आशा दिदी(भाग-१) Rajits

म पात्रमा नायकत्व कति जरुरी छ ?मेरो कलमले अघि वढ्दा वढ्दै गहिरो प्रश्न राखेको थियो। म सोच्न वाध्य भएँ, किनकि यदि जरुरी छ भने जे म लेख्दैछु त्यो कथा होइन। ममा नायकत्व छैन।

कथा भन्दा थोरै अघि,

एयरपोर्ट डिलेभएका फ्लाइटको कारणले गर्दा हुनुपर्छ भिडभाँड थियो।आकृतिहरु दिमागमा छाप वनाउन नपाइ देखिँदै विलाउँदै थिए।भिँडभित्रका झुण्ड,उपझुण्डहरु कोहि रमाइरहेका थिए,कोहि गम्भिर देखिन्थे।गम्भिर हुनेहरु प्लेन डिले भएकाले हुनुपर्छ। मनमनै सोचेँ, किन आएँ आज एयरपोर्टमा चाँडो। म एक घण्टा अघि आएँ,फ्लाइट एक घण्टा डिले भयो । के गर्ने होला दुइ घण्टा? समय अचम्मको हुन्छ, जति खाली भयो त्यति गह्रुंगो हुन्छ!
"फ्लाइट डिले भो नि त केटी !" उसलाई केटी भन्न मलाई रमाइलो लाग्छ।शुरु शुरुमा उ अचम्म मानेर हेरेकी थिई। तर पछि उसले मलाई र मैले दिएको विशेषण दुवैलाई अंगाली!
सुधालाई सुचना दिनु आवश्यक थियो । बेक्कारमा अतालिन्छे, मोवायल स्विच अफ भएको वेला पर्यो भने त झन् उसको होशले ठाउँ छोड्छ।तर आवश्यकतावोध भन्दा पनि मेरो लत भन्नुपर्छ, दुइ चार घण्टा ,दुइचार घण्टामा मोवायलका टेक्स्ट,फेसवुकका प्राइभेट म्यासेज वा कल जे वाट भएपनि मैले सुधासँग शव्द साटासाट गर्नुपर्छ। कहिलेकाहिँ जिस्किनुपर्छ , कहिलेकाहिँ ठूस्केकी उसलाई मनाउनु पर्छ। मलाई थाहा छ, उ रिसाएकी हुन्न तर पनि म उसलाई मनाइ टोपल्छु, किनकी मलाई थाहा छ मैले धेरै मेहेनत नगरी उ रमाउनेछे।
कहिलेकाहिँ म आफुलाई उसको नजरवाट हेर्न खोज्छु। मलाई थाहा छ, ममा औसत पुरुष भन्दा वढी केहि छैन।वरु कम होलान, केहि दुर्गुण होलान् । तर जव जव म आफुलाई उसको आँखावाट हेर्न खोज्छु, आफुमा स्वाभिमान देख्छु, एउटा अनौठो आकर्षण भएको व्यक्तित्व देख्छु , मन पगाल्न सक्ने पुरुषत्व देख्छु,खुशी हुन्छु अनि फेरि आफ्नो जीवनमैँ फर्किन्छु।कसैको जीवनमा आफ्नो उपस्थितिले पार्ने फरकमा रमाउनु नै माया होला शायद!
"किन र ?" उसको निन्याउरो आवाज फर्कियो। मोवायलमा निराशा चुहियो सुधाको!
"वेदरको प्रोव्लेम भने, तिमी सँग भेट हुन नदिने षड्यन्त्र गरे जस्तो लाग्यो !" मैले उसको निराशा हलुक्याउन खोजेँ!
"म त तँपाइ आउने होला भनेर अफिस छोडिदेँ आजको !" उसले हाँस्दै भनी ! उसले गुनासो पोखेको हुनुपर्छ उसको प्रतिक्षाप्रति।उसको म तिमीलाई माया गर्छु भन्ने शव्द छनौट पनि अचम्मको छ। उ भन्दिन तर म उसले नभनेको वुझ्छु।जहाँ मौनता रमाइलो हुन्छ , त्यो पल शव्दहरु कुरुप हुन्छन् मौनताको सुन्दरताको अघि।
"कि कुद्दै आउँ त ?"
"अलि टाढै पर्छ होला, भो छोड्दिनु गल्नुहुन्छ!" उ खितित्त हाँसी । मलाई सन्तोक भयो।
"ल वेलुका सम्ममा आइपुग्छु, खास त्यहि भन्नलाई फोन गरेको । राखे है मैले! " मैले फोन काटेँ, यताउति हेरेँ कसैले सुनेका त छैनन् नि भनेर! अनि चुरोट कक्ष तिर लागेँ।
*************** ************** *************** ************* ***********
"तिमीले चुरोट खान अझै छोडेको छैनौ है ?" आवाज मधुरो थियो। अनि पुरानो पहिचान बोकेको पनि !
"आशा दिदी ! वाट ए प्लिजेन्ट सरप्राइज !" मैले भने पनि मलाई थाहा छैन यो भेट सुखद थियो वा थिएन, तर सरप्राइज भने अवश्य थियो।
"कता ?"
"घर हिँडेको दिदी !"
"अल्लारेहरुको घर हुन्न नि आकाश , तिमीले नै भन्थ्यौ हैन र ?" आशा दिदी थोरै मुस्कुराउनुभयो। मैले वहाँको अनुहार नियालेँ। पुरानो अनुहार भन्दा पृथक केहि थिएन। करिव एक वर्ष भयो होला भेट नभएको ! परिवर्तन खासै थिएन। अझै पनि उसरी नै मुस्कुराउनु हुन्थ्यो । अझै पनि गहिरा शव्दहरुमा जिस्किनुहुन्थ्यो। परिवर्तन त ममा थियो। किन एउटै आकाशका दुइ पाटामा घामले फरक फरक असर गर्छ ?
"मान्छे सँधै अल्लारे रहँदैन नि त दिदी !" म पनि वहाँको मुस्कानको साथ दिँदै मुस्कुराएँ।घर शव्द मात्र होइन।घर भौतारिनेको लागि स्थिरता हो। घर वाँध हो,परखाल हो अनि दुइ मुटु जोड्ने पुल पनि।
"विहे गर्यौ कि के हो ?" वहाँले आश्चर्य मान्नुभयो ! आश्चर्य मानेकोमा मलाई आश्चर्य भएन, छवि नै त्यस्तै वनाएको छु मैले। छाप नै त्यस्तै छोडेको छु मैले! म जे देखाउन चाहन्छु, संसारले त्यहि न देख्छ। रंगहरु त मैले छान्ने हो मेरो इन्द्रेणीको। कुन गाढा हुन्छ, कुन फिक्का हुन्छ त्यो त मेरो क्यान्भास कोराइमा फरक पर्छ।
मैले टाउको हल्लाएँ।
"अचम्म छ, तर खुशी लाग्यो ! "
वुद्द एयरवाट पोखरा जाने विमानमा पाल्नु हुने यात्री महानुभावहरु कृपया गेट ए तर्फ प्रस्थान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ!
सँधै झै सुमधुर आवाजमा एउटी युवतिको ध्वनि गुन्जियो!
"ल म लागेँ, यु मेड अ गुड डिसिजन फाइनल्लि !" आशा दिदीले आफ्नो व्याग उठाउनु भयो !
"दिदी तँपाइले मलाई परिवर्तन गरिछाड्नु भयो, हुन त मैले माफि माग्न नमिल्ने हो !तर गर्न सक्नुहुन्छ भने तँपाइले मलाई माफ गर्नुहोला !" वोल्न गाह्रो भएको थियो! तर वोले पछि हलुका भयो मनवाट भार हटे जस्तो!
"कमअन! इट्स ओके! मान्छे पल पल फरक हुन्छ! त्यो तिम्रो हैन पलको दोष थियो !" मेरो दुइ काँधमा हात राख्दै जवाफ आयो आशा दिदीको !
विस्तारै भिँडमा आशा दिदि हराउनु भयो। मेरो दुइ घण्टा अव खाली छैन! त्यसमा अतितले समय पाएको छ!
**************************************************************************************


यहाँवाट कथाको शुरुवात हुन्छ।म स्वार्थी भएर हुन सक्छ,कथा मैले मवाटै शुरु गरेको छु। जीवन अचम्मको छ,वृत्तको केन्द्रमा सदैव म हुन्छ, म जे गर्छ सहि हुन्छ। म स्वार्थी हुन्छ, स्वार्थलाई फरक फरक नाम दिन्छ। मेरो मात्र किन प्रत्येक कथा मवाट शुरु हुन्छ,शुरु नभएकामा म को खोजी हुन्छ, म भेट्टाइन्छ र त कथाले महत्व पाउँछ।

म(करिव एक वर्ष अघी)

उ भिँडवाट टाढा एउटा कुर्सि आफ्नो लागि मात्र वन्दोवस्त गरेर वसेकी थिइ,एउटा हातमा वाइनको ग्लास लिएर। तर मैले भन्नैपर्छ परवाट वाइन भन्दा उ नै मादक देखिन्थी ।क्रस लेग पोजिसनमा उसको देखिएको घुँडासम्मको अंशले रहर पलाउँथ्यो उसलाई हेरीरहने।मेरो आँखाहरु सन्त थिएनन्, उसलाई हेरिरहन लाज मानेनन्। धक फुकाउन्जेल हेरिरहे।परैवाट उसको इयररींग रातो प्रकाशमा टल्किएको थीयो। वेला वेलामा उ आफ्नो कपाल मिलाउन आफ्ना औँला कपालमा कुदाउँथी। पटक पटक उसको एयररिंग गालामा ठोक्किएर मेरो मनमा अनौठो काउँकुति लगाइ छाड्यो।
"मौनता ,एकान्त अनि वाइन,जीवन एक्लिएर पनि नशालु छ ! " मैले पनि चुस्कि लगाउँदै उसको छेउमा गएर मौनता तोडेँ।
"तँपाइलाई मेरो एकान्त मा किन इर्ष्या त ?" उसले हाँस्दै प्रश्न राखी । उसको मुस्कानले मेरो वाटो खोल्यो।
"राम्री केटीहरुलाई पिउन साथ दिने मेरो राम्रो वानी छ, आज पनि वानीले विवश वनायो !"
उसले मलाई आफ्ना गहिरा आँखाले हेरी। चश्मामा खासै पावर थिएन शायद! त्यति भद्दा देखिँदैनथ्यो।मलाई पढ्न सक्यो वा सकेन थाहा छैन।
"म यसलाई तारिफ सम्झिउँ ?"
"जे सम्झे पनि हुन्छ , म त मात्र साँचो वोल्छु ! मैले एकान्त तोड्न मिल्छ भने म कुर्सी ल्याउँछु अर्को !"
"एकान्त पातलो हुन्छ,सानो क्षणले पातलिन्छ, सानो साथले चिरिन्छ,करिव दुइ मिनट देखि म एक्ली छैन ,ल्याए हुन्छ !" उसले स्विकृति दिइ। पहिलो चरण मैले सफलता पुर्वक पार गरेँ!वाइनमा डुवेर उसको ओठ अझ रसिलो देखियो। मैले आँखा हटाउन सकिन।
"कुर्सी लिन जाने भनेको होइन ?" मेरो ध्यान भंग भयो।
"उभिएर यति राम्रो चिज हेर्न पाएको छु, कुर्सी लिन जाने समयको लोभ लागेको छ !"
"नहतारिइ गए हुन्छ ! मलाई कुनै हतार छैन ! म समयमा कन्जुसी गर्दिन, आफु सँग कति छ भन्ने थाहा भएको वस्तुमा न हो कन्जुसी गर्ने ! म सँग दुइ दिन छ वा दुइसय वर्ष कसलाई के थाहा ? अनै थाहै नभएको वस्तुमा भएको खर्चमा के चिन्ता ?" उसको अनुहारमा हलुका गुलावी लाली छायो।थोरै लागेको हुनुपर्छ उसलाई। मान्छे जव वेहोश हुन्छ अनि चिन्तन फुर्छ, सोचका क्षितिजका दायरा हरु चौडिन्छन् । मोक्ष वेहोशीमी नै हुन्छ।उसको वेहोशी त मेरो लागि वरदान नै हो। मन खुशी भयो।
"वाइ द वे मेरो नाम आकाश हो !" मैले कुर्सी ल्याउँदै गर्दा आफ्नो परिचय दिएँ। उसलाई मेरो नाम आवश्यक थियो थिएन थाहा छैन।
"सरी नाम नसोधेकोमा, म रितु !"
"पक्कै वसन्त हुनुपर्छ !" म जिस्किन चाहेँ। उसले पनि साथ दिइ, धक फुकाएर हाँसी यसपाली।
"हरियो देखिएको छु हो ?"
"हैन मलाई वसन्त रितु मन पर्छ त्यहि भएर, यहाँ कसरी त ?" मैले प्रश्न मोडेँ । हुन त मलाई उसको उत्तरमा कुनै मतलव छैन । तर पनि प्रश्नले शिष्टता थप्छ।म उसको वारेमा जान्न चाहन्छु भन्ने वुझाउँछ।राम्रो शिकारी धैर्यवान हुन्छ। उ आफ्नो घडी घर नै छोडेर शिकारमा निक्लन्छ।
"वर्थडे गर्लको एउटी साथी मेरो पनि साथी हो, उसै सँग आएको तर उ अन्तैतिर व्यस्त भइ जस्तो छ!" उसले आँखा यता उता डुलाउँदै जवाफ फर्काइ।उसको आँखाले उसको साथी खोजेको हुनुपर्छ।मलाई डर लागेर आयो। कतै उसले खोजेकी उसको साथी भेट्टाइ भने ?
"मेरो साथ मन नपरेको हो ?" मैले इशारा उसको आँखा घुमाइ तिर गरेँ।
"हैन ! तर पनि!!!!!......... उ हराइ, उसले पनि आकाश भेट्टाइ जस्तो छ !" उसले मलाई जिस्क्याइ।
"मेरो भाग्य राम्रो भन्नुपर्छ, उ हराई !"
"तिमी शव्दहरुसँग राम्ररी खेल्छौ ! धेरै चोटी खेलेजस्तो ! खप्पिस भएजस्तो !" उसले कटाक्ष गरी। घुमाउरो शव्दमा उसले मलाई चिनीसकेको भनेकी थिई।
"त्यो त कसको अगाडी खेल्दैछु त्यसमा भर पर्छ! कहिले काहिँ सुन्दरता को अघी शव्दहरु विवश हुन्छन्,फुर्नलाई आतुर हुन्छन्, मन पग्लिएर तरल हुन्छ , अनि वाक्यहरु गजल वन्छन्।"
"तिमीलाई लागे जस्तो छ, कविता फुर्न थाल्यो !" उ खित्का छोडेर हाँसी।
"तिमी छेउमा भएपछि नलाग्ने त कसैलाई पनि हुन्न होला !" मैले अझ थपेँ उसको प्रशंसा। प्रशंसा पनि नशा न हो , मान्छेलाई चढ्दै जान्छ वेहोश हुँदै जान्छ।
"यति लागिसकेको मान्छे, घर कसरी पुग्छौ?"
"अल्लारेको घर हुँदैन, उ त यात्रा गर्छ, रितुले जता डोर्याउँछे त्यतै डोरिन्छ !" यसपालि मैले उसको आँखामा आँखा जुधाएर अन्तिम अस्त्र छोडेँ। उ पनि मलाई हेरीरहि धेरैवेर! अनी मेरो हात समाती, कुनाकै अँध्यारो ढोकावाट हामी वाहिर निस्कियौँ!गोजीवाट मोवायल निकाली अनी मादक स्वरमा वोली "ओइ सुन त ! मलाई सन्चो भएन , एकजना साथी मलाई पुर्याउन कोठा जाँदैछ!यु इन्जोय द पार्टी, !!!"

क्रमश:

मैले सुनेको अन्तिम कथा

हेर्दा उ दह्रो देखिँदैनथ्यो।खिरिलो,चुस्स दाह्री त्यहि पनि सेता काला टाटे पांग्रे,चमक नै नभएको अनुहार,हुति नभएको अनुहार,हारेको अनुहार।तर अनुहार मुटुको ऐना हैन, जे थियो देखिनु जरुरी पनि त थिएन।
"यहि हो पक्डेको मान्छे ?" मैले भित्र छिर्दै गर्दा मेरो सहयोगी लाई सोधेको थिएँ। उसले पनि उसको सँधै हल्लिने टाउको हो भन्ने उत्तर दिँदै हल्लाएको थियो। त्यो टाउको हल्लिन्थ्यो, कहिले हो भनेर तल माथी हल्लिन्थ्यो, कहिले होइन भनेर दायाँ वायाँ हल्लिन्थ्यो ।त्यो टाउको उत्तर दिनमा पारंगत थियो, उसको नवोल्ने मुखभन्दा विलकुल विपरित।संसारमा चाहिने तत्व सामन्जस्यता न हो आखिर! उसको टाउको र मुखमा सामन्जस्यता थियो,मुख मौन वस्थ्यो,टाउको हल्लिरहन्थ्यो।
"के आधारमा पक्डेको त ?" मैले आफ्नो कोठामा भित्र छिर्दै गर्दा मेरो सहयोगीलाई पुन प्रश्न राखेँ।
"आँफैले हो भन्यो सर, केहि गर्नै परेन !" मेरो सहयोगी खिस्स हाँस्यो।हाम्रो लागि सजिलो भएको थियो उसले हो भन्ने वित्तिकै!
"कसरी मारेछ त ? किन मारेछ त ?" मैले जिग्यासा राखेँ।
"तँपाईलाई मात्रै भन्छु भन्छ सर !"
उसले मलाई पर्खेको थियो आफ्नो कथा सुनाउन।शायद उसको अन्तिम कथा होला यो उसको जीवनको! त्यो हत्याले उसले आफ्नो पनि त जिवनको हत्या गरेको थियो, यदि जिउनु र वाँच्नुलाई छुट्याएर हेर्ने हो भने हो भन्ने वित्तिकै उसका जिउने पलहरु सिद्दिएर मात्र वाँच्ने पल रहने भएका थिए उसको जीवनमा! मेरो आँखाले उसको आवरणलाई अझै विश्वास गरेको थिएन, किनकी हेर्दा उ दह्रो देखिँदैनथ्यो।
*************** ************** *********** ************ ************ ************ *******
त्यो केटा सामान्यतय अँध्यारो नै हुने गर्छ। म र मलाई सामना गर्ने अर्को अनुहार वाहेक म अरु केहि देख्दिन कोठामा न अर्को अनुहारले म वाहेक अरु केहि लाई देख्छ। फरक यति मात्र छ कि मेरो अनुहार, अर्को अनुहारको स्वरुप अनुसारले वदलिने गर्छ। वदलिनु मेरो वाध्यता हो, अथवा भनौँ म एउटा ऐना हुँ उनीहरुको लागि, मात्र एउटा छायाँ हुँ उनीहरुको लागि, उनीहरु जस्तो स्वरुपका हुन्छन् त्यस्तै व्यवहार पाउँछन् म वाट।
कोठाको कुनामा नदेखिए पनि एउटा माटोको घैँटोमा पानी रातो प्लेटले छोपेर राखेको छ भन्ने मलाई थाहा छ। त्यो पानीको तर कोहि नतिर्खाउन्जेल सम्म केहि अस्तित्व छैन। जीवन अचम्मको छ , आवश्यकताले अँध्यारोमा प्रकाश उव्जाउँछ,जव आवश्यकता हुँदैन भएका वस्तुहरु प्रकाशमा हराउँछन्।
उ सोचमैँ थियो, मैले ढोका खोल्दा, उसले ढोकालाई हेरेन। त्यो ढोका नहेर्नुमा पनि शायद उसको तर्क छ, किनकी केहि दिन मैँ त्यो ढोका खुल्ने छैन। उसले वोली नै त्यहाँ ताला लाउन पर्याप्त छ।उसले भन्ने अवको कथा त तपशिलको कुरा!
************** **************** **************** *********** ************* **************
"सुनौँ न त कथा !" मैले स्थिति सामान्य वनाउने प्रयत्न गरेँ!
उ मात्र खिस्स हाँस्यो,एकैछिन गम्यो
"दुनियाँ अचम्मको छ, मैले भोगेको मेरो जीवनलाई कथा भन्छ!" उ फेरि अड्कियो अनी प्रश्न राख्यो " चुरोट खान पाइन्छ ?"
म थोरै हच्किएँ, मैले यति सस्तोमा उसको भोगाइलाई कथा भन्न नहुने, हो मेरै गल्ति हो!
"भित्र चुरोट खान पाइन्न, नियम छ !"
"नियममा अपवाद पनि त हुन्छन् ! अनी कति नै हानी पुर्याउला र अव जावो त्यो धुवाँले,जीवन धुवाँ वनेर उडेको देखिसकेँ मैले, अव त खरानी मात्रै वाँकि छ।" उसले पहिलो चोटी आँखा जुधायो। आँखाको कालो डिल त्यो मधुरो प्रकाशमा स्पष्ट देखियो।उसले ननिदाएको धेरै भएको छ, सपनाको त कुरै नगरौँ।
"ए एउटा चुरोट ल्याइदे त वाहिर वाट!" मैले छेवैको तन्किएर उभिएको मेरो सहकर्मीलाई अह्राएँ।
"चुरोट मात्र नभन्नुस न सुर्य भन्नुस्, शिखर भन्नुस् , दुखका पनि त प्रकार हुन्छन् !" उसले मेरो वोली काट्दै बोलेको थियो।
"सुर्य!" मैले चुरोट पिएको छैन अहिले सम्म जिन्दगीमा! तर पनि मैले आफ्नो वोली सच्याएँ।
******************** ************** *************** **************** ************ *******
"तँपाइले लाश देख्नुभयो ?" उसले चुरोटको पहिलो धुवाँ हावामा पातलिँदै गर्दा मलाई प्रश्न राख्यो।
मैले स्विकारोक्तिमा टाउको हल्लाएँ!अनि सम्झे उसको घाँटीको निलो डाम, उसले हतियार प्रयोग गरेन, मात्र आफ्नो हात। औँलाको डाम पछि सम्म पनि देखिन्थ्यो उसका घाँटीमा। धेरै वेर नियालेको थीएँ मैले त्यो कलिलो लाशलाई।अनुहार निश्छलथियो, आँखाहरु ठूला थीए, जति भन्यो त्यति रहर अटाउन सक्ने, कालो कपाल थियो लामो घाँटी अनि स्पष्ट देखिएका औँलाका डाम। त्यो भन्दा तल नियाल्नु मैले जरुरी ठानिन,किनकी उ अचल थिई,अव मृत थिई। अनी उसकै वुढोले स्विकारेको थियो।कतैकेहि सोच्नु जरुरी थिएन।
" तँपाईले देखेजस्ती थिईन उ, उ जिवन्त थिई, हजारौँ जीवन भरिएकी थिई , सपनाहरुको वँगैचा जस्ती थिई!"
हो उ जीवन्त थिई, त्यहाँ पनि कोहि तरुनी मस्त निन्द्रामा वेफिक्री सुतिरहे जस्तो न देखिएको थियो। जिवित भएको भए सुम्सुम्याउन लाई हात सक्सक्याउने गरिकी राम्री ।उसको श्रीमतिको तस्विर आँखामा झलझल्ति घूमिरहे पनि मैले सुन्नु जरुरी थियो, उसको मुखवाट उसले हत्या गरेकी उसकी आफ्नै श्रीमतिको वयान।
"अनि किन त ....?"
"धैर्य गर्नुस न, भन्दै छु त म !मेरो जीवन हो, हाइकु हो र ?दुइ लाइनमा सिद्दिने?" उसले मेरो प्रश्नलाई पुरा हुन दिएन।
केहि त थियो उसमा आक्रोश थियो वा जटिलता थियो वा अरु नै केहि ! तर पनि हेर्दा उ दह्रो देखिँदैनथ्यो।
क्रमश:
"तँपाइ खाली अफिसको टेन्सन घरमा ल्याउनु हुन्छ, अनि टाउको दुख्यो भन्नुहुन्छ !" मेरी श्रीमतिले निधार सुम्सुम्याउँदै भनी। उसको अघी म केटाकेटी जस्तै हुन्छु। साना साना दुखले पिरोलिन्छु।साना साना ठोकरमा चकनाचुर हुन्छु जस्तो गरी डराउँछु।साँचै म पुल्पुलिएको छु उसको चाहिने भन्दा वढी माया पाएर,अझ वढी खोज्छु,अझ वढी पाउँछु ,अझै असन्तोकी वन्छु उ आफ्नो मायाको दायरा वढाउँछे, मेरो क्षितिज वढ्छ अनी म फेरि रमाउँछु।
"आज अचम्मको मान्छे सँग भेट भयो !" मैले चिया सुरुप्प पार्दै उसको कथा सुनाउन चाहेँ।
"भयो सुन्नु छैन, तँपाइका अचम्मका मान्छेहरुको कथा!तँपाइलाई टेन्सन दिने कथा " उसले खासै सुन्ने रहर देखाइन।
मैले झसंग सम्झेँ उसका वाक्यहरु " दुनियाँ अचम्मको छ, मैले भोगेको मेरो जीवनलाई कथा भन्छ!" उ टेन्सन थियो वा थिएन त्यो मलाई थाहा छैन, तर मैले उसलाई घर लिएर आएको सत्य थियो। उसका वाक्यहरु म यहाँ पनि महसुस गरिरहेको थिएँ।उसको गहिरो आँखा कतै मलाई नै चिहाइरहे जस्तो लाग्थ्यो। " वाँकी भोलि सुनौँला !" भनेर म वाहिर निस्केको थिएँ आज । के मैले उसको सामना गर्न सकिन त ? उसले के नै भनेको थियो र ? तर पनि म थोरै हच्किएको थिएँ, थोरै कमजोर वनेको थिएँ। एउटा सत्य के थियो भने उ उसकी श्रीमति सितालाई मन देखि साँचो माया गर्थ्यो , र उसैले उसको हत्या पनि गरेको थियो।खोइ त दुइ सत्यमा समानता, किन दुइ पृथक सत्यहरु एक आपसमा वाझ्दैथिए, उसले पत्र पत्र गर्दै खोल्ने नै थियो, तर आज मैले सुन्न सकिन, मेरो टाउको भारी भएपछि म कोठा वाट वाहिर निस्किएको थिएँ।
"तँपाइ भाग्यमानी हुनुहुन्छ , अझै तँपाइसँग खुला आकाश छ!" उसले आफ्नो अर्ध मुस्कान मा म वाहिर निस्किन आँट्दा भनेको थियो। म सँग जवाफ थिएन, एउटा मौनता उसको जिम्मा लगाएर म वाहिर निस्किएको थिएँ।
"चिया सेलायो !" मेरी श्रीमतीले मेरो सोचको क्रम भंग गरी
"कसैले आफुले सवैभन्दा माया गर्ने मान्छेको हत्या गर्नु कति सम्भव छ ?" मैले मेरी श्रीमतिको आँखामा आँखा जुधाउँदै प्रश्न राखेँ !
उसले केहि वोलिन , मात्र मलाई नियाँलि। हो म सोचमग्न थिएँ। उसले मेरो दिमागमा कव्जा जमाएको थियो। उसले मलाई आफ्ना वाक्यले वाँधेको थियो। यहाँ स्थिति विपरित थियो, उ म सँग खेल्दैथियो, उत्तर दिने निहुँमा!
"त्यो हत्यामा भर पर्छ !" मायाले अचम्मको उत्तर दिई।
"भन्नाले ?" म प्रष्ट हुन चाहेँ मेरी मायाको उत्तरमा!
"कहिले काहिँ स्थिरता घस्रिनु भन्दा उत्तम हुन्छु, जव जीवन भन्दा मृत्यु सहज हुन्छ त्यति खेर त त्यो हत्या मोक्ष हुन्छ नि हैन र ?" उसले प्रतिप्रश्न गरी ।
म सोचमाँ परेँ।
************* ************** ************* ************ ************** **********
"तँपाई अहिले अलि वढी स्ट्रेसमा हुनहुन्छ जस्तो छ !" डक्टरले नाक खुम्च्याउँदै मेरो भाव पढ्न खोज्यो।
"मेरो काम नै त्यस्तै छ !" मैले पनि सहज जवाफ फर्काएँ।
"अलिदिन छुट्टी लिन सक्नुहुन्न ?" उसले समाधान निकाल्यो।
मैले झट्ट सम्झेँ, उ मलाई आफ्नो कथा सुनाउन वसिरहेको छ, मलाई त्यो सुन्न मन छ।
"अहिले अलि वढी काम छ !" मैले आफ्नो छुट्टिलाई टारेँ ।
"ठिकै छ ,यो दवाइले काम गर्छ !"
मैले उसका अक्षरहरु पढ्न चाहेँ। केहि पछारिएका थिए, केहि उठेका थिए अनि केहि जुर्मुराएर उड्न लागे जस्ता देखिन्थे, मलाई अझै मेरो टाउको दुखाउनु छैन, उसका अक्षरहरुवाट मैले आँखा अन्यत्र लगेँ। घडिले दश वजेको देखाउँदै थियो।
"म लाग्छु त त्यसोभए !"
उसको क्लिनिक मेरो अँध्यारो कोठाभन्दा वढी निस्सासिने छ, कसरी वस्छ होला यस्तो ठाउँमा !
************ *********** **************** ************** ************* *********
"पहिलो चोटी मैले सितालाई देख्दा उ तेह्र,चौध कि हुँदी हो, म शहर वाट गाउँ मै वस्छु भनी गएको थिएँ, उ आफ्नो आगनमा आफ्नै वहिनीहरु सित खेल्दैथिई ! उसले वाटेको दुइ चुल्ठो,अनि रातो रिवन उ उफ्रिँदा सँग सँगै उफ्रिन्थ्यो , मैले धेरै वेर उसलाई नियाँले। उसका नेता वुवा त्यतिखेर प्रजातन्त्र आएकोमा खुशी थिए, गाउँमा साथीहरु जम्मा गरेर गरेका आन्दोलनका कथाहरु सुनाउँदैथिए, मलाई ति कुनै कथा थाहा छैन, मात्र सिता याद छ त्यो क्षणवाट,समानान्तर ति क्षणहरुमा उ यति प्रभावशाली थिई कि ,उसका वाउका आन्दोलनका कथाहरु गुम्सिएर ओइलिसकेजस्तो लाग्छ मेरो मानसपटलमा !"
उ एकछिन चुपभयो,अनि चुरोट सल्कायो !मैले सल्किँदै गरेको चुरोटलाई नियालेँ!
"के हेर्नु भएको, लत हो छुट्न गाह्रो हुन्छ!" उसले लामो सर्को तान्यो।
"अनी ?" म उसको कथामैँ फर्किन चाहेँ।
"समय वित्यो चार पाँच वर्षमा सिता किशोरी वाट तरुनी भई, मैले उ हुर्केको दिनदिन, पलपलमा नियालेँ, उसका केटा साथीहरु लाई इर्ष्याँ गरेँ, उसको हाँसोमा मेरो कान अभ्यस्त वन्यो तर सपनामा अझै पनि उ रातो रिवन लगाएर उफ्रिन्थी ! एक वाक्यमा भन्दा मेरा प्रत्येक इन्द्रियहरुमा उसले कव्जा गरी ! थाहा नभइकन उसले म माथी स्वामित्व प्राप्त गरी,एकाधिकार प्राप्त गरी !"
कथा वल्ल शुरुवात भएको थियो, उ खुल्दै थियो, म पनि त्यसैमा वग्दै थीएँ।
"आज तँपाइ लाई सन्चो छैन , कमजोर देखिनुहुन्छ नि !" उसले आफ्नो कथामा विश्राम लगायो।मैले अचम्म मान्दै उसलाई हेरेँ। के उसलाई थाहा छ, उसको कथाले मलाई पनि कव्जा गरेको छ ? म निदाउँन सकेको छैन, डक्टरको मा पुगेर भख्खर दवाइ लिएर आएँ। उ त यहि कोठामैँ छ ! कसरी थाहा भयो उसलाई?
"हैन , त्यस्तो केहि भएको छैन!" मैले लुकाउने प्रयास गरेँ।
"किन ढाँट्नु हुन्छ? ठिकै छ वाँकी भोलि सुनौँला न , के हतार छ र ! म त अव वर्षौँका लागि यो अँध्यारो भित्र छु, जहिले जहिले वत्ति वाल्नु हुनेछ हराएको म भेटिनेछु , त्यहि अँध्यारोको कोखमा !"
म अवाक भए, उ के सोच्छ , के वोल्छ मैले वुझ्न छोडेको छु विस्तारै , मात्र उसको कथा याद छ, अनि सिता याद छ।
क्रमश:
"तँपाइहरु चन्द्रमालाई शितल भन्नुहुन्छ, त्यो अर्काको प्रकाशमा टल्किएर रमाउने आडम्वरी!" उसले विचमा आफ्नो कुरालाई कता मोड्यो मैले पत्ता लाउन सकिन। उसको श्रीमतिको हत्यामा त्यो आडम्वरी चन्द्रमाको हात छैन पक्कै पनि। तर कुरो साँचो थियो, चन्द्रमामा आडम्वर थियो !
"सिताकै कुरा गरौँ न !" मैले झर्किँदै भनेँ।मेरो दुखेको टाउको निको भएको थिएन।
"सिताका धेरै साथीहरु थिए, केटी साथी केटा साथी !" उ रोकियो। उसको आँखा थोरै खुम्चियो, निधारमा मैले पढ्न नसक्ने केहि रेखाहरु देखा परे। उसको विश्रामलाई मैले इर्ष्याको नाम दिएँ। इर्ष्या स्थिर हुनै पर्छ किनकी जव मान्छे चलायमान हुन्छ, उ केहि छोडेर अघि वढ्छ,हिँड्दा उसले त्याग सिक्छ। त्यसैले इर्ष्या स्थिर हुनै पर्छ।
"के भयो त उसका केटा साथिहरु भएर !" मलाई अचानक उसको इर्ष्यामा रमाउन मन लाग्यो।
"हुन त केहि नहुनुपर्ने हो !" उ मलाई हेरेर खिस्स हाँस्यो। मेरो रमाइलो उसको हाँसोले खोसेर लग्यो।
"अनी ?"
"मैले एक दिन वाटोमा सिता खित्का छोडेर हाँस्दै घर फर्केको देखेँ, हुन त मलाई उसको मुस्कानमा कुनै गुनासो थिएन , तर उ कसैले सुनाएका चुट्काहरुमा हाँस्दै थिई, मैले सोचेँ त्यो मुस्कानमा म छैन, न म उ सँग मुस्काउन सक्छु, न मैले मुस्काउने वनाउन सक्छु । मैले फैसला गरेँ त्यो मुस्कानमा मलाई मेरो आधिपत्य चाहियो। त्यहि दिन सिताको वुवालाई गएर भनेँ मलाई तँपाइकी छोरी सँग विहे गर्ने मन छ !"
उसले कथाको पहिलो अध्याय समाप्त गर्यो शायद। सिता र उसको विहे कसरी भएको थियो। यति सुनेपछि मैले मनमनैँ सोचेँ । मैले धेरै सम्भावनाहरु केलाएँ। एउटा जटिल सम्वन्ध, के हो त त्यो ? माया ? मलाई चित्त वुझेन,हैन यो माया होइन । इर्ष्या मात्रै ? नहुनुपर्ने हो , किनकी इर्ष्या जहिले पनि छायाँ वनेर आउँछ कसैको साथमा आउँछ, माया सँग आउँछ, सम्वन्ध सँग आउँछ वा स्वार्थ सँग आउँछ। यहाँ त माया हो भन्ने मै मेरो चित्त वुझेको छैन।
************** *************** *********** ************ ********* ***************
"जिवन सँधै सरल किन हुँदैन ? " मैले मायालाई सोधेँ। कोठामा म र उ सँगै वसेका थियौँ। उसको ध्यान ममा थियो थिएन थाहा छैन किनकी उसको आँखा टेलेभिजनमा थियो। उसले म्युट वटन थिचि, म पनि चुप भइसकेको थिएँ। मौनता विचमा मलाई पुलुक्क हेरी।
"किनकी हामीलाई जटिलता मन पर्छ, सरल भयो भने त्यो जिवन हो भन्ने मै हामी विश्वस्त हुन सक्दैनौँ! त्यहि भएर होला !" उसले मेरो कपाल सुम्सुम्याई। म लुटपुटिएँ उसको काखमा।
"के ले ल्यायो त यो प्रश्न ?" उसले प्रतिप्रश्न गरी ।
"एउटा कथा थियो, जुन तिमीले सुन्न चाहिनौ !"
"त्यो कथा किन वारम्वार हाम्रो घरको ढोका ढक्ढक्याउँछ? मैले रोक्न खोज्दा खोज्दै पनि झ्याल वाट छिर्न खोज्छ ?" उ थोरै ठुस्किइ।
"मलाई थाहा छैन माया, त्यो कथा मैले भनेको पनि टेर्दैन !" मैले घुमिरहेको पंखालाई नियाल्दै जवाफ फर्काएँ।
"मेरो लागि छोडिदेउ एकैछिन त्यो कथालाई !! तिम्रो दुखेको टाउको निको भएको छैन हैन ?" उसले मलाई प्रश्न गरी।
"डक्टरले भनेको स्ट्रेस वढी भएर हो रे !" मैले ढाँटिन, मलाई थाहा छ सुनेपछि उ चिन्तित हुनेछे। एकछिन घोरिइनेछे,अनि एकैछिन मलाई सम्झाउनेछे।
"किन लिन्छौ त यति धेरै स्ट्रेस?"
"किनकी हामीलाई जटिलता मन पर्छ!" म खिस्स हाँसे।
****************** *************** ******************** ************ ************
डक्टर मेरो रिपोर्ट हेरेर घोरिएको थियो। उसका टेस्टहरु म वुझ्दिनथेँ,उसका अक्षर त कुरै नगरौँ, कुरुक्षेत्रमा लडिरहेका,क्षत विक्षत भएका , मलाई त्यो प्रेस्कृप्सन नै रणभुमी जस्तो लाग्थ्यो। त्यहि भएर म पढ्ने प्रयास गर्दिनथेँ।
"केहि त छ, जे मैले पत्ता लाउन सकिरहेको छैन !" उसले हारेको स्वरमा भन्यो। म थोरै डराएँ।
"किन डक्टर साप?"
"त्यो दवाइले काम गरिरहेको छैन!"
"अव के गर्नुहुन्छ त ? पावर वढाउनुहुन्छ ?"
मलाई आजक धेरै निन्द्रा लाग्न थालेको छ। वाटोमै सपना देख्छु। सपनामा पनि रंगहरु मात्र देख्छु ।एउटा रंग अर्को मा घुल्छ अनि अर्कै वन्छ। स्पष्ट केहि देख्दिन ,चिच्याउँछु अनि विउँझिन्छु,आफैलाई अचम्म लाग्छ , वाटोमा चिच्याएकोमा !! यता उता हेर्छु, कहिलेकाहिँ केहि जोडी आँखाले नियालिरहेका हुन्छन्, ग्लानी हुन्छ, कहिलेकाहिँ नियाल्ने आँखा हुन्नन्, छुटकारा पाए झैँ लाग्छ।
"तँपाइ अझै कमजोर महसुस गर्दै हुनुहुन्छ ?"
उसले मेरो कमजोरी पत्ता लगाएर पनि म वाट स्विकारोक्ति चाहेको थियो।
"तँपाइको दवाइले काम नगरेपछी म कमजोर त हुने नै भएँ नि!" म थोरै झर्किएँ।
"कहिलेकाहिँ मन दवाइ भन्दा पनि वलियो हुन्छ ! त्यहि भएर मात्र सोधेको !"
उसले आखिर मेरो मनमैँ कमजोरी थोपर्यो।
"सिधै उपचार गर्न सक्दिन भन्नुस् न ! म अर्काकोमा जान्छु !" म आवेशमा आएँ।
" म सकेसम्मको प्रयास गर्छु तर जवसम्म तँपाइ आँफै ठीक हुन चाहनुहुन्न , म पनि त केहि गर्न सक्दिन !"
मैले घडी हेरेँ। मलाई ढिलो भइसकेको छ। मैले सिताको कथा सुन्नु छ।
" हुन्छ म पनि प्रयास गर्छु, तँपाइ मेरो दवाइको पावर पनि वढाइदिनुस् !त्यसो गरे भने म पक्कै ठीक हुँला, म अहिले लागेँ !"
मैले जुरुक्क उठ्दै जवाफ फर्काएँ।
क्रमश:
आज उ खुशी थियो। उसले कोठामै कपाल र दाह्री काट्ने रहर देखाएको थियो। साथीहरुले एउटा नाइको व्यवस्था गरिदिएछन् । म उसको दारी काट्दै गर्दा पुगेको थिएँ। उसले थोरै मुन्टो वटारेर मुस्कायो।नाइले उसलाई धेरै हल्लिन दिएन , उसको गाला काटिने डरले! तर त्यो मुस्कान मलाई चस्स विझ्यो। के उ मेरो वढ्दै गरेको दाह्री लाई कटाक्ष गर्दै हाँसेको हो त?
"त्यो नाइ कसले वोलाइदेको ?" म आफ्नो कोठामा छिर्दै गर्दा झर्किएँ।
"त्यो त हफ्तै पिछे आउँछ नि सर! कैदिहरुको दाह्री कपाल काटिदिन !" मेरो सहयोगिले सामान्य स्वरमा नै जवाफ फर्कायो।हुन त स्थिति सामान्य हो, वढेको दाह्रीलाई नै त काटेको हो, कसैको घाँटी त होइन नि, मैले केस गर्न मिल्ने ।घाँटि नै काटे पनि, केस पनि कतिवटा गर्ने अव?एउटा त स्विकारिसकेको छ! अव कारागार को कुन पत्रमा थुनौँ र उसलाई ?कतिवटा वयान लिउँ म उसँग।
"सर ,चिया खानुहुन्छ ?" मेरो सहयोगिले मेरो थकान अनुमान गरेको हुनुपर्छ ।
"कालो खान्छु !" मैले पनि चिया खानु नै उचित ठानेँ।
उ वाहिर निस्कियो तर मैले उसको मुस्कान सम्झिरहेँ। चस चस मेरो छाति विझिरह्यो। हैन उसको काटिएको दाह्री सामान्य होइन।हत्याराहरुको दाह्री हुनुपर्छ, हेर्दा चिनिने हुनुपर्छ ,समाजको भीँडमा हराउने छद्मभेषी भइदिए भने त हामीलाई झन गाह्रो हुन्छ। फेरि उ मलाई देखेर हाँस्यो पनि, उसका आँखाले मलाई गिज्याए । "म कैदि होइन , तँ कैदि जस्तो देखिन्छस् !" भनेर जिस्क्याए।यो स्थिति सामान्य होइन , यो ममाथीको मेरो स्वतन्त्रतामाथीको अतिक्रमण हो। मलाई चिच्याउन मन लाग्यो।
"त्यो नाइ अझै वाहिर छ ?" मेरो सहयोगी भित्र छिरेपछि ,सामान्य बन्ने प्रयास गरेँ।
"छ हजुर किन र ?"
"मेरो पनि दाह्री काट्नु छ !"
*********** ***************** *************** ************** ************* ******
"दाह्री काटेको एउटा वेफाइदा थाहा छ तँपाइलाई ?" म प्रश्नकक्षमा छिर्ने वित्तिकै उसले मलाई प्रश्न राखेको थियो। म अलमल्ल परेँ प्रश्न गर्ने म कि उ ?
"अहँ छैन त !"
"मान्छेको अनुहार दुव्लो देखिन्छ , एउटा पत्र उक्किन्छ! उसले लुकाएको दुव्लो अनुहार नांगिन्छ!" उ कुटिल वन्यो अनि म दुर्वल ! मैले उसको अनुहार नियालेँ , उ दुव्लाएको छैन, वरु उसमा त ओज देख्दैछु, किन म उसका आँखामा ग्लानि देख्दिन ?पश्चाताप देख्दिन ! उ सँग वशमा पार्न सक्ने इन्द्रजाल छ जस्तो लाग्छ कहिलेकाहिँ मलाई। भ्रमित वनाउन सक्ने। हुनसक्छ उ दुव्लाएकै होला, म मात्र उसले सृजना गरेको भ्रममा उसलाई मोटो देख्छु अनि आफु सँग दाँजेर लज्जित हुन्छु। म सँग उसका व्याख्याहरुको जवाफ छैन। हिजो त केहि वाक्यहरु मैले वुझेको थिइन त्यहि ठिक थियो।लज्जित हुनु भन्दा त अग्यानी नै जाती!
"तँपाइको वारेमा नै सुनुम् न , अनि के भयो त विहे पछि !" म उसको कथामा लुसुक्क घुस्रिएँ, विरालो तातो पाउने आशले मान्छेको छेउमा घुस्रिए जस्तै।
"दुइ वर्ष हामी सँगै वस्यौँ, पहिला उसको यौवनको मलाई नशा चढ्यो, लत वढ्यो । तर समयले आवरण फेर्छ, मान्छेका चाहनाहरु मिराज जस्ता हुन्छन् जे भेटिन्न त्यो पछ्याइन्छ सिता भेटाएपछि मलाई विस्तारै उ सामान्य लाग्न थाली मैले अर्को मिराज पछि भौतारिनुमा स्वभावत केहि गलत थिएन, थियो त?"
उसले मलाई प्रश्न राख्यो। किन उसले मलाई फेरि प्रश्न गर्यो। उसले त सुनाउनु पो पर्ने!
म सोचमा परेँ।उसको कालो पाटो देखियो त्यो प्रकाशमा !
"त्यो माया होइन त्यसो भए!" मैले साहस वटुलेर उसलाई सम्झाउन चाहेँ!
"तँपाइ विरामी हुनुहुन्छ, लुकाउनुहुन्छ आफ्नि श्रीमति सँग विरामी भएका कुरा त्यसलाई चाहिँ माया भन्ने ? मैले त केहि लुकाएको थिइन! यहाँसम्मकि उ मलाई आजकल सामान्य लाग्न थालेको समेत वताइदिएको थिएँ!"
म छक्क परेँ। उ क्रुर थियो ! थीयो हैन अझै पनि छ, उ भावनाहरु भन्दा कोषौँ टाढा छ , उ सँग मात्र तर्क छन्।
मेरो मोवायलको घण्टी वज्यो। म वाहिर निस्किन आँट्दा उसले जिस्क्यायो
"विरामी छुइन भनेर नढाँट्नु होला ! त्यो माया होइन !"
अचम्म लाग्यो उसले कसरी थाहा पायो यो मायाको फोन थियो भनेर!!!
************* ************ ************* ***************** *********** **********
" खाना खायौ?"
मैले सामान्य हुने प्रयास गरेँ। रातको नौ वजिसकेको थियो ।मैले मायालाई भन्न विर्सेछु, म इन्टेरोगेसनमा छु भनेर।किन उल्झाउँछ उ मलाई घरी घरी!
"कुरेर वसेको थिएँ!" उसले म आइदिए हुन्थ्यो भने जस्तो गरेर इच्छा प्रकट गरी!
"आज अलि वढि नै समय लाग्छ होला !"
"त्यो केस कहिले सिद्दिन्छ ?" उ सिधा विषयवस्तु मै प्रवेश गरी। जुन विवरणले म कथा सुनिरहेको थिएँ। मलाई शंका लाग्न थालेको छ आजकल आँफैसित । के म चाहन्छु साँच्चै नै यो केस सिद्दियोस् भनेर ?
"हुँदैछ इन्टेरोगेसन् !घर आएर सुनाउला न तिमीलाई!"
"भो सुन्नुछैन मलाई!" उ लाडिइने प्रयास गरी फोनमैँ।
"के गर्छौ जागिर नै यस्तै छ !" मैले फेरि दोष जागिरमा थोपरेँ।
"अलि विरामी हुनुहुन्छ भनेर चिन्ता लागेको मात्र हो !" उसले आफ्नो चिन्ता जनाई!
"छैन ,ठिक भइसक्यो !" मैले संक्षिप्त उत्तर फर्काएँ। तर कता कता टाढावाट एउटा आवाज कानमा ठोकिए जस्तो लाग्यो।
"विरामी छुइन भनेर नढाँट्नु होला ! त्यो माया होइन !"
क्रमश:
म कोठामा छिरेँ!
"तँपाइले उसलाई माया गर्नेमा शंका छ, तर उ पक्कै तँपाइलाई माया गर्छे!" उसले मेरो फोनको गफगाफमा चासो देखाएको थियो। हुन त म वाहिर निस्किएर गफ गरेको हुनाले उसले सुन्न सकेलन। तर मेरो मन सशंकित वन्यो, उसले सुनेको भए? जव मान्छे कमजोर हुन्छ , उसले सम्भावना हरु देख्छ लड्ने ,पछारिने चिप्लिने, उडेको वायुपंखि घोडालाई खाल्डे वाटो को के डर हुन्थ्यो, त्यो वाटोको खाल्डो त काम्ने गोडाले मात्र देख्छ। मेरै कमजोरी हुनुपर्छ , उसले नसुनेको भएपनि मलाई उसले सुने सुने जस्तो नै लाग्यो।
"म तँपाइलाई प्रश्न गर्न वसेको हो यहाँ, तँपाइ उत्तर दिन! आ आफ्नो भुमिकामैँ वसे राम्रो हुन्छ!" म कड्किएँ।म चाहन्न उ मेरो आकाशमा प्रवेश गरोस्, मलाई खोतलोस्! म कोकुन चाहन्छु, मलाई लुकाउने, कमसेकम उसको सामु!!
"मेरो चासो हामी एकै डुंगामा सवार भए जस्तो लागेर मात्र हो!"
"भन्नाले?"
"मलाई पनि सिता औधि माया गर्थी, तँपाइलाई पनि...."
"तर तिमी त गर्दैनथ्यौ नि त !"
उ खिस्स हाँस्यो। मलाई उसको शव्द विनाको हाँसो मन पर्न छोडेको छ। त्यो केहि अर्थ निकाल्न नसक्ने हाँसो । विना अर्थको, एउटा खाली ठाउँ भरिदिन मात्र आएजस्तो।
"छोडिदिनु मेरो व्यथा सुन्न , किन रमाउनु हुन्छ अर्काको भत्केको घर क्यानभासमा कोरिएको नियालेर !"
कहिलेकाहिँ उ गहिरिन्छ, भाउ खोज्छ । उसले कथा रोक्न खोजेको थियो,आजलाई ? सँधैलाई ? सँधैलाई नहोस् , नत्र यसले मेरो मनमा एउटा तिर्खा छोड्नेछ। अनि म भौतारिनेछु !
"मैले सानोमा एउटा कथा सुनेको थिएँ,अरेवियन नाइट्स भन्ने !एकादेशमा एउटा राजा थियो रे, आफ्ना रानीहरु मार्थ्यो रे प्रत्येक रात! अनि एकदिन एउटी कथा भन्ने रानी आइन्! आधा कथा सुनाइदिन ,सुतिन त्यो दिन त्यो राजाले ति रानीलाई मार्न सकेन,अर्को दिन पर्खियो राजाले ,रानीले त्यो कथा त सिध्याइन तर अर्को शुरु गरिन्, सिध्याइनन् ! राजाले त्यस दिन पनि मार्न सकेन...."
"मैले कथाको मनासाय वुझेँ, तर म तँपाइको रानी होइन !!" उ जोडले हाँस्यो।
उ एकछिन मौन वस्यो अनि फेरि शुरु भयो।
"सितालाई मेरो मनले दुइ किसिमले हेर्न थालेको थियो, पहिलो जव उ सामान्य अवस्थामा हुन्थी ,मेरो मनले उसलाई खोज्दैनथ्यो, भनौँ वास्ता नै गर्दैनथ्यो! तर जव उ छेउछाउका सँग हास्थी मेरो मन अत्तालिन्थ्यो, म उसमा मेरो एकाधिकार चाहन्थेँ तर अधिकार पाएपछि उसको अवस्थाको वारेमा मलाई खासै मतलव हुँदैनथ्यो!"
उसको चुरोट को सर्को यसपाली सामान्य भन्दा लामो थियो। उसले आफ्नो पिडा निकाले जस्तो।
"एकैछिन है !"
मेरो छाति चसक्क दुखेपछि मैले उसँग समय माँगेर वाहिर निस्किएँ!!
************* ********* *********** ************ ************ *******************
माया अस्पतालमा नै मलाई कुरेर वसेकी थिइ। म मेरो सहयोगी सहित अस्पताल पुगेको थिएँ। उसले रुन्चे नजरले मलाई हेरी। उसलाइ लाग्यो मेरो हठ नै हो मेरो विमार, तर उसलाई कसरी भनौँ त्यो लत हो हठ हैन भनेर!
"मैले भनेको हैन तँपाइलाई वढी स्ट्रेस नलिनुस् भनेर ?" उसले आफ्नो नाक खुम्च्यायो।
"जागिर छ , अलि अलि टेन्सन त भइहाल्छ नि !" मैले मायाको अघी स्थिति सामान्य वनाउने प्रयास गरेँ। उसले मलाई अविश्वासी आँखाले हेरी। मलाई लाग्यो उसले मलाई यति माया गरेकी छे कि उसको मुटुमा अव विश्वासको लागि पनि ठाउँ छैन।
"वहाँ तँपाइको श्रीमति ?"
मैले स्विकारोक्तिमा टाउको हल्लाएँ।
"तँपाइ एकैछिन भित्र आउनुस् त !" उसले मायालाई लिएर गयो आफ्नो कोठामा ! अव के भन्ने हो उसले मायालाई ! सोझि छे ,डराउने होली !!! मैले उ वाहिर निस्किने समयको पर्खाइमा भित्ताका चित्रहरु नियालेँ,गर्भवति महिलाको चित्र, चुरोट खाएको फोक्सोको चित्र, डाइविटिजका लक्षण को चित्र। संसारमा हजारौँ समस्याहरु छन् मान्छेमा! वा भनौँ मान्छेहरु छन् र त ति समस्या छन्। अचानक ध्यान कथा तिर मोडियो। कथा आज पनि त्यत्तिकै अड्कियो। भोलि देखि त उ मेरो कस्टडी मा हुन्न ! भोलि शायद उसलाई सजाय हुँदै छ। मन व्यग्र भयो, उसको कथा सिध्याउन!!
रिसेप्सन मा प्रकाश अलि वढि उजेलो थियो। चश्मा लगाएकी अधवैशेँ आइमाइ कम्प्युटरमा व्यस्त थिइ। छेवैमा कागजको खात थियो। डक्टरको ढोका वाट भित्र देखिँदैन थियो। मेरो छातिको पिडा विसेक भएको महसुस भएको थियो मलाई मैले मायालाई देखेपछि, डरले ओखतिको काम गर्छ भन्ने मलाई थाहा थिएन, आज थाहा लाग्यो।डक्टरको ढोकामा गएर उसले के के भन्दैछ सुन्न मन लाग्यो।के भन्दैछ भन्दा पनि उसले माया सँगको गफ कतिखेर सिध्याउने हो र म गएर वचेको कथा सिध्याउँ भन्ने लागेको थियो मलाई!
ढोकामा गएर सुन्न कान तेर्स्याएँ। अहँ सुनिएन, साउन्ड प्रुफ रहेछ।दिक्क लाग्यो, आफ्नै कुर्सिमा फर्किएँ। रिसेप्सनिस्ट लाई फेरि हेरेँ, उ यन्त्रवत थिइ, अहँ केहि परिवर्तन थिएन। मलाई दिक्क लाग्यो, मेरो मन यहाँ छैन।
"सुन्नुस् त !" मैले रिसेप्सनिस्ट को छेवैमा गएर भने! उसले पुलुक्क मलाई हेरी! उसले हजुर भन्न जरुरी ठानिन ,मौनता नै रोजी, कहिलेकाहिँ मौनता सजिलो हुन्छ ,बोलिदिन्छ, बुझ्नेले जे वुझ्नु पर्ने हुन्छ त्यहि वुझ्छन् मौनतावाट, मौनतामा द्वन्द हुँदैन।
"भित्र छिर्नुभएको मेरो श्रीमति हो!" मैले ढोकातिर औँला तेर्स्याएको थिएँ। " वाहिर निस्केपछि, म अफिस जरुरी काम ले गएँ भनिदिनुहोला है !!"
म फटाफट सिँढि ओर्लिन थालेँ। मलाई डर छ कसैले मेरो गति रोक्ला कि भन्ने....म कथा अड्काउन चाहन्न ।
क्रमश:
"मलाई थाहा थियो तँपाइ आउनुहुन्छ आजै भन्ने!" उसले मलाई हेरेर मुस्कुरायो।हो उसलाई सवै नै थाहा छ। मलाई रिस उठ्यो, कहिलेकाहिँ आकर्षण चाहेर हुँदैन, मात्र एकोहोरो एउटा वाटोमा लागिन्छ, आँखा चिम्लेर, वाटोमा भएका खाल्टा खुल्टीमा खुट्टा मर्किन्छ, तर मर्किएको पिडा त्यो वन्द मस्तिष्कले भोग्दैन किनकी उसले चिम्लेका आँखाले लक्ष देखेको हुन्छ। मलाई त्यो कथाले वाँधेको थियो। मायावाट भाग्ने गरी! आफ्नी माया सितको मायामा पनि मलाई आजकल विश्वास लाग्न छोडेको छ। हो उसले भनेको ठिकै हो, माया यति कमजोर हुँदैन!
मैले उसलाई आग्रहि आँखाले हेरि मात्र रहेँ। म चाहन्न म उसलाई मेरो विवशता सुनाउँ। उसको कथा प्रतिको मेरो आशक्ति देखाउँ। अनि विरामी मलाई मेरो रिपोर्ट भन्दा पनि उसको आज मेरो कारागारमा भएको अन्तिम दिनको चिन्ता वढी भएको देखाउँ।
"सिताको कपाल लामो थियो, कालो वादल जस्तो, उसको कपाल उसको कम्मर सम्म झर्थ्यो। उ पानी लिन जव जव त्यो उकालो ओरालो गर्थी,रातो धागो र कालो कपाल एक आपसमा इत्तरिँदै जिस्किरहे जस्ता लाग्थे। " उसले खुइय सुस्केरा काड्यो , अनि फेरि शुरु भयो।
मैले एकदिन उसले पानी लिन जाँदै गर्दा दुइ जना केटाहरुले उसलाई लुकेर हेरिरहेको देखेँ, अलिकति गाइँगुइँ पनि सुने ।दुवै आफु आफु गफ गर्दै थिए, तर मैले सुन्न भ्याएँ निष्कर्ष भने" सिता जति वैँशालु कोहि छैन !" हो मलाई पनि त्यस्तै लाग्थ्यो । तर सत्य पनि त कसको मुखवाट सुन्दा उत्कृष्ट सुनिन्छ र कसको मुखवाट सुन्दा कुरुप हुन्छ भन्ने रहेछ। त्यो दिन त्यति सुन्दर सत्य कुरुप वनेको थियो। मैले रातभर सोचेँ। सिता खाटको कुनामा थोरै ठाउँमात्र लिएर सुतेकी थिई। उ खाटमा खुम्चिन थालेकी थिई। कहिलेकाहिँ मलाई लाग्थ्यो, उ मसँग डराउन थालेकी छे । मलाई नैतिक देख्दिनथी शायद उ,त्यो उसको नजर पनि ठिकै हो हुन त । म भोगि वनेको थिएँ। उ सँधै मेरो भोगको विषय होस् भन्ने चाहन्थेँ। उसलाई विच विचमा मैले नियाँलेको थिएँ। उसको गोरो अनुहार, उसको त्यहि कालो कपालले छोपेको थियो। छोपिएका वस्तु लाखका हुन्छन् , देखिएपछि न हो मोल घट्ने,कौडिमा विक्ने !मैले निष्कर्ष निकालेँ,सिताको वैँश वैँशालु देखिनुमा त्यो कपालको धेरै ठूलो हात थियो।त्यहि कपाल रातमा उसको अनुहारलाई हेरिरहुँ लाग्ने घुम्टो वन्थ्यो, उ पल्टिँदा अस्तव्यस्त भएर लठारिन्थ्यो उसको शरिरमा! त्यहि कपाल दिउँसो उ हिँड्दा कम्मर मा ठोक्किएर एउटा संगित वनाउँथ्यो।मादकता थप्थ्यो उसमा!" उसको विराम मैले सहन सकिन । सिताले मलाई तानेरै छोडी।
"अनि ?" व्यग्र भएर मैले प्रश्न राखेँ।
"विहान सिता उठ्ने वित्तिकै उसको कपाल काट्न लगाएँ। उसले आँखा भरी आँशु पारेर कपाल काटी अरे! त्यो कपाल कसैलाई यति राम्रो लाग्यो कि शहरमा मोल पाउने आशमा त्यहि समय विक्री भयो अरे!!!"
उ चुप भयो।मैले आफ्नो गलेको आँखाले उसको आँखामा पश्चाताप हेर्न चाहेँ। अहँ थिएन , त्यहाँ पश्चाताप थिएन। छाति पोल्यो मेरो, लाग्यो सिता म सँग निसाफ माग्दै छे। तर म पनि त अमुक छु , म मात्र प्रश्न राख्न सक्छु , उसलाई सजाय दिन सक्दिन !
"किन आखिर?यति दानविय मान्छे मैले देखेको छैन !"
"शक्ति भएकालाई त जसले पनि दानव भन्छ!"
"वा, दानव नै सँधै शक्तिमा हुन्छ, कम्तिमा यहाँ ,अहिले !!"
"मलाई दानव भन्ने भए म यो कथा यहिँ रोक्छु, किनकि लगाम म सँग छ, तँपाइको पनि !" उ दानवी हाँसो हास्यो।
"भयो ! भन्दिन अव, म कथामा निरन्तरता चाहन्छु !" आज यो कथा सिद्दिएपछि धक फुकाएर सुत्नुछ ।घाम वरण्डामा नआउन्जेलसम्म मैले मनमनै सोचेँ।
"त्यो दिन मेरो मनमाँ अचम्मको सत्य वस्यो,म वाँच्नलाई शक्तिमा हुनलाई सिता कुरुप भइरहनु पर्छ, जुन दिन उ सुन्दर देखिन्छे , मेरो लगाम छुट्नेछ!"
स्वार्थ को पराकाष्ठा! तर उसले मलाई मुक वस्नु भनेको छ! मैले टेर्नुपर्छ ! नत्र उसले कथा भन्नेछैन। हो उ शक्तिशाली छ। पर्खालका विचमा पनि स्वच्छन्द छ। उसका शव्दजाल मलाई यसरी वाँध्छन् कि उसका कुकृत्य म विर्से जस्तो गर्छु।आँखा चिम्लन्छु , मात्र कान खोल्छु।
"मैले सिताका विक्री हुने अंग अंग छुट्याएँ , विक्री हुने विक्री गरेँ, नहुने सडाएँ! हो मैले सिताको हत्या गरेँ! तर यहि चलिरहेको छ,शक्ति हत्यामै जन्मिन्छ! उ कमजोर थिइ ,तँपाइ पनि !!! ल अव म उठेँ ,मैले वाहिर जानु छ ! यो कारागार मेरो लागि होइन ! "
"कता हिँडेको ?" म चिच्याएँ" कारागारवाट वाहिर निक्लिन दिन्न म, तँ निस्किन पाउँदिनस् !" भन्ने रहर थियो मेरो! तर अचानक स्वर भाँस्सियो। मेरो छातिवाट मुटु झिकिए जस्तो लाग्यो। म भुइँमा ढलेँ। धमिलो आँखाले उसलाई हेरेँ। उ वाहिर निस्किँदै थियो, एउटा अट्टाहस छोड्दै। मेरो आँखा धमिलिँदै गयो, हात गोडा स्थिर भए।