जग्गा

मेरो मनले मेरो मनलाई नै हो त्यतिवेला प्रश्न गरेको “किन निर्जिव चिजहरुको माया लाग्नु पर्ने होला ?”
धेरै बेर घोत्ले पछि मैले नै पछि उत्तर निकालेँ “ किनकी निर्जिव चिजहरुसँग पनि भावना जोडिन्छ , सम्झना टाँस्सिन्छन् अनि मुटुको छेवैमा गएर वस्छन् ।“

मैले कहिल्यै सोचेको थिइन मालपोतमा गाउँको जग्गा वेच्दा उसलाइ यति पिडा हुनेछ भनेर । किनकि काठमाण्डौमा दँशैहरुमा  लिंगे पिंग ठडिएको देख्दिन, मालि गाइ ड्वाँ ड्वाँ गर्दै कराएको सुन्दिन । अनि सुर्ती मोल्दै कप्तान काकाले गरेका गफहरु सुन्न पाइदैन ।
बुढी छोराछोरी पढाउन भनेर काठमाण्डौ तिर लागीसकेको करिव एक महिना जति भो । म त्यहि जग्गाको काम रहेकाले अल्झिएँ । बाहिर जाने भन्ने बित्तिकै  पैसाको जोहो गर्न हतारो  । हुन त त्यो जग्गा पन्ध्रलाख जति जानु पर्ने हो । तर म हतारमा वेच्न खोज्दै थिएँ । चाँडो वेच्ने भनेपछि जग्गाको भाउ पाइएन ।  गाउँकै नामुद जग्गा दलालले १ लाख  दिए दश लाखमा  जग्गा बेचिदिने आश्वासन दिए । नौ लाख अन्त भाउ नपाएको मलाइ त्यो पनि हुन्छ भन्न कर लाग्यो । मैले केहि नसोची टाउको हल्लाइदिएँ ।
मेरी बुढीको सपना भने म फर्केर आएपछि काठमाण्डौ नै जग्गा किन्ने भन्ने छ ।छोराछोरीलाई पढाउन पनि सजिलो । गाउँमा न स्कुल राम्रा छन् , न छेवैमा हस्पिटल छ ।
 कहिलेकाहिँ थाकेर आउँदा पनि वुढी  गनगन गरिदीन्छे “ सानो ज्वरो आए नि दवाइ खोज्न तिन घण्टा हिन्नु पर्ने असत्ती ठाउँ , जौँ शहर नै जौँ !”
म सामान्यतय वुढीको गनगन नसुने जस्तो गरेरै टारिदिन्छु । आगोलाई हावा किन थपौँ म ? झन बल्छ , दन्किन्छ । रात थोरै छिप्पेपछि म खुसुक्क वुढीको पेट तिर हात घुसार्थेँ । उसलाई अघि चुप बसेको अझै बिझिनै रहेको हुन्थ्यो । अनि ठुस्किदिन्थी
“के गरेको ,छोराछोरी उठ्छन !”
म भने कोल्टे फर्किदैँ सोच्थेँ । अव बन्ने घरमा छोराछोरीको लागि अलग्गै कोठा बनाउनै पर्छ । सपना पनि तिन तल्ले घर माथी बार्दलीमा बसेर चिया खाएको देख्थेँ । बिहान मालि गाइ ड्वाँ गरेर कराउँथ्यो । मेरो सपनाको अवसान त्यहिँ हुन्थ्यो ।
************** *************** ************* ************ ************* ********
मलाई अझै झझल्को आउँछ मालपोत वाहिर को त्यो झुप्रो , जसमा तिन चोटी पाकिसकेको चियापत्तिमा दुध हालेर एउटा बुढा मान्छे चिया बनाउदै थिए त्यो दिन। अरुको आँखा त्यो दिउरेमा परेको थिएन । तर किन किन मेरो आँखा भने त्यहिँ पर्यो । कालो भइसकेको, कटकटिएको अनि त्यहि चियापत्तिको थुप्रो । मैले सुस्तरि आग्रह गरेँ
“नयाँ चियापत्ति हाल्नु न !”
बुढाले खिसिक्क हाँस्दै चियापत्ति मिल्काएका थिए तल भुइँमा । पिच्च थुकिएको खैनी जस्तो आकृती थियो चियापत्तिको ! थोत्रो टेवल अनि तलको भुइँ ।टेवलका खुट्टा लरखराउँथे चिया चलाउँदा पनि , कुनै वुढो मान्छेको हात खुट्टा लरखराए जस्तो । आयु ले कति फरक पार्छ आकृतिमा । टेवल पनि आफ्नो आयु अनुसारकै आकृति देखाउँदै थियो शायद !
पिउँदा खासै स्वाद नलागेको चिया । कमि के मा थियो त ? चियापत्ती नयाँ ,चिनी हालेर उम्लेकै थियो , बुडा बा ले थोरै मरिच पनि हालिदिएकै थीए ! तर शायद मेरो जिब्रो त्यो दिन निदाएको थियो , स्वाद लिने रहर नै थिएन जिब्रोको । पुरै नसिध्याई  गिलास राखिदिएँ मैले । अनि खिस्रिक्क पाँच को नोट लम्क्याउँदा बुडाले भनेको थिए “ बाबु चियाको दाम बढेको धेरै भो दश पुग्यो !” दश रुपैयाँ बुझाउँदै गर्दा मनमनै ध्यान आयो महँगि कति साह्रो वढेको । अस्ती भर्खरै जस्तो लाग्छ चार आना मा बरफ पाइन्थ्यो । हामी खाएर खुशी हुन्थ्यौँ।

“तँपाइलाई कति दिनुपर्ने रे कमिसन एकलाख हैन त ?
पैसाको बिटो बुझाउँदै गर्दा दलालको  हात हेरेँ मैले । तिनवटा औँलामा औँठी अनि टिलिक्क टल्केको घडी । मनमनै सोचेँ,
मेरी बुढीलाई नि छड्के तिलहरी लाउने खुवै रहर थियो , मेरो हैसियत थीएन अनि म भन्ने गर्थेँ त्यो सुन लगाएर कोहि ठूलो हुइन्न हेर । उ चुप लाग्थी ।  उसका तिनवटा औँलाका औँठी हेर्दैगर्दा भने मनमा नआओस् भन्दा नि पापी लोभ आउँछ , मन चिच्याएर कराउँछ ,
“ यसको जस्तो जिन्दगी भए पो !! आफ्नो त अव जग्गा बेचेको पैसा बोकेर विदेशीनु परेको छ !”
****************** ************* ************** ************** ***************
“नौ मात्रै पाइयो ?”
वुढीले लाडिँदै सोधी ।
“ त्यति त मरेर पाएको !” मैले शर्ट खोल्दै जवाफ फर्काएँ । उसको छेवैमा ढल्किए । अलि परको खाटमा छोराछोरी सुतेका थिए
काठमाण्डौको त्यो कोठाबाट म करिव एक महिनामा विदेशिँदै छु । छोराछोरी र बुढीलाई थोरै पैसा बेँक मा राखिदिएर ! “छोराछोरी निदाए त ?” मैले उसको पेटमा हात घुसार्दै सोधेँ ।
उसले जवाफ फर्काइन !

तिन वर्ष पछिको एउटा दिन ,
“चिया लिउँ न !” मेरी बुढिले चिया लिन हात अघि बढाई । चिया लिँदै गर्दा पनि घरको वर पर बाट आँखा हटाउन भ्याएकी थिइन । म भने चिया आग्रह गर्ने मान्छेको भुँडी हेर्दै थिएँ । बडेमानको। आफ्नो हेरे , स्याप्प सुकेको । तर त्यत्रो भुँडी हुनुभन्दा त यहि ठिक छ । भुडी रोगको घर अरे । काम नगर्ने मान्छेको ठूलो भुँडी हुन्छ अरे । कोठाको कुनाको वकिंग मेशिनमा भने उसले शर्ट झुण्ड्याएको थियो । मैले फिलिमहरुमा देखेको छु । धनिहरु त्यसमाथी हिँड्छन । एक्सरसाइजको नाममा ! धनीहरुले विदेश गएर हाम्रो जस्तो काम गर्दैनन् । त्यहि भएर धनिहरुको भुँडी हुन्छ ।कोठा शानदार थियो । टिभि नि चालिस इन्च भन्दा माथिकै हुनुपर्छ । पर्दा मखमली ,हेर्दै लोभलाग्दा !
“चार तल्ला मा तिन भाँडामा लाएको छु । काठमाण्डौ मा वाँच्न गाह्रो छ हजुर । नत्र आफ्नो घरमा मान्छे राख्यो हेर्नुस् । फोहोर पारिदिन्छन् । हल्ला गर्छन् । पैसा भए त सानो घर नै राम्रो !” भुँडीवाला मान्छेले उसको आँखा यताउता गरेको देखेर  स्पष्टिकरण दियो ।
“कति भो घर बनाउनु भएको ?” मेरी बुढीले अनायसै प्रश्न गरी । मैले उसलाई पुलुक्क हेरेँ । उसको रहर पनि ठूलो घर होस् भन्ने छ । शायद यति ठूलो त हैन होला तर पनि ठूलो ।
“दुई वर्ष जति भो , ग्राहक पाए त वेचदिन्छु म डेढ करोड जतिमा !”
म सकपकिएँ ।हातमा भएको चिया माथी एउटा झिंगा बस्यो । मेरो भाग खोस्न आए जस्तो गरी । रिसले पर धकेलेँ । पर गएर झ्यालमा टाँसियो । त्यो झिँगा म भन्दा भाग्यमानि छ । भाँडा तिर्दैन , डेढ करोडको घरमा बस्छ । म सँग लगभग अहिले चालिस लाख जति छ। तिन वर्ष हाड घोटेपछि निक्लेको कमाइ । आउने वित्तिकै चिनेकै गाउँको दाजुलाई अव काठमाण्डौमै जग्गा किनेर घर बनाउने सुर गरेको भनेको थीएँ । जग्गा मेरो पैसाले किन्ने, रिन बनाएर घर बनाउने अनि भाँडाले रिन तिर्ने सुझाएका थिए दाइले । तर त्यति पैसाले रिंगरोड भित्र भने नआउने पनि भनिसकेका थिए। छेवैको भुँडे जग्गाकै व्यापार गर्थ्यो । दाइले चिनेको मान्छे ! जग्गाको बारेमा सोधपुछ गर्न लिएर आएका ! बुढीलाई पर्दैन सँगै जान भनेको । मानिन । भनी
“ मेरो पनि त घर हो , अव बन्ने । म पनि जग्गा हेर्छु !”
उसको हठको अघि मेरो केहि लागेन ।
“हेर्नुस् त  , आइफोन सेभेन आइसकेछ !” भुँडीवाला मान्छेले पत्रिका देखायो ।
मैले भने पत्रिका हेर्दै गोजीमा भएको स्यामसँग फोनलाई समातेँ । अस्ति कुन पत्रिकामा स्यामसंग पड्कियो भनेर पनि आयो । त्यसपछि मलाइ स्यामसंग बोक्न डर लाग्छ ।
“ म र बुडी सँग सिक्स छ , अव एउटा चाहिँ छोरालाई दिएर अमेरिका बाट मगाउँकि भन्ने विचार छ ! आइफोन बोकेपछी अरु बोक्न मन लाग्दैन ! यसबाट आउने फोटोको क्वालिटि नै वेग्लै , फेसबुकमा टल्किन्छ त्यो फोटो ,लाइकको त वर्षात हुन्छ !” भुँडे मान्छे धक फुकाएर हाँस्यो । मैले पनि  मन नलागी नलागी हाँसोलाई साथ दिएँ । मेरो स्यामसंग बाट त विदेशका फोटाहरु नि राम्रो आएका थिएनन् । मान्छे राम्रो देखिँदा पछीको बिल्डिंग देखिन्न थीयो , पछाडीको बिल्डिंग देखिँदा मान्छे राम्रो देखिन्न थियो । फेसबुकको प्रोफाइल पिक्चर चेन्ज गर्न नपाएको समस्याले ग्रसित थिएँ । बुढीको फेसबुकमा भने हामी दुइको फोटो राखेकी छे । तर फोटो असाध्यै मधुरो छ । फोटोको फोटो खिचेकी । म त चिनिँदा नि चिनिन्न त्यसमा !
“चिया लिउ न हजुर ,सेलाइसक्यो !” भुँडे मान्छेले फेरि आग्रह गर्यो ।
मैले चिया फेरि सुरुप्प पारेँ ।
**************** *************** ****************** *************** ************

“रिंग रोड भन्दा थोरै बाहिर बनस्थली तिर एउटा जग्गा छ । हेर्नुस् यो चारपाटो यति मिलेको , रुमाल जस्तो जग्गा त्यति चाँडो पाइन्न । अनि पारिलो पनि छ !”
 “ हामी सँग पैसा त्यति धेरै छैन त्यहि भएर बाहिर खोजेको !”
“ त्यो जग्गा चार आनाको साठी लाख त कहाँ बडि हो र हजुर !” उसले आफ्नो छाति कन्यायो । छातिमा सिक्री सँगै रौँ नि देखिए काला बाक्ला !
दाइले पुलुक्क म तिर हेरे । म सँग जवाफ छैन । । मैले बुढीलाई हेरेँ , उ होमवर्क गर्न नसक्दाका मेरा छोराछोरी जस्तै छटपटाई । मनमनै म सँग सहयोग मागे जस्तो लाग्यो । उसका लाचार आँखाहरु हेरीरहन सकिन । म केहि गर्न सक्दिन । अव साठि त मैले आफैलाई बेचे मात्रै हो ।
“हामी सँग चालिस जस्तो छ !” दाइले मुख फोरे । मैले पनि हो भने जस्तो लाग्ने गरी टाउको हल्लाइदिएँ । गएको हफ्ता देखि मलाई खासै बोल्न मन लाग्न छोडेको छ ।
“ काठमाण्डौमा चालिस मा कहाँ जग्गा पाउनु हुन्छ । फेरि दुइ आना लिएर नि भएन । भुइँचालो पछि घर बनाउन पनि स्ट्रिक्ट गरेको छ !” उ छाति कन्याइरह्यो । हामी केहि बोलेनौँ
“हेर्न जौँ त ?” उसले कर गर्यो ।
“भै गो !”
म उठेँ । तिन वर्ष मैले गलत हिसाव गरेछु । आज आएर उत्तर नमिलेको पत्तो भो । दाइले चियाको गिलासको अन्तिम सुरुप लिए स्वाद गरेर !
वुढी र म कोठा फर्कियौँ । मैले चुरोट सल्काएँ ।
“एउटा झ्याल मात्रै छ , भित्र चुरोट नखानु भनेको नि लाग्दैन !” उ अचानक झर्किई ।मैले हत्तपत्त निभाइदिए छेवैको भित्ता ग्याँसको रापले कालो भएको खोइ किन किन मेरो भविष्य पनि समस्याले पोलेर त्यसरीनै कालो हुँदै गए जस्तो लाग्छ आजकल!
*************** **************** **************** ***************** ************
एक हफ्ता पछि
“ अनि छोराछोरीको पढाई ?” बुढीको अनुहार मलिनो नै थियो ।
“ मैले वुझेँ , कप्तान काका सँग मोबायलमा कुरा भएको थियो । काकाकै घर भाडामा लिएर  राम्रो बोर्डिंग पनि खोलेको छ रे ! एसएलसिमा सवै फस्ट डिभीजन आएका रे त्यो स्कुलबाट ” मैले सम्झाउने प्रयास गरेँ ।
उ केलाउँदै गरेको चामल हेरेर घोत्लिरही ।
“यहाँ भाँडामा बस्नु भन्दा त त्यहि ठीक हैन र?” मैले थोरै जिद्दी गरेँ
“खोइ ! तै पनि !”
“हामीले छोडेपछि बाटो नि पुग्यो , बरु एउटा बाइक जोहो गरेर किनौँला !”
“कहाँ बाट गर्नु हुन्छ जोहो ?” उ ठुस्किइ
“गरौँला नि केहि !”
“ भनेपछी तँपाइले फर्किने मन बनाइसक्नु भो !” उसले पुलुक्क हेरी । “ अनि जग्गा चाहिँ कहाँ हो ?”
“हामीले बेचे भन्दा दुइ घर तल !”
“कति रैछ दाम ?”
“दुइ लाख कमिसन दिए  चालिसमा मिलाइदिन्छू भनेको छ !” मैले सुस्तरी जवाफ फर्काएँ । छेवैको किचनको भित्ता थोरै अरु कालो भएको छ।


No comments: