फेरि पानी पर्यो।वाटो हिलो
भएको छ। मोटरसाइकलले वाटोको छातिमा वनाएको डोव गहिरिँदै छ। घाइते वाटोले लक्ष सम्म
के पुर्याउला र खोई? मेरो झ्यालको सेतो पर्दा भिजेर अझ सफा देखियो। आकाशको सेतो
वादल जस्तै. उड्ने सिमलको भुवा जस्तै हावाले जता हल्लाइदियो त्यतै हल्लिन्छ अल्लारे पर्दा।
वाहिरका दृष्यहरु पानीमा ओसिला देखिए। म चियाको कप लिएर झ्याल नजिकै गएँ सँधै
जस्तै,वाटो सुनसान हुँदै छ। कसैकसैको वाध्यता वाहेक कुन रहरले पो डोर्याउला र यो
हिले वाटोमा !
"जहिले हेर्यो
झ्यालमैँ , खै के देख्छे यसले झ्यालमा !" आशाले कोठामा छिर्ने वित्तिकै अचम्म
मान्दै भनेकी थीई।
मैले आशा तिर एक पल्टलाई भए
पनि नजर तेर्स्याएँ। उसको कपाल भीजेको थियो। वाहिरवाट आएकी होला ! लख काटेँ। उसको पहेँलो
कुर्ताको फेर पनि भिजेछ।आज सवै चिज भिजेका छन् ।मान्छेको मन पनि शरिर वाहिर हुने
भएको भए मैलो सफा हुन्थ्यो होला अथवा वाहिरको हिलोले मन अझ मैलाइदिन्थ्यो होला।
"कहाँ पुगेरी आएकी ?यो
झरीमा ?" मैले चिया सुरुप्प पार्दै प्रश्न राखेँ!मेरो चिया सेलाउँदै गएको छ
वाहिरको ओसले।
"एउटा किताव किन्न
गएकी थिएँ, त्यतै खेरै मर्यो यो कुकुरको झोल!" उसले आफ्नो टावेलले भिजेको कपाल
सुकाउँदै जवाफ फर्काई।
"झरीको के दोष र ?
तैँले समयमा हिँड्न नजानेकी होस् नी!" वाहिरको धुपीको जोडले हल्लिएको वोट
हेर्दै मैले झरीको वचाव गरेँ।त्यति सुन्दर प्रकृती किन दोष दिउँ म उसलाई
?कृत्रिमता त हामीले थपेका हौँ, हामीले पोतेको आवरणमा उ किन नराम्री देखियोस्।
"सुन न ! वुकस्टोरमा
अजयसँग भेट भएको थियो !"
मनमा अर्को झरी पर्यो। अजय
फर्केछ ,कहिले फर्कियो ? किन फर्कियो? के चाहन्छ अझै यो शहरवाट? मनमा अनेकौँ
प्रश्न वादलजस्तै मडारिए।मैले केहि वोलिन मडारिन दिएँ प्रश्नहरुलाई ।अल्लारिन दिएँ
प्रश्नहरुलाई,प्रश्नहरु गाँठो परे मनभित्रै अनि दुखे जस्तो भयो तिनै प्रश्नहरुले।
हो प्रश्न शक्तिशाली हुन्छन् कहिलेकाहिँ उत्तरको अभावमा,कहिलेकाहिँ उत्तरको ताकतमा
!
"सोध्दिनस् के भन्दै
थियो भनेर ?" उसले मेरो आँखा नियाली।के उत्तर खोज्छे उ मेरो आँखामा ? मेरो
आँखा त शुन्य छ। देखाउन चाहँदा पनि देखाउन नसक्ने गरीको गरिव छ।म सँग देखाउन केहि
छैन ।मेरो आँखा सुदामा भएको छ ,कृष्णजी पाहुना लाग्दा पनि कनिका पस्किनु पर्ने
गरी। सिंगो जीवन नभेट्टाएको मेरो आँखामा त टुक्रा टुक्रा कनिका न देखिन्छन् आखिर!
"के भन्दै थियो
?" मैले यन्त्रवत प्रश्न राखेँ। म जड भएकी छु। भाव छैन, मात्र आवाज । आफ्नै
आवाज रुखो लाग्यो।
"तँलाई सोद्द्दै थियो
! सुधालाई सोधेको छ भन्देउ है भन्थ्यो " उसले झ्याल वाहिर हेरी। धुपीको रुख
स्थिर भएको थियो। वादल फाट्दै थिए। गुम्सिएको सुर्यको किरण सन्ध्याको आगमनको
छेउछाउमा निमेष भरकै लागि भए पनि उत्ताउलो भएर गुलावी भएको थियो।
"अझै पनि त्यस्तै छ
खवटे,दुव्लो आँखा भाँस्सीएको ?" कहिलेकाहीँ प्रश्नहरु नचाहँदा नचाहँदै पनि
मुखवाट फुस्किन्छन्। झिरवाट उम्केको माछोजस्तो,अनि मन हलुँगो हुँदै सोच्छ यो
प्रश्न कहाँ वाट आयो, न मनले प्रश्नको निर्माण गर्यो न दिमागले ,मात्र अजयको आकृती
कोरियो,प्रश्न वन्यो आवाज फुत्कियो।
"उस्तै नै छ !"
उसले संक्षिप्त उत्तर फर्काई।
"अनि झुस्स दाह्री
?"
"त्यस्तै छ, केहि फरक
छैन!"
" फरक तैँले भन्दैमा
नहुने भएको भए, मेरो जीवन धेरै सजिलो हुन्थ्यो होला !पर्खी म तँलाई पनि चिया
वनाइदिन्छु, भिजेकी छेस् भन्ने त भुसुक्कै विर्सेँ!" म किचनमा छिरेँ।दुध
उमाल्नलाई ग्याँसमा राखेँ।ग्याँसको निलो आगोलाई हेरिरहेँ। आज मन जलेको छ! अजय यसै
शहरमा छ।म यसै शहरमा छु।त्यहि शहरका दुई एकान्त कोठा मौनता साट्दैछन् रहरहरु मलामी
गइसकेपछिको लामो मौनता!
दुध भकभकिँदै दिउरेको घाँटी
भन्दा माथी आयो पोखिउँला नै जस्तो गरेर।मैले ग्याँस थोरै सानो पारेँ।दुधको उन्माद
सेलायो भुक भुक उम्लिरह्यो।जीवन कति अस्थिर छ। रहरहरु उम्लिन्छन्,पोखिन्छन् जीवनको
आगोमा अनि जीवन निभ्दै जान्छ रहरहरु सेलाउन्छन्।
"तँ चिया चाहिँ मिठो
वनाउँछेस् , सवै थकान मेटाउने!" आशाले मेरो तारिफ गरी।सँधै गर्छे।मानौँ वानी परेकी छे।
"कति वेर गफ गर्यो
अजयले तँ सँग?" मेरो ध्यान आज मेरो तारिफमा छैन।
"धेरै वेर त गरेन
!"
"किन अरु कसै सँग थियो
र ?" मैले आशंका व्यक्त गरेँ।धेरै समय वितिसकेको छ । उ अरु सँग हुनु नौलो
कुरा होइन।म अड्किएकी छु भन्दैमा उसको जीवन पनि अड्किएको हुनु पर्छ भन्ने के जरुरी
छ र ?
"थिएन होला , म सँग
भेट हुँदा त एक्लै नै थियो!" उसले मेरो आँखाको आशंका वुझी शायद।
म मौन भएँ।मनभित्रका
उथलपुथल वाहिर देखाउन चाहिन।
"तँलाई नभनेकै भए हुने
रहेछ !"
"त्यस्मा तेरो दोष के
र !"
"तै पनि घाउ कोट्याइदे
जस्तो लाग्यो !"
"त्यहि घाउ छ र त
जीवित छु !"मैले सुस्तरी उत्तर फर्काएँ।
*******
************************ ********************* ************************ *******
आशाले एउटा जीवनको अनौठो
पाटोमा थोरै हलचल गरिदिएकी थिई। जतन गरेर समाल्हेर राखेको पाटो, हल्लिन्छ भनेर
काम्रो लगाएको पाटो ।त्यो पाटो जसको थोरै अस्थिरताले पनि पुरै मलाई
हल्लाइदिन्छ।कहिलेकाहिँ म सोच्छु म कमजोर भएर हो जसले पनि मलाई हल्लाइदिन्छ।फेरि
सोच्छु म हल्लिएरै टिकिरहेकी छु,जडहरु त टुक्रिन्छन् वाँच्नलाई पेण्डुलम हुनुपर्छ।
कथा केहि समय अघिकै हो। अजय
आशालाई मन पराउँथ्यो।अथवा भनौँ मलाई लाग्थ्यो अजय आशालाई मन पराउँथ्यो। आशा
धेरैलाई मन पराउँथी एकैचोटी।आशाका परिभाषित जीवनमा अजयको गम्भिरता चट्टानमा छाल
परेर चट्टान भिजाउन चाहेजस्तै टक्राउँथे। आशाका वरीपरी अजयका आँखा डुल्दथे।टाढावाट
डुल्दथे।तर उसको मौनता वुझ्ने आशालाई फुर्सद थिएन।उसको आफ्नो संसार थियो। जसमा
भिँड थियो,आवाज थियो जसमा अजयको मौनता भेट्टिनु असम्भव प्राय थियो।
म खोइ त कथामा ?
म त आशाकै छायाँ थिएँ। आशा मेरो साँचो थिई, उसको
आकारमा आफुलाई ढाल्ने प्रयास गर्थेँ। आशा मलाई सिकाउँथी परिभाषाहरु , अनि म
कण्ठाग्र पार्थेँ जीवनलाई। तर जीवन सुत्रवद्द हुन्न।आशाको जीवन एउटा भिन्नै धागो
थियो, मेरो जीवन भिन्नै धागो। दुइवटा धागोका दुइटा परिधिलाई जोड्ने प्रयास गर्दा त
जीवन उल्झिनु त अवश्य नै थियो।
"के सोचेकी ,भयो
छोड्दे ,कति घोत्लिन्छेस् !" आशाले मेरो अतितको जरा काटिदिई । म वर्तमानमा
फर्केँ।किचनको झ्यालमा भिजेको रुपी आएर वस्यो।मलाई हेरिरह्यो।थाहा छैन के हेर्छ
उसले म मा , फेरि मनको अर्को कुनाले सोध्छ म पनि उसलाई हेरीरहेकी छु र न उसले मलाई
हेरेको थाहा हुन्छ। आँखा ऐना हो, मलाई ग्यानवोध भयो , मैले आँखा अन्त मोडेँ।
"आइज खाना वनाकी छु
,खाना खान आइज !" आशाले मलाई कोट्याउँदै भनी।
आशा खासै मिठो खाना
वनाउदिन।कहिले के डढाउँछे, कहिले केहि काँचै छोडिदिन्छे। लतपत पारेर काम गर्ने
वानी छ। किचन फेरि सफा गर्नु पर्छ आँफैले।त्यसैले प्रायजसो भान्छाको काम म आँफै
गर्छु। उसलाई वजारका काम गर्न लगाउँछु। वजारकै काममा पनि उ किनेकै चिजहरु पनि
राम्ररी हेर्दिन। साग पहेँलै पनि लिएर आउँछे, आलु कुहिएको पनि वोकेर आउँछे।कहिलेकाहिँ
दिक्क लाग्छ उसको काम गराइ देखेर।उ वेफिक्री छे, पहिला पनि थिई अहिले पनि छे।उसको
परिचय नै त्यहि अनि किन पो वदलियोस् आफुलाई अरुको आकारमा। उसको आफ्नै आकारका
प्रशंसक को भीँड छन्।उ भिँडमा छिर्छे,हराउँछे त्यसैले त वेफिक्री हुन्छे।
म किचनमा छिरेँ। फोहर फालेको भाँडोवाट
वन्दाकोपीको पत्ता चियाइरहेको थियो। थोरै कुहिएको पत्ता! पहिलो पत्र हुनुपर्छ।
उसले फ्याँकिदिछे। मान्छे पनि त्यस्तै होला। किराले खाएको पत्ता फ्याँक्छ, नयाँ
आफु भेट्टाउँछ। थोरै हरियो, थोरै रसिलो ,कुमारत्व भएको, कसैको स्पर्श नपाएको!
"आज वन्दा पकाइस
हो?" मैले थाहा हुँदा हुँदै प्रश्न राखेँ । थाहा हुँदा गरेका प्रश्नको एउटा
फाइदा छ ,दोस्रो पक्षको उत्तर कुर्नु पर्दैन।अनी एउटा वेफाइदा पनि त्यो प्रश्न
रहस्य विहिन हुन्छ।
"किन? वन्दा खान मन
छैन ?" उसले प्रश्नवाचक चिन्ह तेर्स्याई।
"तैँले पकाको , खानै
पर्यो नी !"
"अनि घरवाट आमाले
ल्याएको अचार पनि खाने !"
"आँपको?" यो पनि
रहस्यविहिन प्रश्न! उसले स्विकारोक्तिमा टाउको हल्लाई। टाउको हल्लाउँदा उसको केश
अनुहारमा झर्यो।उसले हातले कपाल फेरी पुरानै ठाउँमा फर्काई। म आशा जति सुन्दर छैन,
मलाई विश्वास छ।
मैले सम्झे उसकी आमाले धेरै
कचकच गरेकी थिइन।त्यो स्वच्छन्द हावालाई कैद गरीदिने प्रयास गरेकी थिइन् भनौँ ।तर
उ किन मान्थी , उसले प्रस्तावको अनुहार,वानी व्योहोरा पनि नवुझी टारीदिई।उसलाई त
छोटा भेट मनपर्छन्।स्वच्छन्द उडान मन पर्छन् उ किन चाहोस् उसको यात्राको
पुर्णविराम?
"अनी साँच्चै आमाले
भनेको केटोको के भयो अरे ?" मैले उसको अनुहार नियाल्ने प्रयास गरेँ।
उसले मेरो अनुहार तिर
पुलुक्क हेरी !
"केहि न केहि, त्यो त
केटालाई नै थाहा होला नी !" उसले म तिर हेर्दा पनि नहेरी जवाफ फर्काई।
"केटाको वारेमा तँलाई
भन्दा वढी कसलाई पो थाहा हुन्छ र ?" मैले कटाक्ष गरेँ।
"म पनि करिव करिव तेरै
यात्राको यात्री त हुँ नी !" उ खिस्स हाँसी
"तँ त मेरो गुरु नै
होस् नी !" म पनि हाँसिदिएँ।
"तँ वाठी छेस् , त्यो
तँलाई पनि थाहा छ !"
"तँ भन्छेस् भने होला
! मलाई त तैँले जे भने पनि हो जस्तो लाग्छ !" उ चुप भई । अनी खाना मुछ्न
थाली।
उसले मिठो मानेर आफुले
पकाएको खाना खाई।मैले पनि उसकै सिको गरेँ मिठो माने जस्तो गरीदिएँ। ""छोडी
दे आज भाँडा पनि मै सफा गरिदिन्छु !"
"किन यती दया म माथी
म्याडम ?" मैले आशालाई थोरै जिस्क्याएँ।
"आज वाइन खानुपर्छ
,टेवल तैले पुस्छेस् की भनेर !" उसले मेरो अनुहार हेरी। अनी थोरै मुस्काई। उ
नशा खोज्दैछे। उ अचम्मकी छे, उसलाई जीवनमा नशा चाहिन्छ। म पनि अचम्मकी छु म उसको
नशाको सिको गर्छु। कहिल्यै मात्न सक्दिन मात्र माते जस्तो गर्छु।
क्रमश:
क्रमश:
No comments:
Post a Comment