मेरो चोकको विरु-Rajits

तँपाइहरुले कहिल्यै आफ्नो वुवाको पुराना लुगा राखेको दराज खोल्नु भएको छ ? मैले खोलेकी छु । अनि कहिल्यै ति पुराना लुगाहरु मध्येकै झुण्डिएका प्यान्टहरु हेर्नु भएको छ ? लगाउँदा घरै बढार्ने जस्ता , कुचो नचाहिने जस्ता । बेल बटन भन्छन् शायद । वुवाले भन्नु भएको,  धर्मेन्द्र , अमिताभ बच्चनले फिलिममा लाएपछि फेशनै चल्यो अरे !
वुवालाई मन पर्ने धर्मेन्द्र , अनि उसको फिलिम "शोले !" हामीले टिभी हेरिराखेको बेला पनि भन्नुहुन्थ्यो "शोले" जस्तो फिलिम अब बन्दैन । तिमीहरु के के हेर्छौ के के ! एकदिन त "थ्रि इडियट्स" हेर्दा हेर्दै भन्दिनु भो " शोले जस्तो फिलिम बन्दैन , यस्तो पनि फिलिम हुन्छ ?" । म बुवा का कुरा काट्दिन । आज्ञाकारी छोरी । चित्त नबुझे पनि चुपचापै बसेँ । शोले हेरेकी छैन । के छ त "शोले" मा बुवालाई मन पर्ने ? सोच्दासोच्दै टिभिमा फुंगसुक वांग्डुले पियालाई लद्दाकमा भेट्टायो । "थ्री इडियट्स" सिद्दियो ।
आमा किचन बाट बाहिर निस्किँदै भन्नु भयो " खाना पाक्यो !" । खानाको टेवलमा वुवाले अन्तिम गाँस सिध्याउँदै गर्दा मैले वुवालाई प्रस्ताव राखेँ "शोलेको व्लु रे डिभिडी खोजेर ल्याउँछु अनि सँगै हेर्नु पर्छ ।" वुवाले पुलुक्क म तिर हेर्नु भयो । अनि सोध्नु भयो "तैँले शोले हेरेकी छैनस्?" । मलाई केहि केहि छ्यासमिस याद छ शोलेको । टिभिमा आइरहन्छ । तिनीहरुको तिन पांग्रे स्कुटर । गव्वरको बेल्ट र जुत्ता । अश्रानीको जुँगा । यस्तै यस्तै ।
"अहँ !" मैले टाउको हल्लाएँ ।
" ल त यो शनिवार !"
************** ************** ************* ************** ******************
"कता हो , कलेज ?" चियापसलबाट आवाज आयो । म साथी सँग बाटोमा स्कुटर रोकेर गफ गर्दै थिएँ । पारी पट्टि चियापसल । क्यारेम खेल्ने केटाहरुको भिँड । मैले जवाफ फर्काइन । त्यो केटालाई म चिन्छु । म सँग बोल्न खोज्छ । तर मलाई उसको हेराई मन पर्दैन । खाउँला जस्तो । ट्वाल्ल आँखा पारेर । उ भने आफ्नै सुरमा बरबराइरहन्छ ।
"कलेज सिद्दिएर काम गर्न थाल्यौ कि के हो ?" उसले आवाज थोरै ठूलो बनायो । शुरु शुरुमा खासै बोल्दैन थियो । आजकल दुई चार शव्द थप्छ मैले केहि नबोले पनि ।
"नजिक गएर गफ गर न !" क्यारेम खेल्दै गरेका केटामध्ये कसैले उसलाई ढाडस दियो
मलाई डर लाग्यो । मेरी साथीलाई पनि । उसको हिम्मत वढ्दै छ पछिल्ला दिनहरुमा । म चाँडै यहाँ बाट हिँडेकै ठिक ।
"ल म हिँडे !" स्कुटर अघि बढाएँ । साथिले मेरो कुरा वुझेर टाउको हल्लाई । मलाई थाहा छ । मेरो स्कुटर कुरेर त्यहिँ बस्नेछ त्यो बेलुका फर्किँदा पनि।सँधै त्यस्तै गर्छ । एक दिन त बाटो रोकेरै भनेको थियो " यस्तै बाल नदिकन बस्यौ भने कुन दिन म मरेको सुन्छ्यौ , तिम्रै घरको पिपलको रुखको अघि झुण्डिदिन्छु !" पछाडीबाट केटाहरु गलल्ल हाँसेका थिए । उ पनि हाँस्यो । अनि चियापसल तिरै फर्कियो ।
म भने पसिनाले चिटचिट भएकी थिएँ । अरुबेला बोलिरहने मलाई यस्तो बेला कसैले घाटी थिचिदिए झैँ हुन्छ । बोल्नै सक्दिन । गालि गर्न सक्दिन । ढुंगा जस्ती हुन्छु । कहिले काहिँ यो भन्छु यो भन्छु भन्दै धेरै गाली तयार गर्दै आउँछु । त्यो दिन भने त्यो केटा हुँदैन । त्यो दिन हिँड्दै गर्दा उ भेटिएला सोचेकी थिइन । भेटियो । फेरि पनि ढुंगै भएँ । बाटोमा हिँड्दा सोचीरहेँ । उसलाई मेरो घरको छेउको पिपलको रुख थाहा छ । सँधै मलाई पछ्याउँछ । मनै चिसो भो । पुलिसको मा जाउँ की ? फेरि घरमा के भन्नुहोला , बल्ल बल्ल खोजेको जागिरमैँ नजा भन्दिनु भो भने ? बिहे गर भन्नु भो भने ? दिदीलाई अफिसकै केटाले पछ्याइपछि काम छोड्न लगाएर बिहे गर्दिनु भएको मलाई याद छ । मलाई अहिले नै काम छोड्न मन छैन ।
*********** ************** ************ ************ ***************** **********
घर पुगेँ । बुवा चिया खाँदै पत्रिका हेरिरहनु भएको थियो ।
"ल्याइस् त शोलेको डिभिडी ?"
अहो के बिर्से के बिर्सेँ भनेको शोलेको डिभिडी रहेछ । त्यो केटोबाट जोगिन रुट चेन्ज गरेकी थिएँ । डिभिडी पसल छिर्न पाइन ।
"भोली ल्याउँछु वुवा !" सुस्तरी जवाफ फर्काएँ ।
"काम गर्न थालेकी ?" भन्दै त्यो केटो हाँसेको अनुहार मनमा आइरह्यो । हटाउन सकिन । बाथरुम गएँ । मुख धोएँ ।  आँत नै चिसो भएको छ। उपाय खोज्दै छु जोगिने । कोहि फिलिमका हिरो जस्तै कोहि आएर मलाई त्यो केटाबाट जोगाइदिए !!!!!
******************** **************** ***************** *************** *********
जय र विरु रामगढको ट्रेन स्टेशनमा ओर्लिए । त्यहाँ ट्याक्सी पाइन्नथ्यो । बसन्तीको टाँगा मात्रै । मन मनै सोचेँ बसन्तीलाई वुवाआमाले के भन्दाहुन् । बसन्ती पनि राम्री थिई । केटाहरुले जिस्काउँदा उ चुपै बस्दी हो कि गाली गर्दि हो । उ बोलीहरन्थी भनेपछि पक्कै गाली नै गर्दी हो । विरु त भेट्ने बित्तिकै जिस्किन थाल्यो । मलाई विरुको बानी मन परेन । बिचरी बसन्ती एक्लै रैछे । वुवा आमा नभएकी । फूपुले पालेकी । आफ्नै खुट्टामा उभिन खोज्ने । तर हिरो भएर पनि विरुले उसलाई जिस्क्यायो । पहिलो भेटमैँ । मलाई विरुको बानी मन परेन । त्यतिखेर पनि केटीहरुलाई राम्रो वर्किंग इन्भाइरोमेन्ट थिएन ऐले पनि छैन । बसन्तीले पनि मलाई टांगामा शहरबाट आएको गुण्डोले जिस्क्यायो भनी भने फुपुले बिहे गर्दिँदी हुन् । त्यहि भएर भन्दिन होला घरमा ! वुवालाई भने बसन्तीको केहि चिन्ता थिएन । वुवा गव्वर मार्न जय बिरु आएकैमा खुशी हुनुहुन्थ्यो । विरुले बसन्तीलाई जिस्क्याउनु त सामान्य हो । उ हिरो हो उसले जिस्क्याउन पाउँछ।
बसन्तीकी फुपुलाई आँपको अचार खानुपर्ने भो । उ आँप झार्न गई । जय र बिरु आँपकै वँगैचामा ढल्किरहेका। दिउँसो रामगढ जोगाउन आएका । आँपको वँगैचालाई नै वेडरुम सम्झेर ढल्केर बसेका । मलाई मनमनै शंका लाग्यो । शायद बिरु बसन्तीलाई पछ्याउँछ । उसको काम गव्वरलाई मार्नु हो । तर उ बसन्तीलाई पछ्याउँछ । बसन्तीलाई राम्रो नलागे पनि पछ्याउँछ । बसन्तीले कतै गुनासो गर्न पाउँदिन उसलाई विरुले पछ्याएको बारेमा । किनभने बिरु नभए गव्वरबाट गाउँलेलाई कसले जोगाउने । केटी भएर होला उसले आँप झार्नै सकिन । जयले पछाडीबाटै गोली हानेर आँप झार्दियो । विरुले आँप झार्न सिकाउने निहुँमा बसन्तीका अंग अंग छोयो । मलाई बिरु प्रति घृणा जागेर आयो । तर अचम्म बसन्तिले थाहा पाएर पनि थोरै मात्र रिसाई । उ पनि म जस्तै ढुंगा भई । जड भई । उसलाई पनि गालि फुरेन । उसले पनि सोच्न सकिन । उसले पनि कसलाई भनोस् ? मैले वुवाको अनुहार हेरेँ । वुवा हाँसी रहनु भयो । मुसुमुसु । वुवालाई विरु नै मन पर्यो । विरु हिरो हो । अनि बसन्ती राम्री केटी ।बसन्ती हुनु नहुनुले रामगढलाई खासै फरक पर्दैन तात्विक रुपमा । उसले मात्र नाचगान गर्न जान्दछे , अनि टांगा चलाउन !
फुपुले विरुको बिहे बसन्ती सँग नगर्ने भए पछि उ पानी ट्यांकिमा चढेर मर्ने धम्कि दिन थाल्यो । फुपुले ठिकै गरेकी हुन् । विरु चाहिने भन्दा ज्यादा रक्सी धोक्छ । केटी भनेपछि मरिमेट्छ । पछ्याइरहन्छ । मलाई झल्याँस्स चोकको केटो याद आयो । पिपलको रुखमा झुण्डिन्छु भन्थ्यो । बिरु ट्यांकिबाट हाम फाल्छु भन्छ । दुवै उस्तै । बुवाको अनुहार हेरेँ ।वहाँ हाँस्दै हुनुहुन्थ्यो । मलाई झनक्क रिस उठ्यो । यसमा हाँस्नुपर्ने के छ ? केटाले जे गरे पनि हुन्छ ? ट्यांकिमा उफ्रिएर ,पिपलमा झुण्डिएर केटी भेट्टिन्छ ? यस्तो पनि नायक हुन्छ ? फुपुले हुन्छ भन्दी , विरुले मर्ने प्लान क्यान्सिल गर्यो ! मलाई चिटचिट पसिना आयो । आखिरमा विरुले बसन्ती भेट्टायो । बसन्तीको केहि चलेन । मलाई त्यो चियापसलको केटो याद आयो । कसैले चियापसलबाट उसलाई जिस्क्याए झैँ लाग्यो
"यो भ्यालेन्टाइन नभए पनि अर्को भ्यालेन्टाइनसम्म पक्कै पट्टिन्छे ! लगेरहो ! बाटो नछोड !!"
उसले पनि शोले हेरेको छ । उ आफुलाई विरु सोच्छ । अनि मलाई बसन्ती ।
मैले टिभी बन्द गर्देँ । वुवाले पुलुक्क म तिर हेर्नु भो ।
"वुवा शोले राम्रो रैनछ । मलाई मन परेन !"
वुवा केहि बोल्नु भएन ।
"विरु राम्रो केटो होइन ,हुँदै हैन !" म चिच्याएँ । वुवाको कान फाट्ने गरी चिच्याएँ ।  घरमात्र हैन , मैले समाजलाई पनि चिच्याएर सुनाउनु छ । "विरु राम्रो केटो होइन !"


No comments: