वर्डफ्लु

"वा हेर त !" उसकी छोरीले फेरि हात देखाई।रेखाहरु काला,धुस्रेमुस्रे, भविष्य नै कालो जस्तो,हत्केला चिरा परेका!
"के हेर्नु ?" उसले हातमा खासै चासो देखाएन।
"मेरो हात नी ! भाँडा माँझ्दा माँझ्दा यस्तो भइसक्यो !"
"विहे गरे पछी राख्छ नी तँलाई राजकुमारी वनार तेरो लोग्नेले !" उसले आँगनको कुनामा खैनी पिच्च थुक्यो। कुखुराको सुली र खैनी उस्तै उस्तै देखियो आँगनको कुनामा! उसको जीवन नै त त्यहि सुली र खैनीमा अड्किएको छ।एउटाले उसको जिव्रोलाई चलाउँछ एउटाले उसको जीवनलाई!
छोरी चुप भई।आज वाउको पारो तातेको वुझ्न उसलाई वेर लागेन।दलिनको रेडियोमा हिन्दी गित वज्दैथियो।छोरीलाई त्यो हिन्दी गित मन पर्छ।पुरानो, लताले गाको।उ डुव्छे प्रेममा जव जव त्यस्ता गित वज्छन्।छेउमै गएर वसी रेडियोको! उसलाई विस्तारै गुन्गुनाउँ लाग्यो, फेरि वाउको पारो सम्झी ,उसको मनको गित मनमैँ रह्यो।
"अनि आज पकाउँदिनस् भात ?" वाउ रुखै थिए।
"हैन के भाको आज तिम्लाई ?" उसले आँट गरेरै सोधी !सँधै त्यसो गर्दैनन् उसको वाउले ,आज केहि न केहि भएको लख काट्न उसलाई गाह्रो थिएन।
"सुनिनस् , वजारमा कुखुरा मार्न थाले रे !"
छोरीले छेवैको खोर हेरी। दाना खाँदै गरेका कुखुरा !भविष्य देखि अनभिग्य।चितवन झर्नेवेलामा पहाडको त सवै वेची नै सकेका थिए। थियो त त्यहि एउटा कुखुराको खोर अनि थोरै जग्गा !ति कुखुरा नै मारेपछी त जग्गाको माटो चाटेर पेट कति पो अघाओस्।
"कुनै पनि झोक्रेका छैनन् त ! तै पनि मार्छन् रे ?" उसको विचरो मनले,कलिलो प्रश्न सोध्यो
"यो जिल्लाकै मार्ने रे! कौडीको भाउ पनि नपाउने भए !" उसले कपाल कन्यायो । ऋण काडेर पालेका कुखुरा ! साउँ पनि उठाउन पाएनन्।
"त्यत्तिकै मार्न पाउँछन् त उनीहरुले ?"
"सरकार हो जे पनि गर्न पाउँछ !" उ न्यास्रियो। पहेँलो प्लाष्टिकको सुर्ती वेर्यो सेतो कागतमा!उसको आँखा त्यो सुर्ति वेरेको वेला मात्र सुर्ति मा ध्यान दिन्छन्। दुवै आँखा एकै ठाउँमा हुन्छन्।मानौँ कुनै मुर्तिकार एउटा अलौकिक मुर्ति तैयार गर्दैछ। जलेर जाने ठूटोमा कत्रो कला देखाउनुपर्ने उसलाई?
"सलाई ले ले !" छोरीलाई अह्रायो।
छोरी भित्र छिरी । रेडियो समाचार फुक्न थाल्यो।
"चुनाव मंसिर ४ मा जसरी पनि गराउने सरकारको प्रतिवद्दता! फेरि असफल नहुने शिर्षनेताहरुको दावी !"
उसले धेरै अगि किनेको पानासोनिक रेडियो करिव तिन महिना अघी विग्रिएपछि उसले हाटमा गएर नयाँ चाइनिज रेडियो किनेको। पहिला राम्रो वज्थ्यो गाउँनै थर्किने गरी,अहिले अलि अलि क्यार क्यार गर्छ।
"वा चुनाव साँच्चै हुन्छ त ?" उसले सोधी उसको वालाई, वा ठूलै राजनितिक विश्लेशक भए जस्तो !
"खोइ के था मलाई ?" हुनत वाउ पार्टिको झण्डा वोकेर पुरानो चुनावमा हिँडेकै मान्छे हो। तर चुनाव पछि मान्छेको चोला वदलिए, उसको पार्टि प्रतिको मन वदलियो। विस्तारै टाढियो पार्टी सँग!!
"कति खान मन लाग्छ हँ यो धुवाँ तिम्लाई !"
"पैसा डढेको भन न " उ ङिच्च हाँस्यो। भित्र पोलेको छ उसलाई, तै पनि हाँस्यो।वल गरेरै हाँस्यो।मान्छेको ढोंगि मुस्कान चिनिन्छ। तै पनि मान्छे मुस्काउन छोड्दैन। कति छोप्न मन लाग्छ मान्छेलाई सत्य!!
"कसरी तिर्छौ वा अव रिन ?" छोरीले थोरै चिन्ता देखाई।
"होला नि केहि जगेडा !" उसले आफ्नो चप्पलको छेउमै ठूटो झोस्यो। अनि निभाइदियो चप्पलले कुल्चेर।खरानी र माटो मिसिए।कालो माटोलाई एक छिन हेर्यो।केहि भेट्टाएन हेरीरहुँ लाग्ने!! उहि माटो ,उही ठुटो के नै पो भेटोस् खोजेर पनि।
"हैन त्यो सरकारले हाम्रो कुरा कहिले सुन्छ ?" उसकी छोरी रिसाइ थोरै सरकारसँग । उसलाई थाहा छैन, सरकारमा को को छन् । उसलाई यति मात्र थाहा छ। यो सरकारले कुरा सुन्दैन, उनीहरुको पेटमा लात हान्दैछ। अनि चुनाव चाँडै हुनेवाला छ, उसको कुरा सुनीनुपर्छ।
"तेरो राजकुमार पनि सरकारले खोजिदिनुपर्ने !" वाउ फेरि खिस्स हाँस्यो ! उसलाई आफ्नी छोरीलाई जिस्क्याएर एकैछिन मन खुकुलो पार्न मन लाग्यो शायद।
"खोज्दिन्छ होला सरकारले ! कुखुराको कुरा गरेको नि !"
"यो कर्मचारीको सरकार रे क्या ! नेताले मात्रै सुन्छन् रे जनताका कुरा !" उसले चौतारोमा एउटा ठुटे नेताले भनेका शव्द दोहोर्यायो ! तर उसले वुझेको छ, कर्मचारी नेताले भनेको मात्रै गर्छन् रे ! त्यो उसलाई अर्को ठुटे नेताले सुनाको!!
"खोइ मलाई त लाग्दैन नेताको पनि विश्वास !" उसकी छोरीले नेतामा पनि विश्वास गरीन।

"सम्विधानसभाको दोश्रो चुनावमा गल्तिवाट सिखेर अघी वढ्ने शिर्ष नेताको दावी !" रेडियो वोलिरह्यो।
"के को गल्ति हुनु नी रोग हो यो !" ठुटे नेता जुर्मुरायो उ भित्रको !! रेडियो नै फ्याँकिदिए जस्तो। आवेश के ले आयो थाहा पाएन, तर भित्रै वाट तातेर आयो उसलाई!!
"कुन रोग वा!"
"यी नेता सवै नामर्द छन् ,रोगी।।।। कोही केहि गर्न सक्दैनन् !!!" उ जंगिरह्यो।
"उ त्यो कुखुरा जस्तै वा? यिनलाई पनि मार्छ त सरकारले अव ?" छोरीको प्रश्नको उ सँग जवाफ छैन। उसले तिनै कुखुरा हेर्यो ।अनी नेता सम्झियो। छोरी ले भनेको हो हो जस्तो लाग्यो।





अमिगा

संसारमा सवैभन्दा वुझ्न सरल के हुन्छ ? केटिमान्छे । किनकी उ जव खुल्छे पत्र पत्र खुल्छे ।वुझ्न वाँकी केहि छैन जस्तो लाग्छ । अनी सवैभन्दा वुझ्न जटिल ? केटीमान्छे ! किनकी खुल्नु नखुल्नु उसको अधिकारमा पर्छ हाम्रो भागमा त मात्र उ खुल्ने प्रतिक्षा पर्छ।
"केरेस फुमार?" उसले आफ्नो ल्यावकोट फुकाल्दै सँधै जस्तै मलाई सोधी!
"नो केरो! तिमी सँधै मलाई चुरोट खाँदा मलाई किन लैजान्छौ, मलाई स्मोकिंग रुममा अफ्ठ्यारो लाग्छ !" मैले उसलाई नियाल्दै जवाफ फर्काएँ।ल्यावकोट जस्तोसुकै रंगिन मान्छेलाई पनि साधा,श्वेतश्याम देखाउँछ।उ नत्र त रंगिन छे।
"हिँड न, तिमी कफि पिउनु नि त !" उसले मेरो हात समातेर तानी !
"ओके,दुई मिनट ,एउटा रिडिंग लिनु छ , देन आइ एम फ्री !" मैले मेरो पिएच मिटर तिर आँखा डोर्याउँदै भने। उ छेवैको टेवलमा वसी। कालो कपाल,चुच्चो नाक,ठूला आँखा मैले एक चोटी उसलाई जिस्क्याएको थिएँ "नेपालमा तिमीले नवोलुन्जेलसम्म कसैले वाहिरको भनेर पत्ता लाउन सक्दैन !" उसले हाँस्दै जवाफ फर्काएकी थिई "नेपाली हुनलाई लाटी हुनुपर्ने रैछ !"
**************** ******************* *************** ******* ******* ***********
कोठा भित्र धुवाँको साम्राज्य थियो।मलाई धुवाँ मन पर्दैन तर उसको साथ र उसका कुरा मन पर्छ।मेरो निरस जीवनमा उ एउटा रंग हो। उसँगका वातहरु जीवनमा एउटा आयाम थप्छन्।मेरो वुझाइका आकार परिवर्तन गर्छन्। उ प्रत्येक भेटहरुमा मेरो क्षितिज चौडा गर्छे। त्यसैले मलाई मन नपरेपनि म उसको धुवाँको साथ दिन्छु।
"किन मौन ?" उसले मेरो ध्यान भंग गरी।धुवाँमा उसको आवाज मिसियो।
"के वोलुम भन न त ?" म थोरै मुस्काएँ।
"सँधै जस्तै चुरोट खाने वानी राम्रो हैन भन्न त पक्कै सक्छौ !" उ खितित्त हाँसी ।
"तिमी मलाई पनि विरामी वनाउँदै छौ थाहा छ ?" मैले उसलाई नियाल्दै सोधेँ।
"कहिलेकाहिँ म छुट्याउन सक्दिन के ! यो चुरोट को हो की तिम्रो नशा हो ! एक्लै पिउँदा खल्लो हुन्छ मोरो चुरोट पनि !" उसले आफ्ना पातला ओठवाट धुवाँ छोडी अनि फेरि शुरु गरी "अर्को हफ्ता म मेक्सिको जान्छु होला,स्याम्पल लिनुपर्ने छ।"
"कति दिनलाई ?" मलाई पनि त उसको साथको लत वसेको छ।
"तिम्रो डिफेन्स कहिले रे? १ महिना पछि होइन ? म आइपुग्छु तिमीलाई विदा गर्न !" धुवाँ अर्को चक्का वनाउँदै उड्यो।
म थेसिसको अन्तिम अन्तिम मा पुगिसकेको थिएँ। उसको अझै काम वाकी थियो।शायद म नेपाल फर्केको एक महिना जति पछि फर्किन्छे होला उ पनि मेक्सिको!
"अनि घर पुग्ने वित्तिकै विहे गर्छौ त ?" उसले मलाई फेरि जिस्क्याई।
"थाहा छैन !" अलमलिँदै जवाफ फर्काएँ । के पो भनौँ , "केटी खोज्छन् वाउ आमाले" भने  देखी उसले मलाई जिस्काउन थालेकी हो खास। मेरो प्रस्तुतीले मैले केटी पाउन खासै मेहनत गर्नु पर्दैन भन्छे उ। एक चोटी चोट पाएपछि मलाई भने आफ्नो रोजाइमा विश्वास लाग्न छोडेको छ। म घरले खोजेकै केटी विहे गर्छु भन्दा उसले अचम्म मान्दै आँखाले नै हजारौँ प्रश्न सोधेका थिए " कसरी ? कहाँ ? किन ?" ।तर उसको प्रश्न नै मौन वनेपछि मैले पनि मौन उत्तर फर्काएँ। भिन्न धरातल,विश्वास र आस्थाका यात्री हामी त्यो मोडमा भेटिएका छौँ। एकछिन विसाएर उ आफ्नै वाटोमा , म आफ्नै वाटोमा।
"तिमी नि?" मैले प्रतिप्रश्न गरेँ।
"अहिले गर्दिन !" उसले ठुटो फ्याँक्दै जवाफ फर्काई।"पर्ख है, म पनि एक कप कफि लिएर आउँछु !"
"के लाई पर्खेकी त ?"
"अझै निर्क्यौल गर्न वाँकी छ !" उसले कफि सुरुप्प पारी।
"तिमी विहासँग डराउँछ्यौ !" मैले उसलाई जिस्क्याएँ। उसले पुलुक्क म तिर हेरी। उसका ठूला आँखाहरु एकैचोटी धेरै भाव वोक्छन्,वुझीसाध्य नहुने!
"तिम्रो जस्तो नचिनेको मान्छेसँग हुने भएको भए त डराउनु आवश्यक पनि हुन्छ ! विहे हो कि जुवा,छुट्याउनै गाह्रो ! " उसले मलाई विझ्ने गरी नै जवाफ दिई।
"एउटा कुरा सोधौँ ?" मैले मौकाको फाइदा उठाएँ
"सोध न !"
" उ सँगको तिम्रो सम्वन्धमा तिमीलाई अफ्ठ्यारो केहि लाग्दैन ?" विस वर्ष भन्दा वढी होला उसको वोइफ्रेण्ड र उसको उमेरको फरक । उ पच्चिसकी ,केटो पचास हुनुपर्छ।केटो गम्भिर छ। एकचोटी मलाई भेट्टाएकी पनि हो उसले उसको व्वायफ्रेण्ड सँग ! वुढो, दाह्री पालेको ! म सोच्थेँ अनुहारले थोरै भए पनि महत्व राख्छ मायामा तर मेरो मायाको परिभाषा नै उसले त्यो दिन देखी परिवर्तन गरिदिई।
"सम्वन्ध नै सजिलो अफ्ठेरोको साटासाट न हो! जुनदिन देखी तिमीलाई अफ्ठ्यारो लाग्न थाल्छ तिमी अर्को सम्भावना खोज्छौ ! हैन र ?"
म चुप लागेँ। उसका उत्तरहरु मलाई चित्त वुझ्छन् । कहिले काहिँ आफ्नो जीवन उ जस्तै स्वच्छन्द भइदिए भनेर सोच्छु। तर म सँग उड्ने प्वाँख खोइ ? ति पखेटा त मेरो समाजले काटेको छ ।
"आमा वुवाको व्रेकअप पछि मलाई एकै उमेरका केटाहरु सँग डर लाग्न थालेको थियो !" उसले अर्को कुरा कोट्याई। उसको जीवनको अर्को कालो पाटो!
"भन्नाले ?" अरु वढी कोट्याउने रहर जाग्यो मलाई।
"कलेज अफेयर थियो! म जन्मेको एक वर्षमा नै डिभोर्स गरे। अहिले वुवा मेक्सिकोमा आमा जर्मनीमा आ-आफ्नो परिवार सँग छन् ! " उसले अर्को चुरोट सल्काई।"म चाहन्छु मेरो सम्वन्ध त्यस्तो नहोस् , तिमीहरुको जस्तो होस्,जन्म जन्म चल्ने ,टिकाउ। वुढो भए पनि भरपर्दो छ। हाम्रा कुरा मिल्छन् ! मलाइ उ मन पर्छ " उ खिस्स हाँसी ।
"यदि तिमी नै त्यसो भन्छौ भने !" उ मेरो ठाउँमा छैन त्यहि भएर भन्छे। मेरो ठाउँमा भएको भए थाहा हुन्थ्यो।
"जौँ ,हिँड ! " उ जुरुक्क उठी। म पनि उसका शव्दहरु बुन्दै उसको पछि लागेँ।
**************** **************** ************ *************** *********** ******
आज उ अलि गम्भिर थिई । मौन, मात्र धुवाँ फुकिरहेकी, मौनता नै धुवाँ वनेर वाहिर निस्के जस्तो!
"के भयो ? म सँग शेयर गर्न सक्छौ नि ! कुरो गुम्सिएको त नराम्ररी विझ्छ!" मैले उसमा उसका शव्दहरु खोजेँ, मौनताको साटो।
"तिमीलाई चुरोटले पोल्ला !" उसको हात समाउदै गर्दा उसले मेरो हातको ख्याल गरी। मैले चुरोट छेउवाट हात हटाएँ। " उसको छोरो पनि हामी सँगै एपार्टमेन्ट शेयर गर्न आउँदैछ !" उसले एक सासमै उसको दुविधा पोखी !
"अनी तिमी चाहन्नौ ?"
"थाहा छैन ,अठार वर्षको अल्लारे केटो !" उ चुप भई। मैले उल्टोपटि वाट गन्ति गरेँ ! उ भन्दा सात वर्ष कान्छो उसको छोरो !!!!!
"म उसलाई धेरै चाहन्छु तर पनि !!!!!!"एक छिन रोकिएर खुलेको उसको आवाजमा शंका मिसियो।
"अव के गर्छौ त ?" मैले फेरि प्रश्न राखेँ !
"हेरौँ दुई चार दिन !!! तिमीलाई थाहा छ ? मलाई किन हो किन आजकल तिम्रो जीवन जिउन मन लाग्छ। राजकुमारीको सपना देख्ने, भेटेपछि यहि हो राजकुमारी भनी ठान्ने ! जहाँ महत्वकांक्षाले कम महत्व पाउँछन्!!! जहाँ मान्छे भन्दा परिवारसँग विहे हुन्छ !!!"
मैले आफ्नो जीवन उसको जीवन सँग दाँजी हेरे ! आमा दुइ चार जना केटीहरुको नाम सँधै भनीरहनु हुन्छ ।छान्न त मैले पनि पाएको छु। मैले केहि वोलिन ,मात्र उसलाई सुनीरहेँ!!
*******************************************************************************
सँधै स्काइपमा केटीका कुरा ! दिक्क लाग्न थालेको छ। नेपालै आएर हेर्छु भन्दा पनि नहुने!
"ह्या आमा ,वहिँ आएर हेरौँला अव !"

मैले स्काइप वन्द गर्दै फेसवुकमा आमाले दिएको एउटा नाम टाइप गरी सर्च गरेँ । एउटै नामका सात जना केटी देखिए। दिक्क लाग्यो,अनि फेसवुक पनि वन्द गरिदिएँ।