मालिकको व्यापार -- Rajits


मेरा मालिक धुरन्धर व्यापारी हुन् । उनको व्यापारको चर्चा टाढा-टाढासम्म फैलिएको छ । उनले केहीमा छोए भने घाटा भन्ने हुँदै हुँदैन भनेर बुझे हुन्छ । व्यापारका बादशाहको नाममा प्रख्यात छन् मेरो मालिक । मोटा जुँगा, ठूलो भुँडी अनि तिक्ष्ण दिमाग ! शायदै कसैको होला यस्तो अनुपम स्वरूप ।
उनले व्यापार पहिलोचोटि आँपको बगैंचाबाट सुरु गरेका थिए । कस्तो अचम्म ! उनको बगैंचामा आँप फल्दा अरुतिर फल्दैनथ्यो । उनी आफूलाई मन लागेको मूल्य लगाउन पाउँथे । सुरु-सुरुमा त मालिक मजस्तै लिखुरे थिए रे, मेरो बुवाले सुनाउनुभएको । तर, अहिले बडेमानका छन् । जब उनी बार्दलीको खाटमा तकिया राखेर तेर्सिन्छन्, लक्ष्मीलाई पनि विष्णु भगवान नै शेषनागमाथि तेर्सिए जस्तो लाग्दो हो । त्यही भएर त लक्ष्मी माताको उनीमाथि कृपादृष्टि परिरहन्छ । मलाई पनि मेरो मालिकसँग धेरै सिक्न मन छ व्यापारको बारेमा ! किनकि मेरो मालिक धुरन्धर व्यापारी हुन् ।
"मालिक म पनि अब आफ्नै व्यापार गर्छु !" एकदिन फुरुंग हुँदै मैले कुरा राखेँ । सुरुमा डर पनि लाग्यो किनकि म त अह्राएको काम गर्ने मान्छे ! आफ्नै व्यापार मैले गरेको ठूलो आँट थियो ।
"केको व्यापार ?" मालिकको आँखामा कौतूहल देखियो ।
"त्यो त तपाईंले सिकाउनुहुन्छ नि !"
"गुरुदक्षिणा के दिन्छस् ?"
"के दिनु, भन्नुस् न !" मैले टाउको कन्याएँ । मसँग मालिकलाई दिने केही छैन । भरिपूर्ण मान्छेलाई म बबुरोले के नै दिन सकुँला र ?
"पहिला नाफा कमा न , त्यसपछि लिउँला गुरुदक्षिणा !"
मैले टाउको हल्लाइदिएँ । मेरा मालिक दयालु पनि छन् ।
"अहिले नेताहरु गाउँ छिर्ने बेला छ, माला धेरै चाहिन्छ, तँ फूलको व्यापार गर् !" मालिकले मलाई उनको मनको करोडौँको दिव्यज्ञान सुम्पिए । म धन्य भएँ । उनले ममाथि ठूलै उपकार गरे । मेरो मालिक दयालु छन् ।
"मालिक, मलाई फूल व्यापारको बारेमा खासै थाहा छैन," गाह्रोसाह्रो फेरि मालिकलाई नै पोखेँ ।
"परको मेरो खेत ठेक्कामा लेऊ, थोरै पैसा बैंकबाट खोज !"
"बैंकले मलाई कहाँ पत्याउँछ र मालिक ?" मनमा आशंका उब्जियो । मलाई याद छ, जिल्लामा नापीमा जाँदा, नागरिकता बनाउन जाँदा, मालपोतमा जाँदा गाह्रो हुन्छ । तिनीहरुमा त गाह्रो हुन्छ भने बैंक त झन कहिल्यै नगएको ठाउँ । झन् कति गाह्रो होला !
"यसो गर , त्यो पनि मै सापटी दिउँला तर ब्याज लिन्छु सयको तीन !"
"फूलले पैसा उठ्छ त मालिक ?"
मालिक हाँसे । हाँस्दा उनको अर्ध चन्द्राकार जुँगा सीधा भएजस्तो भयो । उठ्छ, पक्कै उठ्छ, मालिकलाई लक्ष्मी माताको आशीर्वाद छ।
० ० ०
परबाट लावालस्कर आउँदै गर्दा म पनि ढाकी लिएर फूल बेच्न बसेको थिएँ । समाजवाद, उदारवादका नारा घन्किँदै छेवैबाट नेताज्यूको गाडी गुज्रियो । कसैले मेरो ढाकी हेरेनन् । जाँदै गरेको अन्तिम मान्छेले मलाई सोध्यो, "दाइ, पानी खाने ठाउँ कहाँ छ ?"
मैले छेवैको कुवा देखाइदिएँ । ऊ फर्किँदै गर्दा मेरो ढाकीको फूलहरु हेर्‍यो । अनि मुसुक्क हाँस्दै सोध्यो, "कति राम्रो फूल, आफैं रोप्नुभएको ?"
मैले टाउको हल्लाएँ ।
"तपाईंहरुलाई चाहिन्न ? नेताज्यूको स्वागतको लागि ?" एउटा आग्रही प्रश्न राखेँ ।
"हाम्रो मुख्य नेताजीलाई त पोलनको एलर्जी छ ! त्यही भएर यसपालि फूलमाला कसैले नलाउने भन्ने हाम्रो पार्टीको निर्णय छ !"
मेरो मन अमिलियो ।
"हामीले बाहिरबाट प्लास्टिकका माला मगाएका छौँ ! तिम्रो फूलभन्दा धेरै महँगो, धेरै दिन चल्ने !"
मैले मेरो फूलको ढाकी हेरेँ । दिउँसोको घाममा केही फूल ओइलिन आँटेका थिए । लोटामा लिएर बसेको थोरै पानी छर्किएँ ।
"ओइलिने फूल पनि कसैले व्यापार गर्छ त ?" उसले मलाई सुझाव पो दियो । मलाई रिस उठ्यो । उसलाई थाहा छैन- यो व्यापारपछाडि सच्चा व्यापारीको दिमाग छ । बाटोमा नेताको पछाडि लाग्ने कार्यकर्तालाई केको व्यापार चल्छ, केको चल्दैन, के थाहा ?
"अर्को पार्टीको पनि कार्यक्रम छ हैन ?"
"छ तर एक हप्तापछि !" ऊ मलाई जानकारी दिएर बाटो लाग्यो । फूल भने तीन दिनमै काला भए । मालाहरु घरको पछिल्तिर खाल्डो खनेर पुरेँ । शायद मेरो भाग्य नै खोटो । मालिकको व्यापारमा खोट थिएन । पोलनको एलर्जी मैले पहिला सुनेको पनि थिइनँ । विचरा मालिकलाई के थाहा त्यसको बारेमा ! के हो त्यो पोलन भनेको ? अनि कहाँ हुन्छ त्यो फूलमा ?
० ० ०
"अब के गरुँ ? कसरी तिरुँ हजुरको रिन ?" मैले धेरै बेरपछि भक्कानिँदै बोलेको थिएँ । पहिलोचोटि हो म रिनमा परेको । अहिलेसम्म कसैको खाएर भागिनँ । कसैलाई ठगिनँ । मालिकको पैसा खाने त मनले चिताउँदिनँ पनि । तर तिरूँ कसरी ? मालिक मभन्दा पनि गम्भीर थिए । ठूलै ग्लानि भए जस्तो । हुन पनि हो, उनको सुझाव त खेरै नजानुपर्ने । उनको वचनमाथिको दाग हो त्यो सुझाव ।
"कति बाँकी छ पैसा तँसँग ?" एकछिन घोरिएपछि उनले सोधे ।
"पाँच सय !"
"बाइक चलाउन आउँछ ?"
मैले स्वीकारोक्तिमा टाउको हल्लाएँ । मालिकको छोरा र मैले सँगै बाइक चलाउन सिकेका थियौँ । मालिकको छोरो र म सानैमा साथीजस्तै थियौँ । पछि बिस्तारै मालिकको छोरो पनि मालिक नै हुन्छ भन्ने मलाई चेत आएपछि मात्र म ऊसँग अलि टाढा भएको थिएँ । ऊ गाउँमा पढिसकेर राजधानीतिर लाग्यो । म भने मालिकसँगै रहेँ । पढ्न खासै सकिनँ । पढ्ने ठूलाबडाका छोराछोरीले नै हो । गरिबको दिमाग पनि गरिब नै हुन्छ ।
मालिकको छोरो मजत्तिको बाइक चलाउन जान्ने नभए पनि उसको चिनजानबाट उसले लाइसेन्ससमेत निकालेर आएको थियो जिल्लाबाट । काठमान्डूमा बाइक नभए बाँच्न सकिन्न रे ! उसले मालिकलाई सुनाउँदै गर्दा मैले सुनेको । मसँग भने लाइसेन्स थिएन ।
"तर लाइसेन्स ......."
"लाइसेन्स चाहिँदैन !" उनले मेरो वाक्य पूरा हुन दिएनन्, "सर्वाहारा पार्टीको र्‍याली अर्को महिनाभरि छ, एकदिनको हजार रुपैयाँ दिन्छ, र्‍यालीमा गइस् भने बाइक पनि बन्दोवस्त गर्दिन्छन् । अनि तँलाई रिन तिर्नलाई पनि लगभग पुग्छ !" मालिकले मैले रिन तिर्ने व्यवस्था गरिदिए । मालिकसँग प्रत्येक समस्याको समाधान छ ।
धेरै दिनपछि मेरो आँगनको खाटमा पल्टिँदा मुटु हलुका थियो । म मालिकको रिन तिर्दैछु । मैले कसैसँग बेइमानी गर्नुपर्नेछैन ।
० ० ०
बाइक दिने मान्छेले साँचो जिम्मा लाउँदा भनेको थियो, "बाइकमा केही भए तिम्रै पैसाले काटिन्छ !"
मालिकले पनि सुझाव दिएका थिए, "धेरै स्पिडमा नचलाउनू !"
मैले बिस्तारै चलाएर होला, लगभग-लगभग अन्तिमतिर थिएँ । अचानक एउटा पुलिसले मेरो बाटो रोक्यो । अनि सोध्यो, "यो वन-वे हो भन्ने थाहा छैन ?"
"म त र्‍यालीमा थिएँ !"
"कुन र्‍याली ?"
र्‍याली त्यही बाटो गएको थियो तर अहिले सुनसान थियो किनकि म त अन्तिममा थिएँ । मलाई यो वन-वे हो भन्ने थाहा थिएन । जवाफ के दिने पनि थाहा थिएन । मलाई पक्राउ परे के जवाफ दिने, कसैले सिकाएन । मात्र बिस्तारै कुदाउन सिकाइयो । मात्र बाइक जोगाउन सिकाइयो । मेरो मौनता लम्बिँदै गयो ।
"लाइसेन्स देखा !" नजिकै आएर पुलिसले बाइकबाट चाँबी झिक्दै भन्यो ।
"छैन !" मैले काम्दै जवाफ फर्काएँ ।
"बाइक कसको हो ?" उसको आवाज अझ कर्कश भयो ।
"मलाई त र्‍यालीको लागि मात्र दिइएको !" मैले बल्लतल्ल उत्तर दिएँ ।
"गोजीमा कति पैसा छ ?" उसले नजिकै आएर कानमा सोध्यो ।
"पाँच सय !" मसँग त्यत्ति नै थियो ।
"त्यो पैसा दिएर आफ्नो बाटो लाग्, फेरि यो बाटोमा नआउनू नत्र बाइक लान पाउन्नस् !" उसले आफ्नो चुरोट सल्काउँदै भन्यो ।
यताउता हेरेँ ।आफ्नो चोर गोजीबाट बचेको पाँच सय निकालेर उसलाई जिम्मा लगाइदिएँ । बाइक लिएर घरतिर लागेँ ।
० ० ०
"म अब र्‍यालीमा जान्न मालिक !" साँझमा मैले फैसला सुनाएको थिएँ ।
"किन ?" मालिकको आँखामा आश्चर्य थियो । त्यो त सजिलो पैसा ! अनि म छोड्छु भन्दै थिएँ ।
"पुलिसले पक्डियो , लाइसेन्स माग्यो !"
"अनि बाइक ?"
"बाइक त पैसा लिएर फर्कायो, मेरो पाँच सय पनि लग्यो !"
"पाँच सयमा तँलाई छोड्दियो ?"
"छोड्दियो मालिक !"
"कस्तो थियो पुलिस ?"
"पुलिसको जर्सी लगाको !"
"पुलिसले त कहाँ बाइक पक्डिन्छ त ? ट्राफिकले पो पक्डिन्छ त !" मालिक उग्र बने ।
"तर मलाई पक्डियो मालिक !"
"तँलाई सोझो देखेर ठग्यो, अर्को पार्टीको मान्छे होला । पुलिस हैन त्यो !"
"म जान्नँ मालिक !"
"लाछी, कसरी तिर्छस् मेरो पैसा !"
चस्स बिझ्यो । त्यो पैसा खिल बनेर गढेको छ मेरो मुटुमा ।
"केही अरु उपाय छ मालिक ?"
"तँ अगाडि देखिन डराइस् , पछाडिबाट गर्ने काम छ, गर्छस् ?" मालिकले फेरि उपाय निकाले । उनी त उपायको भण्डार हुन् । मान्छे व्यापारी हुन दिमाग हावाको गतिमा चल्नुपर्ने रै'छ । मबाट व्यापार नहुने रहेछ । यो दुई-चार हप्तामा मैले पत्ता लगाएको !
"के काम मालिक ?"
"ढुंगा ओसारिदिने !""कहाँ ?"
"त्यो अहिले चलिरहेको र्‍याली अर्को पार्टीलाई मन परेको छैन । बिथोल्नलाई ढुंगा चाहियो रे ! त्यो पुल छेउसम्म ओसारिदिनु पर्नेछ खोलाबाट ! राति-राति कसैले नदेख्ने गरी !"
"कसैले देख्यो भने ?"
"राति खोलामा कसले चियो गर्छ ? राति तीन घण्टाको हजार रुपैयाँ दिन्छन् ।"
मनमनै सोचेँ । हो हुन त ! कसले चियो गर्छ र खोलामा ? मैले टाउको हल्लाइदिएँ ।
खोलाभरि मान्छेको लर्को थियो । ढुंगा ओसारेर सडकका दुईतिर राख्दै थिए । गोला फ्याँक्न मिल्ने ढुंगा । ठिक्कका, मान्छेलाई लागे रन्थनिने खालका ! म पनि सुरुसुरु काममा लागेँ । पहिलो दिन राम्ररी बित्यो । हजार रुपैयाँ फर्किने बेलामा पाइयो । गएर एक किलो चामल र नुन किनेँ । घर गएर थोरै गुन्द्रुकमा झोल र भात खाएर नौ सय रुपैयाँ सन्दुकमा हालेर निदाएँ । सपनामा मालिक देखिए । पैसा गन्दै गरेका । म छेउमा थिएँ । खुसी थिएँ ।
"तैँले रिन तिरिस्, स्याबास !" भनेझैँ लाग्यो ।
दोस्रो दिन भने सोचेजस्तो भएन । पुलिस आयो । खैलाबैला भयो । भाग्दा कान्लामा लडेर खुट्टा मर्कियो । अचानक गोलीको आवाज चल्यो । खोच्याउँदै भाग्दै थिएँ । मेरो पेटमा केही घुस्यो, तातो भो, पोल्यो । पेटमा हेरेँ, रगत चुहिँदै थियो । बङ्लङ्ग ढलेँ । त्यसपछि होश आउँदा एकैपटक अस्पतालमा थिएँ । धन्न छेउमा चिनेको मान्छे भेटेँ । मालिक उभिएर म होशमा आउने प्रतीक्षा गर्दै थिए शायद । उनले सुस्तरी भने, "चिन्ता नली, तँलाई केही हुन्न ! गोली लागेको पैसा पाइन्छ !"
धेरै मान्छे घेरेर मलाई सोधेपछि मैले सुस्तरी मालिकतिर देखाउँदै भने, "उहाँलाई थाहा छ !"
मालिकलाई उत्तर दिन चाँडो आउँछ । आवाजहरु धुमिल हुँदै गए । सुस्तसुस्त सुनिन छोडियो । अँध्यारो अनि टाढा प्रकाश देखियो ।
"यो बाँच्दैन होला !" कसैले बोल्यो ।
"हाम्रो पार्टीको मान्छे ! र्‍यालीमा गएको थियो !" एउटाले बोल्यो ।
"ढुंगा हाम्रो लागि ओसार्दै थियो !" अर्को कड्कियो ।
"म हो यसको आफ्नो मान्छे, मलाई कति पैसा दिन्छौ ?" मालिक बोले ।
"पाँच लाख !"
"दश लाख!"
"पन्ध्र लाख !"
मेरो लाशको बोली लाग्यो । मालिकले बोली लगाए । मालिकले मेरो लाशको व्यापार गरे । उनले ३० हजारबाट १५ लाख कमाए । मेरो मालिक धुरन्धर व्यापारी हुन् । उनको व्यापारको चर्चा टाढा-टाढासम्म फैलिएको छ । उनले केहीमा छोए भने घाटा भन्ने हुँदै हुँदैन भनेर बुझे हुन्छ ।
Published in :http://baahrakhari.com/news-details/20482/2017-03-18