वृद्दभत्ता --- Rajits

देवीमायाको गाउँ ज्यामिरे । त्यो गाउँमा अचम्मै ठूला ज्यामिर फल्ने भएर त्यस्तो नाम भएको अरे । देवीमायाको घरमा पनि एउटा ज्यामिरको बोट थियो । देवीमायालाई गाउँमा हर्केको कुखुरोले उठाउँथ्यो । हर्के उनको छिमेकी । यहाँभने उनको छेवैमा फर्निचर पसल छ । छेवैको फर्निचर पसलमा कुखुरो भने छैन । उनी बस्ने कोठा पनि सानो र अँध्यारो छ । घरको अगाडी आगन छैन,करिव दुई फिटको पेटी छ , मान्छे छिर्नै गाह्रो हुने खालको। त्यसपछि घरपेटीले लगाएको पर्खाल छ । बाहिरका मान्छे नछिरुन भनेर । घर भत्किनै आँटेको छ । भुइँचालो पछि नबस्नु भनेर रातो स्टिकर लगाएकाले घरपेटी त्यहाँ बस्दैनन् । देबीमायाले पनि सस्तोमा पाएकी त्यहि भएर । हुन त त्यति सस्तो पनि देवीमायालाई पैसा तिर्नलाई धौ धौ छ ।
गाउँमा मान्छे आइदे हुन्थ्यो भन्ने हुन्छ , यहाँ मान्छे आए डर हुन्छ । मान्छे पनि त थरी थरीका छन् , आँफैलाई लुटेर जाने मान्छे त नआएकै जाति । घरपेटीको पनि त्यहि विचार होला । र त आँगन छैन, सानो पेटी अनि ठूलो पर्खाल छ । आगन नभए पछि तुलसीको रुख पनि छैन। गाउँमा देवीमाया अलि अलि पूजा गर्थिन । यहाँ तुलसीको बोटमा पानी चढाउन पाउँदिनन् । पहिलो त तुलसीको रुखै नभएकोले ,दोश्रो चाहिँ पानी पनि प्रशस्त छैन । छेवैको ढुंगेधाराबाट थापेर लिएर आउनुपर्छ । नुहाउन पनि ढुंगेधारामै जान्छिन् । अनि पानी लिएर पनि आउँछिन् ।
 छेउछाउमा कुखुरो नभएकाले र उनको मोबाइलमा अलार्म लाउन नजान्नाले बिहान निन्द्राले छोड्नु नछोड्नु देविमायामा नै भर पर्छ ।छोराले मोबायल पठाएको तिन दिन पछि त्यहि फोनमा कुरा गर्दा भनेको थियो " म अर्को महिना पैसा पनि पठाउँछु है आमा !" । उनले आँशुले भरिएको आँखा र भाँसिएको स्वरमा भनेकी थिइन् "हुन्छ।" । तर न पैसा आयो न छोरो ! छोरोको चिनो त्यहि मोबायल मात्रै रह्यो उ सँग अनि पठाउँदा उसैले खिचेर हालिदिएको फोटो !
 छोडेर सग्लै नफर्केको छोराको सपना देखे कहिलेकाहिँ चाँडो बिउँझिन्छिन् । अनि त्यसपछि निन्द्रा पर्दैन । फर्निचर बनाउने मेशिन बिहान आठ बजे देखि भने कर्कश ध्वनिमा कराइरहन्छ । आठ बजे पछाडी उनी परेवाको चारो बेच्न पाटन दरवार स्क्वायर तिर लाग्छिन् । गाउँमा कुखुराले उनलाई उठाउँथ्यो , यहाँ फर्निचरको मेशिनले उनलाई खेदाउँछ । दरवार स्क्वायर तिर । कृष्ण मन्दिर छेउमा । भगवानको शरणमा !!
 शान्ती खोज्न कृष्ण मन्दिरको छेउमा गई परेवाको चारो वेचेर बस्छिन् सडककै एउटा कुनामा ! ति अँध्यारा गल्लिहरु छिचोल्दै कृष्णमन्दिर छेवैमा निस्कँदा देवीमायालाई त्यो अँध्यारो पछिको उज्यालो नै भगवानको दर्शन हो जस्तो लाग्छ ।  विहान त्यहि उज्यालो प्रकाशलाई मनमनै ढोग्छिन् । हुन त गाउँमा जस्तो त्यहाँ पानी चढाउने तुलसीको बोट छैन तर भगवान सम्झिन्छिन् । कहिलेकाहिँ उनलाई भगवानले भने बिर्से जस्तो लाग्छ । तर भगवानले कतिको गुनासो सुनुन् । उनको गुनासो फर्छ्यौट नभएको जस्तो लाग्छ । भगवान सँग चित्तै फाटे नि रिसाउन मिल्दैन । चुपचाप नै सहेकी छिन् । कहिलेकाहिँ गुनगुनाउँछिन् पनि
"श्री कृष्ण मेरो सब दु:ख हर ...... एक बार मलाई याद गर......"
बुढा जस्तै गरी जसरी छोरो छुट्यो, अनि अन्तिममा भेटिँदा नि सग्लो भेट्टिएन उनलाई त्यति बेला लागेकै हो ,  भगवानले देवीमायाको निसाफमा ठूलो बेइमानी गरे । नत्र बुढेसकालको लठ्ठि तोड्दैन थिए । हुने भइसक्यो । शायद बुढाको पृथ्वीको बसाई त्यत्ति नै थियो , शायद छोराको पृथ्वीको बास त्यत्ति नै थियो । दुवैको बैकुण्ठ बास होस् । कृष्ण भगवानलाई ढोगी त्यत्ति नै चिताई दिन्छन् । उनले चिताउने कामनाको क्षितिज त्यत्ति नै होला !
*************** *************** ************* ************* *************** ****
करिव एक हफ्ता अघि उनी गाउँ पुगेकी थिईन् । ढल्न आँटेको घरमा दुई रात  बिताईन् । तर निन्द्रा भन्दा ज्यादा उनलाई ऐठन भो । घरैले थिचेजस्तो , भित्ताले थिचेजस्तो भो । उनको वैँश अनि छोराको बालककालले थिचे जस्तो भो । तेश्रो दिन बस्न सकिनन् । उनले लिन भनेर गएको वृद्द भत्ता पनि लिन पाइनन् । दँशैमा घर गएको गाविसको सचिव तिहार अघी फर्किने छाँट देखिएन । अनि उनलाई लक्ष्मीपुजाको दिन त्यो आगनमा बत्ति बाल्न आँट आएन जहाँ उनी छोराको लडेको शरिर सुम्सुम्याएर रोएकी थिई । तेश्रो दिन उनले वृद्दभत्ता माया मारीन् अनि फेरि लागीन् भिँडैभिँडको शहरतिर !
************ ************* **************** ************** **************** ***
"यहाँ भित्र पसल राखेर किन बेच गर्न पाइन्न !" चारोको बोरा खोसेर , लठ्ठी इँटामा टक टक पार्दै उ च्याठ्ठियो ।
देवीमायाले उसलाई हेरिन् । तेइस् चौबिस्को हुँदो हो । पातलो ,खिरिलो उसकै छोराको कदकाठीको ! छोरो पनि बाँचेको भए यस्तै हुँदो हो । छोरो पनि नेपालमै जागीर खाएको भए वाँच्दो हो । छोरो पनि पुलिस भएको भए यस्तै लुगा लाउँदो हो ।
"कान सुन्दिनौ ?" उसले कान देखायो ।
देवीमाया झसंग भईन् । उनको तन्द्रामहल टुट्यो ।
"बाबु , अनि अरु के गरुँ त म ? यसैले पालेकी छु आफुलाई यो शहरमा !"
"मलाई के थाहा , तर यहाँ पसल नफिजाउ !" उसले देवीमाया तिर हेर्दा पनि हेरेन । उ देवीमायाको छोरो होइन । देवीमायाको छोरो त देवीमायाका साथिहरुलाई , उसले नचिनेकै भए पनि उ भन्दा जेठालाई तँपाइ भन्थ्यो । सकेसम्म सहयोग गर्थ्यो । एक चोटी त तल्लो गाउँबाट एक जना वुढा मान्छेलाई बोकेरै घर पुर्याएथ्यो । तर यो केटोले देवीमायालाई हेरेन । उ टकटक लठ्ठी बजाउँदै देवीमाया नउठुन्जेल त्यहि पेटीमा घुमिरह्यो ।
"सरकारी जग्गामा जता पायो त्यतै बजार फिजाउँछन् , किन आउँछन् कुन्नी गाउँबाट ,अनिकालमा मान्छेहरु !"
देवीमाया उठिन् । उनलाई बिझ्यो । तर बोलिनन् । शायद त्यहाँ पसल थाप्न पाइन्न । शायद उनकै गल्ती । त्यो ठिटो लठ्ठि बजाउँदै अघि बढ्यो । रहर त थिएन हात पसार्ने तर आउने जानेहरुको अघि तर अरु उपाय थिएन देवीमायाको निम्ती । यो शहर चारो  वेच्न दिन्न , यो शहर हात पसार्न भने दिन्छ । यो शहर माग्ने बन्न आरामले दिन्छ । माग्नेहरुको अघि लठ्ठीहरु बज्दैनन् । उनी थोरै धेरै मागेर गुजारा चलाउन थालिन् । परेवाहरुलाई नियाल्थिन् । कहिलेकाहिँ देवीमायाले आफुले चारो नबेच्दा परेवा भोकाउँछन् कि भन्ने डर लाग्थ्यो । तर परेवाहरुको उडान हेर्थिन् । भोकाहरुको पखेटामा त्यति उडान हुन्न । उनी चित्त बुझाउँथिन् । सामान्यतय दुईका पाँचका दशका नोटहरु झरेर साँझपख सम्म सय दुइसय हुन्थे । उनलाई गुजारा चल्थ्यो ।
************** *************** ***************** **************** ************
दुई चार दिन भो उनलाई खोकी लाग्न थालेको ! जचाउनलाई पैसा नपुग्ने भो । यो शहरका डाक्टर साह्रै महँगा । हुन त जीवन सस्तो हुँदैन तर गरिवको पनि त जीवन हुन्छ । बचाउने काम सस्तै हुनुपर्ने हो । तर छैन । उनको वृद्दभत्ता गाउँमै होला । खोकीले थलिएकी उनलाई गाउँ जाने आँट आएन । मोबायलबाटै हर्केलाई फोन गरिन् , वृद्द भत्ता बुझेर पठाइदिन्छ कि भनेर ! हर्केलाई त बिर्सि सक्नु भयो होला ! हर्के देवीमायाको छिमेकी , जसको कुखुरोले उनलाई बिहान उठाउँथ्यो ।
हर्केले बेलुका फोन गर्यो
"तँपाई नआइ दिँदैनन् अरे !"
"म बिरामी छु भन्दिनु भएन ?"
"भनेको पनि मान्नु भएन सचिवज्युले !"
देवीमायाले फोन राखिन् । बत्ति निभाइन् ।
उनी थला पर्दै गइन् । वुढावुढीलाई घरमैँ जाँच्ने भनेर रेडियोले फुक्यो । त्यसको लागि त बसाई सराई ल्याएर यहिँ को हुनुपर्छ , कसैले उनलाई सुनायो । उनको खोकी निको भएन । एक दिन ढुंगे धारा नजिकै देवीमाया ढलिन् । फर्निचर दोकानको साउजीले देखेर उठाएर घर भित्र पुर्याइदियो ।
दिनभरी खाटमै सुतिन् । थोरै बिउँझिदै थोरै निदाउँदै । अनि त्यहि रात उनको छोरो र बुढा आए । सपनी हो कि बिपनी उनले छुट्याउनै सकिनन् ।
 छोरो नजिकै आएर बस्यो । अनि सुस्तरी सोध्यो
"के छ आमा ?"
उनले मधुरा आँखाले छोरालाई हेरिन् । निलो जर्सी लगाएको । बुट लगाएको ।
"तँ पुलिस् मा भर्ति भइस् ?" उनले सुस्तरी सोधिन् ।
"हो त !" उसले लठ्ठी देखाउँदै जवाफ फर्कायो ।
बुढा पनि खाटमा बसे ।
"तिन जनालाई थाम्दैन यो खाट , एउटा खुट्टा अस्ति भाँच्चिएको छ । इँट्टाले अड्याएकी छु !" देवीमायाले बुढा तिर हेर्दै भनिन् ।
"एउटै खाटमा बस्न पनि दिन्नस् त ! कस्तो कोठामा बसेकी ! कस्तो अँध्यारो !"
"छोडेर गइहाल्यौ यस्तो ठाउँमा !" उनले फेरि गुनासो गरिन् ।
"हामी तँलाई लिन आएका , हिँड जौँ !"
छोरा र बुढाले देवीमायालाई उठाए । ढोका बाहिर अनौठो प्रकाश । पुरै उज्यालो । कहिल्यै नदेखिएको उज्यालो !
************** ************* ******************* ****************** ************
केहि दिन पछि , ज्यामिरे गाविसको कार्यलयमा ,
"असार मसान्त आउन आट्यो यो निकालेको वृद्दभत्ता के गर्ने ?"
"कस् कस्को वाँकी छ र ?"
"......... देवीमायाको !"
"ति वुढीमान्छे हैनन् , घरमा छैनन् र आजकल ?"
"शहर गाकी थिइन् , फर्केकी छैनन् "
"खुट्टाको वुढीऔँलाको ल्याप्चे लाइदे न त बुझ्नेठाउँमा !!!"




मेरो चोकको विरु-Rajits

तँपाइहरुले कहिल्यै आफ्नो वुवाको पुराना लुगा राखेको दराज खोल्नु भएको छ ? मैले खोलेकी छु । अनि कहिल्यै ति पुराना लुगाहरु मध्येकै झुण्डिएका प्यान्टहरु हेर्नु भएको छ ? लगाउँदा घरै बढार्ने जस्ता , कुचो नचाहिने जस्ता । बेल बटन भन्छन् शायद । वुवाले भन्नु भएको,  धर्मेन्द्र , अमिताभ बच्चनले फिलिममा लाएपछि फेशनै चल्यो अरे !
वुवालाई मन पर्ने धर्मेन्द्र , अनि उसको फिलिम "शोले !" हामीले टिभी हेरिराखेको बेला पनि भन्नुहुन्थ्यो "शोले" जस्तो फिलिम अब बन्दैन । तिमीहरु के के हेर्छौ के के ! एकदिन त "थ्रि इडियट्स" हेर्दा हेर्दै भन्दिनु भो " शोले जस्तो फिलिम बन्दैन , यस्तो पनि फिलिम हुन्छ ?" । म बुवा का कुरा काट्दिन । आज्ञाकारी छोरी । चित्त नबुझे पनि चुपचापै बसेँ । शोले हेरेकी छैन । के छ त "शोले" मा बुवालाई मन पर्ने ? सोच्दासोच्दै टिभिमा फुंगसुक वांग्डुले पियालाई लद्दाकमा भेट्टायो । "थ्री इडियट्स" सिद्दियो ।
आमा किचन बाट बाहिर निस्किँदै भन्नु भयो " खाना पाक्यो !" । खानाको टेवलमा वुवाले अन्तिम गाँस सिध्याउँदै गर्दा मैले वुवालाई प्रस्ताव राखेँ "शोलेको व्लु रे डिभिडी खोजेर ल्याउँछु अनि सँगै हेर्नु पर्छ ।" वुवाले पुलुक्क म तिर हेर्नु भयो । अनि सोध्नु भयो "तैँले शोले हेरेकी छैनस्?" । मलाई केहि केहि छ्यासमिस याद छ शोलेको । टिभिमा आइरहन्छ । तिनीहरुको तिन पांग्रे स्कुटर । गव्वरको बेल्ट र जुत्ता । अश्रानीको जुँगा । यस्तै यस्तै ।
"अहँ !" मैले टाउको हल्लाएँ ।
" ल त यो शनिवार !"
************** ************** ************* ************** ******************
"कता हो , कलेज ?" चियापसलबाट आवाज आयो । म साथी सँग बाटोमा स्कुटर रोकेर गफ गर्दै थिएँ । पारी पट्टि चियापसल । क्यारेम खेल्ने केटाहरुको भिँड । मैले जवाफ फर्काइन । त्यो केटालाई म चिन्छु । म सँग बोल्न खोज्छ । तर मलाई उसको हेराई मन पर्दैन । खाउँला जस्तो । ट्वाल्ल आँखा पारेर । उ भने आफ्नै सुरमा बरबराइरहन्छ ।
"कलेज सिद्दिएर काम गर्न थाल्यौ कि के हो ?" उसले आवाज थोरै ठूलो बनायो । शुरु शुरुमा खासै बोल्दैन थियो । आजकल दुई चार शव्द थप्छ मैले केहि नबोले पनि ।
"नजिक गएर गफ गर न !" क्यारेम खेल्दै गरेका केटामध्ये कसैले उसलाई ढाडस दियो
मलाई डर लाग्यो । मेरी साथीलाई पनि । उसको हिम्मत वढ्दै छ पछिल्ला दिनहरुमा । म चाँडै यहाँ बाट हिँडेकै ठिक ।
"ल म हिँडे !" स्कुटर अघि बढाएँ । साथिले मेरो कुरा वुझेर टाउको हल्लाई । मलाई थाहा छ । मेरो स्कुटर कुरेर त्यहिँ बस्नेछ त्यो बेलुका फर्किँदा पनि।सँधै त्यस्तै गर्छ । एक दिन त बाटो रोकेरै भनेको थियो " यस्तै बाल नदिकन बस्यौ भने कुन दिन म मरेको सुन्छ्यौ , तिम्रै घरको पिपलको रुखको अघि झुण्डिदिन्छु !" पछाडीबाट केटाहरु गलल्ल हाँसेका थिए । उ पनि हाँस्यो । अनि चियापसल तिरै फर्कियो ।
म भने पसिनाले चिटचिट भएकी थिएँ । अरुबेला बोलिरहने मलाई यस्तो बेला कसैले घाटी थिचिदिए झैँ हुन्छ । बोल्नै सक्दिन । गालि गर्न सक्दिन । ढुंगा जस्ती हुन्छु । कहिले काहिँ यो भन्छु यो भन्छु भन्दै धेरै गाली तयार गर्दै आउँछु । त्यो दिन भने त्यो केटा हुँदैन । त्यो दिन हिँड्दै गर्दा उ भेटिएला सोचेकी थिइन । भेटियो । फेरि पनि ढुंगै भएँ । बाटोमा हिँड्दा सोचीरहेँ । उसलाई मेरो घरको छेउको पिपलको रुख थाहा छ । सँधै मलाई पछ्याउँछ । मनै चिसो भो । पुलिसको मा जाउँ की ? फेरि घरमा के भन्नुहोला , बल्ल बल्ल खोजेको जागिरमैँ नजा भन्दिनु भो भने ? बिहे गर भन्नु भो भने ? दिदीलाई अफिसकै केटाले पछ्याइपछि काम छोड्न लगाएर बिहे गर्दिनु भएको मलाई याद छ । मलाई अहिले नै काम छोड्न मन छैन ।
*********** ************** ************ ************ ***************** **********
घर पुगेँ । बुवा चिया खाँदै पत्रिका हेरिरहनु भएको थियो ।
"ल्याइस् त शोलेको डिभिडी ?"
अहो के बिर्से के बिर्सेँ भनेको शोलेको डिभिडी रहेछ । त्यो केटोबाट जोगिन रुट चेन्ज गरेकी थिएँ । डिभिडी पसल छिर्न पाइन ।
"भोली ल्याउँछु वुवा !" सुस्तरी जवाफ फर्काएँ ।
"काम गर्न थालेकी ?" भन्दै त्यो केटो हाँसेको अनुहार मनमा आइरह्यो । हटाउन सकिन । बाथरुम गएँ । मुख धोएँ ।  आँत नै चिसो भएको छ। उपाय खोज्दै छु जोगिने । कोहि फिलिमका हिरो जस्तै कोहि आएर मलाई त्यो केटाबाट जोगाइदिए !!!!!
******************** **************** ***************** *************** *********
जय र विरु रामगढको ट्रेन स्टेशनमा ओर्लिए । त्यहाँ ट्याक्सी पाइन्नथ्यो । बसन्तीको टाँगा मात्रै । मन मनै सोचेँ बसन्तीलाई वुवाआमाले के भन्दाहुन् । बसन्ती पनि राम्री थिई । केटाहरुले जिस्काउँदा उ चुपै बस्दी हो कि गाली गर्दि हो । उ बोलीहरन्थी भनेपछि पक्कै गाली नै गर्दी हो । विरु त भेट्ने बित्तिकै जिस्किन थाल्यो । मलाई विरुको बानी मन परेन । बिचरी बसन्ती एक्लै रैछे । वुवा आमा नभएकी । फूपुले पालेकी । आफ्नै खुट्टामा उभिन खोज्ने । तर हिरो भएर पनि विरुले उसलाई जिस्क्यायो । पहिलो भेटमैँ । मलाई विरुको बानी मन परेन । त्यतिखेर पनि केटीहरुलाई राम्रो वर्किंग इन्भाइरोमेन्ट थिएन ऐले पनि छैन । बसन्तीले पनि मलाई टांगामा शहरबाट आएको गुण्डोले जिस्क्यायो भनी भने फुपुले बिहे गर्दिँदी हुन् । त्यहि भएर भन्दिन होला घरमा ! वुवालाई भने बसन्तीको केहि चिन्ता थिएन । वुवा गव्वर मार्न जय बिरु आएकैमा खुशी हुनुहुन्थ्यो । विरुले बसन्तीलाई जिस्क्याउनु त सामान्य हो । उ हिरो हो उसले जिस्क्याउन पाउँछ।
बसन्तीकी फुपुलाई आँपको अचार खानुपर्ने भो । उ आँप झार्न गई । जय र बिरु आँपकै वँगैचामा ढल्किरहेका। दिउँसो रामगढ जोगाउन आएका । आँपको वँगैचालाई नै वेडरुम सम्झेर ढल्केर बसेका । मलाई मनमनै शंका लाग्यो । शायद बिरु बसन्तीलाई पछ्याउँछ । उसको काम गव्वरलाई मार्नु हो । तर उ बसन्तीलाई पछ्याउँछ । बसन्तीलाई राम्रो नलागे पनि पछ्याउँछ । बसन्तीले कतै गुनासो गर्न पाउँदिन उसलाई विरुले पछ्याएको बारेमा । किनभने बिरु नभए गव्वरबाट गाउँलेलाई कसले जोगाउने । केटी भएर होला उसले आँप झार्नै सकिन । जयले पछाडीबाटै गोली हानेर आँप झार्दियो । विरुले आँप झार्न सिकाउने निहुँमा बसन्तीका अंग अंग छोयो । मलाई बिरु प्रति घृणा जागेर आयो । तर अचम्म बसन्तिले थाहा पाएर पनि थोरै मात्र रिसाई । उ पनि म जस्तै ढुंगा भई । जड भई । उसलाई पनि गालि फुरेन । उसले पनि सोच्न सकिन । उसले पनि कसलाई भनोस् ? मैले वुवाको अनुहार हेरेँ । वुवा हाँसी रहनु भयो । मुसुमुसु । वुवालाई विरु नै मन पर्यो । विरु हिरो हो । अनि बसन्ती राम्री केटी ।बसन्ती हुनु नहुनुले रामगढलाई खासै फरक पर्दैन तात्विक रुपमा । उसले मात्र नाचगान गर्न जान्दछे , अनि टांगा चलाउन !
फुपुले विरुको बिहे बसन्ती सँग नगर्ने भए पछि उ पानी ट्यांकिमा चढेर मर्ने धम्कि दिन थाल्यो । फुपुले ठिकै गरेकी हुन् । विरु चाहिने भन्दा ज्यादा रक्सी धोक्छ । केटी भनेपछि मरिमेट्छ । पछ्याइरहन्छ । मलाई झल्याँस्स चोकको केटो याद आयो । पिपलको रुखमा झुण्डिन्छु भन्थ्यो । बिरु ट्यांकिबाट हाम फाल्छु भन्छ । दुवै उस्तै । बुवाको अनुहार हेरेँ ।वहाँ हाँस्दै हुनुहुन्थ्यो । मलाई झनक्क रिस उठ्यो । यसमा हाँस्नुपर्ने के छ ? केटाले जे गरे पनि हुन्छ ? ट्यांकिमा उफ्रिएर ,पिपलमा झुण्डिएर केटी भेट्टिन्छ ? यस्तो पनि नायक हुन्छ ? फुपुले हुन्छ भन्दी , विरुले मर्ने प्लान क्यान्सिल गर्यो ! मलाई चिटचिट पसिना आयो । आखिरमा विरुले बसन्ती भेट्टायो । बसन्तीको केहि चलेन । मलाई त्यो चियापसलको केटो याद आयो । कसैले चियापसलबाट उसलाई जिस्क्याए झैँ लाग्यो
"यो भ्यालेन्टाइन नभए पनि अर्को भ्यालेन्टाइनसम्म पक्कै पट्टिन्छे ! लगेरहो ! बाटो नछोड !!"
उसले पनि शोले हेरेको छ । उ आफुलाई विरु सोच्छ । अनि मलाई बसन्ती ।
मैले टिभी बन्द गर्देँ । वुवाले पुलुक्क म तिर हेर्नु भो ।
"वुवा शोले राम्रो रैनछ । मलाई मन परेन !"
वुवा केहि बोल्नु भएन ।
"विरु राम्रो केटो होइन ,हुँदै हैन !" म चिच्याएँ । वुवाको कान फाट्ने गरी चिच्याएँ ।  घरमात्र हैन , मैले समाजलाई पनि चिच्याएर सुनाउनु छ । "विरु राम्रो केटो होइन !"


मालिकको व्यापार -- Rajits


मेरा मालिक धुरन्धर व्यापारी हुन् । उनको व्यापारको चर्चा टाढा-टाढासम्म फैलिएको छ । उनले केहीमा छोए भने घाटा भन्ने हुँदै हुँदैन भनेर बुझे हुन्छ । व्यापारका बादशाहको नाममा प्रख्यात छन् मेरो मालिक । मोटा जुँगा, ठूलो भुँडी अनि तिक्ष्ण दिमाग ! शायदै कसैको होला यस्तो अनुपम स्वरूप ।
उनले व्यापार पहिलोचोटि आँपको बगैंचाबाट सुरु गरेका थिए । कस्तो अचम्म ! उनको बगैंचामा आँप फल्दा अरुतिर फल्दैनथ्यो । उनी आफूलाई मन लागेको मूल्य लगाउन पाउँथे । सुरु-सुरुमा त मालिक मजस्तै लिखुरे थिए रे, मेरो बुवाले सुनाउनुभएको । तर, अहिले बडेमानका छन् । जब उनी बार्दलीको खाटमा तकिया राखेर तेर्सिन्छन्, लक्ष्मीलाई पनि विष्णु भगवान नै शेषनागमाथि तेर्सिए जस्तो लाग्दो हो । त्यही भएर त लक्ष्मी माताको उनीमाथि कृपादृष्टि परिरहन्छ । मलाई पनि मेरो मालिकसँग धेरै सिक्न मन छ व्यापारको बारेमा ! किनकि मेरो मालिक धुरन्धर व्यापारी हुन् ।
"मालिक म पनि अब आफ्नै व्यापार गर्छु !" एकदिन फुरुंग हुँदै मैले कुरा राखेँ । सुरुमा डर पनि लाग्यो किनकि म त अह्राएको काम गर्ने मान्छे ! आफ्नै व्यापार मैले गरेको ठूलो आँट थियो ।
"केको व्यापार ?" मालिकको आँखामा कौतूहल देखियो ।
"त्यो त तपाईंले सिकाउनुहुन्छ नि !"
"गुरुदक्षिणा के दिन्छस् ?"
"के दिनु, भन्नुस् न !" मैले टाउको कन्याएँ । मसँग मालिकलाई दिने केही छैन । भरिपूर्ण मान्छेलाई म बबुरोले के नै दिन सकुँला र ?
"पहिला नाफा कमा न , त्यसपछि लिउँला गुरुदक्षिणा !"
मैले टाउको हल्लाइदिएँ । मेरा मालिक दयालु पनि छन् ।
"अहिले नेताहरु गाउँ छिर्ने बेला छ, माला धेरै चाहिन्छ, तँ फूलको व्यापार गर् !" मालिकले मलाई उनको मनको करोडौँको दिव्यज्ञान सुम्पिए । म धन्य भएँ । उनले ममाथि ठूलै उपकार गरे । मेरो मालिक दयालु छन् ।
"मालिक, मलाई फूल व्यापारको बारेमा खासै थाहा छैन," गाह्रोसाह्रो फेरि मालिकलाई नै पोखेँ ।
"परको मेरो खेत ठेक्कामा लेऊ, थोरै पैसा बैंकबाट खोज !"
"बैंकले मलाई कहाँ पत्याउँछ र मालिक ?" मनमा आशंका उब्जियो । मलाई याद छ, जिल्लामा नापीमा जाँदा, नागरिकता बनाउन जाँदा, मालपोतमा जाँदा गाह्रो हुन्छ । तिनीहरुमा त गाह्रो हुन्छ भने बैंक त झन कहिल्यै नगएको ठाउँ । झन् कति गाह्रो होला !
"यसो गर , त्यो पनि मै सापटी दिउँला तर ब्याज लिन्छु सयको तीन !"
"फूलले पैसा उठ्छ त मालिक ?"
मालिक हाँसे । हाँस्दा उनको अर्ध चन्द्राकार जुँगा सीधा भएजस्तो भयो । उठ्छ, पक्कै उठ्छ, मालिकलाई लक्ष्मी माताको आशीर्वाद छ।
० ० ०
परबाट लावालस्कर आउँदै गर्दा म पनि ढाकी लिएर फूल बेच्न बसेको थिएँ । समाजवाद, उदारवादका नारा घन्किँदै छेवैबाट नेताज्यूको गाडी गुज्रियो । कसैले मेरो ढाकी हेरेनन् । जाँदै गरेको अन्तिम मान्छेले मलाई सोध्यो, "दाइ, पानी खाने ठाउँ कहाँ छ ?"
मैले छेवैको कुवा देखाइदिएँ । ऊ फर्किँदै गर्दा मेरो ढाकीको फूलहरु हेर्‍यो । अनि मुसुक्क हाँस्दै सोध्यो, "कति राम्रो फूल, आफैं रोप्नुभएको ?"
मैले टाउको हल्लाएँ ।
"तपाईंहरुलाई चाहिन्न ? नेताज्यूको स्वागतको लागि ?" एउटा आग्रही प्रश्न राखेँ ।
"हाम्रो मुख्य नेताजीलाई त पोलनको एलर्जी छ ! त्यही भएर यसपालि फूलमाला कसैले नलाउने भन्ने हाम्रो पार्टीको निर्णय छ !"
मेरो मन अमिलियो ।
"हामीले बाहिरबाट प्लास्टिकका माला मगाएका छौँ ! तिम्रो फूलभन्दा धेरै महँगो, धेरै दिन चल्ने !"
मैले मेरो फूलको ढाकी हेरेँ । दिउँसोको घाममा केही फूल ओइलिन आँटेका थिए । लोटामा लिएर बसेको थोरै पानी छर्किएँ ।
"ओइलिने फूल पनि कसैले व्यापार गर्छ त ?" उसले मलाई सुझाव पो दियो । मलाई रिस उठ्यो । उसलाई थाहा छैन- यो व्यापारपछाडि सच्चा व्यापारीको दिमाग छ । बाटोमा नेताको पछाडि लाग्ने कार्यकर्तालाई केको व्यापार चल्छ, केको चल्दैन, के थाहा ?
"अर्को पार्टीको पनि कार्यक्रम छ हैन ?"
"छ तर एक हप्तापछि !" ऊ मलाई जानकारी दिएर बाटो लाग्यो । फूल भने तीन दिनमै काला भए । मालाहरु घरको पछिल्तिर खाल्डो खनेर पुरेँ । शायद मेरो भाग्य नै खोटो । मालिकको व्यापारमा खोट थिएन । पोलनको एलर्जी मैले पहिला सुनेको पनि थिइनँ । विचरा मालिकलाई के थाहा त्यसको बारेमा ! के हो त्यो पोलन भनेको ? अनि कहाँ हुन्छ त्यो फूलमा ?
० ० ०
"अब के गरुँ ? कसरी तिरुँ हजुरको रिन ?" मैले धेरै बेरपछि भक्कानिँदै बोलेको थिएँ । पहिलोचोटि हो म रिनमा परेको । अहिलेसम्म कसैको खाएर भागिनँ । कसैलाई ठगिनँ । मालिकको पैसा खाने त मनले चिताउँदिनँ पनि । तर तिरूँ कसरी ? मालिक मभन्दा पनि गम्भीर थिए । ठूलै ग्लानि भए जस्तो । हुन पनि हो, उनको सुझाव त खेरै नजानुपर्ने । उनको वचनमाथिको दाग हो त्यो सुझाव ।
"कति बाँकी छ पैसा तँसँग ?" एकछिन घोरिएपछि उनले सोधे ।
"पाँच सय !"
"बाइक चलाउन आउँछ ?"
मैले स्वीकारोक्तिमा टाउको हल्लाएँ । मालिकको छोरा र मैले सँगै बाइक चलाउन सिकेका थियौँ । मालिकको छोरो र म सानैमा साथीजस्तै थियौँ । पछि बिस्तारै मालिकको छोरो पनि मालिक नै हुन्छ भन्ने मलाई चेत आएपछि मात्र म ऊसँग अलि टाढा भएको थिएँ । ऊ गाउँमा पढिसकेर राजधानीतिर लाग्यो । म भने मालिकसँगै रहेँ । पढ्न खासै सकिनँ । पढ्ने ठूलाबडाका छोराछोरीले नै हो । गरिबको दिमाग पनि गरिब नै हुन्छ ।
मालिकको छोरो मजत्तिको बाइक चलाउन जान्ने नभए पनि उसको चिनजानबाट उसले लाइसेन्ससमेत निकालेर आएको थियो जिल्लाबाट । काठमान्डूमा बाइक नभए बाँच्न सकिन्न रे ! उसले मालिकलाई सुनाउँदै गर्दा मैले सुनेको । मसँग भने लाइसेन्स थिएन ।
"तर लाइसेन्स ......."
"लाइसेन्स चाहिँदैन !" उनले मेरो वाक्य पूरा हुन दिएनन्, "सर्वाहारा पार्टीको र्‍याली अर्को महिनाभरि छ, एकदिनको हजार रुपैयाँ दिन्छ, र्‍यालीमा गइस् भने बाइक पनि बन्दोवस्त गर्दिन्छन् । अनि तँलाई रिन तिर्नलाई पनि लगभग पुग्छ !" मालिकले मैले रिन तिर्ने व्यवस्था गरिदिए । मालिकसँग प्रत्येक समस्याको समाधान छ ।
धेरै दिनपछि मेरो आँगनको खाटमा पल्टिँदा मुटु हलुका थियो । म मालिकको रिन तिर्दैछु । मैले कसैसँग बेइमानी गर्नुपर्नेछैन ।
० ० ०
बाइक दिने मान्छेले साँचो जिम्मा लाउँदा भनेको थियो, "बाइकमा केही भए तिम्रै पैसाले काटिन्छ !"
मालिकले पनि सुझाव दिएका थिए, "धेरै स्पिडमा नचलाउनू !"
मैले बिस्तारै चलाएर होला, लगभग-लगभग अन्तिमतिर थिएँ । अचानक एउटा पुलिसले मेरो बाटो रोक्यो । अनि सोध्यो, "यो वन-वे हो भन्ने थाहा छैन ?"
"म त र्‍यालीमा थिएँ !"
"कुन र्‍याली ?"
र्‍याली त्यही बाटो गएको थियो तर अहिले सुनसान थियो किनकि म त अन्तिममा थिएँ । मलाई यो वन-वे हो भन्ने थाहा थिएन । जवाफ के दिने पनि थाहा थिएन । मलाई पक्राउ परे के जवाफ दिने, कसैले सिकाएन । मात्र बिस्तारै कुदाउन सिकाइयो । मात्र बाइक जोगाउन सिकाइयो । मेरो मौनता लम्बिँदै गयो ।
"लाइसेन्स देखा !" नजिकै आएर पुलिसले बाइकबाट चाँबी झिक्दै भन्यो ।
"छैन !" मैले काम्दै जवाफ फर्काएँ ।
"बाइक कसको हो ?" उसको आवाज अझ कर्कश भयो ।
"मलाई त र्‍यालीको लागि मात्र दिइएको !" मैले बल्लतल्ल उत्तर दिएँ ।
"गोजीमा कति पैसा छ ?" उसले नजिकै आएर कानमा सोध्यो ।
"पाँच सय !" मसँग त्यत्ति नै थियो ।
"त्यो पैसा दिएर आफ्नो बाटो लाग्, फेरि यो बाटोमा नआउनू नत्र बाइक लान पाउन्नस् !" उसले आफ्नो चुरोट सल्काउँदै भन्यो ।
यताउता हेरेँ ।आफ्नो चोर गोजीबाट बचेको पाँच सय निकालेर उसलाई जिम्मा लगाइदिएँ । बाइक लिएर घरतिर लागेँ ।
० ० ०
"म अब र्‍यालीमा जान्न मालिक !" साँझमा मैले फैसला सुनाएको थिएँ ।
"किन ?" मालिकको आँखामा आश्चर्य थियो । त्यो त सजिलो पैसा ! अनि म छोड्छु भन्दै थिएँ ।
"पुलिसले पक्डियो , लाइसेन्स माग्यो !"
"अनि बाइक ?"
"बाइक त पैसा लिएर फर्कायो, मेरो पाँच सय पनि लग्यो !"
"पाँच सयमा तँलाई छोड्दियो ?"
"छोड्दियो मालिक !"
"कस्तो थियो पुलिस ?"
"पुलिसको जर्सी लगाको !"
"पुलिसले त कहाँ बाइक पक्डिन्छ त ? ट्राफिकले पो पक्डिन्छ त !" मालिक उग्र बने ।
"तर मलाई पक्डियो मालिक !"
"तँलाई सोझो देखेर ठग्यो, अर्को पार्टीको मान्छे होला । पुलिस हैन त्यो !"
"म जान्नँ मालिक !"
"लाछी, कसरी तिर्छस् मेरो पैसा !"
चस्स बिझ्यो । त्यो पैसा खिल बनेर गढेको छ मेरो मुटुमा ।
"केही अरु उपाय छ मालिक ?"
"तँ अगाडि देखिन डराइस् , पछाडिबाट गर्ने काम छ, गर्छस् ?" मालिकले फेरि उपाय निकाले । उनी त उपायको भण्डार हुन् । मान्छे व्यापारी हुन दिमाग हावाको गतिमा चल्नुपर्ने रै'छ । मबाट व्यापार नहुने रहेछ । यो दुई-चार हप्तामा मैले पत्ता लगाएको !
"के काम मालिक ?"
"ढुंगा ओसारिदिने !""कहाँ ?"
"त्यो अहिले चलिरहेको र्‍याली अर्को पार्टीलाई मन परेको छैन । बिथोल्नलाई ढुंगा चाहियो रे ! त्यो पुल छेउसम्म ओसारिदिनु पर्नेछ खोलाबाट ! राति-राति कसैले नदेख्ने गरी !"
"कसैले देख्यो भने ?"
"राति खोलामा कसले चियो गर्छ ? राति तीन घण्टाको हजार रुपैयाँ दिन्छन् ।"
मनमनै सोचेँ । हो हुन त ! कसले चियो गर्छ र खोलामा ? मैले टाउको हल्लाइदिएँ ।
खोलाभरि मान्छेको लर्को थियो । ढुंगा ओसारेर सडकका दुईतिर राख्दै थिए । गोला फ्याँक्न मिल्ने ढुंगा । ठिक्कका, मान्छेलाई लागे रन्थनिने खालका ! म पनि सुरुसुरु काममा लागेँ । पहिलो दिन राम्ररी बित्यो । हजार रुपैयाँ फर्किने बेलामा पाइयो । गएर एक किलो चामल र नुन किनेँ । घर गएर थोरै गुन्द्रुकमा झोल र भात खाएर नौ सय रुपैयाँ सन्दुकमा हालेर निदाएँ । सपनामा मालिक देखिए । पैसा गन्दै गरेका । म छेउमा थिएँ । खुसी थिएँ ।
"तैँले रिन तिरिस्, स्याबास !" भनेझैँ लाग्यो ।
दोस्रो दिन भने सोचेजस्तो भएन । पुलिस आयो । खैलाबैला भयो । भाग्दा कान्लामा लडेर खुट्टा मर्कियो । अचानक गोलीको आवाज चल्यो । खोच्याउँदै भाग्दै थिएँ । मेरो पेटमा केही घुस्यो, तातो भो, पोल्यो । पेटमा हेरेँ, रगत चुहिँदै थियो । बङ्लङ्ग ढलेँ । त्यसपछि होश आउँदा एकैपटक अस्पतालमा थिएँ । धन्न छेउमा चिनेको मान्छे भेटेँ । मालिक उभिएर म होशमा आउने प्रतीक्षा गर्दै थिए शायद । उनले सुस्तरी भने, "चिन्ता नली, तँलाई केही हुन्न ! गोली लागेको पैसा पाइन्छ !"
धेरै मान्छे घेरेर मलाई सोधेपछि मैले सुस्तरी मालिकतिर देखाउँदै भने, "उहाँलाई थाहा छ !"
मालिकलाई उत्तर दिन चाँडो आउँछ । आवाजहरु धुमिल हुँदै गए । सुस्तसुस्त सुनिन छोडियो । अँध्यारो अनि टाढा प्रकाश देखियो ।
"यो बाँच्दैन होला !" कसैले बोल्यो ।
"हाम्रो पार्टीको मान्छे ! र्‍यालीमा गएको थियो !" एउटाले बोल्यो ।
"ढुंगा हाम्रो लागि ओसार्दै थियो !" अर्को कड्कियो ।
"म हो यसको आफ्नो मान्छे, मलाई कति पैसा दिन्छौ ?" मालिक बोले ।
"पाँच लाख !"
"दश लाख!"
"पन्ध्र लाख !"
मेरो लाशको बोली लाग्यो । मालिकले बोली लगाए । मालिकले मेरो लाशको व्यापार गरे । उनले ३० हजारबाट १५ लाख कमाए । मेरो मालिक धुरन्धर व्यापारी हुन् । उनको व्यापारको चर्चा टाढा-टाढासम्म फैलिएको छ । उनले केहीमा छोए भने घाटा भन्ने हुँदै हुँदैन भनेर बुझे हुन्छ ।
Published in :http://baahrakhari.com/news-details/20482/2017-03-18

क्यारेक्टर


मलाई संगिता कहिल्यै आकर्षक लागिन । न उसको काम । मेरो घर छिर्ने चोकमा तरकारी वेच्थी । धुलाम्मे बाटोले सँधै फुस्री , खासै नबोल्ने ! तर आजको दिन फरक थियो । के फरक भनेर नसोध्नुस् , मैले पनि खुट्याउन सकेको छैन । उ थोरै झुकेपछि , नपुग्नुपर्ने ठाउँमा मेरा आँखा पुगे , मैले हटाउन सकिन । उसले देखेर पनि नदेखे जस्तै गरी । उ झुकी रही , मानौँ उ मेरो आँखाको खुराक पुर्याइदिन चाहन्छे । पैसाको विटो कुर्ताको गला र उसको भित्री छाला छोएर गमक्क परेर बसेको थियो । मलाई जिस्क्याउँदै थियो ।
"तेरो यत्रो भाग्य छैन , तँ आँखैले चित्त बुझा !"
मैले तरकारी छानीसकेर सोधेँ " कति भयो ?"
"एक सय बिस !" उ थोरै हाँसी । शायद मनमनै भनेकी होली
" तिमी के हेर्दैछ्यौ, मलाई थाहा छ , तर मलाई तिम्रो हेराइ मन पर्यो !"
मैले मेरो पर्स हेरेँ एउटा सयको नोट , एउटा बिस को नोट सुम्सुम्याएँ । अनि पाँच सयको नोट झिकेर दिएँ । उसले त्यो पाँच सयको नोट लिइ । उसका हात र मेरा हात ठोक्किए । करेन्ट लागे झैँ झनन भयो । उसले विस्तारै सोधी ।
"खुजुरा छैन ?"
"अहँ !" मैले ढाँटीदिएँ ।
उसले अनि हात आफ्नो छाति तिर लगि । उसको छातिमा चेपीएर गजक्क परेको नोट झिकी । उसको हातलाई मेरो आँखाले पछ्याए । उसको छातिसम्म पुगेर नजर फर्कियो । मैले तिनवटा सयका र चार वटा बिसका नोट समाएँ । अनि विस्तारै घरतिर लागेँ ।
घर पुगेर डोरम्याटमा जुत्ता टकटक्याएँ । ढोका ढक ढक गरेँ । खोल्दै गर्दा छोरी थोरै मुसुक्क हाँसी । शायद एक्लै बसीरहँदा उसलाई पनि दिक्क लाग्छ । धेरै जसो पढेरै बसेकी हुन्छे । तिन माथी अहिले त सेन्ट अप आउँदै छ । मेरो हातको प्लाष्टिकको झोला देखेपछी आफुले पढ्दै गरेको किताब तल राखी । अनि तरकारी समाई । किचनमा राख्दै गर्दा भित्रै बाट सोधी ।
"चिया बनाइदिम् ?"
"बना न त , म टोइलेट गएर आउँछु !"
टोइलेट भित्र गएपछि चुकुल लगाएँ । भेन्टिलेसनको पर्दा लगाएँ । गोजी छामेँ , अघिका तिन वटा सयका र चारवटा बिसका नोट निकालेँ , सुम्सुम्याएँ । संगिताले नोट राखेको ठाउँको थोरै तल एउटा कोठी थियो , उ झुक्दै गर्दा मैले देखेको । झिलिक्क याद आयो, आँखा चिम्ले अनि पेन्टको जिप खोलेँ । उर्जा एकै ठाउँमा केन्द्रित भयो , संगिताका भिन्न स्वरुपहरु बन्द आँखाले देख्न थाले , अनि एकछिन पछि पुर्ण शुन्य ,अँध्यारो।म सुस्ताएँ ।
 कतै टाढाबाट आवाज आयो
"बुवा चिया पाक्यो !"
मैले पहिले नै भनेको हुँ तँपाइहरुलाई , आजको दिन फरक थियो । किनकी यस अघी संगिता मलाई कहिल्यै आकर्षक लागिन ।
**************** ****************** ****************** **************** *********
"वुवा !" छोरीले मलाई चिया सुरुप्प पार्दै गर्दा , सुस्तरी बोलाई ।
म टिभीको रिमोट घुमाउँदै थिएँ । टक्क अडिएर पुलुक्क छोरी तिर हेरेँ ।
"हजुर !"
"आज सुधाकोमा पढ्न जान्छु है , उसलाई म्याथ्स राम्रो आउँछ !"
मैले सम्झेँ , सुधाको एउटा दाजु छ । संगिताको तरकारी पसलको पारिपट्टीको चिया पसलमा क्यारेमबोर्ड खेलेर बस्छ । टोल भरका ट्यापे केटा हरुको अड्डा हो त्यो । त्यहाँ बसेर बाटोमा हिँड्ने केटी जिस्क्याउँछन् केटाहरु । तिन दिन अघि म त्यहिँ बसिरहेको बेला चियापसलेकै छोरीसँग नि इत्तरीदै थियो । चियापसलेकी छोरी पनि उसको बुवा नभएको मौका पारेर हाँस्दिदै थिई । कोहि नभएको मौका पारेर उ पसल भित्रै पनि छिर्यो अनि त्यो केटीको कम्मरमा चिमोटीदियो ।
"ऐया , के गरेको !" केटी रिसाए जस्तो गरेकी थिई । उसले कानमा खुसखुस केहि भनेको थियो । अनि केटीले टाउको हल्लाएकी थिई । मैले खासै ध्यान दिएको थिइन । हतार थियो, चिया सिध्याएर बाटो लागेको थिएँ ।
"पर्दैन जानु !" मैले चिया फेरि सुरुप्प पारेँ ।
"मलाई म्याथ्स गाह्रो लाग्छ वुवा !" उसले फेरि आग्रह गरी ।
"टिउसन पढ्न जा न त !" मैले फेरि आग्रह टारेँ ।
"सरले बेलुका मात्रै पढाउनु हुन्छ , फर्किन गाह्रो हुन्छ !"
म बेलुका सुनेपछी फेरि हच्किएँ ।बेलुका छोरी मान्छेले हिँड्नु हुन्न । फेरि त्यहि केटाहरु जाँड खाँदै हल्ला गर्छन् चोकभरी ।
"सुधालाई यतै बोला न त , आउँछे होला !" मैले उसको समस्याको समाधानको अर्को उपाय निकालिदिएँ।
उसले खुशीले टाउको हल्लाई । मैले फेरि रिमोट बटारेँ ।
****************** ****************** *********************** *************** ***
सुधालाई उसको दाइले वाइक मा लिएर आयो । वाहिर छोडिदियो , अनि गयो । खुशी लाग्यो , भित्र आएन । फटाहा केटाहरुलाई भित्र आउने मौका पनि दिनुहुन्न , जवान छोरी घरमैँ छे ।
"नमस्ते अंकल ! दुव्लाउनु भएछ " सुधाले भित्र छिर्दै गर्दा भनी । मेरो तौल खासै घटेको छैन , मैले हिजो भख्खरै वेट लिएको थिएँ । सुधाले जिस्क्याए जस्तो छ ।
"दुव्लाएको हैन , फिट भएको ! तिमी पनि दुव्लाएछौ त !"
"थ्यांक यु अंकल ! तैले पत्याइकी थिइनस् नी , हेर कस्तो फिटिंग छ यो टिशर्ट पनि !" उ अगाडी पछाडी फर्किइ । फिटिंग थियो । टि शर्ट पनि, अनि जिन्स पनि । जिन्सको पछिल्लो गोजीमा पुतलीको फोटो । मैले हत्तपत्त आँखा हटाएँ ।
"ह्या वुवा पनि ! कहाँ दुव्लाउनु यो , हामी त सवै मोटी मोटी भन्छौँ यसलाई !"
"मैले त देखेको कुरा भन्देको ! तिमीहरुलाई म चिया बनाइदिन्छु है !" म किचनमा छिरेँ । सुधा मोटी छैन । हलक्क वढेकी , लरक्क परेकी लोभ्याउँदी छ । केटीको आँखाले त्यो देख्दैनन् , म छोरीलाई भन्न सक्दिन ।
"तेरो वुवा कस्तो स्विट , चिया पकाउन आँफै जानु भो !" मैले लिभिंग रुमको गुनगुन सुनेँ
"यप हि इज !" मेरी छोरीले सहि थापीदिई ।
"मेरोमा किन नआएकी ?"
"खोइ यतै बोला भन्नुभयो !"
"छोरी भाग्छे भनेर डराउनु भयो कि के हो ?"
मेरो कान ठाडो भयो । म ढोकाको नजिकै गएर सुन्न थालेँ ।
"तलाई सुरेश सँग देख्नु भो भने त झन !"
"ह्या केहि होइन के त्यस्तो !"
"सिकाउँछेस् मलाई ! क्लासमा फर्की फर्की हेरेको मलाई पनि थाहा छ !"
"होइन भन्छु , चुप लाग सुन्नु हुन्छ किचनमा !"
"नडरा नडरा , योर सिक्रेट इज सेफ विथ मी ! "
चिया उम्लिएछ । हतार हतार गएर टालोले पुछेँ । एक कप पोखिएछ । दुइटा कपमा चिया सारेँ ।
"हजुर खानुहुन्न अंकल ?"
"भख्खर त खाएको !" पोखिएको एक कप सम्झिँदै जवाफ फर्काएँ ।
****************** ***************** **************** **************** **********
"खाना नि हजुरले बनाउनु भएको ?" सुधाले खाना खाँदै गर्दा सोधेकी थिई
"मैले बिहानै बनाएको !" छोरीले मलाई बोल्न दिइन । म चुपचाप खाना खाइरहेँ ।
"अंकलले बनाउनु भएको भए अझ मिठो हुन्थ्यो !" सुधाले आँखा झिम्क्याई । मैले झिम्कीएको आँखा देखेँ । लामा परेलीहरु अनि पोतिएको कालो गाजल देखेँ । सुधा हाँस्दा गालामा खाल्डो पर्छ । विच विच मा खाना खाँदा उ कपाल मिलाउँथी । घाँटीमा कोठी रैछ । मलाई अचानक संगिताको कोठी याद आयो । आँखा झुकाएँ । छोरीको अघी छोरीकै साथीलाई क्वारक्वार्ती हेरौँ पनि कसरी ?
"एसएलसी पछि के गर्छ्यौ सुधा ?"
"डिसाइड भएको छैन अंकल !" हाँस्दै भनी ।
"अहिले देखि नै सोच्नु पर्छ !"
"तँपाइकी छोरीले जे पढ्छे त्यहि , यसलाई छोड्नै मन लाग्दैन !" उसले कुरा टुंग्याइदिई ।
"केहि थपौँ ?"
"भयो अंकल , मलाई हजुरले फेरि मोटी बनाइदिनुहुन्छ एकै दिनमा !" उ खुलेर हाँसी , गालाको खाल्डो अझ स्पष्ट देखियो ।
"थोरै दही खाउ , त्यसोभए ,गुड फर हेल्थ !" म फ्रिजतिर लम्किदै भने ।
"मलाई त कहिल्यै यसो भन्नुहुन्न त !" मेरी छोरी विचमै लाडिई ।
"सुधा ,पाहुना हो नि त !"
"के को पाहुना , यो पनि पाहुना हुन्छे , यो त घरकै मान्छे !"
"हो हुन त ! सुधा हाम्रै घरकी मान्छे !"
त्यो रात अचम्मको सपना देखेँ एउटी आइमाई रातो साडी मा आई , धमिलो देखिए पनि मेरी मरिसकेकी श्रीमति जस्तै जस्तै थिई । अनि मेरा शर्टका वटन खोल्न थाली । खोल्दा खोल्दै मैले हेर्दा हेर्दै उसको अनुहार संगिताको जस्तो भयो । उ अझ नजिकै आई ,मेरो अनुहारको नजिकै आएर मेरो कपाल खेलाई , हेर्दा हेर्दै उसको अनुहार सुधाको जस्तो भयो । म झस्यांग बिउँझिए । अनि छेवैको पानी पिएँ । बाहिर वरण्डामा निस्किएँ । छोरीको कोठाबाट गुनगुन आवाज आउँदै थियो ।
"सुरेश राम्रो केटा हो के ! तँ बाहेक अरु केटी सँग जिस्किएको पनि देखेको छैन ।"
"चुप लाग !"
म फेरि भित्र छिरेँ ।
****************** ************** ***************** **************** ************
"ओइ तेरो वाथरुमको भेन्टिलेशनको पर्दा भेट्टाइन मैले कुर्सी छैन ?" सुधा वाथरुमबाट चिच्याउँदै थीई ।
"ह्या नुहा न तँलाई कसले चियाइ चियाइ हेर्छ !" मेरी छोरीले जवाफ फर्काई । मेरो मन ढक्क फुल्यो । पछाडी पट्टिको पानी ट्यांकी जाने माथ्लो सिँढीबाट वाथरुम देखिन्छ । म हत्तपत्त वाहिर निस्किएँ । माथ्लो सिँढीमा गएर वसेँ । धमिलो धमिलो मा सुधाको आकृती देखियो । उसको शरिरका केहि अंश देखिए । उसको टाउकोको शेम्पुको फिँज देखियो । उसले फेर्दै  गरेका कपडाहरु देखियो । चुपचाप बसेर हेरीरहेँ । पानी ट्यांकीको पछाडी गएर आँखा चिम्लिएँ । पेन्टको जिप खोलेँ । सुधालाई भिन्न आकृतीमा कल्पना गरेँ । उ कल्पना गरेकै आकृतीमा प्रकट भई । उर्जा एकै ठाउँमा केन्द्रित भयो। एकै छिनमा पुरै अँध्यारो ,शुन्य !!!
****************** **************** ****************** ************* **********
"अंकल म हिँडे !" सुधाले हात हल्लाई । म थोरै हाँसिदिएँ । उसको ट्यापे दाइ बाहिर बाइकमा पर्खिरहेको थियो ।
"तँ यो केटीको धेरै संगत नगर नानी !" मैले छोरीलाई सम्झाएँ ।
"किन ? यस्को म्याथ्स राम्रो छ वुवा , मेरो कमजोर मलाई सिकाउँछे !" छोरीले अचम्म मानी ।
"तर क्यारेक्टर राम्रो छैन !"

Published on: http://baahrakhari.com/news-details/17065/2017-02-04#.WJVLTcc9i_Q.twitter


सरिताको चिया पसल

त्यो बाटो कहिल्यै बन्ला जस्तो छैन । झन धुवाँ धुलो मैलाको त कुरै नगरौँ , सरिता आफ्नो चियापसलका टेवल सफा गर्दा गर्दा दिक्क हुन्छे । उसको पसलमा शहरले रुचाएको हरियो पर्दा छ । अनि त्यो हरियो पर्दामा धुलोका कणहरु टाँस्सिएका छन् । कस्तो आकर्षण ति धुलोका कणहरु र त्यो पर्दाको ! जन्म जन्मका प्रेमीजस्तो । उ बिहान उठ्छे, झट्कारेर छुट्याइदिन्छे ।विहानको पहिलो काम हो सरिताको । बेलुकासम्म चक्रपथमा दगुरीरहेका गाडीहरुले धुलोलाई हण्डर खुवाउँछन् । उ एक्लिन्छ । शायद धुलोको पनि मुटु हुँदो हो । आफुलाई अँगालो मारेर मैलिएको पर्दा सम्झिन्छ । साँझको गोधुली सँगै टाँस्सिन आइपुग्छ त्यहि पर्दामा ! उसको विश्राम भनेकै त्यहि सरिताको चियापसलको हरियो पर्दा । सरिताले नचाहनुको कुनै औचित्य छैन । यो आकर्षण कि खलनायक हो सरिता ! खलनायक भएको कारणले धुलोले उसलाई पिरोल्छ पनि ! त्यहि धुलोले होला , सरितालाई खस खस खोकी लागीरहन्छ । तर उ युद्दमा होमिएर बाँचेकी मान्छे । आफ्नो शरिर सँगको युद्द पक्कै जित्नेछे ।कुनै जमानामा उ एक हातले बन्दुक बोकेर माटोमा घिसारिन्थी । देश बनाउन घुँडा र कुइनाका छाला पिल्स्याएरै घस्रिएकी सरिता ! तर आजकल समय बदलिएको छ। आजकल उ मास्क लाउँछे । मास्क लाए पनि कहिलेकाहिँ कालो कफ  निस्किन्छ । वाहिर निक्लेर ख्याक्क थुकिदिन्छे । भुइँमा दाग वस्छ । उसलाई लाग्छ उ बालुवा थुक्दै छे । खस्रो बालुवा । भित्र छिर्छे , पानीले कुलुकुलु गर्छे अनि फेरि मास्क भिर्छे ।  किन आइ उ यो गन्धे शहरमा ? बाटो मैलो , शरिर मैलो उसले भेटेका मान्छे मैला उनीहरुका मन मैला ! आफुलाई एक्लै हुँदा ओल्टाइ पल्टाई हेर्छे ऐना अघि , खाटा बसेका धेरै घाउ पुरिन वाँकी छन् ।
यो शहरमा पानीको हाहाकार उ आउँदा भन्दा वढेको छ। नुहाउन राम्ररी पाउँदिन उ । नुहाए नै पनि त्यो धुलोले कपाल बेलुका फर्किउन्जेलसम्म अररो पारिदिन्छ । राती चिसोमा सिरकभित्र गुटमुटिन्छे । केहि बिर्सिए जस्तो लाग्छ उसलाई सँधै निदाउनु अघि । एक चोटी आफ्नो मोवायल बालेर यताउता हेर्छे । उसको छोरो अलि पर लडिरहेको हुन्छ मस्त निन्द्रामा । उसलाई देखेपछि उसले के बिर्सिएकी थिएँ भन्ने नि बिर्सिन्छे । उसको संसार , उसकै अगाडी मस्त निन्द्रामा छ । कोल्टे फेर्छे । उ हत्तपत्त निदाउँदिन । यो शहर सुत्दैन । राति पनि कर्कश ध्वनी उसको निन्द्रा बिथोलिरहन्छन् । हुन त उसको निन्द्रा पातलो छ । त्यहि भएर नि टाढाको मसिनो ध्वनी नि उसलाई कर्कश लाग्छ । एक चोटी निन्द्रा बिथोलिए पछि उ धनबहादुर को अंगालो सम्झिन्छे । त्यहाँ निन्द्रा राम्ररी लाग्थ्यो । त्यहाँ उ सुरक्षित महशुश गर्थी । उसलाई लाग्थ्यो उ कुनै सुरक्षा घेरा भित्र छे । जसलाई तोड्न गाह्रो छ । अहिले त्यो सुरक्षाको घेरा छैन । धन बहादुर यो संसारमा छैन । शायद छैन होला भनौँ । युद्दकालमा हराएपछि भेटिएन । बेपत्ता पारिएका नाममा उसको पनि नाम छ । आर्मीले मारेर खाल्डो खनेर पुरे भन्ने हल्ला उसले सुनेकी थिइ । त्यो युद्दमा उ दुई जिउकी हुनाले जान पाइन । जान नपाएकैले जोगिई । तर संसार खोसिएर वाँचेको पनि के वाँचेको ।
**************** **************** *************** *************** *************
उसकोमा चिया खाने अनुहारहरु दोहोरिन्छन् । कोटेश्वरको नाइट गाडी छोड्ने ठाउँ नजिकै भएकोले होला ,कहिलेकाहिँ  उपत्यका छोड्दै गरेका मान्छेहरु टुप्लुक्क झुल्किन्छन् । उ त उपत्यका छोड्न पनि सक्दिन । धन बहादुर सँगको बिहा आफ्नै जातको थिएन । क्रान्तिमा होमिएकी सरिताले घरमा नि त्यहि क्रान्तिकारी कुरा गरी । उसले सवै मान्छे समान छन् , तर हाम्रो समाजमा सामन्तीहरुको विगविगी छ भन्ने वुझी । धनवहादुर को नाम मा नाक खुम्च्याउँदा उसलाई आफ्नै परिवार सामन्ती लागे । उसको सिन्दुर पुछियो अनि अयोग्य लडाकु घोषणा भए पश्चात घर पुग्दा भाउजुले सजिलै भनिदिइन्
“यहाँ नवस्नुस् , हाम्रो पनि समाजमा इज्जत छ ।“
उसलाई लाग्यो उ मात्र हो गाउँमा इज्जत नभएकी । आठ कक्षामा हुँदो हो, उसले कलम फ्यालेर समाज परिवर्तनको लागि बन्दुक बोकेकी । अहिले त्यहि समाजमा उसको इज्जत छैन । हो त्यो समाज मान्छेलाई मान्छे गन्दैन । अझै पनि धनबहादुर मान्छे होइन त्यो समाजमा । युद्द बिचमै छोडेर भागेर आए जस्तो भान भो उसलाई । उसको युद्द टुंगिएको छैन । तर सरकारले उसलाई अयोग्य घोषणा गरिदिइ सक्यो । उसलाई फेरि फर्केर चिच्याउन मन लाग्यो “म अयोग्य होइन ! हेर मेरो घस्रिदाँ घस्रिदाँ मरेको छालालाई तिमीले मरेको छाला त  देख्नेछौ । तर मेरो सपना मरेको छैन । सपना मर्नेहरु अयोग्य हुन् । म अयोग्य हैन ।“
तर भाउजुको अघि चिच्याएर केहि औचित्य छैन , उसले केहि पनि बोलिन । एक रात बसी । रात भरी निदाइन । बिहानै भाउजुले नदेख्ने गरी दाइले खल्तिमा पाँच हजार हाल्न खोजे ।
उसले “पर्दैन , म सँग मेरो पैसा छ अलि अलि” भनी । दाजु अवाक भए ।
*************** ************** ************** **************** ************* ***
यो शहर स्वागत बडो गज्जप किसिमले गर्छ । शुरुमा आउँदा थोरै हण्डर भने सरिताले खाएकै हो । खासै धेरै पैसा उ सँग थिएन । पार्टीको लेवि तिरेर थोरै बचेको थियो । उसले चिनेका पनि तिनै पार्टिका मान्छे ! खासै साथ दिएनन् । धनवहादुरको काकाले केहि शुरु गर यहि पैसा बाट , सानोतिनो चियापसल चलाए हुन्छ भनेर सल्लाह दिए । शुरुमा एउटा काठको टेवल बाट शुरु गरेको चिया पसल अहिले सटर सम्म पुग्यो  । सबैले चिया ल्याउँदाको उसको मुस्कान देख्छन। त्यो मुस्कान पनि चिया बिक्री हुने कारण मध्येको एक होला । धन्न , मन भित्रको लुकेको पिडा देख्दैनन् । लुकेको मन भित्रको धुवाँ देख्न आँखा पनि मनसँग जोडिएको हुनुपर्छ । छोरो भाडा माझ्न अलि अलि सघाउँछ । सानै छ ।
उ मायाले “पढ पढ म आफै गर्छु” भन्छे । उ टेवलको एउटा कुनामा पढ्न वस्छ । इंग्लिस स्कुलमा एक कक्षामा पढ्दै छ। हुन त स्कुल महँगो छ। उसले पढ्ने गरेको स्कुलमा पैसा तिर्नु पर्दैन थियो । तर उसले आठ कक्षामै जनयुद्द मा लाग्दा छोडिदिइ । स्कुल महँगै भए पनि उसको चिया पसलले धानेको छ। उ पढ्ने स्कुलमा संस्कृत लगायत अन्य वुर्जुवा शिक्षा पढाइ हुन्थ्यो , छोराको स्कुलमा पढाइ हुने बुर्जुवा शिक्षा हो कि होइन छुट्याउन सक्दिन  । उमेर ढल्किँदै छ , शिक्षा पद्दतिमा आजकल खासै ध्यान पनि दिन्न । एकचोटी सोधेकी भने थिई “तेरो किलासमा संस्कृत पढाइ हुन्छ ?” । उसले हुँदैन भनेर टाउको हल्लाइदियो । त्यसपछि मौन छे । आठ सम्म पढेकी उसलाई मुस्किलले थोरै अंग्रेजी आउँछ । छोराको होमवर्क सिकाउनलाई पनि हम्मे हम्मे पर्छ । कहिलेकाहिँ अतालिन्छे , सोच्छे “ पछि तिन चारमा पुगेपछी कसरी सिकाउने होला ?” । कहिलेकाहिँ छोराको स्कुल पनि जान्छे । सरहरु राम्रो पढाइ छ भन्छन् । खुशी हुन्छे , फर्किन्छे ।
************************ ***************** ******************** ****************
उनीहरुले तिरेको लेवी मा ठूलो घोटाला भयो भनेर एक चोटी पत्रिकामा पनि आयो । उसले घोरिएर हेरी । जवाफ थिएन ।
पत्रिका पट्याएर राख्दिई । छेवैमा सँधै आउने लामिछाने अंकल कराए
“नानी मिठो चिया खुवाउ त ल !”
लामिछाने अंकल छैवैको सटरमा पत्रिका वेच्छन् । शनिवारको दिन , छोरो नि छेवैमा थियो । बनाएर “जा त पुर्याइदे” भनेर अह्राइ । त्यहि दिन दिउँसो उसका दुइ चार जना साथीहरु आए अनि भने
“जौँ हिँड पार्टी कार्यलय घेर्न जानु पर्छ , हामी अयोग्य होइनौ !”
धेरै वर्ष वितिसक्यो । उसलाई उसको गाउँ अनायसै सम्झना आयो । उ नितान्त एक्ली छे । उसलाई थाहा पनि छ , पार्टी कार्यलय घेरेर केहि हुनेवाला छैन । कहिलेकाहिँ आफ्नो हत्केलाका डामहरु हेर्दा उसलाई लाग्छ उसले धेरैलाई त्यहि हत्केलाले बोकेर सफलताको शिखर चढाइ । धेरैले उसको हत्केलामा कुल्चेर चढे । फर्केर कसैले हेरेनन् ।
“जान्न म , आज चिया वेचिन भने भोली छोरा भोकै सुत्छ ! यसलाई कसले कमाएर खुवाउने ” सरिताले रुखो जवाफ फर्काई
“कस्तो लाछिको जस्ता कुरा गरेकी ?” एउटा साथि प्याच्च बोल्यो
“लाछि भए लाछि नै सहि !”
उ भित्र छिरी , टोली तितरवितर भयो । त्यहि रात उसले जतन गरेको सन्दुकबाट पत्रिका का कटिंगहरु झिकी । उसले सम्हालेर राखेका केहि पत्रिका का टुक्राहरु जस्मा “वेपत्ता आयोग , वेपत्ता पारिएकाहरुको छानविन” जस्ता समाचारहरु थिए ।
“के हो आमा?”
छोरोले टाँसिदै सोध्यो ।
“केहि होइन , होमवर्क सिद्दियो ?”
उसले सुस्तरी सोधी । उसले सकियो भनेर टाउको हल्लायो ।
“पढ्नु पर्छ है बा , ठूलो मान्छे हुनुपर्छ !” उसले कपाल सुम्सुम्याई । छोराको कपाल धनबहादुरको जस्तै पातलो छ । छोराको कपाल, उसको आँखा देख्दा प्रायशः उ धनबहादुरलाई सम्झिन्छे ।  असरल्ल समाचारका छरपस्ट टुक्राहरुलाई फेरि पोको पारेर सन्दुकमै राखिदिई । त्यो रात धनवहादुर सपनामा आयो सुस्तरी उसको कानमा भन्यो
“तिमी अयोग्य हैनौ , मलाई गर्व छ तिमीमा ! तिमीले म विना पनि जीवनको युद्द लडेकी छ्यौ ”
भोलिपल्ट कार्यलय घेराउको खवर पत्रिकामा आयो । खासै ध्यान दिइन । छेवैमा उसका पुराना नेताहरु मध्ये एक ले “आर्थिक समृद्दिमा ध्यान दिनुपर्ने” भनेछन्  अनि अर्का नेताले भने “पार्टि टुक्रिएकोमा चिन्ता व्यक्त गरेछन् । कुनै चुट्किला जस्तो मानेर उ हाँसी, धेरै पछि ।
छोरो छेउमा आएर सोध्यो “के भयो आमा ?”
उसले हाँस्दै भनी “केहि होइन बाबा , एउटा कुरा पत्ता लाग्यो !”
“के आमा ?” उसले उत्साही हुँदै सोध्यो

“म अयोग्य हैन !”