आशा दिदी(अन्तिम भाग)


कहिलेकाहिँ एउटा प्रश्नले पिरोल्छ मलाई "वुद्द कसरी वुद्द वने ?" एउटा रुखको फेदमा वसेर उँघ्दा मात्रै त कसरी पो वुद्दत्व प्राप्त हुँदो हो?घर परिवार आवश्यक छ भनीन्छ, अनि मोह माया सँग दाँजिन्छ पनि ! यदि स्वतन्त्र हुनु वुद्दत्व प्राप्त गर्नु हो भने त म पनि अर्कै मानेमा स्वतन्त्र नै छु नि। सत्यवोध मलाई पनि छ। तर निष्कर्षहरु शास्वत हुँदैनन् । कथाले दृश्य फेर्छ, जसलाई साँचो मानेर मैले तँपाइलाई कथाको आधा पाटो भन्दा वढी डोर्याइसकेको छु त्यो सत्य थिएन भन्ने कुराको ग्यान मलाई त्यो दिन भयो।
समाज
म एकचोटी अँध्यारो वाट उज्यालोमा निस्किँदा प्रकाश सह्य नभएर तिरमिराएको थिएँ। आशाको जवाफ सोचेभन्दा पृथक, मेरो निम्ति कष्टकर थियो।उसले जोडले मेरो गालामा थपड हानेपछि,मैले वरीपरि हेरेका थिएँ। क्यासमा वसेको केटो वाहेक अरुले त्यो देखेनन्, मेरो सौभाग्य नै भन्नुपर्छ।आखिर फेरि सत्य त्यहिँ गएर अडियो "ग्लानी त्यहाँ हुन्छ जहाँ कसैको नजरमा गिरिन्छ, हेर्ने नजर नै नहुँदो हो त ग्लानी पनि नहुँदो हो !"
उ खुरुखुरु गएर दुइ जनाको चियाको पैसा तिरेर वाहिर निस्किई। मैले त्यति खेर आफुलाई नियालेर आफ्नो धरातल खोज्ने प्रयास गरेँ। समय शुन्य थियो।
"म गलत थिएँ, तिमीलाई फरक ठाने,कोहि पुरुष फरक हुन्नन् ! तिमी पनि फरक रहेनछौ !" कानमा शव्दहरु अझै गुन्जिरहेका थिए। मैले विस्तारै छरपष्टिएको मनलाई वटुलेँ अनि वाहिर निस्किएँ। अचम्म उ मलाई पर्खिरहेकी थिई।
"मलाई थाहा छ, मैले छोड्नुपर्ने हो अनि एक्लै जानुपर्ने हो ! तर म फेरि चर्चाको विषय किन वनौँ? अहिलेसम्म त वन्दै आएकी छु ! समाजकै आँखाले त होला तिमीले पनि हेरेको ! "
म नाजवाफ थिएँ । के उत्तर दिउँ उसलाई?
"म अरु जस्तो केटो होइन, म त प्रत्येक दिन स्वाद फरक चाहन्छु त्यहि भएर न हो ! " भनौँ "सरी " भनौँ? मैले चुप लाग्न नै उत्तम ठानेँ। शव्दका लागि त समयको समुन्द्र नै वाँकी छ। विराटनगर साँझ नै भए पनि तापिलो थियो ।गर्मीले उग्र थियो।
"वस !" उसले मलाई स्कुटरमा वस्न भनी ! म स्कुले केटा जस्तो चुपचाप वसेँ , उसलाई छोइएला जस्तो गरेर। वरवेरी को सुगन्ध टाढावाट अहिले पनि आइरहेको थियो। तर मेरो ध्यान तान्ने अरु नै केहि थियो। म हराएको थिएँ। हो पराजयले शिक्षा दिन्छ, यसपाली को पराजय वास्तवमा पराजय थियो वा थिएन थाहा छैन तर त्यसमा शिक्षा अवश्य थियो।जीवन के हो ?आखिर सत्यवोध नै त हो !
************ ************ ********* ************** ************ **********
"कता हराउँछस् हँ त ?" आमा छिर्दा म झसंग भएँ। हिजोको घटना अझै ताजै थियो। भनौँ छापिएको थियो।पहिलो चोटी मैले वुझेँ "नारी वुझ्न कठिन हैन असम्भव छ !" अनी दोश्रो वुझाईँ मा मैले वुझाईँ फेरेँ" आखिर म त लगाम लगाएका घोडा न थिएँ, म मात्र अंगहरु देख्थेँ , अनि तिनलाई छिचोल्ने वाटाहरु। तर समवेदना त सरल कहाँ हुन्छ र ?जटिल नै हुन्छ ! खहरेमा त एकैचोटीको डुवुल्कीमा ढुंगा छुन सकिन्छ समुन्द्र त मोति लिएर वसेको हुन्छ, त्यहि भएर गहिराई जटिल हुन्छ। आंशिक ग्यान अनि फुस्रा पलहरुले मोति टिप्न सकिन्न। मोति टिप्न समुन्द्रलाई वुझ्नु पर्छ।
"हैन टाउको दुखेको छ आमा !" मैले आफुलाई लुकाएँ।
"हिजो दिनभर थिइनस् नि !"
"त्यहि दृष्टीको डेकोरेसन को सामान लिन गएको थिएँ!" आमा किन घाउ कोट्याइदिनुहुन्छ!मलाई पोल्दैछ। जति छुनुहुन्छ , मलाई चर्याउनेछ। म एकान्त चाहन्छु , मलाई चिच्याउन मन लाग्यो, सकिन। फेरि निशव्द भएँ।
"सामान त तिन वजे नै आयो! वावु एउटा कुरा भन्छु नरिसा ल!"
"भन्नु न !" मलाई कौतुहलता जाग्यो।
"मैले धेरै पहिला देखी चिन्छु आशालाई , उ राम्री केटी होइन ! संगत धेरै केटाहरु सँग छ! अलि टाढै वस!"
मैले आमाको आँखामा हेरेँ। चुप नै वसेँ । के भनौँ र खोई।
"तँ सोझो छस् ! उसको केटा खोज्ने वानीले चाँडै विहे गर्दैका ! घर खान पनि सकिन ! अहिले पनि चर्ने रहर होला उसको ! केटामान्छे कतिखेर फस्छन् थाहै हुन्न , केटा विगार्ने आइमाई ले नै हो !"
मलाई आफु देखि घिन लाग्दै आयो। आमामा मैले समाज देखेँ।हो समाजको हेर्ने आँखा फरक छ। पुरुषको पुरुषत्व हुन्छ, आइमाई त कि पतिव्रता हुन्छन् कि वेश्या हुन्छन्।
"आमा भयो त वुझेँ मैले कुरा !" म थोरै झर्किएँ।
"अरु मलाई थाहा छैन, आशा सँग टाढै वस् !" आमा कठोर वन्नु भयो। कसरी भनौँ म आमालाई समाजको चश्मा दोषी छ भनेर !!

लेख्नेहरुको भाव समान नै भए पनि वुझ्नेहरुको मन फरक मात्रै हुँदा पनि कथा फरक हुन्छ। आशयले कोल्टे फेर्छन पाठकको मन अनुसारले। ढल्किन कर नै लाग्छ किनकी पढिदिने त उनीहरु नै हो। आफुलाई जत्ति नै खुला ह्रदयको छु भनिठाने पनि प्रत्येक व्यक्ति समाजको कोकुन भित्र छिर्छ। भिँडमा हराउँछ , किनकी लुक्नु मानवको स्वभावमा छ।
म एक किसिमले दोधारमा परेको थिएँ। मैले आशा सँगको साथवाट जे भोगेँ , जे ग्यान लिएँ त्यो मैले आमालाई सुनाएर आफुलाई दोषी देखाएँ भने आशाको छवी सुध्रिन्छ?तर फेरी सोचेँ त्यो चश्मा लगाएर समाजले आशालाई मात्र क्षणिक उन्मुक्ति दिन्छ। उसलाई फेरि माया गाँस्ने स्वतन्त्रता दिनेछैन! उसका कुरा काट्न रोकिने छैनन्! अनि म जस्तै उसलाई फेरि पनि शिकार सम्झिनेहरु अनुहार वदलिएर आइरहनेछन्। आशा खुशी देखिएकी थिई किनकी उसले लड्न सिकी सकेकी छे, अरु संग अनि एकान्तमा आफूसँग।
म किन त्यति लाचार वनेँ त ?प्रश्नको जवाफ छैन, मैले कथाको शुरुमै भनेको छु , ममा नायकत्व छैन। मैले औसत नै रहने सोच वनाएँ।कसैलाई केहि भनिन, मनमा कुरा गुम्सिरह्यो।
************* *********** ************ ************ ************** *******

वुद्द एयरवाट पोखरा जाने विमानमा पाल्नु हुने यात्री महानुभावहरु कृपया गेट ए तर्फ प्रस्थान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ!
"सुधा , के गर्दैछौ ?" मैले फेरि सुधालाई फोन गरेँ। मेरो वर्तमानको मिठो प्रहर सुधा नै त हो।
"पर्खिराखेको छु !"
"वोर्ड हुने वेला भो, अव चाहिँ उड्छ होला !" मैले सुस्तरी जवाफ फर्काए
"आवाजमा खुशी छैन त मिस्टर, एयरपोर्टमैँ वस्ने मन थियो कि के हो?"
"मन त अघी घर पुगिसक्यो , म मात्रै एयरपोर्टमा हो अहिले त !"
आजकल म शव्दहरु मात्र सुधाका लागि प्रयोग गर्छु। म झन माझिएको छु। शव्दहरु पनि अर्थ पाएर खुशी भए जस्तै लाग्छ।
"चेपारे! म एक छिन वजार जान्छु त्यसोभए !"
मलाई थाहा छ । उ मलाई मन पर्ने तरकारी को व्यवस्था गर्नलाई निक्लिन लागेकी हो ! परिवर्तन त्यहाँ हुन्छ, जहाँ रहर हुन्छ ,अनि लक्ष हुन्छ। मलाई अर्को परिवर्तन को कुनै रहर छैन।
म फर्किएको थिएँ वर्तमानको उडानमा । एउटा अनौठो अतित आशा दिदीले सम्झाएर जानुभयो तर मन आज हलुका भएको थियो। मैले त्यतिखेर विदा नमागिकन नै हिँडे पनि, आज समयले मौका दिएको थियो।म उठेर वोर्डिंगको लागि छिरेँ। आशा दिदी एरोप्लेनमा हुन्जेलसम्म मलाई झक्झक्याइरहिन । मेरो समय मौनवन्यो, अतितको सम्झनामा। ध्यान वर्तमानमा ल्याउन मलाई निकै अफ्ठ्यारो पर्यो।तर थाहा नै नपाइ आशा कसरी आशा दिदी बनिन् मलाई पत्तो भएन।
समाप्त:


No comments: