राक्षसहरु

“राजकुमारीलाई राक्षसले कैदी बनाएर राखेको थियो ! यत्रो यत्रो दाह्रा भएको । बडेमानको । हेर्दैमा घिनलाग्दो,” मैले हातैले दाह्राको आकृति बनाएँ ।
“हिजोको कथाको राक्षसको पनि दाह्रा थियो है बाबा ?” छोरीले प्रश्न राखी ।
मैले स्वीकारोक्तिमा टाउको हल्लाएँ, उसको कपाल सुम्सुम्याउँदै ।
“सबै राक्षसहरूको दाह्रा हुन्छ बाबा ?”
उसका मनमा कति प्रश्न कुद्छन् । कुनै–कुनै प्रश्नको त जवाफै नहुने ! हुन्छन् कि हुन्नन् होला सबै राक्षसका दाह्रा ? मैले सुनेका त सबै कथामा छन् । युगौंदेखि एकले अर्कालाई सुनाउँदै आएका कथा होलान् यी ! सबैमा राक्षसको दाह्रा छ ।
“हुन्छ छोरी ! सबै राक्षसको दाह्रा हुन्छ, कपाल लामो हुन्छ, आँखा राता राता हुन्छन् । राक्षस हेर्दै डरलाग्दो हुन्छ । यो राक्षस पनि त्यस्तै नै थियो । राक्षस राजकुमारी थुनिएको पिँजडाछेउको भित्ताको सिसा फुटाइदिएपछि मरिहाल्ने रै’छ ! राजकुमारीले आँखैको इशारामा राजकुमारलाई त्यो सिसा देखाइन् !”
छोरीका आँखा ठूला हुँदै गरेको मैले देखेको थिएँ । सामान्यतया जब–जब कथाको क्लाइमेक्स आउँदै जान्छ, उसका आँखा ठूला हुँदै जान्छन्, भाव गहिरो हुँदै जान्छ । लामा परेलीले पुर्लुक–पुर्लुक हेर्दै गर्दा म उसकी आमालाई सम्झिन्छु । म उसका आँखालाई ऊ जन्मिनुभन्दा अघिदेखि चिन्छु ।
“राजकुमारी कस्तो बाठी है बाबा ?”
म खिस्रिक्क हाँसे । राजकुमारी बाठी नै थिइन् र पनि राजकुमार जानु परेको थियो कथामा, राक्षसबाट जोगाउन ।
“राजकुमारले सिसा फोडिदिए । राक्षस छट्पटिँदै म¥यो । राजकुमारले राजकुमारीलाई घोडामा बसाए । कथा सक्कियो !” मैले मेरो आङ तान्दै कथा सिध्याइदिएँ । छोरीलाई सुत्नुपर्छ । मलाई कथा लम्ब्याउन मन थिएन ।
० ० ०
डोरबेल बज्यो । करिब ११ बजेको छ । मेरोमा यतिखेर सामान्यतया डोरबेल बज्दैन । छोरी निद्रामै छे । निद्रा नबिथलियोस् भन्ने मेरो पनि चाहना हो । को आयो यो मध्यरातमा ? बाहिर कुकुरहरू त एकनासले भुक्दै थिए । सिँढीको बत्ती बालेर तल झरें । ढोकाबाट चियाएँ । महिलाको आकृति थियो । निथ्रुक्क भिजेको ! यताउता हेरें, अरू मान्छे थिएनन् । ढोका खोलें ।
“तपाईं नै हो प्रकाश ? वकिल ? तपाईंको सहयोग चाहिएको छ ।”
“मुद्दाको कुरा गर्न यसरी भिजेर आउनुभएको ?”
उसले टाउको हल्लाई ।
“भोलि बिहान आउनुस् न !”
“मिल्दैन होला, बढो दुःखले यहाँसम्म आइपुगेकी छु !”
“कहाँबाट आउनुभएको हो र ?”
“कथाबाट !”
अनुहार चिने–चिने जस्तो लाग्यो । उसको कपालबाट तप–तप पानी चुही नै रहेको थियो । बाहिर पानी दर्केरै पर्दै छ, धेरैबेर भिजेर आएको हुनुपर्छ ।
“भन्नाले ?”
“बेलुका छोरीलाई कथा सुनाउनुभएको हैन ? त्यसै टुंग्याइदिनु भयो कथा ! सिध्दिएको छैन ! म त्यही राजकुमारी हुँ !”
हो त ! मैले जस्तो कल्पना गरेर कथा सुनाएको, ठ्याक्कै त्यस्तै छे । मात्र पानीले भिजेकी । लुगाचाहिँ राजकुमारीका जस्ता छैनन् । जिन्समा छे । माथि टि–सर्टमा ‘बी ए रेबेल’ लेखेको छ । हातमा ट्याटु पनि छ । स्निकर्स लगाएकी छे । कुन राजकुमारीले स्निकर्स लाउँछन् ? थोरै हिलो पनि लागेको छ जिन्समा । त्यो त मेरो घर छिर्ने छेउको हिलो होला । पानी जमेको छ त्यहाँ । अनि स्ट्रिटलाइटको उज्यालो पनि पुग्दैन । धेरै मान्छे राति त्यहाँ पर्छन् । एउटाले त झन्डै खुट्टा भाँचेको थियो आफ्नो ।
“लुगा हेर्नुभएको हो ? म यस्तै नै लाउँछु ! तपाईंले कल्पनामा मात्र हो हीरामोती जडेका लुगा देख्नुभा’को !” कथाबाटै निस्केर आएको हुनाले दिमाग पढ्ने खुबी पनि हुन सक्छ । थप शतर्क भई हत्तपत्त आँखा लुकाएँ ।
“हाम्रा कथा पनि पुरुषको मुखबाट सुनिँदा–सुनिँदा लुगा पनि उनीहरूकै रोजाइको भयो, कथा पनि उनीहरूकै रोजाइको भयो अनि कथाको अन्त्य पनि उनीहरूकै रोजाइको भयो । कसले सुनाउने हाम्रो आफ्नो कथाचाहिँ ?” ऊ अचानक मलिन भई । शायद आफ्नो कथा सुनाउन चाहन्छे ।
मैले ढोका खोलिदिएँ । ऊ बिस्तारै भित्र छिरी अनि सोफामा सकपकिँदै बसेर बोल्न थाली—
“राक्षस मरुन्जेलसम्मको कथामात्र तपाईंले सुन्नुभएको छ । त्यसपछिको कथा म तपाईंलाई सुनाउँदै छु । हजुर, तपाईंले ठीकै सोच्नुभयो !
म त्यही राजकुमारी हुँ, जसको कथा तपाईंले सानैदेखि सुन्दै आउनुभएको छ । अधुरो अनि अपुरो !
पारिलो घामको प्रकाशमा उसको वायुपंखी घोडा मलाई लिएर दगुर्दै थियो । त्यो दिन बादल पनि कपासजस्तै फाटेको थियो । नीलो आकाश ! पर–परसम्म देखिने फाँट अनि मात्र ऊ र म घोडामा । अनि उसको पसिनाको मीठो सुगन्ध । घरि–घरि उसको र मेरो शरीर ठोक्किँदा ऊ मलाई हेर्ने गथ्र्यो । म खासै मतलब गर्दिनथें । ऊ फेरि आफ्नो ध्यान बाटोतर्फ मोड्थ्यो । हामीले उसका सेनालाई धेरै पछि छोडेका थियौं ।
‘अब एकछिन सुस्ताउनुपर्छ, अलि पर चौतारो छ !’ उसले मेरो कानको नजिकै आएर फुस्फुसायो ।
चौतारोको नजिकै चियापसल पनि रहेछ । चियापसलेले राजकुमारलाई आधा झुकेर नमस्कार ग¥यो । उसले भने एउटा हातले नमस्ते फर्कायो ।
‘दुइटा चिया र खाजा बनाइदिनुस् न । अनि घोडालाई थोरै घाँस र चना पनि हालिदिनुस् है !’ उसले चियापसलेलाई आग्रह ग¥यो ।
“युवराज, राक्षस म¥यो ?’ चियापसलेले प्रश्न राख्यो ।
“म¥यो, मैले मारें !’ उसले खुशी हुँदै सुनायो ।
मैले उसलाई नियालें । गफ गर्दै गर्दा पनि एउटा हात उसको तरवारमै थियो । कस्सिएको । शायद ऊ चियापसलेलाई तरवार देखाउन चाहन्थ्यो । यसले नै हो राक्षस मारेको भन्न चाहन्थ्यो । तर, त्यो झुट हुने थियो । त्यही भएर भनेन । राक्षसलाई त हामीले मारेका थियौं । सिसा मैले देखाएकी थिएँ, आँखाको इशारामा । चियापसलेलाई सुनाउने कथामा त्यो क्षण अटेन । मैले चित्त दुखाएकी नै त हैन तर पुरुषहरू कामको जस दिन जान्दैनन् । उनीहरूका लागि राम्रो सधैं मैले नै गरेको हुन्छ, हामीले गरेको हुन्न !
‘युवराजको जय होस् !’ भन्दै पसले भान्सातिर छि¥यो ।
चिया र खाजा ल्याएर चियापसले घोडालाई घाँस हाल्न थाल्यो । राजकुमारको घोडा गज्जपको छ, बलियो अनि गतिवान । मैले पनि घोडचढी सानैमा सिकेकी हुँ । मेरी आमा मैले घोडचढी गरेको हेरिरहनुहुन्थ्यो अनि बुवा पनि । कहिलेकाहीँ भन्नु पनि हुन्थ्यो, ‘तिमी कतै पनि राजकुमारी जस्ती छैनौ, राजकुमार जस्ती छौ !’ मैले अहिलेसम्म बुझेकी छैन, के भन्न खोज्नुहुन्थ्यो । घोडचढी राजकुमारले मात्र किन गर्नुपर्ने ?
‘अबको बाटो म घोडा कुदाऊँ ?’ मैले आग्रह गरें ।
उसले पुलुक्क मतिर हे¥यो अनि लाडिँदै भन्यो, “अब म हुन्जेल राजकुमारीले घोडचढी गर्न पर्दैन !’
‘तर मलाई त घोडचढी मन पर्छ !’
‘राजपरिवारमा जन्मिएपछि थोरै त्याग, थोरै सम्झौता गर्नुपर्छ राजकुमारी !’ चिया सुरुप्प पार्दै थोरै मुस्कुराउँदै उसले कुरा टुंग्यायो । मैले थप बोलिनँ । तर, उसको कुटिल मुस्कान मेरो छातीमा कतै बिझ्यो । चस्स । उसको घोडा हेरें, सम्झें— अघि क्या बतासिएको थियो । त्यसलाई लाग्दो हो— ऊ दौडेरै संसारको विचरण गर्नेछ । तर, पक्कै बुझेको होला— उसको वेगको लगाम कसैको हातमा छ ।
‘राजकुमारीको पहिरन किन यस्तो ?’ उसले चिया खाइसक्दै गर्दा मलाई प्रश्न राखेको थियो ।
‘कस्तो ?’ मैले आफ्नो शरीर र पहिरन नियालें ।
‘राजकुमारीको जस्तो छैन !’
ऊ घोडामा चढ्यो । उसको पछि चढौं÷नचढौं— खुट्याउन सकिनँ । अरू उपाय छैन । सुस्तरी उसको पछि बसें । उसको पसिनामा सयौं वर्ष गुम्सिएको पुरुषत्व ह्वास्स गन्हायो !
० ० ०
स्थानः प्रकाशको लिभिङ रुम
“कफी खानुहुन्छ ?” राजकुमारीले मेरो यो प्रश्नमा स्वीकारोक्तिस्वरुप टाउको हल्लाइन् । मैले कथा बीचमै रोकेको छु । रात छिप्पिँदै छ । बाहिर कुकुर भुकेको आक्कल–झुक्कल आवाजबाहेक केही छैन । करिब २ बज्न आँटेको छ । हुन त यति राति जागा हुनु मेरो लागि नौलोचाहिँ होइन । कहिलेकाहीँ मलाई निद्रा पर्दैन । खासगरी कहिलेकाहीँ सपनीमा उनलाई देखेपछि । एकछिन रिमोट बटार्छु । हेर्नचाहिँ कुनै च्यानल हेर्दिनँ, मात्र रिमोट बटार्छु । पर्दामा छुट्याउनुअघि बदलिने दृश्यहरू मन पर्छन् । जीवन पनि त्यस्तै त हो, सबै बुझ्न, छुट्याउन कसलाई पो समय पुग्दो हो ! कहिलेकाहीँ सोफामै निदाउँछु, छोरी बिहान लाडिँदै आएपछि बिउँझिन्छु ।
भान्छामा पानी बसाएँ । राजकुमारी मेरो पछि–पछि भान्छामै आइन् । अनि एउटा कुर्सीमा बसिन् ।
“एउटा कुरा सोधौं ?” मैले उम्लिँदै गरेको पानी हेर्दै प्रश्न राखें ।
“सोध्नुस् न !”
“त्यति भएपछि पनि तपाईंले राजकुमारसँगै विवाह गर्नु भो त ?”
“यहाँ कस्तो छ थाहा छैन तर राक्षसको मुखबाट जोगाएर ल्याएपछि म राजकुमारकै सम्पत्ति हुने खालको ऐन छ त्यहाँ ! अरू उपाय छैन ।”
म मौन बसें ।
“तपाईंहरूको कथा विवाहप्रति कति पूर्वाग्रही छन् है ?” पुलुक्क मतिर हेरिन् ! म कफीकै कप खेलाउँदै थिए । झ्यालबाहिर अम्बाको रुख बतासले होला— हल्लिँदै थियो, कुनै जँड्याहाजस्तै । अनि स्ट्रिट ल्याम्पको प्रकाश पनि रुखसँगै हल्लिँदै थियो, किचनको झ्यालमा— उही जँड्याहाकै साथीजस्तै ।
“किन र ?”
“विवाह सधैं तपाईंहरूको कथाको अन्त्यझैं, अनि प्रेम त भइहाल्छ नि भन्ने आशयका कथाहरू । प्रेमलाई एकतर्फी बनाइएका कथाहरू । हाम्रोमा विवाह नै स्त्रीमाथिको जित ! सोचेजस्तो विवाहका महोत्सव कहाँ हुन्छन् र ! हुन्छन् त फगत पुरुषको महिलामाथिको विजयोत्सव, त्यो पनि पुरुषको राजमहलमा । अनि आफ्नै हारमा मुस्कुराउनु पर्ने बाध्यता !”
राजकुमारी एकछिन अडिइन् अनि फेरि बोल्न थालिन्, “सबै पुरुषले बनाएका नियम कानुन ! हामी कहीँ अटाउन्नौं । न नियममा, न कानुनमा, न न्यायप्रणालीमा !”
किचन टेबलको चक्कुमा घोरिँदै उनले आफ्नो विवशता पोखिन् । यहाँ अलि फरक छ । नियम छ, कानुन छ— एक मनले भन्यो ।
“हो र ?” अर्को मनले प्रतिप्रश्न ग¥यो ।
“अनि के भयो त्यसपछि ? आई मिन तपाईंको कथा बाँकी सुनौ न !” 
त्यसपछि उसले बाँकी कथा भन्न थाली—
“राजमहल आएपछि मलाई पहिरन बदल्न लगाइयो । म उनीहरूले सोचेजस्तै राजकुमारी भएँ । एउटा कोठामा राखियो । केही छिनपछि राजकुमार प्रवेश ग¥यो कोठामा, उसकै कोठा रहेछ । मैले उसको ठूलो कदको फोटो देखेरै पत्ता लगाएकी थिएँ । पहिलो भेटमा उसको बलिष्ठ शरीरले राक्षस मार्न सिसामा प्रहार गरेको देख्दा मेरो मनमा ऊप्रति आकर्षण आएकै हो । म ढाँट्दिनँ । त्यो त प्राकृतिक नै होला । तर, त्यसपश्चात् म यो पुरुषसँग करिब तीन दिनदेखि नै सँगै थिएँ । उसको पुरुषत्व मैनजस्तै पग्लिँदै थियो । उसका अन्तरंगबाट जुन दुर्गन्ध निस्केको थियो, त्यसले नजिकिन मलाई गाह्रो भएको थियो । तर, मलाई सोध्ने कसले ? ऊ त झन् राजकुमार ! शक्तिशाली । उसले एक–एक गर्दै मेरा वस्त्रहरू खोल्यो । खोल्दै गर्दा कटाक्ष गर्न पनि पछि परेन, ‘राजकुमारीलाई यो पहिरन कस्तो सुहाएको !’
म मौन बसें । उसले मेरो अचल शरीरमा केही निमेष रजाइँ ग¥यो । अनि थकित भएर पल्टियो अर्को कुनामा । म झ्यालबाट बाहिर चन्द्रमालाई नियालेर पल्टिरहें । केही छिनमा निदाएछु पनि । तर जब ब्युँझें, राजकुमार छेउमा थिएन । ढोकाबाहिर केही खासखास खुसखुस सुनियो । ढोकामा कान लगाएँ । राजपुरोहितको आवाज जस्तो लाग्यो, ‘तन्ना सेतो नै हो र युवराज ?’
‘हो ! रगत लागेको छैन !’
‘राजकुमारीलाई घोडचढीको शोख छ भन्ने सुनेको थिएँ । हो युवराज ?’
‘मसँग पनि घोडचढीको कुरा गर्दै थिइन् !’
‘त्यसैले होला । चिन्ता नगर्नुहोस् युवराज !’
म पलङतिरै फर्किएँ । डङ्रङ्ग लडें । मेरो कुमारित्व अहिले महलको चर्चाको विषय भएको छ । त्यसले म सुशील छु कि चरित्रहीन पत्ता लाइनेछ । मेरो चरित्रको प्रमाणपत्र अरूबाट किन ? त्यो राक्षसले मलाई बाँधेरै राख्दा पनि कुमारी छस् कि छैनस् भनेर सोधेन । राजमहलमा सोधिँदै छ । त्यो पनि मसँग हैन, म सुतेको तन्नासँग । राजकुमार सिरकभित्र छिर्दै गरेको आभास त भयो तर त्यता पल्टिइनँ । एकछिनपछि घुर्न थालेको सुनें । निदाएकी थिइनँ । किन हो खोइ— जुरुक्क उठें र तबेलातिर लागें । राजकुमारको विशेष तबेला, जहाँ वायुपंखी घोडाहरू पालिन्छन् । मुख्य सइस जागै थियो । मलाई देखेर थोरै डरायो ।
‘राजकुमारी ! यति रातमा ? यहाँ ?’ उसले एकै वाक्यमा आफ्नो डर पोख्यो ।
मैले उसलाई हेरें । सइसको प्रश्नमा पनि मलाई पुरुष गन्हायो । ऊ अलि पर स¥यो । अघि बढेर दुई दिन चढेको घोडालाई सुम्सुम्याएँ । उसले पनि मलाई चिनेजस्तो ग¥यो । घोडालाई खोलें ।
‘राजकुमारी, माफ गर्नुहोला ! राति राजमहलबाट स्त्रीहरू बाहिर निस्किन्नन् !’ सइस सुस्तरी बोल्यो ।
‘राक्षस त सबैतिर हुन्छन् । महलभित्र पनि, बाहिर पनि !’ मैले पनि सुस्तरी नै जवाफ फर्काएँ । अनि म पनि बतासकै गतिमा दौडिएँ । खुला आकाशमा, जहाँ नियम छैनन् ।
० ० ०
भोलिपल्ट राति—
मैले छोरीलाई काखमा लिँदै भनें, “आज तिमीलाई म दाह्रा नभएको राक्षसको कथा सुनाउँछु !”
“अनि हिजो सबै राक्षसको दाह्रा हुन्छ भन्नुभएको हैन र बाबा ?”
“मैले पनि हिजै थाहा पाएँ छोरी । सबै राक्षसका दाह्रा हुन्नन् ! कोही राक्षस हेर्दा राम्रा देखिन्छन् । अग्ला, गोरा, राम्रा लुगा लाउने, राजकुमार जस्ता !”
 

रेडियो


उसको घरमा अन्तत: रेडियो आयो । चौतारोमा जब जब बिकासका ,सम्वृद्दीका कुरा हुन्थे , उसलाई लाग्थ्यो उ अर्कै युगमा छ अनि गाउँ अर्कै युगमा । सबैलाई गाउँका सबै कुराको जानकारी छ, मात्र उसलाई छैन । एक दिन पिँढीमा उपरखुट्टी लाएर सिरानीमा पल्टिँदै गर्दा परको थुम्कोमा जंगल हटाएर ठड्याएको टावरमा बलेको बत्ति देख्यो । त्यो रात खोइ किन हो तारा थिएनन् आकाशमा । त्यो बत्तिको प्रकाशमा तारा देखिन्नन् अरे ।अनि त्यहि बत्ति हेर्दै उसले निष्कर्ष निकाल्यो । उ पछाडी परेको सुचनाको पहुँचले नै हो। आजकल गाउँका बिकासका कुरा एफएममा फुकिन्छन् । उ सँग रेडियो हुनु उसको आवश्यकता हो । जसरी पहिला पहिला खेत जोत्ने हल गोरु , त्यसरी नै अहिले रेडियो ।  जम्मा गरेको पैसाको बिटो गन्यो ।पाँचका, दशका, बिसका नोट जोडेर करिब एघार बाह्र सय भए । करिब तिन घण्टा हिँडेर गाउँको बजारमा पुग्यो । धेरै बेर मोलतोल गरेर , दँशैको खसी जस्तै धार्नी तौलेर उसले रेडियो उठायो । अनि दुइवटा ब्याट्रि साहुसँग जबर्जस्ती गरेर भए पनि सित्तैमा माँगेर उ घर फर्क्यो । यसरी अन्तत: उसको घरमा रेडियो आयो।
********************** ******************* ************** *************** **************
गाउँको बाटो उसको घरभन्दा चार कान्ला माथीबाट जाने भएछ  र त्यसको लागि जनश्रमदान जुटाउन पनि एफएम रेडियोले फुक्यो र साथै चौतारोमा बृहत छलफलको लागि एघार बजे भेट हुन पनि एफएमले नै निमन्त्रणा दियो । आफ्नु उपरखुट्टी लगाएका खुट्टा र एउटा हातमा भएको एफएम गुन्द्रीमा पल्टिँदै सुनेर उ दंग नै पर्दैथियो त्यत्तिनै बेला झण्डै उसले एक हातले मात्र समातेको हुनाले रेडियो उसको मुखमै बज्रियो । अर्को हातले कसो कसो गरेर रेडियो त समात्यो तर उपरखुट्टी लगाएका मध्ये एउटा खुट्टा नखुलेर उसले खुट्टा सड्कायो । बिस्तारै खोच्याउँदै उठेर विचार गर्यो , सँधै हातमै राखेर यो रेडियो त पक्कै सुन्न सकिन्न। यसलाई झुण्ड्याउने ठाउँ नि चाहिन्छ । उसको माटोको घरमा बल्ल बल्ल ढोकाको छेवैमा काँटी हाल्ने ठाउँ भेट्टायो । आज भेला हुन जाँदा यसको झुण्ड्याउने पनि सिलाउनु पर्ला मनमनै विचार गर्यो । बाहिर निक्लेर घाम हेर्दै सोच्यो , ओहो ढिलो पो होला की ? । हतार हतार इष्टकोट र टोपी भिरेर चौतारी तिर लाग्यो ।
************* ************** ****************** **************** ************** *********
चौतारीमा जमिन्दार बा चिच्याउँदै थिए ।
"तँपाइहरुले काठमाण्डौको रिंग रोड देख्नु भएको छ ? त्यसले शहरलाई जोडेको छ नि । हो त्यस्तै ठ्याक्कै ! यो बाटो नि यो गाउँको रिंग रोड हो !"
उ काठमाण्डु गएको छैन । उसले जमिन्दार बाले के भनेको खासै बुझेन । उसले बाटो चाहिँ महत्वपुर्ण रैछ भन्ने बुझ्यो । जस्तो उसको लागि रेडियो , त्यस्तै उसको गाउँको लागि बाटो ! रेडियो भन्ने बित्तिकै उसलाई याद आयो "अहो, रेडियोको लागि झुण्ड्याउने खोल बनाइ माग्न पर्ने छ । हरि दाइ छन कि छैनन् होला टेलरमा !" जमिन्दार बा तिर पुलुक्क हेर्यो । जमिन्दार बा अझै बरबराउँदै थिए चौतारी माथी उभिएर ।
"हैन बाटो कताबाट, कसरी जाने छलफल हुनु पर्दैन , बिचमा पानीको मुल पनि छ ,अहिले भनेको ठाउँबाट लाने हो भने त !" तलतिर बाट एउटा केटो चिच्यायो । उसले त्यसलाई पुलुक्क हेर्यो । यो कुरा पनि पक्कै उसले रेडियो सुनेरै थाहा पायो होला पहिला पहिला !
"यो बजेट अहिले चलाएन भने फर्किन्छ ! फेरि आउन्न !!" जमिन्दारले अन्तिम अस्त्र फ्याँके !!
सबै चुप लागे , बिकास रोकिनु हुँदैन !!
छेवैको मान्छेले अर्को मान्छेलाई खुसखुस गरेको पनि उसले सुन्यो
"यी बुढालाई बोल्ने ठाउँ पाउनै हुन्न भाषण दिन थाली हाल्छन् !" एउटाले भन्यो
"अध्यक्ष चाहिएको होला !" अर्कोले भन्यो
"पैसा खान पाउँछन् नि त !" तेश्रोले भन्यो
"हुन त गाउँको लागि पैसा ल्याउने यिनै हुन् , अब मह काट्नेले....." चोथोले बाक्य सक्न भ्याएन।
बिचमै सवैले पटटट तालि बजाए । उसले त्यस पछिको खासखास खुसखुस खासै बुझेन। आ बाटो आएको राम्रै हो भन्यो अनि चित्त बुझायो । जमिन्दार बा चौतारी बाट तल झरे । भिँड तितरबितर भो । उसलाई हरी दाइकोमा छिट्टो पुग्नु छ । फेरि हरि दाइ खाना खान निस्के भने रेडियोको खोल बनाउन ढिलो हुन्छ ।
********************** ****************** ******************** ************* ************
"दाइ एउटा रेडियोलाई खोल बनाइदिनु न !"
हरीदाइले पुलुक्क उसलाई हेरे !
"भ्याउँदिन होला हौ भाइ अहिले त ! बिहाको सिजन छ ! थुप्रो काम पो छ त !"
"हैन , रेडियो झुण्ड्याउने ठाउँ नै भएन !" उसले कपाल कन्यायो !
"एउटा चोलो बराबरकै पैसा दिने भए गरीदिन्छु !"
एक छिन घोइरियो !
"कति ?"
"तिन सय !"
"हैट , अलि मिलाउनु न !" हरिदाइ को नजिकै गएर मायालाग्दो स्वरले बोली टोपल्यो !
"ल भइ गो ! मेरो काम छ भनी सकेँ त !" हरिदाइ टिमुर्किए !
"लौ तिन सय नै ठिक छ नि त !" उसले कुरा टुंग्यायो।
"कत्रो छ त रेडियो !"
"उ त्यो तँपाइको बजिरहेको रेडियो जस्तै नै हो !"
"भोली आउ !"
उ टाउको हल्लाएर बाहिर निस्कियो । "धेरै पो तिरेँ की !" मनमनै सोच्यो । अनि फेरि सोच्यो " आ जे सुकै होस् , मह काट्नेले हात चाट्छ !"
******************* ***************** ****************** ************* ******************
बडो दु:खले उसले काँटी ढोकामा ठोक्यो । पहिला भान्छामा गएर सिलौटा खोज्यो । दुइ चोटी सिलौटाले काँटीमा हान्दै गर्दा सिलौटा चोइटे जस्तो गरी केहि भुइँमा खस्यो । बुढीको अनुहार सम्झ्यो ! सिलौटा केहि भइहाल्यो भने त उसकी बुढी पक्कै पनि रिसाउने छे । हत्तपत्त गएर सिलौटा भान्छामा नै राख्दियो । एक छिन सिलौटालाई घोरिएर हेर्यो । सिलौटा पहिले जसरी राखिएको थियो, अहिले पनि त्यस्तै हुनु जरुरी थियो । कसैगरी " कसले सिलौटा चलायो ?" भनेर उसकी बुढीले सोधी भने उसले पैतालाले भुइँ कोतर्दै जवाफ फर्काउन सकोस् "खोइ !!" अनि यता उता हेरेर जवाफ फर्काओस् "मलाई त थाहा भएन !"
त्यसपछि ढुंगाको खोजीमा अलि पर सम्म चाहार्यो । उसको घरमै माड्तल भइदिएको भए दुइ ठ्याक बजाए पछि काँटी ठोकिइ हाल्थ्यो । हुन त उसले किन्न पनि खोजेको हो । तर फजुल खर्च किन गर्नु सिलौटाले काम चलिहाल्छ भनेर नकिनेको ! भेटिएको ढुंगा नि नरम , तिन चार चोटी काँटीमा लाग्ने गरी हानेपछि ढुंगै टुक्रिने जस्तो । जसो तसो काँटी ठोक्कियो । हुन त राम्ररी ठोकिएन होला तर काम चल्छ । रेडियो जसो तसो ढोकामा अड्कियो !
****************** *************** ************** ************* ************** **********
"...... र आज दिउँसो २ बजे सार्वजनिक सुनवाइको कार्यक्रम रहेको छ !" यति सुनिसकेपछि उसले घाम हेरेको थियो । घाम ठिक्क टाउको माथी भएकोले करिब करिब बाह्रको छेउछाउ समय होला भन्ने अड्कल गर्यो । बिकासका, सम्वृद्दीका कुरा उसलाई सुन्न साह्रै रहर लाग्थे । हत्तपत्त उ पनि चौतारी तिर उकालो लाग्यो ।
"तपाइँले बाटो बनाउने निहुँमा घुसाउनुभएको डोजरले खानेपानीको पाइपै काट्यो उ बेला , क्षतिपुर्ती पनि पाएनौँ । हाम्रो खानेपानी उपभोक्ता समिति कति गाह्रो साह्रो गरी चलेको छ ! तिन दिन तिनवटा धारामा पानी नै चलेन " उ चौतारीमा पुग्दा खानेपानीका अध्यक्ष राँक्किदै थिए । उ चौतारोको तलै बस्यो । माथीका मान्छेको अनुहार राम्रो सँग देखिने र बोली बुझिने ठाउँमा !
"अब पाइप यहाँ यहाँ छ भनेर तँपाइले बाटो खन्नु अघि भनेको भए पनि त हुने !" जमिन्दार ले जवाफ फर्काए ।
"गल्ती त्यतिखेर यी दुवैको हो !" तलको एउटा मान्छेले खासखुस गर्यो
"दुवैलाई ठूलो हुनु पर्ने " अर्कोले जवाफ फर्कायो
"बाटो पनि मुलको माथीबाट गयो र यो सुख्खायाममा गाह्रो साह्रो पर्यो ! अब के गाउँलेले पानी किनेर चलाउने ?" अध्यक्षको रिस शान्त भएन !
"अब मुल त सुकिगो , खोलाको पानी पम्पले तानेर खुवाउनुपर्छ ! हुन त महँगो पर्छ महिनाको !! तर बजेट पार्न सकिन्छ !!" जमिन्दारले उपाय सुझाए
अचानक खानेपानीका अध्यक्षको आँखा चम्किए । सुस्तरी बोले !!
"बजेट पार्न सकिन्छ त ?"
"काठमाण्डौ धाउनु पर्छ, तर सकिन्छ !"
तलका मान्छे खासखुस गरे
"दुइको कुरा मिले जस्तो छ !" एउटाले भन्यो
"खोलाको पानी दिगो त हुन्छ !!" अर्कोले भन्यो
"महँगो चाहिँ हुन्छ सबै घरलाई !" तेश्रोले भन्यो
"आ अब पानी नै नखानु भन्दा त , पैसा तिरेकै जाती!" चौथोले भन्यो
"हेरी राख्नुहोला, यी दुवैले घरको तला थप्छन् यहि बजेटले !" पाँचौले भन्यो
"आ छोड्दिनु मह काड्ने ले हात चाट्छ !" छैठौँले भन्यो ।
उ भने सुनिरह्यो । पर हेर्यो घाम अस्ताउन आँटेको छ । घर फर्किनु पर्छ । उ जुरुक्क उठ्यो । छलफल हुँदै थियो, उ चाहिँ आफ्नो बाटो लाग्यो !
********* ************** **************** **************** ************** **************
ढोकाको तल रेडियोको खोलभित्र रेडियो दुइ फ्याक परेर भुइँमा बजारिएको थियो । ब्याट्री पनि भुइँको अर्को तिर पुगेछ। शुरुमा त के भएको उसले थाहा पाएन । के गर्ने पनि खुट्याउन सकेन । सबै टुक्राटाक्री जम्मा गर्न तिर लाग्यो । अलि पर काँटी पनि देखेपछि मेसो पायो ।
"अहो काँटी हल्लिँदै थियो, त्यहि झर्यो होला !!"
उ धेरै बेर ति टुक्राहरुलाई हेरेर टोलायो । खोल नहालेर हातैमा सुनेको भए रेडियो खस्दैन थियो झैँ लाग्यो । भोलीपल्ट रेडियो दोकानको भाइले हेर्दै भन्यो
"दाइ यो रेडियो बनाउनु भन्दा नयाँ नै किन्न ठिक हुन्छ ।"
मनमनै सोच्यो । आजै देखि पैसा जम्मा गर्न थाल्छु । अनि अर्को पल्ट खोल सिलाउनु पर्दैन । काँटी चाहिँ माड्तल किनेरै ठोक्छु ढुंगाले ठोक्दिन !!!



घण्टी


त्यो घण्टी बिस्तारै सानो हुँदै पग्लिदैँ थियो सुर्यको प्रकाशमा । तर रातमा सुर्य किन उदायो ? बखतेलाई मनमनै अचम्म लाग्यो । यो रात सुर्य उदायो, जसको प्रकाशमा घण्टी पग्लिन थाल्यो ।  भोलि स्कुलमा कसरी घण्टी बजाउने ? सर मिसहरुलाई कक्षा सकिएको कसरी थाहा हुन्छ ? घण्टी त पग्लदैँ छ । बखते हतार हतार घण्टी जोगाउन दौडियो तर उसका खुट्टाका चप्पल हिलोमा गाडिए । हिलो बढ्दै गयो । बखते भाँस्सिदै गयो । घण्टी पग्लिँदै गयो । सुर्यको राप बढ्दै गयो ।
माथिको हरफ सबै भख्खरै बखतेले देखेको सपना ! आजकल उ यस्ता यस्ता छेउ न टुप्पोका सपनाहरु धेरै देख्छ । सपना राम्रो नराम्रो छुट्याउन सक्दैन । कहिलेकाहिँ चिच्याउँछ पनि ! तर उसको सानो कटेरोमा उ एक्लै चिच्याएको कसले सुनोस् । राति निन्द्रा नलागे पछि रातिको ड्युटी मैले गर्दा हुँदैन भनेर उसले चिरनलाई पनि सोधेकै हो । तर चिरनले हाँसेर टार्दियो ।
"बुढेसकालमा कता राती राती ड्युटी गर्नुहुन्छ काका ! त्यो काम श्यामलाई नै छोडिदिनुस् " चिरनले भनेको बाक्य ठ्याक्कै यहि नै हो ।एउटा बाक्यले कति चोटी घोच्यो बखतेलाई भनेर कुरै नगरुम् । एउटा बखते बुढो भयो भनेर बुझायो । अर्को बखते राती ड्युटी गर्न अनुपयुक्त छ भनेर बुझायो । र तेश्रो चिरनले काका नै भने पनि बखतेलाई फगत एक कारिन्दाको रुपमा हेर्छ भनेर जनायो । थोरै चिरनकै कुरा गरौँ , चिरन पुरानो गाउँ पन्चायतका प्रधानपन्चको छोरा । अहिले स्कुलका प्रधानाध्यापक । तर बखते सँगको चिनजान भने धेरै पुरानो । बखते लाई पहाडबाट ल्याएर जागिरमा चिरनकै बुवाले लगाएका ! चिरन र उसको छोरा सँगसँगैका ,एक महिना तिन दिनले बखतेको छोरो जेठो । चार वर्षको हुँदाको कुरा होला ,बखतेको छोरा र चिरन स्कुलको चौरबाट खेलेर आ-आफ्नो घर फर्के । राती बखतेको छोरालाई आगोको भुंग्रो जस्तो ज्वरो आयो । भोलिपल्ट बखतेले झाँक्री खोज्यो । झाँक्रीले कालो कुखुरा खोज्यो । कालो कुखुरा भेट्टाइयो । तर ज्वरो ओर्लेन । दोश्रो दिन पनि ओर्लेन । तेश्रो दिन चिरनको बाउले तिन सय रुपैयाँ सहित इण्डिया जँचाउन लाने सल्लाह दिए । गाडी सम्म डोर्याउन लादालादैँ बखतेको छोराको बोली बस्यो । लल्याक लुलुक भयो । छोरो फर्केन , इण्डिया पनि पुगेन । पैसा पुर्याउन जाँदा बखतेलाई चिरनका बाउले भनेका थिए
"राख बखते किरिया गर्न पनि चाहिहाल्छ आखिर ! " बखते लुसुलुसु फर्कियो । बखतेकी बुढी मुर्छा पर्दै उठ्दै गर्थी । छोराको बरखि उसले पनि कटाइन । बखते संसारमै एक्लो भो । चिरन शहरमा पढे पनि पछि गाउँ नै फर्कियो । स्कुलमा पढाउन थाल्यो । बखतेको खाटा बसेको घाउ पनि कहिले काहिँ चहर्याउन थाल्यो । आज पनि जहिले जहिले उसले चिरनलाई देख्छ छोरोलाई सम्झिन्छ । बुढीलाई सम्झिन्छ । उसको छोरो र सानो हुँदाको चिरनलाई स्कुलमा लुकामारी खेल्दा दौडेको चित्र उसको जीवनको सबै भन्दा स्पष्ट याद होला !
 अब फेरि वर्तमान मैँ फर्किउँ । भरखरै चिरनले स्कुलमा केहि नयाँ शुरुवात गर्ने कुरा गरेको थियो अफिसमा । फिल्टरमा पानी भर्न गएको बखते भरीसकेर खुरु खुरु फर्कियो । स्कुलकै क्यान्टिनमा बसेर चुर सल्कायो आँफैले बनाएको ।
"यहाँ चुर नखानुस् न !" क्यान्टिनकी साहुनी कराइन्
"तिम्रो बाटै ब्ल्याकमा चुरोट लिए त खान मिल्थ्यो होला नी !" बखतेले जवाफ फर्काइदियो । क्यान्टिनकी साहुनी नौ दशका केटाहरुलाई लुकी लुकी चुरोट बेच्थिन । बखतेलाई थाहा थियो । फेरि बाझ्न सकिनन् ।
पछाडी दुई जना मिसहरु खुसखुस गरे
"यी बुढा मान्छे किन यति चिडचिडे भाका ?"
"जागिर जाने हल्ला छ !"
"हो र?"
"अव अटोमेटिक घण्टी राख्ने अरे घण्टा घण्टामा बज्ने , सबै कक्षामा सिसिटीभी पनि राख्ने अरे चिरन सरले ! अनि यिनको के काम र ?"
"हो हुन त , यिनी त कहिले पन्ध्र मिनट अघि नै घण्टी बजाइदिन्छन् , कहिले क्लास सिद्दिएको दश मिनट सम्म पनि बजाउँदैनन् , अस्ति त मलाई क्लासमा कस्तो गाह्रो भयो । आफ्नो घाँटी सुकेर पानी खान मन लागी सक्यो । घण्टी लाग्या हैन !"
"बुढेसकालले होला ! बिर्सिन्छन् होला बरा !"
"चियाको पैसा कति दिदी ?"
"बिस रुपैयाँ !" साहुनीले बोलिन् । मिसहरु पैसा तिरेर अफिस तिर लागे । बखतेको उमेर ढल्कँदै गए पछि आँखा भने कमजोर हुन थालेका छन् ।तर कान अझै तिखा छन् । सवै कुरा सुन्यो । हातको चुर भित्तामा दलेर निभायो । उसको कटेरो यहि स्कुलकै जग्गामा छ । काम सिद्दिने बित्तिकै निक्ली भन्लान् । यो उमेरमा कहाँ जानु । सुन्न त गाइँगुइँ हल्ला सुनेको पनि हो । हिजो सपना पनि नराम्रो देखेकै हो । आज फेरि सुन्यो । छोरा जस्तो चिरन ! छोरा जस्तो पो हो त छोरै त होइन नी । चिरन पछि सम्म बखतेकोमा आउँथ्यो । स्कुलको पछाडी पट्टी बयरको रुख थियो ।
"काका टिप्दिनु न बयर !" चिरन मायालाग्दो स्वरमा आग्रह गर्थ्यो ।
"खानुहुन्न , आउँ पर्छ !"
"प्लिज !"
बखतेलाई प्लिजको अर्थ त थाहा छैन । तर चिरनलाई देखेर पग्लिन्थ्यो । टिपी दिन्थ्यो । उसले बयर खाँदै गर्दा बखते टोलाएर हेर्थ्यो । छोरो बाँचेको भए यसरी नै बयर खान्थ्यो होला !
******************** ************* **************** *************** ******************
"बाजे घण्टी लाउने बेला भो !" क्यान्टीनकी साहुनीले झस्काइदिइन् ।
उ सुस्तरी सुस्तरी घण्टी भएतिर बढ्यो । आजको अन्तिम घण्टी । घण्टी बजाइदियो ।
"काका यो घण्टी निकालेर स्टोरमा राखिदिनु है ! भोली देखि चाहिँदैन होला !" चिरनले परैबाट अह्रायो । शायद उसले बजाएको अन्तिम घण्टी । आँफै बज्ने घण्टी तैयार भए जस्तो छ। कहिले उसलाई निस्किएर जान भन्ने हुन् । हिजोको सपना त साँच्चे नराम्रै देखेको रहेछ ।
************** ******************* ************** **************** **********************
काम गर्नेहरुले स्कुल सकिएपछि टेस्ट गरे । सबै कोठाका स्पिकरमा बजेको सुनिन्छ कि सुनिदैन भनेर । बखतेलाई पनि एउटा कोठामा बसेर सुन्न भनियो । नयाँ घण्टी मज्जाले बज्यो ।
"यो घण्टी बिग्रिदैन ?"
"परको सर्किटको तार मुसाले काट्यो भने मात्रै " इलेक्ट्रिसियन खितित्त हाँस्यो ।
"आज नाइट ड्युटीको मान्छे आउँदैन होला , काकाले एक दिन बस्दिनुहुन्छ ?" चिरनले बखतेतिर हेर्दै सोध्यो । बखतेलाई उत्तर दिन शव्द भएन । मौन नै रहेर हुन्छ भनी टाउको हल्लाइदियो ।
"अहो छ पो बजीसकेछ !" चिरन हतारियो । मोटरसाइकल झिकेर घर तिर हुइँकियो । बखते धेरै बेर स्टोर रुममा घण्टीलाई हेर्दै टोलाइरह्यो । उसलाई लाग्यो त्यो घण्टी साँच्चीकै पग्लिँदै छ । अनि उसका खुट्टा साँच्चीकै भाँसिदै छन् । उसको जिउ थररर काम्दै छ । अचानक स्टोररुममा कसैले बोले जस्तो लाग्यो
"परको सर्किटको तार मुसाले काट्यो भने मात्रै यो घण्टी बिग्रिन्छ !" आवाज शुरुमा त सानो थियो । मात्र एउटा सपनाजस्तो , एउटा भ्रम जस्तो । तर गज्जबको आवाज आँफै बढ्दै जाने । ति कक्षा कोठामा भएका स्पिकर भन्दा पनि प्रष्ठ । बखतेले स्टोरबाट कैँची लियो ,स्क्रिउ ड्राइभर लियो अनि सर्किट तिर बढ्यो ।
************************* ******************* ******************* ********************
बिहानै क्यान्टिनकी साहुनी बखतेको कटेरोमा कुद्दै आइन र कराइन् । " बाजे , ए बाजे !"
बखते बाहिर निस्कियो ।
"चिरन सरले खोज्दै हुनुहुन्छ !"
बखते झस्कियो । हिजो उसलाई बेलुका त कसैले देखेको थिएन । कि यसैले देखी ?
"कहाँ ?"
"क्यान्टिनमा हुनुहुन्छ !"
पक्कै साहुनीले नै पोल लगाइन् । नत्र साँझमा कसले देख्छ र ! बखते बिस्तारै  क्यान्टिन तिर लाग्यो ।
"सुत्नु भएको थियो होला बिउँझ्याए !" चिरनले सुस्तरी भन्यो
" ठिकै छ !"
"चिया खानुहुन्छ !"
"हैन ,ठिकै छ !"
"दिदी लाई बनाउन लाइ सकेँ त !"
साहुनी चिया लिएर आइन् । मरिचको पिरो बासना नाकमा हररै छिर्यो बखतेको ।
"हिजो रुँघ्न गाह्रो त भएन काकालाई !"
"भएन , राती आजकल निन्द्रा पनि लाग्दैन खासै ! जति बुढो भयो मान्छे ,लाटोकोसेरो जस्तो हुँदो रहेछ ।" बखते सुस्तायो ।
"आज देखि घण्टि बजाउन पर्दैन काका , त्यो अटोमेटिक घण्टी चल्छ स्कुलमा !"
बखतेको मन ढक्क फुल्यो । चिरनले जा भन्ने होला अब ।
"रातीको चौकिदार चाहिँ तपाइँले सक्ने भए छुट्टी दिनु पर्ला भनेर सोचेको ! बुवा समानको मान्छे ! व्यवस्थापन समितिमा पनि तँपाइको कुरा भो । चौकिदारले पनि हुन्छ नै भन्यो !"
बखतेका आँखा रसाए । आँशु भरिएको आँखामा चिरन धमिलो गरी देखियो । शायद उसको छोरो पनि जागिरे हुन्थ्यो अहिले सम्म भएको भए । बखते ले फेरि हुन्छ भनेर बोल्न सकेन । टाउको हल्लायो स्विकारोक्तिमा !
" ल म हिँडे काका !" चिरन उठ्यो
"एउटा कुरा भन्नु थियो !"
"के भन्नु न !"
"त्यो सर्किट बोर्ड भएको ठाउँमा हिजो राती ठूलै आवाज सुने । बिराला जत्रा मुसा रैछन् , मुसा मार्ने दवाइ चाहिन्छ होला !"
"हुन्छ काका ! आजै ल्याउँला !"
चिरनले मोटरसाइकल स्टार्ट गर्यो । बखतेले चिया सिध्यायो ।



मुलघाट


" बा , हेर त कत्रो माछा मारेँ ?"
वर्खायाममा कतैबाट मर्नलाई माछो पनि मुलघाट आइपुगेछ । सन्तेको छोरोको हातबाट पासो लाग्न । हुन त उसको नाम सन्तराम अनि छोराको नाम प्रकाश तर कथा भरी म सन्ते नै भनेर लेख्नेछु । हेपाहा कथाकार नभन्नुहोला ! छोराको बोली सुनेर फेरि दिक्क लाग्छ उसलाई । बाउ सँग बोल्ने सोमत पनि सिकाउन सकेन सन्तेले ! जहिल्यै बाउलाई तिमी !
************ ************* *************** ***************** ************** *************
दुई महिना अघिको कुरा हो । सडकको छेउमा साहुजीले छोरीलाई हेर्दै सोधेका थिए ।
"माछा खान्छेउ ? "
छोरीले पनि जुत्ताले भुइँ कोतर्दै भनेकी थिई
"हजुरले किनिस्यो भने !"
"कहाँ पढ्छिन नानी ?"
छोरीको मधुरो आवाज सुनेर सन्तेले प्लाष्टिकमा माछा राख्दै सोधेको थियो
"लिटिल फ्लावर्समा !"
चोकको महँगो स्कुल । नाम पनि कति गाह्रो । "परकाशेको पनि बोली यस्तै मिठो भए" सन्तेले मनमनै सोचेको थियो
"बजारमा ठूलो दोकान तँपाइहरुकै हैन ?"
"हो त !"
"म पनि सामान किन्न त्यहाँ आइरहन्छु नि , साहुनी बस्नुहुन्छ धेरैजसो ! मलाई पनि चिन्नुहुन्छ होला !
"ए !! हो र ? यो प्लाष्टिकको झोला त बजार छिराउन दिन्न !" साहुजीले सन्तेलाई माछा झोलामा हालिदिँदै गर्दा भनेका थिए ।
"बुवा म सँग छ नि हिजो सरले दिनुभएको झोला ,हाम्रो स्कुलमा वाँडेको कुहिने झोला अरे ,माटो बिगार्दैन अरे !" छोरीले कुहिने झोला झिक्दा सन्तेले छोरीलाई एक टक नियालेको थियो ।
"कति राम्रो बोली नानीको !" सन्तेले पैसा राख्दै गर्दा भनेको थियो । साहुजी पनि मख्ख पर्दै हाँसी दिएका थिए ।
************** ************** ************* *************** ************* *************
उसको परकाशेको बोली ति साहुजीको नानीको जस्तो कहिल्यै भएन ।
"खोला बढेको बेला माछा मार्न नजा भनेको हैन ?" सन्तेले माछामा खासै ध्यान दिएन ।हुन पनि खोला बहुलाएको छ हिजो देखि ! अस्ति सम्म सुसेलि मार्ने खोला हिजो देखी ठूलो आवाजमा बग्न थालेको छ । थोरै माथी भएको घरमा स्पष्टै सुनिन्छ । हुन त त्यो खाली खाली घरमा त्यहि खोलाको आवाज न हो सुनिने !!
"यहि माछा बेचेर मेरो स्कुलको फि तिर न! मलाई दिनदिनै किच किच गर्छन् , बालाई लिएर आउ भनेर !"
सन्तेको चित्त चिरिए जस्तो हुन्छ !
साहुजी भेट भए लगत्तै उ बजार उकालो चढेको थियो , छोरोलाई पढाउन "लिटल फ्लावर्स" खोज्दै ! एक मुठी पैसा बुझाएपछि प्रकाश पनि एक भारी किताब बोकेर लिटल फ्लावर्स जाने भएको थियो ।शुरु शुरुमा त घाटमा उसको मात्रै दाउरा बिक्री हुन्थे । बजारबाट झरेका मलामी पनि उसलाई चिन्थे । सन्तेकै बाट किन्थे। तर आजकल दाउरा बेच्ने धेरै भए की मान्छे कम मर्न थाले सन्तेले खुट्याउन सकेको छैन । कहिलेकाहिँ सुर्ती माड्दै उ सोच्छ कस्तो संसार मान्छे मरुन् भन्ने रहर पालेर बसेको छ उ । स्वार्थ नहुँदो हो त संसार चल्दो हो ?
सानो प्रकाश उसको बिचार विथोल्छ "  बा के सोचिराको ?"
प्रकाश तिर हेर्दै उ खैनी मुखमा चेप्दै प्रश्न गर्छ "तँलाई थाहा छ , यो खानुहुन्न !"
प्रकाशको निधारमा प्रश्नवाचक रेखाहरु देखिन्छन् खान नहुने भए उसको बाउले किन खायो । अनि खाँदै उसलाई खानुहुन्न किन भन्यो । मिठो भएर माग्छ भनेर पो हो की । तर माछा त बाँड्नेले यो किन नबाँड्नु। माछा भन्दा मिठो त पक्कै नहोला !
 प्रश्न टार्न प्रकाश हाँसिदिन्छ । सन्ते साहुजीको छोरीलाई सम्झिन्छ । प्लाष्टिक कुहिन्न पनि थाहा छ । उसको छोरोलाई खैनी खानुहुन्न पनि थाहा छैन । उसको छोरालाई पैसा नतिरुन्जेल राम्ररी पढाउँदैनन् की लिटल फ्लावर्समा ? उसलाई डर लाग्छ । केहि गरी दाउरा आज भोलीमै बिक्री गरेर स्कुलको फिस तिर्न जानु छ ।
"तँलाई कुहिने झोला दिएनन् स्कुलमा ?"
"त्यो त नगरपालिकाले बाँडेको रे !" प्रकाश उत्तर फर्काउँछ। सन्ते खैनी पिच्च थुक्दै तमोर तिर हेर्छ । ठूलो रुखको हाँगा बगाएर लिएर आएको छ खोलाको बिचमा !उ हाम फाल्न सक्दैन । विचमा छ । उसलाई नै पनि बगाउन सक्छ । प्रकाशलाई कसले पाल्ने फेरि ?
“नगरपालिकाले हुनेखानेलाई चाहिँ किन बाँड्ने रैछन् ?” सन्ते फेरि प्रश्न राख्छ । उसको सानो छोरालाई उसले प्रश्नको भारी बिसाएको होइन । आँफैले आँफैलाई राखेको होला । आफू सँग राखेको प्रश्नको उत्तर कता बाट पाउनु ? उसलाई थाहा भए त प्रश्न प्रश्नै हुने थिएन । प्रश्नको अस्तित्व उत्तरको अनभिज्ञतामा हुँदो रहेछ । नयाँ ज्ञान पाउँछ सन्तेले !!
“नगरपालिका पनि बजारमा छ नि त , उनीहरुकै घर नजिकै !” अनायसै प्रकाशले उत्तर फर्काउँछ । ठिक हो कि बेठिक सन्तेलाई थाहा छैन । पहिलोले प्रश्न गर्छ ,दोश्रोले उत्तर दिन्छ ठिक बेठिक छुट्याउन तेश्रो नभए उत्तरमा विश्वास नै नहुने !!
“तँ यहिँ बस है ! म हिजो काटेको हाँगा छिमल्छु !”
प्रकाश टाउको हल्लाउँछ ।
********** ************* ************** ************** *********** *******************
“खोलालाई अंग्रेजीमा के भन्छ साँच्ची ?” सन्ते प्रकाशलाई भारी बनाइसकेपछी प्रश्न गर्छ ।
“पढाकै छैन त्यो त !” प्रकाश फेरि टारिदिन्छ ।
“हन तेरो स्कुलमा केहि पढाउँदैन कि के हो ?” सन्तेलाई झनन्न रिस उठ्छ ।
“गर्मीमा काम गरेर आए, त्यत्तिकै रिसाउँछन् !”
“तै पनि !” सन्ते थोरै शान्त हुन्छ ।
“पछाडी होला नि त ,अंग्रेजी किताबमा ! भरखर शुरु शुरु को पढाउँदैछन् त !”
“यति नजिकै को खोला किन पछाडी राखेछन् त किताबमा चाहिँ !”
प्रकाश सँग केहि उत्तर छैन । उसको बाउ स्कुलमा उसका साथीभाइले सर मिस सँग भन्दा धेरै प्रश्न गर्छ । कहिलेकाहिँ त प्रकाशलाई नि झर्को लाग्दो हो । तिमी पनि पढ्न आउ भन्दिन मन लाग्दो हो । तर उसको लिटल फ्लावरको फिस चर्को छ । बाउ पनि पढ्न गए दाउरा कसले बेचिदिने । यो उमेरमा बाउलाई स्कुल ड्रेसमा कस्तो देखिँदो हो । अझ हाफ पायन्ट लाए भने ! प्रकाशेलाई हाँस उठ्छ । हाँसो लुकाउन मुख अर्को तिर फर्काउँछ ।
**************** **************** ************* **************** **********************
“बा परबाट लर्को झर्यो त , मलामी हुन जस्तो छ !”
प्रकाश परको कमिलाको ताँती जस्तो मान्छेको हुल हेर्दै भन्छ ।
आज त अरु दाउरा बेच्ने पनि छैनन् । उ दाम कस्न सक्छ । उसलाई खुशि लाग्छ । कोहि नभएको बेला आउने भए । आज त बजारै उस्को । यतिमा त मिल्दैन , हुँदैन भन्न पाउने भो । अनि प्रकाशेको स्कुलको फिस । भोली नै बुझाउनुपर्ला । मनभरी योजना बन्छन् । धन्न थोरै अघि उसले भारी बनाएछ । के ले अह्रायो कुन्नी ! त्यतिखेर अल्छि लागेर पल्टेको पनि जुरुक्क उठेर भारी बनाउन गयो । अचम्म ।
मान्छेहरु नजिकै आउँदा ठूला हुँदै जान्छन् । एउटा नजिकै आएर सोध्छ ।
“दाउरा कतिको एक भारीको ?”
“हजार !”
“तोइट हजारमा त टायर आउँछ !”
“आफ्नो आफन्तलाई टायरमा बाल्नुहुन्छ भने त कसको के लाग्छ र !” उ च्याठ्ठिन्छ ।
सोध्ने मान्छे यता उता हेर्छ । आज दाउरा बेच्ने अरु छैनन् । सन्तेलाई पनि थाहा छ । आज उपाय छैन ।
“को हुन् मान्छे चाहिँ ?” सन्ते प्रश्न गर्छ।
“बजारमा ठूलो किराना दोकान छ नि ! त्यसैका साहुजी !!”
सन्तेलाई के भन्ने आउँदैन । आ यस्तै त हो मान्छेको जुनी भन्न पनि सक्दैन । छोरीलाई ल्याएनन् होला मलामी ।
“वुवा नगइस्यो नगइस्यो” भन्दै रोइ होली । साँच्चै उ मरे प्रकाशे कसरी रुँदो हो , प्रकाशे त पक्कै “ बुवा नजाउ , बुवा नजाउ” नै भन्दो हो ।
“चिनेकै मान्छे रछन् , मिलाएर दिनु न त !” अनायसै सन्ते मन बदलिदिन्छ । भारी उठाउन तिन चार जना मान्छे थपिन्छन् । उ पनि भारी सँगसँगै खोलातिरै जान्छ । एक छिन आगो बलेको हेरेपछि सुस्तरी फर्किन्छ । प्रकाशे किताव लिएर पढ्दैछ । उफ्रिदैँ आउँछ उसको छेउमा
“मैले तिमीले सोधेको पत्ता लाएँ !”
“के !”
“रिभर भन्दो रैछ !”
“के भन्छ ?”
“खोलोलाई के अंग्रेजीमा ! नजिकैको कुरा त पहिला पढ्नुपर्छ भनेर मैले पनि खोजेरै पत्ता लाएँ !”
सन्ते प्रकाशलाई हेर्छ अनि परको सुसाउँदै गरेको तमोरलाई !!!