सरिताको चिया पसल

त्यो बाटो कहिल्यै बन्ला जस्तो छैन । झन धुवाँ धुलो मैलाको त कुरै नगरौँ , सरिता आफ्नो चियापसलका टेवल सफा गर्दा गर्दा दिक्क हुन्छे । उसको पसलमा शहरले रुचाएको हरियो पर्दा छ । अनि त्यो हरियो पर्दामा धुलोका कणहरु टाँस्सिएका छन् । कस्तो आकर्षण ति धुलोका कणहरु र त्यो पर्दाको ! जन्म जन्मका प्रेमीजस्तो । उ बिहान उठ्छे, झट्कारेर छुट्याइदिन्छे ।विहानको पहिलो काम हो सरिताको । बेलुकासम्म चक्रपथमा दगुरीरहेका गाडीहरुले धुलोलाई हण्डर खुवाउँछन् । उ एक्लिन्छ । शायद धुलोको पनि मुटु हुँदो हो । आफुलाई अँगालो मारेर मैलिएको पर्दा सम्झिन्छ । साँझको गोधुली सँगै टाँस्सिन आइपुग्छ त्यहि पर्दामा ! उसको विश्राम भनेकै त्यहि सरिताको चियापसलको हरियो पर्दा । सरिताले नचाहनुको कुनै औचित्य छैन । यो आकर्षण कि खलनायक हो सरिता ! खलनायक भएको कारणले धुलोले उसलाई पिरोल्छ पनि ! त्यहि धुलोले होला , सरितालाई खस खस खोकी लागीरहन्छ । तर उ युद्दमा होमिएर बाँचेकी मान्छे । आफ्नो शरिर सँगको युद्द पक्कै जित्नेछे ।कुनै जमानामा उ एक हातले बन्दुक बोकेर माटोमा घिसारिन्थी । देश बनाउन घुँडा र कुइनाका छाला पिल्स्याएरै घस्रिएकी सरिता ! तर आजकल समय बदलिएको छ। आजकल उ मास्क लाउँछे । मास्क लाए पनि कहिलेकाहिँ कालो कफ  निस्किन्छ । वाहिर निक्लेर ख्याक्क थुकिदिन्छे । भुइँमा दाग वस्छ । उसलाई लाग्छ उ बालुवा थुक्दै छे । खस्रो बालुवा । भित्र छिर्छे , पानीले कुलुकुलु गर्छे अनि फेरि मास्क भिर्छे ।  किन आइ उ यो गन्धे शहरमा ? बाटो मैलो , शरिर मैलो उसले भेटेका मान्छे मैला उनीहरुका मन मैला ! आफुलाई एक्लै हुँदा ओल्टाइ पल्टाई हेर्छे ऐना अघि , खाटा बसेका धेरै घाउ पुरिन वाँकी छन् ।
यो शहरमा पानीको हाहाकार उ आउँदा भन्दा वढेको छ। नुहाउन राम्ररी पाउँदिन उ । नुहाए नै पनि त्यो धुलोले कपाल बेलुका फर्किउन्जेलसम्म अररो पारिदिन्छ । राती चिसोमा सिरकभित्र गुटमुटिन्छे । केहि बिर्सिए जस्तो लाग्छ उसलाई सँधै निदाउनु अघि । एक चोटी आफ्नो मोवायल बालेर यताउता हेर्छे । उसको छोरो अलि पर लडिरहेको हुन्छ मस्त निन्द्रामा । उसलाई देखेपछि उसले के बिर्सिएकी थिएँ भन्ने नि बिर्सिन्छे । उसको संसार , उसकै अगाडी मस्त निन्द्रामा छ । कोल्टे फेर्छे । उ हत्तपत्त निदाउँदिन । यो शहर सुत्दैन । राति पनि कर्कश ध्वनी उसको निन्द्रा बिथोलिरहन्छन् । हुन त उसको निन्द्रा पातलो छ । त्यहि भएर नि टाढाको मसिनो ध्वनी नि उसलाई कर्कश लाग्छ । एक चोटी निन्द्रा बिथोलिए पछि उ धनबहादुर को अंगालो सम्झिन्छे । त्यहाँ निन्द्रा राम्ररी लाग्थ्यो । त्यहाँ उ सुरक्षित महशुश गर्थी । उसलाई लाग्थ्यो उ कुनै सुरक्षा घेरा भित्र छे । जसलाई तोड्न गाह्रो छ । अहिले त्यो सुरक्षाको घेरा छैन । धन बहादुर यो संसारमा छैन । शायद छैन होला भनौँ । युद्दकालमा हराएपछि भेटिएन । बेपत्ता पारिएका नाममा उसको पनि नाम छ । आर्मीले मारेर खाल्डो खनेर पुरे भन्ने हल्ला उसले सुनेकी थिइ । त्यो युद्दमा उ दुई जिउकी हुनाले जान पाइन । जान नपाएकैले जोगिई । तर संसार खोसिएर वाँचेको पनि के वाँचेको ।
**************** **************** *************** *************** *************
उसकोमा चिया खाने अनुहारहरु दोहोरिन्छन् । कोटेश्वरको नाइट गाडी छोड्ने ठाउँ नजिकै भएकोले होला ,कहिलेकाहिँ  उपत्यका छोड्दै गरेका मान्छेहरु टुप्लुक्क झुल्किन्छन् । उ त उपत्यका छोड्न पनि सक्दिन । धन बहादुर सँगको बिहा आफ्नै जातको थिएन । क्रान्तिमा होमिएकी सरिताले घरमा नि त्यहि क्रान्तिकारी कुरा गरी । उसले सवै मान्छे समान छन् , तर हाम्रो समाजमा सामन्तीहरुको विगविगी छ भन्ने वुझी । धनवहादुर को नाम मा नाक खुम्च्याउँदा उसलाई आफ्नै परिवार सामन्ती लागे । उसको सिन्दुर पुछियो अनि अयोग्य लडाकु घोषणा भए पश्चात घर पुग्दा भाउजुले सजिलै भनिदिइन्
“यहाँ नवस्नुस् , हाम्रो पनि समाजमा इज्जत छ ।“
उसलाई लाग्यो उ मात्र हो गाउँमा इज्जत नभएकी । आठ कक्षामा हुँदो हो, उसले कलम फ्यालेर समाज परिवर्तनको लागि बन्दुक बोकेकी । अहिले त्यहि समाजमा उसको इज्जत छैन । हो त्यो समाज मान्छेलाई मान्छे गन्दैन । अझै पनि धनबहादुर मान्छे होइन त्यो समाजमा । युद्द बिचमै छोडेर भागेर आए जस्तो भान भो उसलाई । उसको युद्द टुंगिएको छैन । तर सरकारले उसलाई अयोग्य घोषणा गरिदिइ सक्यो । उसलाई फेरि फर्केर चिच्याउन मन लाग्यो “म अयोग्य होइन ! हेर मेरो घस्रिदाँ घस्रिदाँ मरेको छालालाई तिमीले मरेको छाला त  देख्नेछौ । तर मेरो सपना मरेको छैन । सपना मर्नेहरु अयोग्य हुन् । म अयोग्य हैन ।“
तर भाउजुको अघि चिच्याएर केहि औचित्य छैन , उसले केहि पनि बोलिन । एक रात बसी । रात भरी निदाइन । बिहानै भाउजुले नदेख्ने गरी दाइले खल्तिमा पाँच हजार हाल्न खोजे ।
उसले “पर्दैन , म सँग मेरो पैसा छ अलि अलि” भनी । दाजु अवाक भए ।
*************** ************** ************** **************** ************* ***
यो शहर स्वागत बडो गज्जप किसिमले गर्छ । शुरुमा आउँदा थोरै हण्डर भने सरिताले खाएकै हो । खासै धेरै पैसा उ सँग थिएन । पार्टीको लेवि तिरेर थोरै बचेको थियो । उसले चिनेका पनि तिनै पार्टिका मान्छे ! खासै साथ दिएनन् । धनवहादुरको काकाले केहि शुरु गर यहि पैसा बाट , सानोतिनो चियापसल चलाए हुन्छ भनेर सल्लाह दिए । शुरुमा एउटा काठको टेवल बाट शुरु गरेको चिया पसल अहिले सटर सम्म पुग्यो  । सबैले चिया ल्याउँदाको उसको मुस्कान देख्छन। त्यो मुस्कान पनि चिया बिक्री हुने कारण मध्येको एक होला । धन्न , मन भित्रको लुकेको पिडा देख्दैनन् । लुकेको मन भित्रको धुवाँ देख्न आँखा पनि मनसँग जोडिएको हुनुपर्छ । छोरो भाडा माझ्न अलि अलि सघाउँछ । सानै छ ।
उ मायाले “पढ पढ म आफै गर्छु” भन्छे । उ टेवलको एउटा कुनामा पढ्न वस्छ । इंग्लिस स्कुलमा एक कक्षामा पढ्दै छ। हुन त स्कुल महँगो छ। उसले पढ्ने गरेको स्कुलमा पैसा तिर्नु पर्दैन थियो । तर उसले आठ कक्षामै जनयुद्द मा लाग्दा छोडिदिइ । स्कुल महँगै भए पनि उसको चिया पसलले धानेको छ। उ पढ्ने स्कुलमा संस्कृत लगायत अन्य वुर्जुवा शिक्षा पढाइ हुन्थ्यो , छोराको स्कुलमा पढाइ हुने बुर्जुवा शिक्षा हो कि होइन छुट्याउन सक्दिन  । उमेर ढल्किँदै छ , शिक्षा पद्दतिमा आजकल खासै ध्यान पनि दिन्न । एकचोटी सोधेकी भने थिई “तेरो किलासमा संस्कृत पढाइ हुन्छ ?” । उसले हुँदैन भनेर टाउको हल्लाइदियो । त्यसपछि मौन छे । आठ सम्म पढेकी उसलाई मुस्किलले थोरै अंग्रेजी आउँछ । छोराको होमवर्क सिकाउनलाई पनि हम्मे हम्मे पर्छ । कहिलेकाहिँ अतालिन्छे , सोच्छे “ पछि तिन चारमा पुगेपछी कसरी सिकाउने होला ?” । कहिलेकाहिँ छोराको स्कुल पनि जान्छे । सरहरु राम्रो पढाइ छ भन्छन् । खुशी हुन्छे , फर्किन्छे ।
************************ ***************** ******************** ****************
उनीहरुले तिरेको लेवी मा ठूलो घोटाला भयो भनेर एक चोटी पत्रिकामा पनि आयो । उसले घोरिएर हेरी । जवाफ थिएन ।
पत्रिका पट्याएर राख्दिई । छेवैमा सँधै आउने लामिछाने अंकल कराए
“नानी मिठो चिया खुवाउ त ल !”
लामिछाने अंकल छैवैको सटरमा पत्रिका वेच्छन् । शनिवारको दिन , छोरो नि छेवैमा थियो । बनाएर “जा त पुर्याइदे” भनेर अह्राइ । त्यहि दिन दिउँसो उसका दुइ चार जना साथीहरु आए अनि भने
“जौँ हिँड पार्टी कार्यलय घेर्न जानु पर्छ , हामी अयोग्य होइनौ !”
धेरै वर्ष वितिसक्यो । उसलाई उसको गाउँ अनायसै सम्झना आयो । उ नितान्त एक्ली छे । उसलाई थाहा पनि छ , पार्टी कार्यलय घेरेर केहि हुनेवाला छैन । कहिलेकाहिँ आफ्नो हत्केलाका डामहरु हेर्दा उसलाई लाग्छ उसले धेरैलाई त्यहि हत्केलाले बोकेर सफलताको शिखर चढाइ । धेरैले उसको हत्केलामा कुल्चेर चढे । फर्केर कसैले हेरेनन् ।
“जान्न म , आज चिया वेचिन भने भोली छोरा भोकै सुत्छ ! यसलाई कसले कमाएर खुवाउने ” सरिताले रुखो जवाफ फर्काई
“कस्तो लाछिको जस्ता कुरा गरेकी ?” एउटा साथि प्याच्च बोल्यो
“लाछि भए लाछि नै सहि !”
उ भित्र छिरी , टोली तितरवितर भयो । त्यहि रात उसले जतन गरेको सन्दुकबाट पत्रिका का कटिंगहरु झिकी । उसले सम्हालेर राखेका केहि पत्रिका का टुक्राहरु जस्मा “वेपत्ता आयोग , वेपत्ता पारिएकाहरुको छानविन” जस्ता समाचारहरु थिए ।
“के हो आमा?”
छोरोले टाँसिदै सोध्यो ।
“केहि होइन , होमवर्क सिद्दियो ?”
उसले सुस्तरी सोधी । उसले सकियो भनेर टाउको हल्लायो ।
“पढ्नु पर्छ है बा , ठूलो मान्छे हुनुपर्छ !” उसले कपाल सुम्सुम्याई । छोराको कपाल धनबहादुरको जस्तै पातलो छ । छोराको कपाल, उसको आँखा देख्दा प्रायशः उ धनबहादुरलाई सम्झिन्छे ।  असरल्ल समाचारका छरपस्ट टुक्राहरुलाई फेरि पोको पारेर सन्दुकमै राखिदिई । त्यो रात धनवहादुर सपनामा आयो सुस्तरी उसको कानमा भन्यो
“तिमी अयोग्य हैनौ , मलाई गर्व छ तिमीमा ! तिमीले म विना पनि जीवनको युद्द लडेकी छ्यौ ”
भोलिपल्ट कार्यलय घेराउको खवर पत्रिकामा आयो । खासै ध्यान दिइन । छेवैमा उसका पुराना नेताहरु मध्ये एक ले “आर्थिक समृद्दिमा ध्यान दिनुपर्ने” भनेछन्  अनि अर्का नेताले भने “पार्टि टुक्रिएकोमा चिन्ता व्यक्त गरेछन् । कुनै चुट्किला जस्तो मानेर उ हाँसी, धेरै पछि ।
छोरो छेउमा आएर सोध्यो “के भयो आमा ?”
उसले हाँस्दै भनी “केहि होइन बाबा , एउटा कुरा पत्ता लाग्यो !”
“के आमा ?” उसले उत्साही हुँदै सोध्यो

“म अयोग्य हैन !”