ना.२.ख. ४३१७

उ रातका अन्तिम प्रहरमा खुइय सुस्केरा काड्दै भन्छ।
" मलाई थाहा छ म तँलाई माया गर्दिन। तर एउटा प्रश्नले मलाई पिरोल्छ सँधै, तँ मलाई माया गर्छेस् कि गर्दिनस् !"
म उत्तर खोज्छु। भेट्दिन, अनि जवाफ फर्काउँछु ।
"मैले माया के हो कहिल्यै थाहा पाइन, मैले त जे गरेँ मात्र सम्झौता गरेँ !"


सडक विभागले मेरो झ्यालवाट वाहिर देखिनेवाटोमा खासै ध्यान दिँदैन। उनीहरुको हजार किलोमिटरमा ति केहि मिटरले कति नै महत्व राख्लान र ! तर मेरो त परिधि नै त्यहि। वाटो धुले भएको छ।मेरो जीवनमा पनि धुलोले मन छोपिदिएको छ। म मन खोजिरहन्छु धुलोमात्र फेला पर्छ। तल खोला सुसाउँछ,त्यो सुसेलीले मलाई वोलाए झैँ लाग्छ।मेरा दिनहरु याद दिलाउँछ। पछाडीवाट केटाहरु सुसेली वजाउँथे, खोई के देखेर पो वजाउँथे ! एक मन ले रिस उठ्थ्यो,एक मनले गर्व लाग्थ्यो केहि देखेर न वजाउँथे। म पछाडी फर्केर रिसाइदिए जस्तो गर्थेँ। अनि मनमनैँ मुस्कुराउँदै अघी वढ्थेँ।अहिले सोच्छु समय त्यहिँ अड्किए कति जाति हुन्थ्यो। तर समयका आफ्नै नियमहरु छन् ।अटेर हुनु उसको यथार्थ हो।
मेरो घरको टिनको छानो पानी पर्दा अनवरत कराइरहन्छ। म त्यसलाई सुनेर वस्छु। जव जव पानी पर्छ मलाई धुर्वेको याद आउँछ। उसको ४३१७ ग्याँसका सिलिण्डर काठमाण्डौ पुर्याउन यहि वाटो आउँछ। मलाई हरेक ट्रकमा उहि छ जस्तो लाग्छ। पानी परेको रात त झन उसको याद गहिरिन्छ। तलको खोलाको सुसेली उसका सुस्केरा जस्ता लाग्छन्।सामान्यतय उसको ट्रक हफ्ताको दुई चोटी यो वाटो कुद्छ। मेरो जीवन लाग्छ त्यहि ट्रकका पांग्राको भरमा रोमान्चक यात्रा गरिरहेछ।उसले उसको ट्रकको अघिल्लो भागमा अरु ट्रक ड्राईभर जस्तै नक्कल गरेर कागति र खोर्सानी झुण्ड्याको छ। कसैको आँखा नलागोस भनेर गरेको अरे! मेरा आँखा भने उसैमा लागिरहन्छन्। पछिल्लो चोटी कागती कालो भइसकेको देखेको थिएँ। त्यसको शक्ति क्षिण हुँदैछ,शायद!
धुर्वेले किन्देको मोवायल आज वज्यो। उ आज राती आउँछ।मेरो मन फेरि खुशी भयो।छुँदा चल्ने मोवायलले मेरो औँलामा नै काउँकुति लागे जस्तो भाको थियो।
 "कस्तो मोवायल किन्दिस हौ, कहिले उठाउन नजान्ने, कहिले काट्न नजान्ने !" मैले मनमनै खुशी हुँदै भनेकी थिएँ।
" तैँले छोएपछि मोवायललाई पनि काउँकुति लाग्यो होला नि त !" उसले पनि मलाई अंगालोमा वेर्दै भनेको थियो।
"मलाई मात्रै किन्दिन्छस् ,घरमा वुढी छोरीलाई केहि लग्दिदैनस् काठमाण्डौको चिनो ?" मलाई लाग्यो, वेक्कारमा सोधेँ यो प्रश्न , किन कोट्याइदिएँ उसको स्वास्नीप्रेमलाई मेरो तातोमा वसेको वेला। उसको माया त ओदाने माया हो तिनतिर फर्केको! वेक्कारमा एउटा खुट्टो अर्कोमा जोडिदिएँ!
उसको मौनता चिच्याएर भन्छ!
"म तँलाई माया गर्दिन मेरी स्वास्नी जत्ति, मेरी छोरी जत्ति !"
म दोधारमा पर्छु ! के हो त यो ? जव सम्वन्धका नाम हुन्नन् तव सम्वन्ध जटिल हुन्छ। खोइ के ले पो वाँधेको छ हामीलाई! टाँसिन्छौ,थाकेर छुट्टिन्छौँ !फेरि टाँसिन्छौ अनवरत !
धेरैजसो उ मेरो छेउमै वस्छ। अनि मेरै दोकानमा वेच्न राखेको रक्सीका वोतलहरु खोल्छ! तातो पानी मिसाउँछ ।सुरुप्प पार्छ,मेरै छेउमा! उसको रक्सिको लतले गर्दा न हो उ मेरो नजिक भएको ! तर पनि मलाई उसले रक्सि खाएको मन पर्दैन। उ खराव लतमा नपरोस् भन्ने लाग्छ एक मनले, त्यो मन उसको लागि म राम्रो लत हुँ वा खराव लत भने छुट्याउन मान्दैन।
"मैले भनेको मान्छस् भने रक्सि छोड्दे !" म उसलाई भनीरहन्छु।
"तेरै व्यापार चौपट हुन्छ भनेर डर लाग्छ नत्र त उहिले छोड्दिन्थे!" धुर्वे खिस्स हाँस्छ। अँध्यारोमा सामान्यतय म उसको हाँसेको अनुहार देख्दिन। मात्र अनुमान लगाउँछु। जीवन अनुमान लाउँदा लाउँदै वितेको छ मेरो!
********** ********* ********** ******** ********* ********** ********* *********
"जा नुहाएर आइज, गन्दे मोरो !" शर्ट खोल्ने वित्तिकै पसिनाको गन्ध मैले सहन सकिन। गन्जि पनि कालो रातभर नै  निसास्सिएला भन्ने पिर भयो मलाई! त्यसै त एउटा मात्र कोठो त्यसमाथी एउटै खाटमा कम्तिमा सात घण्टा !
"कति कराउँदि रछे,तौलिया दे न त !" उसले नाक खुम्च्याउँदै भन्यो।
अघिल्लो चोटी उसले छोडेको तौलिया मैले सम्हालेर राख्देकी थिएँ।मेरा सम्झना जस्तै पोको पारेर।
" ला तेरो अस्ति सम्मको पैसा तिरे मैले !" उसले तिनहजार मलाई दिँदै भन्यो ! मैले हिजो मात्र हिसाव गरेकी थिएँ उन्नाइस सय भएको थियो खर्च ! अर्को हजार किन त ? मैले शरीर वेचेकी हैन! उसलाई चिथोर्न मन लाग्छ कहिलेकाहिँ जव उ मलाई वढी वढी पैसा दिन्छ।
"दुइ हजार पनि पुगेको छैन , यो अर्को हजारको नोट किन ?" म थोरै वटारिएँ।
"राख न राख, तेरो पनि घर खर्च टर्छ!" उसले कपाल कन्याउँदै सँधै जस्तै वहाना वनाइदियो।
"एक्लो ज्यानलाई के घर भन्छस्!"
"वना न त दुक्लो ज्यान !! विहे गर, घर वना !" उसले स्टोभमा चुरोट झोस्दै निरस उत्तर फर्कायो।
मैले उसको अनुहार हेरेँ ! मलाई गिज्याएँ झैँ लाग्यो। लाग्यो उ मवाट टाढा हुने वहानाहरु खोजीरहन्छ। तर आफु टाढा हुन भने सक्दैन। म टाढिदिए उसलाई पनि सजिलो हुन्थ्यो जस्तो गर्छ। मलाई चस्स विझ्छ। म उसको घरवार राम्ररी नै चलोस् भन्ने चाहन्छु। उसको स्वास्नी सँग मेरो कुनै वैर छैन, उसकी छोरीको फोटो मैले देखेको छु, चिटिक्क परेकी छे पुतली जस्ती। मलाई त्यो सानी छोरीले उसको वाउ अर्कै आइमाइसँग सल्किएको थाहा पाओस् भन्ने पनि छैन। तर पनि म उसको नाउमा छिद्र खोज्छु,लाग्छ यात्रा टुंगियोस् ,डुवौँ हामी दुवै वरवाद भएर ।त्यसरी मात्र भेट्टाउनेछु मैले धुर्वेलाई!
"मेरी वुढी पैसा कम कमाइस् भनेर गनगन गरिरहन्छे!" उसलाई खाना खाँदा किनकिन उसको वुढीको याद आयो।तर सम्झिँदा पनि गनगन सम्झियो। के प्रतिकृया जनाउनु पर्ने खुट्याउन सकिन।
"कमाको मैमा खर्च गर्छस् त , के भनोस् विचरी !!"
उ चुप भयो।उसको मौनता खेलाई रहेँ। मेरो लागि खेलौना न हो उ ,खुशी खोज्ने खेलौना। उसको मौनता पनि ओढुँ ओढुँ लाग्छ पानी परेको रातमा!
" तँ वुझ्दिनस् कुरा, म तिमीहरु दुवैलाई एकै नजरले हेर्दिन !!"
"म तँलाई वुझ्न चाहन्न,म सँग भएको वेला वाँड्न पनि चाहन्न !" उ फेरि मैतिर कोल्टे फर्कियो। रात छिप्पियो, उ पोखियो रित्तियो अनि मलाई अँगालोमा वेरेर निदायो। रातभरी नै म उसका वारेमा सोचीरहेँ।म उठ्नु अघी नै उ उठ्यो ,आफ्ना लुगा लगायो।
"चिया खान्छस् ?"
उसले टाउको हल्लायो। म अल्छि गर्दै स्टोभसम्म पुगेर पानी तताएँ।
"तँलाई म सँग कहिलेकाहिँ त धेरै रिस उठ्दो हो है ?"
"किन रिसाउनु?"
उ सँग उत्तर छैन। उसले चिया सुरुप्प पार्यो। उत्तरको मौनतामा उसको चियाको आवाज पनि ठूलो सुनियो।
"अव कहिले आउँछस् ?"
"थाहा छैन!"
"ला तेरो उन्नाइस सय !! वुढीलाई साडी किनेर लग खुशी हुन्छे !" मैले उसको पैसा उसैलाई फर्काइदिएँ।उसले लिन मानेन।
"पैसा लाँदैनस् भने फेरि नआइज यहाँ !!" म रिसाए जस्तो गरेँ। मेरो कृत्रिम रिसले उसलाई पगाल्यो। उसले हात पसार्यो।मैले पैसा थमाइदिएँ। धेरै वेर मेरो अनुहारमा केहि खोजिरह्यो। भेट्टायो भेट्टाएन थाहा छैन।फरक्क फर्कियो। आफ्नो झोला वोक्यो । तौलिया फेरि यहिँ छुट्यो।फेरि आउँछ भन्ने आशाको त्यान्द्रो !! ट्रक गुड्यो, मनमा अर्को पत्र धुलो जम्यो।ट्रकको पछाडी को "फेरि भेटौँला " एक चोटी फेरि पढेँ। धुर्वे फेरि पक्कै आउँछ होला!!!!

समाप्त

वर्डफ्लु

"वा हेर त !" उसकी छोरीले फेरि हात देखाई।रेखाहरु काला,धुस्रेमुस्रे, भविष्य नै कालो जस्तो,हत्केला चिरा परेका!
"के हेर्नु ?" उसले हातमा खासै चासो देखाएन।
"मेरो हात नी ! भाँडा माँझ्दा माँझ्दा यस्तो भइसक्यो !"
"विहे गरे पछी राख्छ नी तँलाई राजकुमारी वनार तेरो लोग्नेले !" उसले आँगनको कुनामा खैनी पिच्च थुक्यो। कुखुराको सुली र खैनी उस्तै उस्तै देखियो आँगनको कुनामा! उसको जीवन नै त त्यहि सुली र खैनीमा अड्किएको छ।एउटाले उसको जिव्रोलाई चलाउँछ एउटाले उसको जीवनलाई!
छोरी चुप भई।आज वाउको पारो तातेको वुझ्न उसलाई वेर लागेन।दलिनको रेडियोमा हिन्दी गित वज्दैथियो।छोरीलाई त्यो हिन्दी गित मन पर्छ।पुरानो, लताले गाको।उ डुव्छे प्रेममा जव जव त्यस्ता गित वज्छन्।छेउमै गएर वसी रेडियोको! उसलाई विस्तारै गुन्गुनाउँ लाग्यो, फेरि वाउको पारो सम्झी ,उसको मनको गित मनमैँ रह्यो।
"अनि आज पकाउँदिनस् भात ?" वाउ रुखै थिए।
"हैन के भाको आज तिम्लाई ?" उसले आँट गरेरै सोधी !सँधै त्यसो गर्दैनन् उसको वाउले ,आज केहि न केहि भएको लख काट्न उसलाई गाह्रो थिएन।
"सुनिनस् , वजारमा कुखुरा मार्न थाले रे !"
छोरीले छेवैको खोर हेरी। दाना खाँदै गरेका कुखुरा !भविष्य देखि अनभिग्य।चितवन झर्नेवेलामा पहाडको त सवै वेची नै सकेका थिए। थियो त त्यहि एउटा कुखुराको खोर अनि थोरै जग्गा !ति कुखुरा नै मारेपछी त जग्गाको माटो चाटेर पेट कति पो अघाओस्।
"कुनै पनि झोक्रेका छैनन् त ! तै पनि मार्छन् रे ?" उसको विचरो मनले,कलिलो प्रश्न सोध्यो
"यो जिल्लाकै मार्ने रे! कौडीको भाउ पनि नपाउने भए !" उसले कपाल कन्यायो । ऋण काडेर पालेका कुखुरा ! साउँ पनि उठाउन पाएनन्।
"त्यत्तिकै मार्न पाउँछन् त उनीहरुले ?"
"सरकार हो जे पनि गर्न पाउँछ !" उ न्यास्रियो। पहेँलो प्लाष्टिकको सुर्ती वेर्यो सेतो कागतमा!उसको आँखा त्यो सुर्ति वेरेको वेला मात्र सुर्ति मा ध्यान दिन्छन्। दुवै आँखा एकै ठाउँमा हुन्छन्।मानौँ कुनै मुर्तिकार एउटा अलौकिक मुर्ति तैयार गर्दैछ। जलेर जाने ठूटोमा कत्रो कला देखाउनुपर्ने उसलाई?
"सलाई ले ले !" छोरीलाई अह्रायो।
छोरी भित्र छिरी । रेडियो समाचार फुक्न थाल्यो।
"चुनाव मंसिर ४ मा जसरी पनि गराउने सरकारको प्रतिवद्दता! फेरि असफल नहुने शिर्षनेताहरुको दावी !"
उसले धेरै अगि किनेको पानासोनिक रेडियो करिव तिन महिना अघी विग्रिएपछि उसले हाटमा गएर नयाँ चाइनिज रेडियो किनेको। पहिला राम्रो वज्थ्यो गाउँनै थर्किने गरी,अहिले अलि अलि क्यार क्यार गर्छ।
"वा चुनाव साँच्चै हुन्छ त ?" उसले सोधी उसको वालाई, वा ठूलै राजनितिक विश्लेशक भए जस्तो !
"खोइ के था मलाई ?" हुनत वाउ पार्टिको झण्डा वोकेर पुरानो चुनावमा हिँडेकै मान्छे हो। तर चुनाव पछि मान्छेको चोला वदलिए, उसको पार्टि प्रतिको मन वदलियो। विस्तारै टाढियो पार्टी सँग!!
"कति खान मन लाग्छ हँ यो धुवाँ तिम्लाई !"
"पैसा डढेको भन न " उ ङिच्च हाँस्यो। भित्र पोलेको छ उसलाई, तै पनि हाँस्यो।वल गरेरै हाँस्यो।मान्छेको ढोंगि मुस्कान चिनिन्छ। तै पनि मान्छे मुस्काउन छोड्दैन। कति छोप्न मन लाग्छ मान्छेलाई सत्य!!
"कसरी तिर्छौ वा अव रिन ?" छोरीले थोरै चिन्ता देखाई।
"होला नि केहि जगेडा !" उसले आफ्नो चप्पलको छेउमै ठूटो झोस्यो। अनि निभाइदियो चप्पलले कुल्चेर।खरानी र माटो मिसिए।कालो माटोलाई एक छिन हेर्यो।केहि भेट्टाएन हेरीरहुँ लाग्ने!! उहि माटो ,उही ठुटो के नै पो भेटोस् खोजेर पनि।
"हैन त्यो सरकारले हाम्रो कुरा कहिले सुन्छ ?" उसकी छोरी रिसाइ थोरै सरकारसँग । उसलाई थाहा छैन, सरकारमा को को छन् । उसलाई यति मात्र थाहा छ। यो सरकारले कुरा सुन्दैन, उनीहरुको पेटमा लात हान्दैछ। अनि चुनाव चाँडै हुनेवाला छ, उसको कुरा सुनीनुपर्छ।
"तेरो राजकुमार पनि सरकारले खोजिदिनुपर्ने !" वाउ फेरि खिस्स हाँस्यो ! उसलाई आफ्नी छोरीलाई जिस्क्याएर एकैछिन मन खुकुलो पार्न मन लाग्यो शायद।
"खोज्दिन्छ होला सरकारले ! कुखुराको कुरा गरेको नि !"
"यो कर्मचारीको सरकार रे क्या ! नेताले मात्रै सुन्छन् रे जनताका कुरा !" उसले चौतारोमा एउटा ठुटे नेताले भनेका शव्द दोहोर्यायो ! तर उसले वुझेको छ, कर्मचारी नेताले भनेको मात्रै गर्छन् रे ! त्यो उसलाई अर्को ठुटे नेताले सुनाको!!
"खोइ मलाई त लाग्दैन नेताको पनि विश्वास !" उसकी छोरीले नेतामा पनि विश्वास गरीन।

"सम्विधानसभाको दोश्रो चुनावमा गल्तिवाट सिखेर अघी वढ्ने शिर्ष नेताको दावी !" रेडियो वोलिरह्यो।
"के को गल्ति हुनु नी रोग हो यो !" ठुटे नेता जुर्मुरायो उ भित्रको !! रेडियो नै फ्याँकिदिए जस्तो। आवेश के ले आयो थाहा पाएन, तर भित्रै वाट तातेर आयो उसलाई!!
"कुन रोग वा!"
"यी नेता सवै नामर्द छन् ,रोगी।।।। कोही केहि गर्न सक्दैनन् !!!" उ जंगिरह्यो।
"उ त्यो कुखुरा जस्तै वा? यिनलाई पनि मार्छ त सरकारले अव ?" छोरीको प्रश्नको उ सँग जवाफ छैन। उसले तिनै कुखुरा हेर्यो ।अनी नेता सम्झियो। छोरी ले भनेको हो हो जस्तो लाग्यो।





अमिगा

संसारमा सवैभन्दा वुझ्न सरल के हुन्छ ? केटिमान्छे । किनकी उ जव खुल्छे पत्र पत्र खुल्छे ।वुझ्न वाँकी केहि छैन जस्तो लाग्छ । अनी सवैभन्दा वुझ्न जटिल ? केटीमान्छे ! किनकी खुल्नु नखुल्नु उसको अधिकारमा पर्छ हाम्रो भागमा त मात्र उ खुल्ने प्रतिक्षा पर्छ।
"केरेस फुमार?" उसले आफ्नो ल्यावकोट फुकाल्दै सँधै जस्तै मलाई सोधी!
"नो केरो! तिमी सँधै मलाई चुरोट खाँदा मलाई किन लैजान्छौ, मलाई स्मोकिंग रुममा अफ्ठ्यारो लाग्छ !" मैले उसलाई नियाल्दै जवाफ फर्काएँ।ल्यावकोट जस्तोसुकै रंगिन मान्छेलाई पनि साधा,श्वेतश्याम देखाउँछ।उ नत्र त रंगिन छे।
"हिँड न, तिमी कफि पिउनु नि त !" उसले मेरो हात समातेर तानी !
"ओके,दुई मिनट ,एउटा रिडिंग लिनु छ , देन आइ एम फ्री !" मैले मेरो पिएच मिटर तिर आँखा डोर्याउँदै भने। उ छेवैको टेवलमा वसी। कालो कपाल,चुच्चो नाक,ठूला आँखा मैले एक चोटी उसलाई जिस्क्याएको थिएँ "नेपालमा तिमीले नवोलुन्जेलसम्म कसैले वाहिरको भनेर पत्ता लाउन सक्दैन !" उसले हाँस्दै जवाफ फर्काएकी थिई "नेपाली हुनलाई लाटी हुनुपर्ने रैछ !"
**************** ******************* *************** ******* ******* ***********
कोठा भित्र धुवाँको साम्राज्य थियो।मलाई धुवाँ मन पर्दैन तर उसको साथ र उसका कुरा मन पर्छ।मेरो निरस जीवनमा उ एउटा रंग हो। उसँगका वातहरु जीवनमा एउटा आयाम थप्छन्।मेरो वुझाइका आकार परिवर्तन गर्छन्। उ प्रत्येक भेटहरुमा मेरो क्षितिज चौडा गर्छे। त्यसैले मलाई मन नपरेपनि म उसको धुवाँको साथ दिन्छु।
"किन मौन ?" उसले मेरो ध्यान भंग गरी।धुवाँमा उसको आवाज मिसियो।
"के वोलुम भन न त ?" म थोरै मुस्काएँ।
"सँधै जस्तै चुरोट खाने वानी राम्रो हैन भन्न त पक्कै सक्छौ !" उ खितित्त हाँसी ।
"तिमी मलाई पनि विरामी वनाउँदै छौ थाहा छ ?" मैले उसलाई नियाल्दै सोधेँ।
"कहिलेकाहिँ म छुट्याउन सक्दिन के ! यो चुरोट को हो की तिम्रो नशा हो ! एक्लै पिउँदा खल्लो हुन्छ मोरो चुरोट पनि !" उसले आफ्ना पातला ओठवाट धुवाँ छोडी अनि फेरि शुरु गरी "अर्को हफ्ता म मेक्सिको जान्छु होला,स्याम्पल लिनुपर्ने छ।"
"कति दिनलाई ?" मलाई पनि त उसको साथको लत वसेको छ।
"तिम्रो डिफेन्स कहिले रे? १ महिना पछि होइन ? म आइपुग्छु तिमीलाई विदा गर्न !" धुवाँ अर्को चक्का वनाउँदै उड्यो।
म थेसिसको अन्तिम अन्तिम मा पुगिसकेको थिएँ। उसको अझै काम वाकी थियो।शायद म नेपाल फर्केको एक महिना जति पछि फर्किन्छे होला उ पनि मेक्सिको!
"अनि घर पुग्ने वित्तिकै विहे गर्छौ त ?" उसले मलाई फेरि जिस्क्याई।
"थाहा छैन !" अलमलिँदै जवाफ फर्काएँ । के पो भनौँ , "केटी खोज्छन् वाउ आमाले" भने  देखी उसले मलाई जिस्काउन थालेकी हो खास। मेरो प्रस्तुतीले मैले केटी पाउन खासै मेहनत गर्नु पर्दैन भन्छे उ। एक चोटी चोट पाएपछि मलाई भने आफ्नो रोजाइमा विश्वास लाग्न छोडेको छ। म घरले खोजेकै केटी विहे गर्छु भन्दा उसले अचम्म मान्दै आँखाले नै हजारौँ प्रश्न सोधेका थिए " कसरी ? कहाँ ? किन ?" ।तर उसको प्रश्न नै मौन वनेपछि मैले पनि मौन उत्तर फर्काएँ। भिन्न धरातल,विश्वास र आस्थाका यात्री हामी त्यो मोडमा भेटिएका छौँ। एकछिन विसाएर उ आफ्नै वाटोमा , म आफ्नै वाटोमा।
"तिमी नि?" मैले प्रतिप्रश्न गरेँ।
"अहिले गर्दिन !" उसले ठुटो फ्याँक्दै जवाफ फर्काई।"पर्ख है, म पनि एक कप कफि लिएर आउँछु !"
"के लाई पर्खेकी त ?"
"अझै निर्क्यौल गर्न वाँकी छ !" उसले कफि सुरुप्प पारी।
"तिमी विहासँग डराउँछ्यौ !" मैले उसलाई जिस्क्याएँ। उसले पुलुक्क म तिर हेरी। उसका ठूला आँखाहरु एकैचोटी धेरै भाव वोक्छन्,वुझीसाध्य नहुने!
"तिम्रो जस्तो नचिनेको मान्छेसँग हुने भएको भए त डराउनु आवश्यक पनि हुन्छ ! विहे हो कि जुवा,छुट्याउनै गाह्रो ! " उसले मलाई विझ्ने गरी नै जवाफ दिई।
"एउटा कुरा सोधौँ ?" मैले मौकाको फाइदा उठाएँ
"सोध न !"
" उ सँगको तिम्रो सम्वन्धमा तिमीलाई अफ्ठ्यारो केहि लाग्दैन ?" विस वर्ष भन्दा वढी होला उसको वोइफ्रेण्ड र उसको उमेरको फरक । उ पच्चिसकी ,केटो पचास हुनुपर्छ।केटो गम्भिर छ। एकचोटी मलाई भेट्टाएकी पनि हो उसले उसको व्वायफ्रेण्ड सँग ! वुढो, दाह्री पालेको ! म सोच्थेँ अनुहारले थोरै भए पनि महत्व राख्छ मायामा तर मेरो मायाको परिभाषा नै उसले त्यो दिन देखी परिवर्तन गरिदिई।
"सम्वन्ध नै सजिलो अफ्ठेरोको साटासाट न हो! जुनदिन देखी तिमीलाई अफ्ठ्यारो लाग्न थाल्छ तिमी अर्को सम्भावना खोज्छौ ! हैन र ?"
म चुप लागेँ। उसका उत्तरहरु मलाई चित्त वुझ्छन् । कहिले काहिँ आफ्नो जीवन उ जस्तै स्वच्छन्द भइदिए भनेर सोच्छु। तर म सँग उड्ने प्वाँख खोइ ? ति पखेटा त मेरो समाजले काटेको छ ।
"आमा वुवाको व्रेकअप पछि मलाई एकै उमेरका केटाहरु सँग डर लाग्न थालेको थियो !" उसले अर्को कुरा कोट्याई। उसको जीवनको अर्को कालो पाटो!
"भन्नाले ?" अरु वढी कोट्याउने रहर जाग्यो मलाई।
"कलेज अफेयर थियो! म जन्मेको एक वर्षमा नै डिभोर्स गरे। अहिले वुवा मेक्सिकोमा आमा जर्मनीमा आ-आफ्नो परिवार सँग छन् ! " उसले अर्को चुरोट सल्काई।"म चाहन्छु मेरो सम्वन्ध त्यस्तो नहोस् , तिमीहरुको जस्तो होस्,जन्म जन्म चल्ने ,टिकाउ। वुढो भए पनि भरपर्दो छ। हाम्रा कुरा मिल्छन् ! मलाइ उ मन पर्छ " उ खिस्स हाँसी ।
"यदि तिमी नै त्यसो भन्छौ भने !" उ मेरो ठाउँमा छैन त्यहि भएर भन्छे। मेरो ठाउँमा भएको भए थाहा हुन्थ्यो।
"जौँ ,हिँड ! " उ जुरुक्क उठी। म पनि उसका शव्दहरु बुन्दै उसको पछि लागेँ।
**************** **************** ************ *************** *********** ******
आज उ अलि गम्भिर थिई । मौन, मात्र धुवाँ फुकिरहेकी, मौनता नै धुवाँ वनेर वाहिर निस्के जस्तो!
"के भयो ? म सँग शेयर गर्न सक्छौ नि ! कुरो गुम्सिएको त नराम्ररी विझ्छ!" मैले उसमा उसका शव्दहरु खोजेँ, मौनताको साटो।
"तिमीलाई चुरोटले पोल्ला !" उसको हात समाउदै गर्दा उसले मेरो हातको ख्याल गरी। मैले चुरोट छेउवाट हात हटाएँ। " उसको छोरो पनि हामी सँगै एपार्टमेन्ट शेयर गर्न आउँदैछ !" उसले एक सासमै उसको दुविधा पोखी !
"अनी तिमी चाहन्नौ ?"
"थाहा छैन ,अठार वर्षको अल्लारे केटो !" उ चुप भई। मैले उल्टोपटि वाट गन्ति गरेँ ! उ भन्दा सात वर्ष कान्छो उसको छोरो !!!!!
"म उसलाई धेरै चाहन्छु तर पनि !!!!!!"एक छिन रोकिएर खुलेको उसको आवाजमा शंका मिसियो।
"अव के गर्छौ त ?" मैले फेरि प्रश्न राखेँ !
"हेरौँ दुई चार दिन !!! तिमीलाई थाहा छ ? मलाई किन हो किन आजकल तिम्रो जीवन जिउन मन लाग्छ। राजकुमारीको सपना देख्ने, भेटेपछि यहि हो राजकुमारी भनी ठान्ने ! जहाँ महत्वकांक्षाले कम महत्व पाउँछन्!!! जहाँ मान्छे भन्दा परिवारसँग विहे हुन्छ !!!"
मैले आफ्नो जीवन उसको जीवन सँग दाँजी हेरे ! आमा दुइ चार जना केटीहरुको नाम सँधै भनीरहनु हुन्छ ।छान्न त मैले पनि पाएको छु। मैले केहि वोलिन ,मात्र उसलाई सुनीरहेँ!!
*******************************************************************************
सँधै स्काइपमा केटीका कुरा ! दिक्क लाग्न थालेको छ। नेपालै आएर हेर्छु भन्दा पनि नहुने!
"ह्या आमा ,वहिँ आएर हेरौँला अव !"

मैले स्काइप वन्द गर्दै फेसवुकमा आमाले दिएको एउटा नाम टाइप गरी सर्च गरेँ । एउटै नामका सात जना केटी देखिए। दिक्क लाग्यो,अनि फेसवुक पनि वन्द गरिदिएँ।

संस्करणमा (अन्तिम भाग)---- Rajits

फ्रिजभित्रको उज्यालोमा टमाटर अझै कलिलै देखिए। धनिया गिलासमा डुवेर टमाटर लाई नै नियाल्दै थियो, अह्ररो धनिया अह्ररै देखियो।वस्तु,जीव अनी मान्छे सवैले आफ्नो आन्तरिक गुणहरु चेपेर राख्छन्।छुट्याउन गाह्रो नै हुन्छ।लिसो जस्तो गरेर टाँसिन्छ अनि त्यहि नै परिचय वन्छ उसको! परिचय भनेकै लिसो जस्तो त हुन्छ। एकचोटी टाँसिन्छ ,छुट्टिनै गाह्रो।भित्र छिर्छ,कण कणमा गएर वस्छ, तन्तु तन्तुलाई आफुमा समेट्छ।
छेवैका सिमी त्यो रातमा लम्पसार निदाइ नै रहे भोलीको फिक्री नै नगरेर निदाए जस्तो। मलाई लाग्यो निन्द्रा पनि सिमी जस्तै हरियो हुन्छ। तर निन्द्राको रंग त कसलाई के थाहा र? निन्द्रा त मात्र निश्चिन्त हुन्छ भावमा अनी मस्त हुन्छ नशामा।निन्द्रामा नशा हुन्छ वा नशामा निन्द्रा छुट्याउनै गाह्रो, पानीमा रंग घोलिदिए जस्तै!
उसले वाइनको वोटल झिकेर फ्रिज वन्द गरेपछि म फेरि वाहिरकै संसारमा फर्केँ। वाहिर सिर सिर हावा चलिरहेको थियो।झ्यालको एउटा पल्ला खुलै हुनुपर्छ। पानी पर्दा पनि वन्द गरिनछे।आशा सँग रिस पनि उठ्यो।केहि भन्न सकिन।
"रुमपार्टनरको नाममा!" उसले गिलास उठाई !
"मेरो पनि रुमपार्टनरकै नाममा !" मैले पनि गिलास उठाइदिएँ। गिलास जुधे।मैले जुधेका गिलास हेरेँ। छचल्किएको अस्थिरता हेरेँ। मान्छेलाई कति धेरै मन पर्छ अस्थिरता , जुधाएर पनि अस्थिरता उत्पादन गर्छ मान्छे।भोको मान्छे!
"अजयमा केहि त थियो वुझिस् , आँखा गहिरो भएर होला भाव हराउँथे,डुव्थे त्यहि आँखामा थाहै हुन्नथ्यो उ खुशी थियो वा दुखी थियो। थाहा हुन्नथ्यो उसको आँखाले के खोज्थ्यो।थाहै हुन्नथ्यो उसको आँखाले के भेट्टाउँथ्यो ।अनि थाहै हुन्नथ्यो उसको आँखा सन्तुष्ट थियो वा थिएन !"
उसले दोस्रो घुट्कीमा आफुलाई थोरै छचल्क्याई।मैले छचल्किएकी उसलाई हेरेँ । उ वाइनमा केहि नियाल्दै थिई। त्यो वाइनको ग्लास उसले ठमेलको एउटा दोकानवाट किनेकी थीई। भन्थी "वाइन भन्दा गिलास मा वढी नशा हुन्छ बुझिस् ? लोग्ने मान्छे त सवै एउटै नै हो नी अन्त्यको सारांश एउटै चाहना एउटै मात्र प्रस्तुती भिन्न। वाइन पनि त्यस्तै हो, एउटै नशा मात्र प्याला भिन्न!! " म टाउको हल्लाइदिन्थे। उ सन्तुष्ट हुन्थी।
"मलाई के थाहा ? उ त तँलाई मन पराउँथ्यो तैँले नै चिनेकी होलिस् नि !" मैले रुखो जवाफ फर्काएँ। वाइन तितो लागेर आयो।कुहिएको ह्वास्स गन्हाए जस्तो।
"तँ उसलाई मन पराउँथिस् नि त !" उसले मेरो अनुहारमा हेरी। मलाई भाव लुकाउन मन छ।अनुहारले साथ नदिए झैँ लाग्यो।
"त्यो त क्षणिक आवेग थियो,अहिले सम्झिन्छु के नै थियो र उसमा गम्भिरता वाहेक ?"
"म भने आजकल सोच्छु , के नै चाहिने रहेछ र गम्भिरता वाहेक , लोग्नेमान्छे पातलो हुन्छ वुझिस् धुवाँ जस्तै पातलो ! फुकेर उडाउन सकिन्छ,एकैछिन विलाउने वनाउन सकिन्छ! तर विलाए पछि फर्काउन गाह्रो,अर्को धुवाँको चक्का खोज्नुपर्छ फेरि फुक्न! जीवनको वाध्यता! "
"एउटा पुरुषले किन पुग्दैन तँलाई ?"
"त्यो कुरा छोड्दे, के तँ मलाई दोषी नजरले हेर्छेस् ?त्यो भन मलाई !" उसले मेरो आँखा नियाली । उ सत्यता खोज्दैछे।
म अतितमा फर्केँ। मैले आँट गरेर अजयलाई भनेकै हो। उसले त्यतिखेर धेरैवेर मौनता पस्कियो मेरो भागमा ।अनि मौनता तोडेर तिक्तता ! भन्यो "जीवन अचम्मको हुँदो रहेछ, खोजेको पाइन्न रहेछ, अनि नखोजेकाहरु खोज आफु वनिदो रहेछ!" म त उसको लागे उसले नरोजेको,नखोजेको थिएँ। आशालाई मैले त्यहि रात सुनाएकी थिएँ। त्यसको केहि दिन पछि आशाले अजयको खोजको वारेमा खोली! मलाई थाहा भएन मेरो प्रतिकृया के हुनुपर्ने हो! दुइ दिनको घोत्ल्याई पछि मेरो लागी पुरानी आशा र पछिकी आशामा केहि फरक नपार्ने निर्णय गरेँ। न आशाले अजयको खोजको विचार गरी, न अजयले मेरो मनको विचार गर्यो। असन्तोक पर्याय वन्यो अजय र म विचको।
"के थियो र तेरो दोष ?"
"थाहा छैन, शायद मेरो अल्लारे वानी तेरो गम्भिर अजयलाई मन पर्यो ! "
"तँ मन पराउने खालकै छेस् त !" मैले उसको प्रसंशा गरेँ।
" म त पोखिनुपर्छ, खाली ठाउँ पुर्नु पर्छ भन्ने मान्छे पो त ! तेरै भाषामा भन्ने हो भने एउटा पुरुषले नपुग्ने ,भोगी,ढोंगी !"
" मैले तँलाई कहिल्यै त्यसरी हेरिन , तर खाली ठाउँ त खाली नै रहे पनि त हुन्छ नी !" मैले लठ्ठिएकी उसलाई नियाँले। रसिली छे आशा!धेरै पटक पोखिएर पनि अझै भरी छे। म भने खालीको खाली छु, उ माथीको इर्ष्या नै पोखेको हुनुपर्छ मैले।
"खाली राखे त म पनि सुधा भइहाले नी ! आशाको आफ्नो परिचय के त ?" उसले मेरो जिव्रो खोसी।मेरो सोच खोसि,मेरो इर्ष्या पनि खोसी अहिलेको अहिले।
"ठिकै भनिस् खाली सुधा,अनि पोखिएकी आशा ,यहि वाइन जस्तै !" मैले हलुका गिलास उठाएर गिलासको वाइन देखाएँ।
"अझै सिध्याएकी छैन रैछे,भोली विहान सम्म जतन गरेरै राख्छेस् की के हो?"
"मलाई आशा वन्न मन छ नि त , अजयकी मन पर्ने !" म अचानक भावुक भएँ। रित्तो आँखा रसाएर आयो।अतितले थोरै निचोर्यो मलाई।
"मोरो, नहुँदा पनि दुख दिन्छ,हुँदा पनि दुख दिन्छ मेरी सुधालाई !" उ ढलमलिदै मलाई अँगालो मार्न आई। उसको पर्फ्युम दलेको शरिर ले मलाई टाउको दुखायो। तर पनि खपेँ। मेरो त उ रोल मोडेल हो। अजयकी ढुकढुकी नै थिई।
"दुख त मनले पो दिएको त !" मैले पनि एक घुट्की घुट्क्याएँ। अहँ स्वादमा अझै केहि फरक छैन। यो वाइन अझै पनि तितै छ। मेरो पहिलो घुट्की जस्तो।खै आशा के देख्छे यसमा र घुट्की माथी घुट्की थप्छे!

यो साँझ आकाश जस्तै शुन्य छ। कोइला जस्तै कालो छ। अनि गुम्सिएको मन चुक जस्तै अमिलो छ।केहि फरक छैन न वाइनको स्वाद, न साँझको प्रकृती।शुन्यता मा कालो विलाउँछ। कालो रंग नै शुन्य हुन्छ। हो शुन्य को नै रंग हुन्छ भने त्यो कालो नै हुनुपर्छ।मेरा भावनाहरु पनि पानी उम्लिएका फोका जस्ता।के के सोचीरहन्छु। आशाको जस्तो नसोच्ने मन भइदिए मलाई कति सजिलो हुन्थ्यो। उसको मन किन सोच्दैन? वा उसँग मन छैन! वा मेरो मनले गर्नुपर्ने काम गरिरहेको छैन! फैसला कसले गरिदिने? उ त मातेकी छे, अनी म आफ्नै तिक्तता मा छु ।हामी दुवै जना सहि गलत छुट्याउने अवस्थामा छैनौँ।
"तैँले अजयसँग कहिल्यै केहि गरिनस् त ?" सोध्न नपर्ने प्रश्न सोधेँ मैले यसपाली!
उसले मलाई धेरै वेर हेरी।दुइ चार मौन घुट्की मारी।अनी फेरि भनी,
"केहि त थियो अजयमा !"
म मौन वनेँ ।मनमनै सोचेँ "पाखण्डी,भोगी,अजयलाई यसले छोडिन पहिला मात्र शंका थियो ! आज कुरा वाहिर निस्कियो।"
लोग्नेमान्छे कति सिमित हुन्छ। असिमित माया देख्दैन।मात्र तलाउमा डुव्छ,पौडी खेल्छ।मेरो समुन्द्र त नुनिलो छ। उ मात्र किनारामा वस्छ।मलाई हेर्छ,स्वादको अन्दाज लगाउँछ। किनारावाटै फर्किन्छ। मेरो गहिराइ सँगै म शान्त रहन्छु।कहिलेकाहिँ मेरा लहरहरु उसलाई पछ्याउँछन्। उ झन डराउँछ, म पछि नै फर्किन्छु।फेरि अर्को प्रयास गर्छु,फेरि असफल हुन्छु।
"के थियो त? मैले त टाढा वाटै मात्र हेरेँ उसलाई ! भन न मलाई !" मैले सल्किँदै प्रश्न गरेँ। मन अनौठो गरी धुवाँ पत पत निकाल्दै गरेको महसुस गरेँ मैले।धुवाँ कसरी लुक्छ ? सोच्न थालेँ।सोच पनि त वन्द भएको छ अहिले त !
"जतिखिर धेरै नजिक हुइन्छ त्यतिखेर आँखा वन्द हुन्छ सुधा, देख्नलाई त थोरै टाढा नै हुनुपर्छ!"
"सपना देख्न त आँखा वन्द नै भएको राम्रो ! "
"हुन त त्यो सपना जस्तो नै थियो! मलाई थाहा छ म जे भन्छु तँलाई दुख्छ ,तर अजय मलाई मन पराउँथ्यो ,त्यो सत्य नै हो !"
"अनि ?" मैले मेरो अघिको रित्तो ग्लास हेरेँ। गिलास अव मौन थियो।न छचल्किने केहि थियो,न पोखिने केहि।मात्र रिक्तता थियो त्यसमा।रिक्तता वोकेर उभिएको थियो मेरो अघी।
"उ एकदिन मेरो नजिक आयो अनि वल गरेर भन्यो, म तिमीलाई मन पराउँछु !"
आशाले कुर्सीमा पलेँटी कस्दै काँक्रो टोक्दै भनी।
"तैँले यो पहिले सुनाएकि थिइनस् त !" मैले विवश हुँदै उसलाई गुनासो गरेँ।अरु के नै गर्न सक्छु र म ?
"नशामा आँट हुन्छ वुझिस्, मेरो काँतरता तेरो विश्वासको अघि हार्यो, आज नशाले मलाई उधारिदिएको मात्रै हो, म कुरुप नै भए पनि पत्र पत्र उक्किन चाहन्छु !" आशाको आँखामा अनौठो सत्य देखियो।के मैले उसलाई अव क्षमा गरिदिनु पर्ने हो? के कारणले ? मेरो हक नै नभएको वस्तुमा म किन दावी गरौँ, उसले जे गरी स्वतन्त्र भएर गरी, अजय पनि स्वतन्त्र नै थियो, म त मात्र मुक हुन सक्थेँ,हेर्न सक्थे अनि सुन्न सक्थेँ।
मैले टाउको हल्लाएँ।
"एकचोटी मलाई तेरो सम्झना आयो , अनि सोचेँ वैँश पनि कहिँ चोखो,जुठो हुन्छ र ?आज प्रस्ताव राख्छु माया विनाको सम्वन्धको अजयसँग!"
मन अचानक तातेर आयो। लाग्यो अव म सुन्न सक्दिन। मेरो कानको सिमा सकिएको छ। मेरो धैर्यताको परिक्षा हुँदैछ। मेरो मौनताको तौल नापिँदैछ। अनि म च्यातिदैँछु।धुजा धुजा भएर च्यातिदैछु। आशा मेरा टुक्रा टुक्रामा रमाउँदैछ। उ सिंगो म चाहन्न !
"भयो छोड्दे ,सुन्नु छैन मलाई जे सुकै गरोस् ,सकिएको कुरा !" मैले कुराको विट मारेँ।
उ चुप भई। मलाई  फेरि उकुसुमुकुस् भयो। चोटनै पनि पुरै लागेको जाती।
 " भन भन , तँलाई सवै सुनाउनु छ जस्तो छ !" मैले कुरा फेरि सपारेँ।
" उ राजी भएन ! मात्र माया गर्न जान्ने ,सिल्ली, मुर्ख " उसले गिलास तल राखेर धेरै वेर घोरीई ।मलाई किन हो किन मेरो जीत भएको महसुस भयो। अजय आफु जस्तै लाग्यो। माया चिन्ने माया वुझ्ने।
"मेरो रुप पहिलो चोटी हारे जस्तो भएको थियो बुझिस् त्यतिखेर, म अनाहकै रिसाएकी थिएँ ,अनि सोधेकी थिएँ के देखेको छौ तिमीले आफुमा ? मैले तिम्रो पछि लाग्नुपर्ने ! उसले जवाफ फर्काएको थियो "मैले त नहेरी माया गरेको मैले तिमीलाई !"
"ढाँट, नहेरी माया त कसैले गर्दैन, हेरेकै थियो र तँलाई माया गर्यो नत्र मलाई माया गरी हाल्थ्यो नी !"
उ हाँसी।खिस्याएर हाँसी वा सन्तुष्ट भएर उसैलाई थाहा छ।मैले त मात्र उसको हाँसोको आवरण देखेँ।
"तँ पनि त राम्री छेस् !"
"तँ जति छैन नि त !"
"त्यो दिन मेरो ठाउँ मा तँ भइदिएको भए, एउटा कथा पुरा हुन्थ्यो ! म सुत्न हिँडे,अवेर भयो !"
उ उठी।मन पेण्डुलम वनी यता उता फेरि हल्लियो। कस्तो दोधारे मन।
"के खोज्दै थियो त आज वुकस्टोर मा उ ?" मैले उसलाई रोकेँ। म अझ जान्न चाहन्छु अजयको वारेमा।
"किताव विर्सेँ ,तर त्यो किताव पर्सी मात्र आउँछ भन्यो पसलेले !"
"अनि पर्सी उ आउँछ रे ?" मनमा फेरि अनौठो आशा पलायो।






संस्करणमा Rajits

फेरि पानी पर्यो।वाटो हिलो भएको छ। मोटरसाइकलले वाटोको छातिमा वनाएको डोव गहिरिँदै छ। घाइते वाटोले लक्ष सम्म के पुर्याउला र खोई? मेरो झ्यालको सेतो पर्दा भिजेर अझ सफा देखियो। आकाशको सेतो वादल जस्तै. उड्ने सिमलको भुवा जस्तै हावाले जता हल्लाइदियो त्यतै हल्लिन्छ अल्लारे पर्दा। वाहिरका दृष्यहरु पानीमा ओसिला देखिए। म चियाको कप लिएर झ्याल नजिकै गएँ सँधै जस्तै,वाटो सुनसान हुँदै छ। कसैकसैको वाध्यता वाहेक कुन रहरले पो डोर्याउला र यो हिले वाटोमा !

"जहिले हेर्यो झ्यालमैँ , खै के देख्छे यसले झ्यालमा !" आशाले कोठामा छिर्ने वित्तिकै अचम्म मान्दै भनेकी थीई।
मैले आशा तिर एक पल्टलाई भए पनि नजर तेर्स्याएँ। उसको कपाल भीजेको थियो। वाहिरवाट आएकी होला ! लख काटेँ। उसको पहेँलो कुर्ताको फेर पनि भिजेछ।आज सवै चिज भिजेका छन् ।मान्छेको मन पनि शरिर वाहिर हुने भएको भए मैलो सफा हुन्थ्यो होला अथवा वाहिरको हिलोले मन अझ मैलाइदिन्थ्यो होला।

"कहाँ पुगेरी आएकी ?यो झरीमा ?" मैले चिया सुरुप्प पार्दै प्रश्न राखेँ!मेरो चिया सेलाउँदै गएको छ वाहिरको ओसले।
"एउटा किताव किन्न गएकी थिएँ, त्यतै खेरै मर्यो यो कुकुरको झोल!" उसले आफ्नो टावेलले भिजेको कपाल सुकाउँदै जवाफ फर्काई।
"झरीको के दोष र ? तैँले समयमा हिँड्न नजानेकी होस् नी!" वाहिरको धुपीको जोडले हल्लिएको वोट हेर्दै मैले झरीको वचाव गरेँ।त्यति सुन्दर प्रकृती किन दोष दिउँ म उसलाई ?कृत्रिमता त हामीले थपेका हौँ, हामीले पोतेको आवरणमा उ किन नराम्री देखियोस्।

"सुन न ! वुकस्टोरमा अजयसँग भेट भएको थियो !"
मनमा अर्को झरी पर्यो। अजय फर्केछ ,कहिले फर्कियो ? किन फर्कियो? के चाहन्छ अझै यो शहरवाट? मनमा अनेकौँ प्रश्न वादलजस्तै मडारिए।मैले केहि वोलिन मडारिन दिएँ प्रश्नहरुलाई ।अल्लारिन दिएँ प्रश्नहरुलाई,प्रश्नहरु गाँठो परे मनभित्रै अनि दुखे जस्तो भयो तिनै प्रश्नहरुले। हो प्रश्न शक्तिशाली हुन्छन् कहिलेकाहिँ उत्तरको अभावमा,कहिलेकाहिँ उत्तरको ताकतमा !

"सोध्दिनस् के भन्दै थियो भनेर ?" उसले मेरो आँखा नियाली।के उत्तर खोज्छे उ मेरो आँखामा ? मेरो आँखा त शुन्य छ। देखाउन चाहँदा पनि देखाउन नसक्ने गरीको गरिव छ।म सँग देखाउन केहि छैन ।मेरो आँखा सुदामा भएको छ ,कृष्णजी पाहुना लाग्दा पनि कनिका पस्किनु पर्ने गरी। सिंगो जीवन नभेट्टाएको मेरो आँखामा त टुक्रा टुक्रा कनिका न देखिन्छन् आखिर!

"के भन्दै थियो ?" मैले यन्त्रवत प्रश्न राखेँ। म जड भएकी छु। भाव छैन, मात्र आवाज । आफ्नै आवाज रुखो लाग्यो।

"तँलाई सोद्द्दै थियो ! सुधालाई सोधेको छ भन्देउ है भन्थ्यो " उसले झ्याल वाहिर हेरी। धुपीको रुख स्थिर भएको थियो। वादल फाट्दै थिए। गुम्सिएको सुर्यको किरण सन्ध्याको आगमनको छेउछाउमा निमेष भरकै लागि भए पनि उत्ताउलो भएर गुलावी भएको थियो।

"अझै पनि त्यस्तै छ खवटे,दुव्लो आँखा भाँस्सीएको ?" कहिलेकाहीँ प्रश्नहरु नचाहँदा नचाहँदै पनि मुखवाट फुस्किन्छन्। झिरवाट उम्केको माछोजस्तो,अनि मन हलुँगो हुँदै सोच्छ यो प्रश्न कहाँ वाट आयो, न मनले प्रश्नको निर्माण गर्यो न दिमागले ,मात्र अजयको आकृती कोरियो,प्रश्न वन्यो आवाज फुत्कियो।

"उस्तै नै छ !" उसले संक्षिप्त उत्तर फर्काई।
"अनि झुस्स दाह्री ?"
"त्यस्तै छ, केहि फरक छैन!"
" फरक तैँले भन्दैमा नहुने भएको भए, मेरो जीवन धेरै सजिलो हुन्थ्यो होला !पर्खी म तँलाई पनि चिया वनाइदिन्छु, भिजेकी छेस् भन्ने त भुसुक्कै विर्सेँ!" म किचनमा छिरेँ।दुध उमाल्नलाई ग्याँसमा राखेँ।ग्याँसको निलो आगोलाई हेरिरहेँ। आज मन जलेको छ! अजय यसै शहरमा छ।म यसै शहरमा छु।त्यहि शहरका दुई एकान्त कोठा मौनता साट्दैछन् रहरहरु मलामी गइसकेपछिको लामो मौनता!
दुध भकभकिँदै दिउरेको घाँटी भन्दा माथी आयो पोखिउँला नै जस्तो गरेर।मैले ग्याँस थोरै सानो पारेँ।दुधको उन्माद सेलायो भुक भुक उम्लिरह्यो।जीवन कति अस्थिर छ। रहरहरु उम्लिन्छन्,पोखिन्छन् जीवनको आगोमा अनि जीवन निभ्दै जान्छ रहरहरु सेलाउन्छन्।

"तँ चिया चाहिँ मिठो वनाउँछेस् , सवै थकान मेटाउने!" आशाले मेरो तारिफ गरी।सँधै  गर्छे।मानौँ वानी परेकी छे।
"कति वेर गफ गर्यो अजयले तँ सँग?" मेरो ध्यान आज मेरो तारिफमा छैन।
"धेरै वेर त गरेन !"
"किन अरु कसै सँग थियो र ?" मैले आशंका व्यक्त गरेँ।धेरै समय वितिसकेको छ । उ अरु सँग हुनु नौलो कुरा होइन।म अड्किएकी छु भन्दैमा उसको जीवन पनि अड्किएको हुनु पर्छ भन्ने के जरुरी छ र ?
"थिएन होला , म सँग भेट हुँदा त एक्लै नै थियो!" उसले मेरो आँखाको आशंका वुझी शायद।
म मौन भएँ।मनभित्रका उथलपुथल वाहिर देखाउन चाहिन।
"तँलाई नभनेकै भए हुने रहेछ !"
"त्यस्मा तेरो दोष के र !"
"तै पनि घाउ कोट्याइदे जस्तो लाग्यो !"
"त्यहि घाउ छ र त जीवित छु !"मैले सुस्तरी उत्तर फर्काएँ।
******* ************************ ********************* ************************ *******
आशाले एउटा जीवनको अनौठो पाटोमा थोरै हलचल गरिदिएकी थिई। जतन गरेर समाल्हेर राखेको पाटो, हल्लिन्छ भनेर काम्रो लगाएको पाटो ।त्यो पाटो जसको थोरै अस्थिरताले पनि पुरै मलाई हल्लाइदिन्छ।कहिलेकाहिँ म सोच्छु म कमजोर भएर हो जसले पनि मलाई हल्लाइदिन्छ।फेरि सोच्छु म हल्लिएरै टिकिरहेकी छु,जडहरु त टुक्रिन्छन् वाँच्नलाई पेण्डुलम हुनुपर्छ।

कथा केहि समय अघिकै हो। अजय आशालाई मन पराउँथ्यो।अथवा भनौँ मलाई लाग्थ्यो अजय आशालाई मन पराउँथ्यो। आशा धेरैलाई मन पराउँथी एकैचोटी।आशाका परिभाषित जीवनमा अजयको गम्भिरता चट्टानमा छाल परेर चट्टान भिजाउन चाहेजस्तै टक्राउँथे। आशाका वरीपरी अजयका आँखा डुल्दथे।टाढावाट डुल्दथे।तर उसको मौनता वुझ्ने आशालाई फुर्सद थिएन।उसको आफ्नो संसार थियो। जसमा भिँड थियो,आवाज थियो जसमा अजयको मौनता भेट्टिनु असम्भव प्राय थियो।

म खोइ त कथामा ?

 म त आशाकै छायाँ थिएँ। आशा मेरो साँचो थिई, उसको आकारमा आफुलाई ढाल्ने प्रयास गर्थेँ। आशा मलाई सिकाउँथी परिभाषाहरु , अनि म कण्ठाग्र पार्थेँ जीवनलाई। तर जीवन सुत्रवद्द हुन्न।आशाको जीवन एउटा भिन्नै धागो थियो, मेरो जीवन भिन्नै धागो। दुइवटा धागोका दुइटा परिधिलाई जोड्ने प्रयास गर्दा त जीवन उल्झिनु त अवश्य नै थियो।

"के सोचेकी ,भयो छोड्दे ,कति घोत्लिन्छेस् !" आशाले मेरो अतितको जरा काटिदिई । म वर्तमानमा फर्केँ।किचनको झ्यालमा भिजेको रुपी आएर वस्यो।मलाई हेरिरह्यो।थाहा छैन के हेर्छ उसले म मा , फेरि मनको अर्को कुनाले सोध्छ म पनि उसलाई हेरीरहेकी छु र न उसले मलाई हेरेको थाहा हुन्छ। आँखा ऐना हो, मलाई ग्यानवोध भयो , मैले आँखा अन्त मोडेँ।

"आइज खाना वनाकी छु ,खाना खान आइज !" आशाले मलाई कोट्याउँदै भनी।

आशा खासै मिठो खाना वनाउदिन।कहिले के डढाउँछे, कहिले केहि काँचै छोडिदिन्छे। लतपत पारेर काम गर्ने वानी छ। किचन फेरि सफा गर्नु पर्छ आँफैले।त्यसैले प्रायजसो भान्छाको काम म आँफै गर्छु। उसलाई वजारका काम गर्न लगाउँछु। वजारकै काममा पनि उ किनेकै चिजहरु पनि राम्ररी हेर्दिन। साग पहेँलै पनि लिएर आउँछे, आलु कुहिएको पनि वोकेर आउँछे।कहिलेकाहिँ दिक्क लाग्छ उसको काम गराइ देखेर।उ वेफिक्री छे, पहिला पनि थिई अहिले पनि छे।उसको परिचय नै त्यहि अनि किन पो वदलियोस् आफुलाई अरुको आकारमा। उसको आफ्नै आकारका प्रशंसक को भीँड छन्।उ भिँडमा छिर्छे,हराउँछे त्यसैले त वेफिक्री हुन्छे।

 म किचनमा छिरेँ। फोहर फालेको भाँडोवाट वन्दाकोपीको पत्ता चियाइरहेको थियो। थोरै कुहिएको पत्ता! पहिलो पत्र हुनुपर्छ। उसले फ्याँकिदिछे। मान्छे पनि त्यस्तै होला। किराले खाएको पत्ता फ्याँक्छ, नयाँ आफु भेट्टाउँछ। थोरै हरियो, थोरै रसिलो ,कुमारत्व भएको, कसैको स्पर्श नपाएको!
"आज वन्दा पकाइस हो?" मैले थाहा हुँदा हुँदै प्रश्न राखेँ । थाहा हुँदा गरेका प्रश्नको एउटा फाइदा छ ,दोस्रो पक्षको उत्तर कुर्नु पर्दैन।अनी एउटा वेफाइदा पनि त्यो प्रश्न रहस्य विहिन हुन्छ।

"किन? वन्दा खान मन छैन ?" उसले प्रश्नवाचक चिन्ह तेर्स्याई।
"तैँले पकाको , खानै पर्यो नी !"
"अनि घरवाट आमाले ल्याएको अचार पनि खाने !"
"आँपको?" यो पनि रहस्यविहिन प्रश्न! उसले स्विकारोक्तिमा टाउको हल्लाई। टाउको हल्लाउँदा उसको केश अनुहारमा झर्यो।उसले हातले कपाल फेरी पुरानै ठाउँमा फर्काई। म आशा जति सुन्दर छैन, मलाई विश्वास छ।

मैले सम्झे उसकी आमाले धेरै कचकच गरेकी थिइन।त्यो स्वच्छन्द हावालाई कैद गरीदिने प्रयास गरेकी थिइन् भनौँ ।तर उ किन मान्थी , उसले प्रस्तावको अनुहार,वानी व्योहोरा पनि नवुझी टारीदिई।उसलाई त छोटा भेट मनपर्छन्।स्वच्छन्द उडान मन पर्छन् उ किन चाहोस् उसको यात्राको पुर्णविराम?

"अनी साँच्चै आमाले भनेको केटोको के भयो अरे ?" मैले उसको अनुहार नियाल्ने प्रयास गरेँ।
उसले मेरो अनुहार तिर पुलुक्क हेरी !
"केहि न केहि, त्यो त केटालाई नै थाहा होला नी !" उसले म तिर हेर्दा पनि नहेरी जवाफ फर्काई।
"केटाको वारेमा तँलाई भन्दा वढी कसलाई पो थाहा हुन्छ र ?" मैले कटाक्ष गरेँ।
"म पनि करिव करिव तेरै यात्राको यात्री त हुँ नी !" उ खिस्स हाँसी
"तँ त मेरो गुरु नै होस् नी !" म पनि हाँसिदिएँ।
"तँ वाठी छेस् , त्यो तँलाई पनि थाहा छ !"
"तँ भन्छेस् भने होला ! मलाई त तैँले जे भने पनि हो जस्तो लाग्छ !" उ चुप भई । अनी खाना मुछ्न थाली।
उसले मिठो मानेर आफुले पकाएको खाना खाई।मैले पनि उसकै सिको गरेँ मिठो माने जस्तो गरीदिएँ। ""छोडी दे आज भाँडा पनि मै सफा गरिदिन्छु !"
"किन यती दया म माथी म्याडम ?" मैले आशालाई थोरै जिस्क्याएँ।

"आज वाइन खानुपर्छ ,टेवल तैले पुस्छेस् की भनेर !" उसले मेरो अनुहार हेरी। अनी थोरै मुस्काई। उ नशा खोज्दैछे। उ अचम्मकी छे, उसलाई जीवनमा नशा चाहिन्छ। म पनि अचम्मकी छु म उसको नशाको सिको गर्छु। कहिल्यै मात्न सक्दिन मात्र माते जस्तो गर्छु।
क्रमश: