घण्टी


त्यो घण्टी बिस्तारै सानो हुँदै पग्लिदैँ थियो सुर्यको प्रकाशमा । तर रातमा सुर्य किन उदायो ? बखतेलाई मनमनै अचम्म लाग्यो । यो रात सुर्य उदायो, जसको प्रकाशमा घण्टी पग्लिन थाल्यो ।  भोलि स्कुलमा कसरी घण्टी बजाउने ? सर मिसहरुलाई कक्षा सकिएको कसरी थाहा हुन्छ ? घण्टी त पग्लदैँ छ । बखते हतार हतार घण्टी जोगाउन दौडियो तर उसका खुट्टाका चप्पल हिलोमा गाडिए । हिलो बढ्दै गयो । बखते भाँस्सिदै गयो । घण्टी पग्लिँदै गयो । सुर्यको राप बढ्दै गयो ।
माथिको हरफ सबै भख्खरै बखतेले देखेको सपना ! आजकल उ यस्ता यस्ता छेउ न टुप्पोका सपनाहरु धेरै देख्छ । सपना राम्रो नराम्रो छुट्याउन सक्दैन । कहिलेकाहिँ चिच्याउँछ पनि ! तर उसको सानो कटेरोमा उ एक्लै चिच्याएको कसले सुनोस् । राति निन्द्रा नलागे पछि रातिको ड्युटी मैले गर्दा हुँदैन भनेर उसले चिरनलाई पनि सोधेकै हो । तर चिरनले हाँसेर टार्दियो ।
"बुढेसकालमा कता राती राती ड्युटी गर्नुहुन्छ काका ! त्यो काम श्यामलाई नै छोडिदिनुस् " चिरनले भनेको बाक्य ठ्याक्कै यहि नै हो ।एउटा बाक्यले कति चोटी घोच्यो बखतेलाई भनेर कुरै नगरुम् । एउटा बखते बुढो भयो भनेर बुझायो । अर्को बखते राती ड्युटी गर्न अनुपयुक्त छ भनेर बुझायो । र तेश्रो चिरनले काका नै भने पनि बखतेलाई फगत एक कारिन्दाको रुपमा हेर्छ भनेर जनायो । थोरै चिरनकै कुरा गरौँ , चिरन पुरानो गाउँ पन्चायतका प्रधानपन्चको छोरा । अहिले स्कुलका प्रधानाध्यापक । तर बखते सँगको चिनजान भने धेरै पुरानो । बखते लाई पहाडबाट ल्याएर जागिरमा चिरनकै बुवाले लगाएका ! चिरन र उसको छोरा सँगसँगैका ,एक महिना तिन दिनले बखतेको छोरो जेठो । चार वर्षको हुँदाको कुरा होला ,बखतेको छोरा र चिरन स्कुलको चौरबाट खेलेर आ-आफ्नो घर फर्के । राती बखतेको छोरालाई आगोको भुंग्रो जस्तो ज्वरो आयो । भोलिपल्ट बखतेले झाँक्री खोज्यो । झाँक्रीले कालो कुखुरा खोज्यो । कालो कुखुरा भेट्टाइयो । तर ज्वरो ओर्लेन । दोश्रो दिन पनि ओर्लेन । तेश्रो दिन चिरनको बाउले तिन सय रुपैयाँ सहित इण्डिया जँचाउन लाने सल्लाह दिए । गाडी सम्म डोर्याउन लादालादैँ बखतेको छोराको बोली बस्यो । लल्याक लुलुक भयो । छोरो फर्केन , इण्डिया पनि पुगेन । पैसा पुर्याउन जाँदा बखतेलाई चिरनका बाउले भनेका थिए
"राख बखते किरिया गर्न पनि चाहिहाल्छ आखिर ! " बखते लुसुलुसु फर्कियो । बखतेकी बुढी मुर्छा पर्दै उठ्दै गर्थी । छोराको बरखि उसले पनि कटाइन । बखते संसारमै एक्लो भो । चिरन शहरमा पढे पनि पछि गाउँ नै फर्कियो । स्कुलमा पढाउन थाल्यो । बखतेको खाटा बसेको घाउ पनि कहिले काहिँ चहर्याउन थाल्यो । आज पनि जहिले जहिले उसले चिरनलाई देख्छ छोरोलाई सम्झिन्छ । बुढीलाई सम्झिन्छ । उसको छोरो र सानो हुँदाको चिरनलाई स्कुलमा लुकामारी खेल्दा दौडेको चित्र उसको जीवनको सबै भन्दा स्पष्ट याद होला !
 अब फेरि वर्तमान मैँ फर्किउँ । भरखरै चिरनले स्कुलमा केहि नयाँ शुरुवात गर्ने कुरा गरेको थियो अफिसमा । फिल्टरमा पानी भर्न गएको बखते भरीसकेर खुरु खुरु फर्कियो । स्कुलकै क्यान्टिनमा बसेर चुर सल्कायो आँफैले बनाएको ।
"यहाँ चुर नखानुस् न !" क्यान्टिनकी साहुनी कराइन्
"तिम्रो बाटै ब्ल्याकमा चुरोट लिए त खान मिल्थ्यो होला नी !" बखतेले जवाफ फर्काइदियो । क्यान्टिनकी साहुनी नौ दशका केटाहरुलाई लुकी लुकी चुरोट बेच्थिन । बखतेलाई थाहा थियो । फेरि बाझ्न सकिनन् ।
पछाडी दुई जना मिसहरु खुसखुस गरे
"यी बुढा मान्छे किन यति चिडचिडे भाका ?"
"जागिर जाने हल्ला छ !"
"हो र?"
"अव अटोमेटिक घण्टी राख्ने अरे घण्टा घण्टामा बज्ने , सबै कक्षामा सिसिटीभी पनि राख्ने अरे चिरन सरले ! अनि यिनको के काम र ?"
"हो हुन त , यिनी त कहिले पन्ध्र मिनट अघि नै घण्टी बजाइदिन्छन् , कहिले क्लास सिद्दिएको दश मिनट सम्म पनि बजाउँदैनन् , अस्ति त मलाई क्लासमा कस्तो गाह्रो भयो । आफ्नो घाँटी सुकेर पानी खान मन लागी सक्यो । घण्टी लाग्या हैन !"
"बुढेसकालले होला ! बिर्सिन्छन् होला बरा !"
"चियाको पैसा कति दिदी ?"
"बिस रुपैयाँ !" साहुनीले बोलिन् । मिसहरु पैसा तिरेर अफिस तिर लागे । बखतेको उमेर ढल्कँदै गए पछि आँखा भने कमजोर हुन थालेका छन् ।तर कान अझै तिखा छन् । सवै कुरा सुन्यो । हातको चुर भित्तामा दलेर निभायो । उसको कटेरो यहि स्कुलकै जग्गामा छ । काम सिद्दिने बित्तिकै निक्ली भन्लान् । यो उमेरमा कहाँ जानु । सुन्न त गाइँगुइँ हल्ला सुनेको पनि हो । हिजो सपना पनि नराम्रो देखेकै हो । आज फेरि सुन्यो । छोरा जस्तो चिरन ! छोरा जस्तो पो हो त छोरै त होइन नी । चिरन पछि सम्म बखतेकोमा आउँथ्यो । स्कुलको पछाडी पट्टी बयरको रुख थियो ।
"काका टिप्दिनु न बयर !" चिरन मायालाग्दो स्वरमा आग्रह गर्थ्यो ।
"खानुहुन्न , आउँ पर्छ !"
"प्लिज !"
बखतेलाई प्लिजको अर्थ त थाहा छैन । तर चिरनलाई देखेर पग्लिन्थ्यो । टिपी दिन्थ्यो । उसले बयर खाँदै गर्दा बखते टोलाएर हेर्थ्यो । छोरो बाँचेको भए यसरी नै बयर खान्थ्यो होला !
******************** ************* **************** *************** ******************
"बाजे घण्टी लाउने बेला भो !" क्यान्टीनकी साहुनीले झस्काइदिइन् ।
उ सुस्तरी सुस्तरी घण्टी भएतिर बढ्यो । आजको अन्तिम घण्टी । घण्टी बजाइदियो ।
"काका यो घण्टी निकालेर स्टोरमा राखिदिनु है ! भोली देखि चाहिँदैन होला !" चिरनले परैबाट अह्रायो । शायद उसले बजाएको अन्तिम घण्टी । आँफै बज्ने घण्टी तैयार भए जस्तो छ। कहिले उसलाई निस्किएर जान भन्ने हुन् । हिजोको सपना त साँच्चे नराम्रै देखेको रहेछ ।
************** ******************* ************** **************** **********************
काम गर्नेहरुले स्कुल सकिएपछि टेस्ट गरे । सबै कोठाका स्पिकरमा बजेको सुनिन्छ कि सुनिदैन भनेर । बखतेलाई पनि एउटा कोठामा बसेर सुन्न भनियो । नयाँ घण्टी मज्जाले बज्यो ।
"यो घण्टी बिग्रिदैन ?"
"परको सर्किटको तार मुसाले काट्यो भने मात्रै " इलेक्ट्रिसियन खितित्त हाँस्यो ।
"आज नाइट ड्युटीको मान्छे आउँदैन होला , काकाले एक दिन बस्दिनुहुन्छ ?" चिरनले बखतेतिर हेर्दै सोध्यो । बखतेलाई उत्तर दिन शव्द भएन । मौन नै रहेर हुन्छ भनी टाउको हल्लाइदियो ।
"अहो छ पो बजीसकेछ !" चिरन हतारियो । मोटरसाइकल झिकेर घर तिर हुइँकियो । बखते धेरै बेर स्टोर रुममा घण्टीलाई हेर्दै टोलाइरह्यो । उसलाई लाग्यो त्यो घण्टी साँच्चीकै पग्लिँदै छ । अनि उसका खुट्टा साँच्चीकै भाँसिदै छन् । उसको जिउ थररर काम्दै छ । अचानक स्टोररुममा कसैले बोले जस्तो लाग्यो
"परको सर्किटको तार मुसाले काट्यो भने मात्रै यो घण्टी बिग्रिन्छ !" आवाज शुरुमा त सानो थियो । मात्र एउटा सपनाजस्तो , एउटा भ्रम जस्तो । तर गज्जबको आवाज आँफै बढ्दै जाने । ति कक्षा कोठामा भएका स्पिकर भन्दा पनि प्रष्ठ । बखतेले स्टोरबाट कैँची लियो ,स्क्रिउ ड्राइभर लियो अनि सर्किट तिर बढ्यो ।
************************* ******************* ******************* ********************
बिहानै क्यान्टिनकी साहुनी बखतेको कटेरोमा कुद्दै आइन र कराइन् । " बाजे , ए बाजे !"
बखते बाहिर निस्कियो ।
"चिरन सरले खोज्दै हुनुहुन्छ !"
बखते झस्कियो । हिजो उसलाई बेलुका त कसैले देखेको थिएन । कि यसैले देखी ?
"कहाँ ?"
"क्यान्टिनमा हुनुहुन्छ !"
पक्कै साहुनीले नै पोल लगाइन् । नत्र साँझमा कसले देख्छ र ! बखते बिस्तारै  क्यान्टिन तिर लाग्यो ।
"सुत्नु भएको थियो होला बिउँझ्याए !" चिरनले सुस्तरी भन्यो
" ठिकै छ !"
"चिया खानुहुन्छ !"
"हैन ,ठिकै छ !"
"दिदी लाई बनाउन लाइ सकेँ त !"
साहुनी चिया लिएर आइन् । मरिचको पिरो बासना नाकमा हररै छिर्यो बखतेको ।
"हिजो रुँघ्न गाह्रो त भएन काकालाई !"
"भएन , राती आजकल निन्द्रा पनि लाग्दैन खासै ! जति बुढो भयो मान्छे ,लाटोकोसेरो जस्तो हुँदो रहेछ ।" बखते सुस्तायो ।
"आज देखि घण्टि बजाउन पर्दैन काका , त्यो अटोमेटिक घण्टी चल्छ स्कुलमा !"
बखतेको मन ढक्क फुल्यो । चिरनले जा भन्ने होला अब ।
"रातीको चौकिदार चाहिँ तपाइँले सक्ने भए छुट्टी दिनु पर्ला भनेर सोचेको ! बुवा समानको मान्छे ! व्यवस्थापन समितिमा पनि तँपाइको कुरा भो । चौकिदारले पनि हुन्छ नै भन्यो !"
बखतेका आँखा रसाए । आँशु भरिएको आँखामा चिरन धमिलो गरी देखियो । शायद उसको छोरो पनि जागिरे हुन्थ्यो अहिले सम्म भएको भए । बखते ले फेरि हुन्छ भनेर बोल्न सकेन । टाउको हल्लायो स्विकारोक्तिमा !
" ल म हिँडे काका !" चिरन उठ्यो
"एउटा कुरा भन्नु थियो !"
"के भन्नु न !"
"त्यो सर्किट बोर्ड भएको ठाउँमा हिजो राती ठूलै आवाज सुने । बिराला जत्रा मुसा रैछन् , मुसा मार्ने दवाइ चाहिन्छ होला !"
"हुन्छ काका ! आजै ल्याउँला !"
चिरनले मोटरसाइकल स्टार्ट गर्यो । बखतेले चिया सिध्यायो ।



मुलघाट


" बा , हेर त कत्रो माछा मारेँ ?"
वर्खायाममा कतैबाट मर्नलाई माछो पनि मुलघाट आइपुगेछ । सन्तेको छोरोको हातबाट पासो लाग्न । हुन त उसको नाम सन्तराम अनि छोराको नाम प्रकाश तर कथा भरी म सन्ते नै भनेर लेख्नेछु । हेपाहा कथाकार नभन्नुहोला ! छोराको बोली सुनेर फेरि दिक्क लाग्छ उसलाई । बाउ सँग बोल्ने सोमत पनि सिकाउन सकेन सन्तेले ! जहिल्यै बाउलाई तिमी !
************ ************* *************** ***************** ************** *************
दुई महिना अघिको कुरा हो । सडकको छेउमा साहुजीले छोरीलाई हेर्दै सोधेका थिए ।
"माछा खान्छेउ ? "
छोरीले पनि जुत्ताले भुइँ कोतर्दै भनेकी थिई
"हजुरले किनिस्यो भने !"
"कहाँ पढ्छिन नानी ?"
छोरीको मधुरो आवाज सुनेर सन्तेले प्लाष्टिकमा माछा राख्दै सोधेको थियो
"लिटिल फ्लावर्समा !"
चोकको महँगो स्कुल । नाम पनि कति गाह्रो । "परकाशेको पनि बोली यस्तै मिठो भए" सन्तेले मनमनै सोचेको थियो
"बजारमा ठूलो दोकान तँपाइहरुकै हैन ?"
"हो त !"
"म पनि सामान किन्न त्यहाँ आइरहन्छु नि , साहुनी बस्नुहुन्छ धेरैजसो ! मलाई पनि चिन्नुहुन्छ होला !
"ए !! हो र ? यो प्लाष्टिकको झोला त बजार छिराउन दिन्न !" साहुजीले सन्तेलाई माछा झोलामा हालिदिँदै गर्दा भनेका थिए ।
"बुवा म सँग छ नि हिजो सरले दिनुभएको झोला ,हाम्रो स्कुलमा वाँडेको कुहिने झोला अरे ,माटो बिगार्दैन अरे !" छोरीले कुहिने झोला झिक्दा सन्तेले छोरीलाई एक टक नियालेको थियो ।
"कति राम्रो बोली नानीको !" सन्तेले पैसा राख्दै गर्दा भनेको थियो । साहुजी पनि मख्ख पर्दै हाँसी दिएका थिए ।
************** ************** ************* *************** ************* *************
उसको परकाशेको बोली ति साहुजीको नानीको जस्तो कहिल्यै भएन ।
"खोला बढेको बेला माछा मार्न नजा भनेको हैन ?" सन्तेले माछामा खासै ध्यान दिएन ।हुन पनि खोला बहुलाएको छ हिजो देखि ! अस्ति सम्म सुसेलि मार्ने खोला हिजो देखी ठूलो आवाजमा बग्न थालेको छ । थोरै माथी भएको घरमा स्पष्टै सुनिन्छ । हुन त त्यो खाली खाली घरमा त्यहि खोलाको आवाज न हो सुनिने !!
"यहि माछा बेचेर मेरो स्कुलको फि तिर न! मलाई दिनदिनै किच किच गर्छन् , बालाई लिएर आउ भनेर !"
सन्तेको चित्त चिरिए जस्तो हुन्छ !
साहुजी भेट भए लगत्तै उ बजार उकालो चढेको थियो , छोरोलाई पढाउन "लिटल फ्लावर्स" खोज्दै ! एक मुठी पैसा बुझाएपछि प्रकाश पनि एक भारी किताब बोकेर लिटल फ्लावर्स जाने भएको थियो ।शुरु शुरुमा त घाटमा उसको मात्रै दाउरा बिक्री हुन्थे । बजारबाट झरेका मलामी पनि उसलाई चिन्थे । सन्तेकै बाट किन्थे। तर आजकल दाउरा बेच्ने धेरै भए की मान्छे कम मर्न थाले सन्तेले खुट्याउन सकेको छैन । कहिलेकाहिँ सुर्ती माड्दै उ सोच्छ कस्तो संसार मान्छे मरुन् भन्ने रहर पालेर बसेको छ उ । स्वार्थ नहुँदो हो त संसार चल्दो हो ?
सानो प्रकाश उसको बिचार विथोल्छ "  बा के सोचिराको ?"
प्रकाश तिर हेर्दै उ खैनी मुखमा चेप्दै प्रश्न गर्छ "तँलाई थाहा छ , यो खानुहुन्न !"
प्रकाशको निधारमा प्रश्नवाचक रेखाहरु देखिन्छन् खान नहुने भए उसको बाउले किन खायो । अनि खाँदै उसलाई खानुहुन्न किन भन्यो । मिठो भएर माग्छ भनेर पो हो की । तर माछा त बाँड्नेले यो किन नबाँड्नु। माछा भन्दा मिठो त पक्कै नहोला !
 प्रश्न टार्न प्रकाश हाँसिदिन्छ । सन्ते साहुजीको छोरीलाई सम्झिन्छ । प्लाष्टिक कुहिन्न पनि थाहा छ । उसको छोरोलाई खैनी खानुहुन्न पनि थाहा छैन । उसको छोरालाई पैसा नतिरुन्जेल राम्ररी पढाउँदैनन् की लिटल फ्लावर्समा ? उसलाई डर लाग्छ । केहि गरी दाउरा आज भोलीमै बिक्री गरेर स्कुलको फिस तिर्न जानु छ ।
"तँलाई कुहिने झोला दिएनन् स्कुलमा ?"
"त्यो त नगरपालिकाले बाँडेको रे !" प्रकाश उत्तर फर्काउँछ। सन्ते खैनी पिच्च थुक्दै तमोर तिर हेर्छ । ठूलो रुखको हाँगा बगाएर लिएर आएको छ खोलाको बिचमा !उ हाम फाल्न सक्दैन । विचमा छ । उसलाई नै पनि बगाउन सक्छ । प्रकाशलाई कसले पाल्ने फेरि ?
“नगरपालिकाले हुनेखानेलाई चाहिँ किन बाँड्ने रैछन् ?” सन्ते फेरि प्रश्न राख्छ । उसको सानो छोरालाई उसले प्रश्नको भारी बिसाएको होइन । आँफैले आँफैलाई राखेको होला । आफू सँग राखेको प्रश्नको उत्तर कता बाट पाउनु ? उसलाई थाहा भए त प्रश्न प्रश्नै हुने थिएन । प्रश्नको अस्तित्व उत्तरको अनभिज्ञतामा हुँदो रहेछ । नयाँ ज्ञान पाउँछ सन्तेले !!
“नगरपालिका पनि बजारमा छ नि त , उनीहरुकै घर नजिकै !” अनायसै प्रकाशले उत्तर फर्काउँछ । ठिक हो कि बेठिक सन्तेलाई थाहा छैन । पहिलोले प्रश्न गर्छ ,दोश्रोले उत्तर दिन्छ ठिक बेठिक छुट्याउन तेश्रो नभए उत्तरमा विश्वास नै नहुने !!
“तँ यहिँ बस है ! म हिजो काटेको हाँगा छिमल्छु !”
प्रकाश टाउको हल्लाउँछ ।
********** ************* ************** ************** *********** *******************
“खोलालाई अंग्रेजीमा के भन्छ साँच्ची ?” सन्ते प्रकाशलाई भारी बनाइसकेपछी प्रश्न गर्छ ।
“पढाकै छैन त्यो त !” प्रकाश फेरि टारिदिन्छ ।
“हन तेरो स्कुलमा केहि पढाउँदैन कि के हो ?” सन्तेलाई झनन्न रिस उठ्छ ।
“गर्मीमा काम गरेर आए, त्यत्तिकै रिसाउँछन् !”
“तै पनि !” सन्ते थोरै शान्त हुन्छ ।
“पछाडी होला नि त ,अंग्रेजी किताबमा ! भरखर शुरु शुरु को पढाउँदैछन् त !”
“यति नजिकै को खोला किन पछाडी राखेछन् त किताबमा चाहिँ !”
प्रकाश सँग केहि उत्तर छैन । उसको बाउ स्कुलमा उसका साथीभाइले सर मिस सँग भन्दा धेरै प्रश्न गर्छ । कहिलेकाहिँ त प्रकाशलाई नि झर्को लाग्दो हो । तिमी पनि पढ्न आउ भन्दिन मन लाग्दो हो । तर उसको लिटल फ्लावरको फिस चर्को छ । बाउ पनि पढ्न गए दाउरा कसले बेचिदिने । यो उमेरमा बाउलाई स्कुल ड्रेसमा कस्तो देखिँदो हो । अझ हाफ पायन्ट लाए भने ! प्रकाशेलाई हाँस उठ्छ । हाँसो लुकाउन मुख अर्को तिर फर्काउँछ ।
**************** **************** ************* **************** **********************
“बा परबाट लर्को झर्यो त , मलामी हुन जस्तो छ !”
प्रकाश परको कमिलाको ताँती जस्तो मान्छेको हुल हेर्दै भन्छ ।
आज त अरु दाउरा बेच्ने पनि छैनन् । उ दाम कस्न सक्छ । उसलाई खुशि लाग्छ । कोहि नभएको बेला आउने भए । आज त बजारै उस्को । यतिमा त मिल्दैन , हुँदैन भन्न पाउने भो । अनि प्रकाशेको स्कुलको फिस । भोली नै बुझाउनुपर्ला । मनभरी योजना बन्छन् । धन्न थोरै अघि उसले भारी बनाएछ । के ले अह्रायो कुन्नी ! त्यतिखेर अल्छि लागेर पल्टेको पनि जुरुक्क उठेर भारी बनाउन गयो । अचम्म ।
मान्छेहरु नजिकै आउँदा ठूला हुँदै जान्छन् । एउटा नजिकै आएर सोध्छ ।
“दाउरा कतिको एक भारीको ?”
“हजार !”
“तोइट हजारमा त टायर आउँछ !”
“आफ्नो आफन्तलाई टायरमा बाल्नुहुन्छ भने त कसको के लाग्छ र !” उ च्याठ्ठिन्छ ।
सोध्ने मान्छे यता उता हेर्छ । आज दाउरा बेच्ने अरु छैनन् । सन्तेलाई पनि थाहा छ । आज उपाय छैन ।
“को हुन् मान्छे चाहिँ ?” सन्ते प्रश्न गर्छ।
“बजारमा ठूलो किराना दोकान छ नि ! त्यसैका साहुजी !!”
सन्तेलाई के भन्ने आउँदैन । आ यस्तै त हो मान्छेको जुनी भन्न पनि सक्दैन । छोरीलाई ल्याएनन् होला मलामी ।
“वुवा नगइस्यो नगइस्यो” भन्दै रोइ होली । साँच्चै उ मरे प्रकाशे कसरी रुँदो हो , प्रकाशे त पक्कै “ बुवा नजाउ , बुवा नजाउ” नै भन्दो हो ।
“चिनेकै मान्छे रछन् , मिलाएर दिनु न त !” अनायसै सन्ते मन बदलिदिन्छ । भारी उठाउन तिन चार जना मान्छे थपिन्छन् । उ पनि भारी सँगसँगै खोलातिरै जान्छ । एक छिन आगो बलेको हेरेपछि सुस्तरी फर्किन्छ । प्रकाशे किताव लिएर पढ्दैछ । उफ्रिदैँ आउँछ उसको छेउमा
“मैले तिमीले सोधेको पत्ता लाएँ !”
“के !”
“रिभर भन्दो रैछ !”
“के भन्छ ?”
“खोलोलाई के अंग्रेजीमा ! नजिकैको कुरा त पहिला पढ्नुपर्छ भनेर मैले पनि खोजेरै पत्ता लाएँ !”
सन्ते प्रकाशलाई हेर्छ अनि परको सुसाउँदै गरेको तमोरलाई !!!


#मिटुहेवन

छेवैमा भएको स्टिल गिलासको चिया सुरुप्प पार्दै उसले सुनाएको थियो मेरो काम नहुने जानकारी । चिया नै हुनुपर्छ गिलासमा । भित्रको तरल पदार्थ नदेखिए पनि कार्यालय समय नै भएकाले मैले चिया नै होला भन्ने अनुमान लगाएँ । टिलिक्क टल्केको थियो गिलास पनि ! भर्खरै नयाँ किनेको जस्तो !
"९ नम्बरबाट फर्म लिनुस् तर आज काम हुँदैन होला !"  
म अचम्म परेँ । यो ठाउँ त सबै काम बिनारोकटोक हुनुपर्ने ठाउँ होला भन्ठानेको । बीचको बाटोमा 'स्वर्ग जाने बाटो' भन्नेतिरै बांगिएर आएको । ढोकामा पनि स्वर्ग नै लेखिएको छ । अनि तालचाहिँ उही मर्त्यलोकको हाम्रै आफ्नै सरकारी अड्डाजस्तो ।
उसको परिचयपत्र हेरेँ । चित्रगुप्त हैन रहेछ । म पनि कस्तो हुस्सु, चित्रगुप्त त यमलोकमा पो त । यो त स्वर्ग पो त ! आफ्नो अज्ञानताप्रति आफैंलाई रिस उठेर आयो ! कस्तो सामान्य कुरा पनि ख्याल नभएको ! धर्मशास्त्रप्रति खासै रुचि नलाग्ने ममा यस्ता ज्ञानको अभाव हुनु स्वाभाविकै हो । वेद, पुराणहरुमा दख्खल नभए पनि मलाई 'तपाईं स्वर्गतिर लाग्नुस्' भनिँदा तीनछक परेको थिएँ । मृत्युपश्चात् स्वर्ग-नर्क हुन्छ भन्ने थाहा पाउँदा पहिला त डर नै लाग्यो । जीवित हुँदा विश्वास गरेको भए अलि धेरै मन्दिर गइन्थ्यो । तर, मैले कसैको कुभलो चिताइनँ, कसैलाई गलत नजरले हेरिनँ । शायद त्यसैले स्वर्गतिर पठाइदिए होला ।
यहाँ आज काम हुँदैन भन्ने सुन्दाचाहिँ म खिस्रिक्क परेँ । यो मान्छे 'स्वर्ग'को इमिग्रेसन अफिसर होला । यसको नाम मैले कुनै धर्मशास्त्रमा पढेको थिइनँ । गरुड पुराणलाई पनि यहाँ प्राप्त सुझावअनुसार संशोधन गरिनु पर्ने टड्कारो आवश्यकता महसुस गरें । कम्तीमा इमिग्रेसन पोलिसीहरु र लाग्ने समयको बारेमा जानकारी गरुडमा हालिदिए कति सजिलो हुन्थ्यो । तर अहँ, छैन । न यताकाले संशोधन दर्ता गर्न सक्छन् न उताकाहरु संशोधनप्रति त्यति उदार छन् ।
"कामचाहिँ किन नहुने ?" मैले सुस्तरी सोधेँ ।
उसले पुलुक्क मतिर हेर्यो ।
"ऊ~~ त्यहाँ पर कुर्सी देख्नुभएको छ ?"
मैले टाउको हल्लाएँ ।
"त्यहीँ बसेर छेउको स्क्रिनमा हेर्नुस्, स्वर्गका खबर सबै देखाउँछ ! समाचारमा ! आज स्ट्राइक छ ! कति दिन लाग्ने हो, थाहा छैन । त्यो टोकन नम्बरकै कुर्सीमा बस्नुहोला ! स्वर्ग छिर्न ढिलो भएबापतको क्षतिपूर्ति र खानपिनको व्यवस्था त्यहीँ गर्छौँ हामी !"
मसँग सोध्न बाँकी प्रश्न रहेन । लुरुलुरु कुर्सीतिर लागेँ । आज म स्वर्ग छिर्न नपाउने भएँ । आज स्वर्गमा स्ट्राइक छ ।
० ० ०
छेउको कुर्सीका दाइ मलाई देखेर मुस्कुराए । उनको वरपर अरु कोही थिएनन् बसेका । शायद बह पोख्ने मान्छे भेटेर मुस्कुराए । साँच्चै, मरेपछि चाँडो मरेका मान्छेलाई 'दाइ' भन्न मिल्ला कि नमिल्ला ? जन्मिँदा चाँडो जन्मिएकालाई त हामी सजिलै 'दाइ' भनिदिन्छौँ । आफूभन्दा ढिलो जन्मिएका तर चाँडो मरेर यहाँ भेट भएका मान्छेलाई 'दाइ' भन्न मिल्ने कि नमिल्ने होला ? मनमा अनेकौँ प्रश्नहरु एकैचोटि आए अनि एकैचोटि सेलाए जब मैले 'आ~~ दाइ नै भन्छु' भन्ने निर्णय गरेँ ।
"किन भएको रहेछ बन्द थाहा पाउनुभयो दाइ ?"
"स्वर्ग पनि अछुतो रहेन ! बुझ्नुभो ?"
"केबाट ?"
"मेनका चिन्नुहुन्छ ? मेनका ?"
म मेनका नाम गरेको कसैलाई चिन्दिनँ । सबैभन्दा नजिकैको नाम मेनकासँग मिल्ने चिन्ने भनेको 'मोनिका' हो- 'मोनिका लेवेन्स्की !' तर, उसको नाम दाइको अगाडि किन लिनु थियो र मैले ?
"चिन्दिनँ त !" मैले टाउको हल्लाइदिएँ।
"ऊ~~ त्यो ?" उनले स्क्रिनतिर औँला सोझ्याए । एउटी अधवैंशे महिलाजस्ती ।
"को हुन् त उनी ?"
"जमानामा स्वर्गकी नाम चलेकी अप्सरा ! अहिले काम छोडेकी रहिछन् । कामचाहिँ अहिलेका राजाको कारणले छुटेको बताउँदैछिन् । कार्यालय समयमा जबर्जस्ती गरे रे ! सुरक्षित काम गर्ने ठाउँको माग रहेछ ।"
मैले अनुहार हेरेँ । अधवैंशे । अनुहारमा रेखाहरू देखिन थालेका । मैले सुनेको त अप्सराहरु चौपट्टै राम्रा हुन्छन् । 'मेनका राम्री त थिइन् तर जमानामा !' जस्तो । इन्द्रले यस्ती महिलालाई किन पो जबर्जस्ती गरे होलान् त ? कतै इन्द्रलाई फसाउने जाल पो थियो कि ?
"कहिलेको कुरा हो यो ?"
"विश्वामित्रको नाम थाहा छ ?"
मैले टाउको हल्लाएँ । साँच्चै मलाई केही थाहा छैन । स्वर्ग छिर्नलाई ज्ञान सर्वोपरि हैन भन्नेको म ज्वलन्त उदाहरण बन्दै छु । कसैले मेरो उदाहरण दिन सके !
"त्रेता युगमा तिनको तप भंग गर्न मेनकालाई प्रयोग गरिएको थियो ! त्यसपछि केही समय विश्वामित्रसँगै बिताइन् । पछि तपमा बाधा भएको भनी विश्वामित्रले उनलाई स्वर्ग नै फर्काइदिए ।"
तप कसरी भंग गरिन् ? विश्वामित्रलाई फसाइछिन् ! त्यस्तो पनि काम रे ! मनमनै सोचेँ !
"अनि ?"
"इन्टरभिउ नै हेर्नुस् न ! म पनि हेर्दैछु ।"
आँखा स्क्रिनतिर दौडाएँ, मेनका बोल्दै थिइन्, "त्यो काम सिध्याएर म स्वर्ग फर्केकी थिएँ । फेरि काम गर्न इन्द्रको हस्ताक्षर चाहिन्थ्यो । म कार्यकक्षमा जाँदा 'आज काम हुँदैन, भोलि मेरै शयनकक्षमा आऊ' भनेर टारिदिएका थिए !"
मेनका रोकिइन् । बोल्न गाह्रो भएजस्तो गरेर । छेवैको टेबलको पानी पिइन् । अनुहारका धर्साहरू अझ स्पष्ट देखिए स्क्रिनमा !
"म शयनकक्षमा पुगेँ । इन्द्र मलाई पर्खेर बसेका थिए । छेवैमा मेरो निवेदन थियो । म टाढै बसेँ । 'नजिकै बसे हुन्छ' भन्दै उनी मुस्कुराए । कुटिल मुस्कान ! हेर्नुस्, मेरो काम नै नृत्य गर्ने, कहिलेकाहीँ ऋषिमुनीहरू आकर्षित गर्ने भएकाले म कुटिल मुस्कानहरु चिन्छु ।"
मेनका फेरि रोकिइन् । अनि एकछिनको मौनतापछि फेरि शुरु भइन् ।
"मेरो निवेदनमा हस्ताक्षर गर्दिनुहोस्, म जान्छु भन्दा उनले 'तिमीले काम कसरी गर्यौ, एकचोटि मलाई पनि देखाऊ न' भने ! म अलमल्लमा परेँ । विश्वामित्रसँगको काममा नै मैले कार्यक्षेत्र र निजी जीवनको फरक थाहा नपाउनाले दु:ख पाइसकेकी थिएँ । अचानक इन्द्र नजिकै आएर मेरो काँधमा हात राख्दै 'पीर नमान । अफ्ठ्यारो लागे यो लिए हुन्छ' भन्दै हातको मदिरा दिन खोजे ! मेरो काँध सुम्सुम्याए । मैले उनको हात झट्कार्दै 'माफ गर्नुहोला, म सक्दिनँ भनेँ ।"
मेनका मलीन देखिइन् र फेरि भन्न थालिन्, "उहाँले 'विश्वामित्रसँग हुने, मसँग किन नहुने ? म पनि त स्वर्गको राजा हुँ ! तिम्रो सर्वेसर्वा मै हुँ । सबै मरिमेट्छन् स्वर्गमा काम गर्न । तिमीलाई मेनका बनाएको मैले हो !' भन्नुभयो । बाहिर निस्किने बेलामा मैले सुनेका अन्तिम शब्द यिनै हुन् ।"
म सोच्दै थिएँ, अप्सराको काम नै त्यही त होला नि ! एक किसिमले इन्द्रको पनि सोचाइ ठिकै हो !
अचानक मेनका स्क्रिनमा कड्किइन्, "मेरो शरीरमा मेरो अधिकार हो । विश्वामित्रसँग सम्बन्ध राख्ने, मसँग नराख्ने भन्ने इन्द्र को हुन् ? अनि यो त द्वापर युगको शुरुको कुरा भनेर टार्नुहुन्छ भने मैले राजाको विरुद्द गरेको आँट हेर्नुस् । कुनै स्त्रीले यसो भन्छे भने आफ्नो परिवार, काम सबै दाउमा राखेर बोलेकी हुन्छे । त्यो त्रिलोक र चौध भुवनले बुझ्नुपर्छ । मानव, ईश्वर र दानवले बुझ्नुपर्छ । मलाई फेरि अप्सरा भएर काममा फर्किनु छैन । म यति मात्र चाहन्छु कि अन्य अप्सराहरुको पनि कार्यक्षेत्र सुरक्षित होस् ।"
म सजग बनेँ । मर्त्यलोकमा पनि धेरै मेनका थिए होलान्, मैले मेनकाको ठाउँमा आफूलाई राखेर सोचिनँ । मैले सोचेको थिएँ- म स्वर्ग आएँ किनकि मैले कसैको कुभलो चिताइनँ, कसैलाई गलत नजरले हेरिनँ । शायद म गलत थिएँ कि ? शायद मैले कसैलाई गलत नजरले हेरेँ कि ? पुरुषको अहंकारकै पर्दा त होला, मलाई थाहा छैन आफैंले गरेका गल्तीहरू । मरेपछि पनि !
मैले सोचेको मात्रै पनि मेनकालाई थाहा हुन्छ ? यो त स्वर्ग हो, टेलीप्याथी पनि हुन सक्छ ! मैले सम्हालिएर सोच्नुपर्छ । थाहा भए पनि, नभए पनि मैले पर्दा फ्यालेर सोच्नुपर्छ । नत्र स्वर्ग आएको के फाइदा ?
दाइ भने अझै पनि घोरिएर अन्तर्वार्ता हेर्दै थिए ।
"विश्वमित्रले पनि तपमा बाधा भो भनेर यिनलाई खेदे, इन्द्रले मौकाको फाइदा उठाउन खोजे ! यिनी प्रयोग भएकै हुन् । तर, यिनको आँटले स्वर्गमा हलचल ल्याउला जस्तो छ ! बुझ्नुभो ?"
मैले बुझेजस्तो गरेर टाउको हल्लाएँ । मैले धेरै बुझ्न बाँकी रहेछ । मेरो ज्ञानका सिमाना रहेछन् । किन इन्द्रको पक्ष लिएर सोचेँ ? मलाई ग्लानि भयो । फेरि स्क्रिनतिर हेरेँ ।
"मेनकाजी तपाईंलाई एकछिन होल्डमा राख्दै छौँ । मर्त्यलोकबाट 'अहिल्या'ले पनि इन्द्रको विरुद्द आवाज दर्ता गराएकी छन् । पुरुषको अभिमानमा मेरो मानमर्दन किन भन्दै उनी पनि यो आन्दोलनमा जोडिएकी छन् ।"
नयाँ खबर स्क्रिनमा आयो ।
"के इन्द्र साँच्चै त्यस्तै हुन् त ?" मैले सुस्केरा काड्दै दाइलाई सोधेँ ।
"इन्द्रमात्रै ? तपाईं, हामी नि ? सामान्य छेडछाडको नाममा हामीले के-के गरेका छौँ, आफै सोच्नुस् त !" दाइले हाँस्दै भने !
"पापै भए त हामी नर्कमा नै हुन्थ्यौँ होला नि !" मेरो स्वर बोल्दै गर्दा काम्यो । मलाई आफ्ना शब्दहरूमा विश्वास छैन ।
"धर्म, पापको हेक्का राख्नेले नै गणना नराखेपछि त्यो बहिखातामै चढेन !" दाइ फेरि खिसिक्क हाँसे ।
म घोरिएँ आफ्नो टोकन खेलाउँदै । स्वर्ग यस्तो होला भनेर मैले बनाएको तस्बिर भत्किँदै थियो । मैले गरेका धर्म र पापका हिसाबकिताबका ठेलीहरु भत्किँदै थिए- स्वर्गकै ढोकाअघि !
अचानक 'ब्रेकिङ न्युज' आयो । यी सबै आरोप सिद्ध नहुन्जेलका लागि इन्द्रलाई राज्यच्यूत गरिएको छ । र, आन्दोलन फिर्ता हुने भएको छ । टोकनका काउन्टरहरु खुले । हामी काउन्टरतिर अघि बढ्दै थियौँ । अचानक अर्को समाचार फ्ल्यास भो । बैकुण्ठबाट अर्को '#मीटु' को समाचार आइरहेको रहेछ ।
"वृन्दाबाट विष्णुमाथि रूप फेरेर बलात्कार गरेको आरोप !"