मनोजले छोडेको कथा(भाग-१)

“छ्या गाडी थोत्रो रहेछ ! ” मनमनै सोचेँ । कोशि वारि बाटै टिकटको लागि भनेको थिएँ पारी बाट गाडिको चढाई भो । त्यो पनि नेपालगन्ज सम्मको यात्रा ! मैले नारायणगढ सम्म त्यो गाडिमा बाटो काट्नु थियो । साथिको बिहेमा हिँडेको ! उसको सुखमा म बुङ्गो यति दुख गरी गरी जाँदै थिएँ , मैले जाँगर र रहर पनि देखाएकै हो उसको बिहेमा जाने ! कोहि कोहि ठिकै भन्छन् फुच्चे मुडि छ । साँचो हो यथार्थको धरातलमाँ जस्ले भावना र सम्बन्धलाई महत्व दिन्छ उ सनकि नै हुन्छ एभरेज भिँडको अघि । साँचो कुरा त दुनियालाई मेकानाइज्ड लाईफ मन पर्छ मेरो सनक र मुड भन्दा ! मलाई पनि उनिहरुलाई गलत साबित गर्ने रहर छैन , मेरो जिवन मा अरुको सुझावको लागि ठाउँ छैन ।

“कहाँ सम्म हो ?” मेरो तन्द्रा भंग भयो । आवाज माला चुँडिएर मोति भुईमा खसे जस्तै थियो । मैले आवाजको भौतिकता नियाँले । अनुहारमा अघि चुँडिएका मोतिको दिप्तता थियो भने केश त्यहि मोति चुँडिएको रेशमि डोरी ! स्विटर माथिको गुलाबि ओढ्ने ले जोरले उनलाई कसेको हुनुपर्छ किनकि उनी पक्कै पनि छोड्न मन लाग्ने थिइनन् ।

शायद फुच्चेलाई यहि भएर नेपालगन्ज सम्म जाने झोँक चलेको रहेछ , आज भने फिल्मी ( बेगर विद द प्रिन्सेस) यात्रा हुने भयो । मनमनैँ सोचेँ ।
“यो गाडिमा त नारायण गड सम्म जाने हो !’ मैले उसलाई नियाल्दै भनेँ । गाडि बिस्तारै घ्यार घ्यार गर्दै चलायमान भयो । तर उसलाई नियाल्दा मैले आँखा यता उता चलाउने पनि फुर्सद पाएको थिईन । “नारायण गढ कति बजे पुगिएला ?”
“बज्ला बिहानको दुई तिन !”
“तँपाई त्यहिँ सम्म जाने हो ?”
“होइन नेपालगन्ज ।“
“हो र ! म पनि नेपालगन्ज नै जाने हो त , साथि हुने भइयो ।“ उ खुशि देखिई ,तर म ठोकुवा गरेरै भन्न सक्छु उसको खुशि भन्दा मेरो खुशि हजारौँ गुना ज्यादा थियो ।
“तँपाई पनि नेपालगन्ज जाने हो ?”मैले आफ्नो खुशि कन्फर्म गर्न फेरि पनि सोधेँ ।
“हो तर तँपाईले मलाई तिमी नै भने पनि हुन्छ । At least I have to get some liberty of being younger !!!!!!!! मेरो नाम चाहिँ सुधा हो , सुधा भनेर बोलाए पनि हुन्छ । ”
उसले मुस्कुराउँदै जवाफ फर्काई । अघिका सम्पुर्ण गुणलाई परास्त गर्ने त उसको मुस्कान रहेछ ।मन फुरुङ्ग भएर आयो ।म आफ्नो खुशी लुकाउन झ्याल बाट बाहिर नियाल्न थालेँ ।दुनियाँ चलायमान थियो ,मैले बिस्तारै दुनियाँलाई भनेँ “हेर तँ भन्दा पनि मेरो जिवन चलायमान छ ।“

जब मैले बाहिरबाट ध्यान हटाएर उ तिर आँखा फर्काए । उ केहि खुला पानाहरु पढिरहेकि थिई । प्रिन्ट सानो थियो मैले राम्ररि नियाल्दा पनि ठम्याउन सकिन ।

“साझा पढ्ने गर्नु भाको छ ?त्यसैको एउटा कथाको प्रिन्ट हो ।” उसले मैले उसले पढ्न खोजेको कुरा देखिछ क्यार ! मुटु एक चोटि बुरुक्क उफ्रियो ,अब कुरा अगाडि बढाउन अफ्ठ्यारो पक्कै हुनेछैन । मैले भगवान लाई धन्यवाद दिन एकचोटि माथि हेरेँ किनकि जब धेरै कुराहरु एकैचोटि मिलेर आउँछन् विश्वास गर्न पनि डर लागेर आउँछ ,कतै झल्याँस्स बिउँझिइने पो हो कि भनेर !

“थोरै थोरै पढ्ने गर्छु ,कस्को कथा हो त्यो ?”
“Somewhere on the earth!!!”
“Lucky सोम दाई , मेरो नाम किन आएन! “मैले मनमनैँ सोचेँ ,फेरि सोचेँ मान्छे साँचै असन्तोकि हुन्छ स्वभावैले ,यति सबै भइसक्दा पनि म त्यो कथा पनि मेरै होस् भन्ने चाहिराखेको थिएँ । “तिमीले फुच्चेकेटो को कति कथा पढेकि छ्यौ ?” मैले उसको आँखामा आँखा जुधाउँदै प्रश्न गरेँ । म मेरो नाम आउँदा उसको मुहारको परिवर्तन नियाल्न चाहन्थेँ ।
“सबै कथा पढेकि छु दुइटा कथा अधुरा छन् उसका ,किन?”
“त्यो फुचेकेटो म नै हुँ ।“



उसले एक छिन सम्म मेरो अनुहार हेरिरही ,शायद उ म सँग आफुले सोचेको फुच्चेकेटोको अनुहार कत्तिको मिल्दो रहेछ भनेर जुधाउन चाहन्थी ।

"मलाई फुच्चेकेटो थोरै कालो तर पाक्लाक पुक्लुक्क गाला भएको यति हँसिलो होला जस्तो लागेको थिएन उसका कथाहरुबाट !" उसले पहिलो चोटि मलाई जिस्क्याई ।
"के म यसलाई तारिफ सम्झिउँ ?"
'जे सम्झ त्यो तिम्रो ईच्छा , मैले त लागेको कुरा भनेको मात्र हो ,अर्थ निकाल्न त लेखक हरु स्वयं सक्षम हुन्छन् नि !"
उ बिस्तारै सम्बोधनहरुमा तँपाइ बाट तिमीमा झरिसकेकी थिई । तर यो तँपाईबाट तिमीको रुपान्तरण मलाई पनि रमाईलो लागिरहेको थियो । किन कि तिमी मा ज्यादा सामिप्यता हुन्छ तँपाइ भन्दा !

"तिमी विवाहित होइन है ?"
'होईन त किन ?"
"तिमी खालि परिकथा जस्तो मायाका कथाहरु लेख्छौ त्यहि भएर !"
"तिमी मलाइ यो भन्दा मायालु यो भन्दा यो भन्दा रमाइलो बिषय सजेष्ट गर्न सक्छौ?" मैले उसको प्रश्न उसलाई नै फ्याँके ।
उ मौन भई शायद उ सँग मेरो यो प्रश्नको जवाफ थिएन जसरी मैले जत्ति नै लेखे पनि उस्को रुपको अलौकिकता को बर्णन म सँग थिएन ।तर जे भए पनि मेरा कथाहरु ,मेरा विषयहरुमा छिरिरहेकी थिई ,त्यहि नै भइरहेको थियो जे म चाहिरहेको थिए । आखिर म मेरा कथाहरुलाई आफ्नो गहना मान्छु र गहना को सुन्दरताको बयान अरुको मुखबाट सुन्दा को सन्तुष्टिको स्वाद नै बेग्लै हुन्छ । अझ मेरो तारिफ गर्ने स्वयं तारिफ लायक थिईन यहाँ त !


पुरानो गाडि बिस्तारै बिस्तारै आफु पुरानो हुनुको परिचय दिँदै थियो हामीलाई ,गाडिको झ्याल जतातिर म थिएँ बिस्तारै बिस्तारै गाडिको गति सँगै खुल्दै थियो चिसो हावा बिस्तारै बिस्तारै मेरो शरिर लाइ छोइरहेको मलाई त्यति खेर सम्म थाहा भएन जब सम्म उ त्यो शिशा लगाउन म तिर लम्किईन ।
उसको सलले पनि मलाई उसको स्पर्शको अनुभुति दियो । थोरै नै भए पनि हावामा उसको सुबास महसुस गरेँ मैले ।गाडि भित्रका मधुरा बत्तिहरु पनि अहिले नबलुन् भन्ने चाहन्थेँ म !


"लेखक हरु सँधै गम्भिर हुनुपर्छ हो ?" एक छिन मौनता आखिरमा उसले नै भङ्ग गरी । झ्याल लगाईवरि उ आफ्नो सिटमा स्थिर भइसकेकी रहिछ ।
"मलाई त त्यस्तो लाग्दैन ।"
"त्यसो भए किन चुपचाप त ? कि साझाको नयाँ प्लट फुर्दै छ ?"
"यत्ति राम्रि केटी छेउमा भए पछि त प्लटमात्र किन मलाई त महाकाब्य नै फुर्नु पर्ने हो !' मैले पहिलो चोटि मौकाको सदुपयोग गर्दै उत्तर फर्काएँ । आखिर उसलाई पनि थाहा होस् न उ कति राम्रि छे भनेर !
"म त्यति पनि राम्रि छैन !"
"मलाई केटीहरुको यहि बानी मन पर्दैन !'
"कुन ?"
"बरु नराम्रा केटीहरुलाई आफु राम्री छु भन्ने भ्रम हुन्छ तर राम्रि केटीहरुलाई आफ्नो सुन्दरता माथि बिश्वास पटक्कै हुँदैन ।"
"तिमीले केटीहरुलाई राम्ररी बुझेकै रहेनछौ ।"
"म मात्र किन र ? जस्ले पनि बुझेको छु भन्छ उसले गलत भनेको हुन्छ ।"
यसपालि उ धक फुकाएर हाँसी , उसलाई चित्त बुझे जस्तो छ ।


"के गर्छौ त तिमी !" मैले उसको ब्यक्तिगत जिवन जान्न चाहेँ ।
"साझामा तिम्रा कथाहरु पढ्छु !"
उसलाई थाहा छ कस्को तारिफ कसरि गरिन्छ भनेर !
"मैले त्यो बाहेक सोधेको !"
" मास्टर्स गर्दै छु बिराटनगरमा ! पार्ट टाईम पढाउँछु पनि !"
" मेरो अबको कथा त्यसो भए "म स्टुडेन्ट भएको भए" हुन्छ होला !
मैले पनि तारिफको बदला तारिफ ले नै फर्काएँ
"म त्यसको प्रतिक्षामा रहनेछु ।' उसले हाँस्दै भनी ।

"तिमी त ईन्जिनियर हो होईन ?धनकुटा मा हो क्यारे ! कुन डिपार्टमेन्ट र अफिस चाहिँ याद भएन ?'
"कसरि थाहा पायौ ?" साझाका केहि पोष्टहरुबाट थाहा पाई होली भन्ने अनुमान हुँदा हुँदै पनि मैले उसलाई सोधेँ । म उसको मुखबाट सुन्न चाहन्थेँ ।
"कम अन यति पनि थाहा हुँदैन त फ्यानहरुलाई ?'
"हेर है तिमी मेरो नाक बढाउने काम नगर !"
'काम कसरि म्यानेज गर्चौ त राइटिङ्ग सँगै ?" उसको प्रश्न सामिप्यता ले भरिएको लाग्यो मलाई !
"म्यानेज भइ हाल्छ सरकारी जागिरमा !" मैले हलुका जवाफ फर्काएँ , मलाई थाहा छ मेरो जागिर त्यति सजिलो छैन जति म जनाईरहेछु उसलाइ ! एक हफ्ता बिदा लिन पनि हाकिम सँग झगडा गरेर हिँडेको हुँ म !


गाडिमा अचानक बत्ति बल्यो । सडक को पल्लो कुनामा पनि एक दुईवटा बत्तिहरु देखिए ।उसले आफ्नो सल मिलाइ ।आफ्नो कपाल पनि मिलाएर कानको पछाडि लगी । कानका साना टपहरु गाडिको पहेँलो प्रकाशमा टलक्क टल्किए ।गाडि बिस्तारै त्यो होटलमा रोकियो ,बाहिर बाट एउटा मोटे मान्छे खानाको लागि चिच्याउँदै थियो ।

क्रमश:

1 comment:

Anonymous said...

ल कथा गजबको छ। निरन्तरता जाओस ।

धन्यवाद ।

आर बि घिमिरे, सुडान अफ्रिका ।