,कर्फ्यु भएकै दिन दाह्रि काट्नु पर्ने है तँपाईलाई ?”
हुन त अझै खुशी देखिएकी थिइन तर उसको ठुस्काई विस्तारै मायामा परिणत हुँदै थियो ।
“मलाई के थाहा त त्यस्तो हुन्छ भनेर ? अनि नजिकै पनि त छ”
“तँपाइ त त्यहि काम गर्ने राजदरवारमा थाहा हुनुपर्ने नि  !तिँ माथी राजाको खास भन्ने सुनेकी मैले त ”
“अनि सवै कहाँ थाहा हुन्छ त हामी साना कर्मचारीलाई !”
“युवराज सँधै त्यस्तै हुन ? आशक्त ? टाढै वस्नुस ति भोगीबाट !!”
“मलाई त पहिला त्यस्तो गर्ने जस्तो लागेको थिएन ! कहिलेकाहिँ मिडियामा वढी नि आउँछ !” मैले अडेस लाग्दै जवाफ फर्काएँ ।
“कसरी हुन्छ वढी ? निउजमा देखाएको देखाइ छ !! राजाको चाकडी गर्ने कर्मचारी !” उ थोरै रिसाई । उ भित्रको स्त्री जागेको हुनुपर्छ ।
“मिडियामा वढी देखाउन सक्छ के , मलाई त थाहा थिएन कमसेकम ! हामी त्यहिँ काम गरिरहेका हुन्छौँ , अहिले सम्म त्यस्तो भएको थाहा छैन !” मैले आफ्नो वचावट गर्ने प्रयास गरेँ ।
“लोग्ने मान्छेको जातै त्यस्तै , कहिल्यै थाहा नहुने के हुन्छ भनेर !!” अचानक उसको भाव बदलियो । उ अव मलाई नि आरोप लाउँदै थिई । म घरवाट दरवार , दरवार बाट घर बाहेक अरु केहि नगर्ने लाई !!!
“हजुर !!!!” मलाई उत्तर फुरेन ।
“महारानीलाई नै हेर्नु न , वुढाले जुवामा हार्ला , देवरहरु मिलेर खिल्ली उडाउलान , के थाहा थियो होला र त्यस्तो ?”
“ ठूलावडासँग दाँजेर हुन्छ त हामीलाई ?” मैले प्रसंग वदल्न चाहेँ । यो प्रसंगबाट तनाव नै थपिने छ मलाई थाहा छैन ।
“ठूलो होस् कि सानो पुरुष पुरुष नै रहन्छ , स्त्रीलाई सँधै वस्तु सँग दाँज्ने !” उ अझै झोँक्किई
म सँग अझै उत्तर थिएन । चुप नै बसेँ ।
***************** ************** *************** ************** ****************
उसको मौनताका धेरै अर्थहरु हुन्छन् । कुनै मौन पल प्यारा हुन्छन् , मह जस्तै गुलियो चुहिने हुन्छन् कुनै भने तिनै माहुरीले चिले जस्तो । आज उ त्यत्तिकै रिसाइदिई । दरवारको घटनालाई उसले हाम्रो जीवनमा दाँजी होला , दरवारका घटनाहरु सामान्य मान्छेले सोच्न सक्दैन । तर उसले बुझिन । म सँग रिसाइदिए ठिक हुन्छ द्रौपदी काण्ड भन्ने ठानी । दिन भरी टेलेभिजनमा हिजोकै घटना परिघटना आइरहे । उ भने बोलिन  । छेवैको कोठामा घाम छिर्छ , अनि जाडोको घाम उसलाई म भन्दा प्यारो  भयो आज ! गएर घामतिर फर्केर पल्टिदिई । मलाई पनि उसलाई बोलाउन खासै मन लागेन । रिमोट घूमाइरहेँ एक देखी अठ्चालिस , अनि अठ्चालिस देखि एक । विचमा एक चोटी आँफै किचनमा गएर ग्रिन टि बनाएँ । वाहिर सुनसान थियो । घामका किरणहरु मात्र त्यो सुनसान सडकमा !!अचानक करिव एक बजे तिर एउटा च्यानलले एक्सक्लुजिभ भनेर एउटा फुटेज चुहायो । प्रष्ट भाषामा इन्द्रप्रष्थ दरवारमा द्रौपतिले हाँसेर दुर्योधनलाई गिज्याएको दृश्य
“अन्धाको छोरो अन्धो !!!”
मलाई झनक्क रिस उठेर आयो । यता उता हेरे । वुढी अर्को कोठामा सुतिरहेकी थिई , दिउँसोको घाम ताप्दै । गएर उठाएर यो निउज देखाउँ झै लाग्यो । भन्न मन लाग्यो ।
“हेर सँधै पुरुषको गल्ती हुन्न , तिम्री अवला नारीले सम्पत्तिको आडम्वरमा यहि दुर्योधनलाई गिज्याएकी रहिछन् । अगाडी जे समाचार आयो , सवै झुटो पनि त हुनसक्छ । समाचारलाई एक ढंगले प्रकाशित गरिएको रहेछ ।“
तर सकिन ।
रिमोट खेलाएरै बसेँ । द्रौपदिको अट्टाहस त्यो च्यानलमा गुन्जिरह्यो । हामी सामान्य युवकलाई एउटा सम्भ्रान्त परिवारकी युवतीको अभिमान । ति माथी अपांगता भएका वृद्द पुरुषलाई अन्धा भनेर कसरी भन्न सकीन् ?
एकै छिनमा छ्यापछ्याप्ती पाण्डवको तर्फमा भएका निर्णयहरु कति एक तर्फि थिए भनेर प्यानलहरुमा आवाज उठ्न थाल्यो । धेरै पुराना कुराहरु समाचारमा खोतलिए । किन जेठो हुँदा हुँदै पनि धृतराष्ट्र लाई राजगद्दी दिइएन ? कसरी पाण्डवले साम्राज्यमा जरो गाडे  र त्यसमा के के गलत थियो केलाइन थाले ।जति जति म हेर्दै गएँ उति मलाई पाण्डव र द्रौपदी प्रति रिस उठ्दै गयो । धृतराष्ट्र आँखा नदेख्ने भएकै भरमा राजा चुनिएनन् । राजाले आँखा देख्नै पर्ने के वाध्यता छ र त्यस्तो ? उसका सल्लाहकारहरुले जे सल्लाह दिन्छन् त्यहि अनुसार कानुन र न्यायको पक्षमा रहे त पुगिहाल्यो । अहिले को द्रौपदी काण्ड पनि पक्कै पनि प्रोपोगाण्डा मात्रै हुनुपर्छ । कौरवहरुलाई गलत देखाउने !!
आजकल मिडिया बिकेका हुन्छन् । मेरो मनले निर्क्यौल गर्यो “हो आजकल मिडिया बिकेका हुन्छन् ।“
उ उठेर आइ । अनि विस्तारै सोधी
“के हेर्दै हो ?”
“निउज !”
“चिया खाने ?”
“भख्खरै खाएँ !” अनि च्यानेल चेन्ज गरेर उसलाई फुटेज देखाएँ
“अन्धाको छोरा अन्धा !!!!”
“यो सव मिडियाको प्रोपोगाण्डा हो , कौरवहरुको हिजोको कुकर्म लुकाउन !!” उसले भनी
“पाण्डवले गरेको चाहिँ सवै चोखो ?” यसपाली भने म झनक्क रिसाइदिएँ । उ मेरो मौनतालाई मेरो समर्थन ठान्छे । त्यो सत्य होइन ।
“जे भए नी नारिको अस्मिता !!!”
“अनि त्यो वृद्द पुरुषलाई अन्धा भनेको नि !!!” मैले उसको वाक्य समाप्त हुन दिइन । मलाई रिसको पारो चढेको थियो ।
“धृतराष्ट्लाई अन्धा भन्नु र यो घटना उत्तिकै हो ?”
“होइन , तर धेरै यस्ता घटनाले यो घटना जन्माएको हो , पाण्डवहरुको नि कम गल्ति छैन । त्यो युधिष्ठिरले दाउ किन थापे । जुवामा लागेको मान्छेले देश चलाउन सक्छ ? देश ,जनता नै दाउमा लाउने ?”
“दुर्योधन जस्तो अग्यानि भन्दा त युधिष्ठिर नै ठिक !” उ फेरि च्याठ्ठिइ ।
“चिया नखाने भए ,एक्लैलाई पकाउँछु !”
“खान्न !!”
“तिम्रा राजाले पछि चिया दिँदैनन् !”
“तिम्री द्रौपदीले ग्याँस पनि त किन्दिन्नन् !!” उसले सुनिन । जवाफ यसपालि भने मनमनै फर्काएँ।
टिभि वन्द गरिदिएँ । झ्यालको छेउमा गएँ । बाहिर ननिस्किन माइकिंग भइराखेको छ । घाम पनि कर्फ्युले होला वादल भित्र छिरेछ । यसो मोबायल हेरेँ , ह्यासट्याग ट्रेण्डमा छ । मैले पनि ट्विटि दिएँ
“जुवाडेले देश नचलाएकै बेस #सेभधृतराष्ट्र”





जग्गा

मेरो मनले मेरो मनलाई नै हो त्यतिवेला प्रश्न गरेको “किन निर्जिव चिजहरुको माया लाग्नु पर्ने होला ?”
धेरै बेर घोत्ले पछि मैले नै पछि उत्तर निकालेँ “ किनकी निर्जिव चिजहरुसँग पनि भावना जोडिन्छ , सम्झना टाँस्सिन्छन् अनि मुटुको छेवैमा गएर वस्छन् ।“

मैले कहिल्यै सोचेको थिइन मालपोतमा गाउँको जग्गा वेच्दा उसलाइ यति पिडा हुनेछ भनेर । किनकि काठमाण्डौमा दँशैहरुमा  लिंगे पिंग ठडिएको देख्दिन, मालि गाइ ड्वाँ ड्वाँ गर्दै कराएको सुन्दिन । अनि सुर्ती मोल्दै कप्तान काकाले गरेका गफहरु सुन्न पाइदैन ।
बुढी छोराछोरी पढाउन भनेर काठमाण्डौ तिर लागीसकेको करिव एक महिना जति भो । म त्यहि जग्गाको काम रहेकाले अल्झिएँ । बाहिर जाने भन्ने बित्तिकै  पैसाको जोहो गर्न हतारो  । हुन त त्यो जग्गा पन्ध्रलाख जति जानु पर्ने हो । तर म हतारमा वेच्न खोज्दै थिएँ । चाँडो वेच्ने भनेपछि जग्गाको भाउ पाइएन ।  गाउँकै नामुद जग्गा दलालले १ लाख  दिए दश लाखमा  जग्गा बेचिदिने आश्वासन दिए । नौ लाख अन्त भाउ नपाएको मलाइ त्यो पनि हुन्छ भन्न कर लाग्यो । मैले केहि नसोची टाउको हल्लाइदिएँ ।
मेरी बुढीको सपना भने म फर्केर आएपछि काठमाण्डौ नै जग्गा किन्ने भन्ने छ ।छोराछोरीलाई पढाउन पनि सजिलो । गाउँमा न स्कुल राम्रा छन् , न छेवैमा हस्पिटल छ ।
 कहिलेकाहिँ थाकेर आउँदा पनि वुढी  गनगन गरिदीन्छे “ सानो ज्वरो आए नि दवाइ खोज्न तिन घण्टा हिन्नु पर्ने असत्ती ठाउँ , जौँ शहर नै जौँ !”
म सामान्यतय वुढीको गनगन नसुने जस्तो गरेरै टारिदिन्छु । आगोलाई हावा किन थपौँ म ? झन बल्छ , दन्किन्छ । रात थोरै छिप्पेपछि म खुसुक्क वुढीको पेट तिर हात घुसार्थेँ । उसलाई अघि चुप बसेको अझै बिझिनै रहेको हुन्थ्यो । अनि ठुस्किदिन्थी
“के गरेको ,छोराछोरी उठ्छन !”
म भने कोल्टे फर्किदैँ सोच्थेँ । अव बन्ने घरमा छोराछोरीको लागि अलग्गै कोठा बनाउनै पर्छ । सपना पनि तिन तल्ले घर माथी बार्दलीमा बसेर चिया खाएको देख्थेँ । बिहान मालि गाइ ड्वाँ गरेर कराउँथ्यो । मेरो सपनाको अवसान त्यहिँ हुन्थ्यो ।
************** *************** ************* ************ ************* ********
मलाई अझै झझल्को आउँछ मालपोत वाहिर को त्यो झुप्रो , जसमा तिन चोटी पाकिसकेको चियापत्तिमा दुध हालेर एउटा बुढा मान्छे चिया बनाउदै थिए त्यो दिन। अरुको आँखा त्यो दिउरेमा परेको थिएन । तर किन किन मेरो आँखा भने त्यहिँ पर्यो । कालो भइसकेको, कटकटिएको अनि त्यहि चियापत्तिको थुप्रो । मैले सुस्तरि आग्रह गरेँ
“नयाँ चियापत्ति हाल्नु न !”
बुढाले खिसिक्क हाँस्दै चियापत्ति मिल्काएका थिए तल भुइँमा । पिच्च थुकिएको खैनी जस्तो आकृती थियो चियापत्तिको ! थोत्रो टेवल अनि तलको भुइँ ।टेवलका खुट्टा लरखराउँथे चिया चलाउँदा पनि , कुनै वुढो मान्छेको हात खुट्टा लरखराए जस्तो । आयु ले कति फरक पार्छ आकृतिमा । टेवल पनि आफ्नो आयु अनुसारकै आकृति देखाउँदै थियो शायद !
पिउँदा खासै स्वाद नलागेको चिया । कमि के मा थियो त ? चियापत्ती नयाँ ,चिनी हालेर उम्लेकै थियो , बुडा बा ले थोरै मरिच पनि हालिदिएकै थीए ! तर शायद मेरो जिब्रो त्यो दिन निदाएको थियो , स्वाद लिने रहर नै थिएन जिब्रोको । पुरै नसिध्याई  गिलास राखिदिएँ मैले । अनि खिस्रिक्क पाँच को नोट लम्क्याउँदा बुडाले भनेको थिए “ बाबु चियाको दाम बढेको धेरै भो दश पुग्यो !” दश रुपैयाँ बुझाउँदै गर्दा मनमनै ध्यान आयो महँगि कति साह्रो वढेको । अस्ती भर्खरै जस्तो लाग्छ चार आना मा बरफ पाइन्थ्यो । हामी खाएर खुशी हुन्थ्यौँ।

“तँपाइलाई कति दिनुपर्ने रे कमिसन एकलाख हैन त ?
पैसाको बिटो बुझाउँदै गर्दा दलालको  हात हेरेँ मैले । तिनवटा औँलामा औँठी अनि टिलिक्क टल्केको घडी । मनमनै सोचेँ,
मेरी बुढीलाई नि छड्के तिलहरी लाउने खुवै रहर थियो , मेरो हैसियत थीएन अनि म भन्ने गर्थेँ त्यो सुन लगाएर कोहि ठूलो हुइन्न हेर । उ चुप लाग्थी ।  उसका तिनवटा औँलाका औँठी हेर्दैगर्दा भने मनमा नआओस् भन्दा नि पापी लोभ आउँछ , मन चिच्याएर कराउँछ ,
“ यसको जस्तो जिन्दगी भए पो !! आफ्नो त अव जग्गा बेचेको पैसा बोकेर विदेशीनु परेको छ !”
****************** ************* ************** ************** ***************
“नौ मात्रै पाइयो ?”
वुढीले लाडिँदै सोधी ।
“ त्यति त मरेर पाएको !” मैले शर्ट खोल्दै जवाफ फर्काएँ । उसको छेवैमा ढल्किए । अलि परको खाटमा छोराछोरी सुतेका थिए
काठमाण्डौको त्यो कोठाबाट म करिव एक महिनामा विदेशिँदै छु । छोराछोरी र बुढीलाई थोरै पैसा बेँक मा राखिदिएर ! “छोराछोरी निदाए त ?” मैले उसको पेटमा हात घुसार्दै सोधेँ ।
उसले जवाफ फर्काइन !

तिन वर्ष पछिको एउटा दिन ,
“चिया लिउँ न !” मेरी बुढिले चिया लिन हात अघि बढाई । चिया लिँदै गर्दा पनि घरको वर पर बाट आँखा हटाउन भ्याएकी थिइन । म भने चिया आग्रह गर्ने मान्छेको भुँडी हेर्दै थिएँ । बडेमानको। आफ्नो हेरे , स्याप्प सुकेको । तर त्यत्रो भुँडी हुनुभन्दा त यहि ठिक छ । भुडी रोगको घर अरे । काम नगर्ने मान्छेको ठूलो भुँडी हुन्छ अरे । कोठाको कुनाको वकिंग मेशिनमा भने उसले शर्ट झुण्ड्याएको थियो । मैले फिलिमहरुमा देखेको छु । धनिहरु त्यसमाथी हिँड्छन । एक्सरसाइजको नाममा ! धनीहरुले विदेश गएर हाम्रो जस्तो काम गर्दैनन् । त्यहि भएर धनिहरुको भुँडी हुन्छ ।कोठा शानदार थियो । टिभि नि चालिस इन्च भन्दा माथिकै हुनुपर्छ । पर्दा मखमली ,हेर्दै लोभलाग्दा !
“चार तल्ला मा तिन भाँडामा लाएको छु । काठमाण्डौ मा वाँच्न गाह्रो छ हजुर । नत्र आफ्नो घरमा मान्छे राख्यो हेर्नुस् । फोहोर पारिदिन्छन् । हल्ला गर्छन् । पैसा भए त सानो घर नै राम्रो !” भुँडीवाला मान्छेले उसको आँखा यताउता गरेको देखेर  स्पष्टिकरण दियो ।
“कति भो घर बनाउनु भएको ?” मेरी बुढीले अनायसै प्रश्न गरी । मैले उसलाई पुलुक्क हेरेँ । उसको रहर पनि ठूलो घर होस् भन्ने छ । शायद यति ठूलो त हैन होला तर पनि ठूलो ।
“दुई वर्ष जति भो , ग्राहक पाए त वेचदिन्छु म डेढ करोड जतिमा !”
म सकपकिएँ ।हातमा भएको चिया माथी एउटा झिंगा बस्यो । मेरो भाग खोस्न आए जस्तो गरी । रिसले पर धकेलेँ । पर गएर झ्यालमा टाँसियो । त्यो झिँगा म भन्दा भाग्यमानि छ । भाँडा तिर्दैन , डेढ करोडको घरमा बस्छ । म सँग लगभग अहिले चालिस लाख जति छ। तिन वर्ष हाड घोटेपछि निक्लेको कमाइ । आउने वित्तिकै चिनेकै गाउँको दाजुलाई अव काठमाण्डौमै जग्गा किनेर घर बनाउने सुर गरेको भनेको थीएँ । जग्गा मेरो पैसाले किन्ने, रिन बनाएर घर बनाउने अनि भाँडाले रिन तिर्ने सुझाएका थिए दाइले । तर त्यति पैसाले रिंगरोड भित्र भने नआउने पनि भनिसकेका थिए। छेवैको भुँडे जग्गाकै व्यापार गर्थ्यो । दाइले चिनेको मान्छे ! जग्गाको बारेमा सोधपुछ गर्न लिएर आएका ! बुढीलाई पर्दैन सँगै जान भनेको । मानिन । भनी
“ मेरो पनि त घर हो , अव बन्ने । म पनि जग्गा हेर्छु !”
उसको हठको अघि मेरो केहि लागेन ।
“हेर्नुस् त  , आइफोन सेभेन आइसकेछ !” भुँडीवाला मान्छेले पत्रिका देखायो ।
मैले भने पत्रिका हेर्दै गोजीमा भएको स्यामसँग फोनलाई समातेँ । अस्ति कुन पत्रिकामा स्यामसंग पड्कियो भनेर पनि आयो । त्यसपछि मलाइ स्यामसंग बोक्न डर लाग्छ ।
“ म र बुडी सँग सिक्स छ , अव एउटा चाहिँ छोरालाई दिएर अमेरिका बाट मगाउँकि भन्ने विचार छ ! आइफोन बोकेपछी अरु बोक्न मन लाग्दैन ! यसबाट आउने फोटोको क्वालिटि नै वेग्लै , फेसबुकमा टल्किन्छ त्यो फोटो ,लाइकको त वर्षात हुन्छ !” भुँडे मान्छे धक फुकाएर हाँस्यो । मैले पनि  मन नलागी नलागी हाँसोलाई साथ दिएँ । मेरो स्यामसंग बाट त विदेशका फोटाहरु नि राम्रो आएका थिएनन् । मान्छे राम्रो देखिँदा पछीको बिल्डिंग देखिन्न थीयो , पछाडीको बिल्डिंग देखिँदा मान्छे राम्रो देखिन्न थियो । फेसबुकको प्रोफाइल पिक्चर चेन्ज गर्न नपाएको समस्याले ग्रसित थिएँ । बुढीको फेसबुकमा भने हामी दुइको फोटो राखेकी छे । तर फोटो असाध्यै मधुरो छ । फोटोको फोटो खिचेकी । म त चिनिँदा नि चिनिन्न त्यसमा !
“चिया लिउ न हजुर ,सेलाइसक्यो !” भुँडे मान्छेले फेरि आग्रह गर्यो ।
मैले चिया फेरि सुरुप्प पारेँ ।
**************** *************** ****************** *************** ************

“रिंग रोड भन्दा थोरै बाहिर बनस्थली तिर एउटा जग्गा छ । हेर्नुस् यो चारपाटो यति मिलेको , रुमाल जस्तो जग्गा त्यति चाँडो पाइन्न । अनि पारिलो पनि छ !”
 “ हामी सँग पैसा त्यति धेरै छैन त्यहि भएर बाहिर खोजेको !”
“ त्यो जग्गा चार आनाको साठी लाख त कहाँ बडि हो र हजुर !” उसले आफ्नो छाति कन्यायो । छातिमा सिक्री सँगै रौँ नि देखिए काला बाक्ला !
दाइले पुलुक्क म तिर हेरे । म सँग जवाफ छैन । । मैले बुढीलाई हेरेँ , उ होमवर्क गर्न नसक्दाका मेरा छोराछोरी जस्तै छटपटाई । मनमनै म सँग सहयोग मागे जस्तो लाग्यो । उसका लाचार आँखाहरु हेरीरहन सकिन । म केहि गर्न सक्दिन । अव साठि त मैले आफैलाई बेचे मात्रै हो ।
“हामी सँग चालिस जस्तो छ !” दाइले मुख फोरे । मैले पनि हो भने जस्तो लाग्ने गरी टाउको हल्लाइदिएँ । गएको हफ्ता देखि मलाई खासै बोल्न मन लाग्न छोडेको छ ।
“ काठमाण्डौमा चालिस मा कहाँ जग्गा पाउनु हुन्छ । फेरि दुइ आना लिएर नि भएन । भुइँचालो पछि घर बनाउन पनि स्ट्रिक्ट गरेको छ !” उ छाति कन्याइरह्यो । हामी केहि बोलेनौँ
“हेर्न जौँ त ?” उसले कर गर्यो ।
“भै गो !”
म उठेँ । तिन वर्ष मैले गलत हिसाव गरेछु । आज आएर उत्तर नमिलेको पत्तो भो । दाइले चियाको गिलासको अन्तिम सुरुप लिए स्वाद गरेर !
वुढी र म कोठा फर्कियौँ । मैले चुरोट सल्काएँ ।
“एउटा झ्याल मात्रै छ , भित्र चुरोट नखानु भनेको नि लाग्दैन !” उ अचानक झर्किई ।मैले हत्तपत्त निभाइदिए छेवैको भित्ता ग्याँसको रापले कालो भएको खोइ किन किन मेरो भविष्य पनि समस्याले पोलेर त्यसरीनै कालो हुँदै गए जस्तो लाग्छ आजकल!
*************** **************** **************** ***************** ************
एक हफ्ता पछि
“ अनि छोराछोरीको पढाई ?” बुढीको अनुहार मलिनो नै थियो ।
“ मैले वुझेँ , कप्तान काका सँग मोबायलमा कुरा भएको थियो । काकाकै घर भाडामा लिएर  राम्रो बोर्डिंग पनि खोलेको छ रे ! एसएलसिमा सवै फस्ट डिभीजन आएका रे त्यो स्कुलबाट ” मैले सम्झाउने प्रयास गरेँ ।
उ केलाउँदै गरेको चामल हेरेर घोत्लिरही ।
“यहाँ भाँडामा बस्नु भन्दा त त्यहि ठीक हैन र?” मैले थोरै जिद्दी गरेँ
“खोइ ! तै पनि !”
“हामीले छोडेपछि बाटो नि पुग्यो , बरु एउटा बाइक जोहो गरेर किनौँला !”
“कहाँ बाट गर्नु हुन्छ जोहो ?” उ ठुस्किइ
“गरौँला नि केहि !”
“ भनेपछी तँपाइले फर्किने मन बनाइसक्नु भो !” उसले पुलुक्क हेरी । “ अनि जग्गा चाहिँ कहाँ हो ?”
“हामीले बेचे भन्दा दुइ घर तल !”
“कति रैछ दाम ?”
“दुइ लाख कमिसन दिए  चालिसमा मिलाइदिन्छू भनेको छ !” मैले सुस्तरी जवाफ फर्काएँ । छेवैको किचनको भित्ता थोरै अरु कालो भएको छ।