उसको घरमा अन्तत: रेडियो आयो ।
चौतारोमा जब जब बिकासका ,सम्वृद्दीका कुरा हुन्थे , उसलाई लाग्थ्यो उ अर्कै युगमा
छ अनि गाउँ अर्कै युगमा । सबैलाई गाउँका सबै कुराको जानकारी छ, मात्र उसलाई छैन ।
एक दिन पिँढीमा उपरखुट्टी लाएर सिरानीमा पल्टिँदै गर्दा परको थुम्कोमा जंगल हटाएर
ठड्याएको टावरमा बलेको बत्ति देख्यो । त्यो रात खोइ किन हो तारा थिएनन् आकाशमा ।
त्यो बत्तिको प्रकाशमा तारा देखिन्नन् अरे ।अनि त्यहि बत्ति हेर्दै उसले निष्कर्ष
निकाल्यो । उ पछाडी परेको सुचनाको पहुँचले नै हो। आजकल गाउँका बिकासका कुरा एफएममा
फुकिन्छन् । उ सँग रेडियो हुनु उसको आवश्यकता हो । जसरी पहिला पहिला खेत जोत्ने हल
गोरु , त्यसरी नै अहिले रेडियो । जम्मा
गरेको पैसाको बिटो गन्यो ।पाँचका, दशका, बिसका नोट जोडेर करिब एघार बाह्र सय भए ।
करिब तिन घण्टा हिँडेर गाउँको बजारमा पुग्यो । धेरै बेर मोलतोल गरेर , दँशैको खसी
जस्तै धार्नी तौलेर उसले रेडियो उठायो । अनि दुइवटा ब्याट्रि साहुसँग जबर्जस्ती
गरेर भए पनि सित्तैमा माँगेर उ घर फर्क्यो । यसरी अन्तत: उसको घरमा रेडियो आयो।
**********************
******************* ************** *************** **************
गाउँको बाटो उसको घरभन्दा चार कान्ला
माथीबाट जाने भएछ र त्यसको लागि जनश्रमदान
जुटाउन पनि एफएम रेडियोले फुक्यो र साथै चौतारोमा बृहत छलफलको लागि एघार बजे भेट
हुन पनि एफएमले नै निमन्त्रणा दियो । आफ्नु उपरखुट्टी लगाएका खुट्टा र एउटा हातमा
भएको एफएम गुन्द्रीमा पल्टिँदै सुनेर उ दंग नै पर्दैथियो त्यत्तिनै बेला झण्डै
उसले एक हातले मात्र समातेको हुनाले रेडियो उसको मुखमै बज्रियो । अर्को हातले कसो
कसो गरेर रेडियो त समात्यो तर उपरखुट्टी लगाएका मध्ये एउटा खुट्टा नखुलेर उसले खुट्टा
सड्कायो । बिस्तारै खोच्याउँदै उठेर विचार गर्यो , सँधै हातमै राखेर यो रेडियो त
पक्कै सुन्न सकिन्न। यसलाई झुण्ड्याउने ठाउँ नि चाहिन्छ । उसको माटोको घरमा बल्ल
बल्ल ढोकाको छेवैमा काँटी हाल्ने ठाउँ भेट्टायो । आज भेला हुन जाँदा यसको झुण्ड्याउने
पनि सिलाउनु पर्ला मनमनै विचार गर्यो । बाहिर निक्लेर घाम हेर्दै सोच्यो , ओहो
ढिलो पो होला की ? । हतार हतार इष्टकोट र टोपी भिरेर चौतारी तिर लाग्यो ।
************* **************
****************** **************** ************** *********
चौतारीमा जमिन्दार बा चिच्याउँदै थिए
।
"तँपाइहरुले काठमाण्डौको रिंग
रोड देख्नु भएको छ ? त्यसले शहरलाई जोडेको छ नि । हो त्यस्तै ठ्याक्कै ! यो बाटो
नि यो गाउँको रिंग रोड हो !"
उ काठमाण्डु गएको छैन । उसले
जमिन्दार बाले के भनेको खासै बुझेन । उसले बाटो चाहिँ महत्वपुर्ण रैछ भन्ने बुझ्यो
। जस्तो उसको लागि रेडियो , त्यस्तै उसको गाउँको लागि बाटो ! रेडियो भन्ने
बित्तिकै उसलाई याद आयो "अहो, रेडियोको लागि झुण्ड्याउने खोल बनाइ माग्न
पर्ने छ । हरि दाइ छन कि छैनन् होला टेलरमा !" जमिन्दार बा तिर पुलुक्क
हेर्यो । जमिन्दार बा अझै बरबराउँदै थिए चौतारी माथी उभिएर ।
"हैन बाटो कताबाट, कसरी जाने
छलफल हुनु पर्दैन , बिचमा पानीको मुल पनि छ ,अहिले भनेको ठाउँबाट लाने हो भने त
!" तलतिर बाट एउटा केटो चिच्यायो । उसले त्यसलाई पुलुक्क हेर्यो । यो कुरा
पनि पक्कै उसले रेडियो सुनेरै थाहा पायो होला पहिला पहिला !
"यो बजेट अहिले चलाएन भने
फर्किन्छ ! फेरि आउन्न !!" जमिन्दारले अन्तिम अस्त्र फ्याँके !!
सबै चुप लागे , बिकास रोकिनु हुँदैन !!
सबै चुप लागे , बिकास रोकिनु हुँदैन !!
छेवैको मान्छेले अर्को मान्छेलाई
खुसखुस गरेको पनि उसले सुन्यो
"यी बुढालाई बोल्ने ठाउँ पाउनै
हुन्न भाषण दिन थाली हाल्छन् !" एउटाले भन्यो
"अध्यक्ष चाहिएको होला !"
अर्कोले भन्यो
"पैसा खान पाउँछन् नि त !"
तेश्रोले भन्यो
"हुन त गाउँको लागि पैसा
ल्याउने यिनै हुन् , अब मह काट्नेले....." चोथोले बाक्य सक्न भ्याएन।
बिचमै सवैले पटटट तालि बजाए । उसले
त्यस पछिको खासखास खुसखुस खासै बुझेन। आ बाटो आएको राम्रै हो भन्यो अनि चित्त
बुझायो । जमिन्दार बा चौतारी बाट तल झरे । भिँड तितरबितर भो । उसलाई हरी दाइकोमा
छिट्टो पुग्नु छ । फेरि हरि दाइ खाना खान निस्के भने रेडियोको खोल बनाउन ढिलो
हुन्छ ।
**********************
****************** ******************** ************* ************
"दाइ एउटा रेडियोलाई खोल बनाइदिनु
न !"
हरीदाइले पुलुक्क उसलाई हेरे !
"भ्याउँदिन होला हौ भाइ अहिले त
! बिहाको सिजन छ ! थुप्रो काम पो छ त !"
"हैन , रेडियो झुण्ड्याउने ठाउँ
नै भएन !" उसले कपाल कन्यायो !
"एउटा चोलो बराबरकै पैसा दिने
भए गरीदिन्छु !"
एक छिन घोइरियो !
"कति ?"
"तिन सय !"
"हैट , अलि मिलाउनु न !"
हरिदाइ को नजिकै गएर मायालाग्दो स्वरले बोली टोपल्यो !
"ल भइ गो ! मेरो काम छ भनी सकेँ
त !" हरिदाइ टिमुर्किए !
"लौ तिन सय नै ठिक छ नि त
!" उसले कुरा टुंग्यायो।
"कत्रो छ त रेडियो !"
"उ त्यो तँपाइको बजिरहेको
रेडियो जस्तै नै हो !"
"भोली आउ !"
उ टाउको हल्लाएर बाहिर निस्कियो ।
"धेरै पो तिरेँ की !" मनमनै सोच्यो । अनि फेरि सोच्यो " आ जे सुकै
होस् , मह काट्नेले हात चाट्छ !"
*******************
***************** ****************** ************* ******************
बडो दु:खले उसले काँटी ढोकामा ठोक्यो
। पहिला भान्छामा गएर सिलौटा खोज्यो । दुइ चोटी सिलौटाले काँटीमा हान्दै गर्दा
सिलौटा चोइटे जस्तो गरी केहि भुइँमा खस्यो । बुढीको अनुहार सम्झ्यो ! सिलौटा केहि
भइहाल्यो भने त उसकी बुढी पक्कै पनि रिसाउने छे । हत्तपत्त गएर सिलौटा भान्छामा नै
राख्दियो । एक छिन सिलौटालाई घोरिएर हेर्यो । सिलौटा पहिले जसरी राखिएको थियो,
अहिले पनि त्यस्तै हुनु जरुरी थियो । कसैगरी " कसले सिलौटा चलायो ?"
भनेर उसकी बुढीले सोधी भने उसले पैतालाले भुइँ कोतर्दै जवाफ फर्काउन सकोस्
"खोइ !!" अनि यता उता हेरेर जवाफ फर्काओस् "मलाई त थाहा भएन
!"
त्यसपछि ढुंगाको खोजीमा अलि पर सम्म
चाहार्यो । उसको घरमै माड्तल भइदिएको भए दुइ ठ्याक बजाए पछि काँटी ठोकिइ हाल्थ्यो
। हुन त उसले किन्न पनि खोजेको हो । तर फजुल खर्च किन गर्नु सिलौटाले काम चलिहाल्छ
भनेर नकिनेको ! भेटिएको ढुंगा नि नरम , तिन चार चोटी काँटीमा लाग्ने गरी हानेपछि
ढुंगै टुक्रिने जस्तो । जसो तसो काँटी ठोक्कियो । हुन त राम्ररी ठोकिएन होला तर
काम चल्छ । रेडियो जसो तसो ढोकामा अड्कियो !
****************** ***************
************** ************* ************** **********
"...... र आज दिउँसो २ बजे
सार्वजनिक सुनवाइको कार्यक्रम रहेको छ !" यति सुनिसकेपछि उसले घाम हेरेको
थियो । घाम ठिक्क टाउको माथी भएकोले करिब करिब बाह्रको छेउछाउ समय होला भन्ने
अड्कल गर्यो । बिकासका, सम्वृद्दीका कुरा उसलाई सुन्न साह्रै रहर लाग्थे ।
हत्तपत्त उ पनि चौतारी तिर उकालो लाग्यो ।
"तपाइँले बाटो बनाउने निहुँमा
घुसाउनुभएको डोजरले खानेपानीको पाइपै काट्यो उ बेला , क्षतिपुर्ती पनि पाएनौँ ।
हाम्रो खानेपानी उपभोक्ता समिति कति गाह्रो साह्रो गरी चलेको छ ! तिन दिन तिनवटा
धारामा पानी नै चलेन " उ चौतारीमा पुग्दा खानेपानीका अध्यक्ष राँक्किदै थिए ।
उ चौतारोको तलै बस्यो । माथीका मान्छेको अनुहार राम्रो सँग देखिने र बोली बुझिने
ठाउँमा !
"अब पाइप यहाँ यहाँ छ भनेर
तँपाइले बाटो खन्नु अघि भनेको भए पनि त हुने !" जमिन्दार ले जवाफ फर्काए ।
"गल्ती त्यतिखेर यी दुवैको हो
!" तलको एउटा मान्छेले खासखुस गर्यो
"दुवैलाई ठूलो हुनु पर्ने
" अर्कोले जवाफ फर्कायो
"बाटो पनि मुलको माथीबाट गयो र
यो सुख्खायाममा गाह्रो साह्रो पर्यो ! अब के गाउँलेले पानी किनेर चलाउने ?"
अध्यक्षको रिस शान्त भएन !
"अब मुल त सुकिगो , खोलाको पानी
पम्पले तानेर खुवाउनुपर्छ ! हुन त महँगो पर्छ महिनाको !! तर बजेट पार्न सकिन्छ
!!" जमिन्दारले उपाय सुझाए
अचानक खानेपानीका अध्यक्षको आँखा
चम्किए । सुस्तरी बोले !!
"बजेट पार्न सकिन्छ त ?"
"काठमाण्डौ धाउनु पर्छ, तर
सकिन्छ !"
तलका मान्छे खासखुस गरे
"दुइको कुरा मिले जस्तो छ
!" एउटाले भन्यो
"खोलाको पानी दिगो त हुन्छ
!!" अर्कोले भन्यो
"महँगो चाहिँ हुन्छ सबै घरलाई
!" तेश्रोले भन्यो
"आ अब पानी नै नखानु भन्दा त ,
पैसा तिरेकै जाती!" चौथोले भन्यो
"हेरी राख्नुहोला, यी दुवैले
घरको तला थप्छन् यहि बजेटले !" पाँचौले भन्यो
"आ छोड्दिनु मह काड्ने ले हात चाट्छ
!" छैठौँले भन्यो ।
उ भने सुनिरह्यो । पर हेर्यो घाम
अस्ताउन आँटेको छ । घर फर्किनु पर्छ । उ जुरुक्क उठ्यो । छलफल हुँदै थियो, उ चाहिँ
आफ्नो बाटो लाग्यो !
********* **************
**************** **************** ************** **************
ढोकाको तल रेडियोको खोलभित्र रेडियो
दुइ फ्याक परेर भुइँमा बजारिएको थियो । ब्याट्री पनि भुइँको अर्को तिर पुगेछ।
शुरुमा त के भएको उसले थाहा पाएन । के गर्ने पनि खुट्याउन सकेन । सबै टुक्राटाक्री
जम्मा गर्न तिर लाग्यो । अलि पर काँटी पनि देखेपछि मेसो पायो ।
"अहो काँटी हल्लिँदै थियो,
त्यहि झर्यो होला !!"
उ धेरै बेर ति टुक्राहरुलाई हेरेर
टोलायो । खोल नहालेर हातैमा सुनेको भए रेडियो खस्दैन थियो झैँ लाग्यो । भोलीपल्ट
रेडियो दोकानको भाइले हेर्दै भन्यो
"दाइ यो रेडियो बनाउनु भन्दा
नयाँ नै किन्न ठिक हुन्छ ।"
मनमनै सोच्यो । आजै देखि पैसा जम्मा
गर्न थाल्छु । अनि अर्को पल्ट खोल सिलाउनु पर्दैन । काँटी चाहिँ माड्तल किनेरै
ठोक्छु ढुंगाले ठोक्दिन !!!
No comments:
Post a Comment