कथाको दोश्रो अंश पनि म वाटै शुरु हुँदैछ।आशा दिदी खोइ त कथामा ?पढ्नेलाई
अचम्म लाग्न सक्छ आशा दिदीको वारेमा सोचेर, तर कथा त आशा दिदीको नै हो, म त यो कथा
वुन्ने फगत एउटा धागो हुँ।त्यो धागो जसले कथा मा पत्र पत्रमा रहेकी आशा दिदीलाई
उक्काउने छ।हुन त धागोले जोड्छ, तर जोडिदिने वस्तुले नै उक्कायो भने ? प्रश्न
अचम्मको छ, हुनैपर्छ । किनकी म पनि अचम्मको छु,समाज अचम्मको छ अनी मेरो कथा पनि ।
कथामा म कति मेरा रातहरुको वयान गरौँ, पहिलो र दोश्रो अंशको विचमा मेरा
शिकार फेरिए, रातका परिदृश्यहरु फेरिए,म माझिँदै गएँ।झन झन चम्किलो भएँ, झन
धैर्यवान भएँ अनि झनै शितल भएँ। भो
अहिलेलाई ! कति आफ्नो पुरषार्थलाई आफ्नो कथामा व्याख्या गरौँ?कथामा थोरै गति
थप्छु, कथालाई थोरै अघि लैजान्छु।
दृष्टीको विहे
"यसपाली तँ र म तराइ जानुपर्छ वुझिस् ! दृष्टीको विहेमा !"
आमाको आँखामा अनौठो खुशी देखियो। घरले वाँधेको छ,कहिलेकाहिँ पखेटा फिजाउन
चहानुहुन्छ।वाहिर वार्दलिमा निक्लेको वेला आकाश हेर्नुहुन्छ। आकाश त अझै अनन्त छ,
आफु खुम्चिएकोमा दुख लाग्छ। वुवाको सेमिनार अनि अफिसको विचमा वुवा घर
विर्सिनुहुन्छ।तर आमालाई मात्र घर याद रहन्छ! पर्दाहरु सुम्सुम्याउनुहुन्छ झ्यालका
,धुलो लागेको जाली सफा गर्नुहुन्छ।कहिलेकाहिँ विस्कुन सुकाउनुहुन्छ छतमा!जीवनलाई
घरका कुनाकुनाहरुमा बाँड्नु भएको छ।
समय पनि अचम्मको हुन्छ,वाँडिन्छ
वाँचिन्छ अनि विक्री पनि हुन्छ।वुवा समय विक्री गरेर पैसा किन्दै हुनुहुन्छ। आमा
समय सँग स्वतन्त्रता साट्न खोज्नुहुन्छ। म दुइजनाको तराजु नियाल्छु।छुट्याउन
सक्दिन को वढि खुशि छ , छुट्याउन सक्दिन खुशी के हो ! दिक्क हुन्छु , नियाल्न
छोड्छु मलाई आफ्नै जीवन ठिक छ ।
मेरो पनि कलेज सिद्दिएको थियो,आमाले राखेको प्रस्ताव नकार्न सकिन।
"कहिले जानुपर्ने ?" आफ्नो लामो घुम्रिएको कपाल भित्र
कन्याउँदै मैले सोधेँ!
"अर्को हफ्ता , जाँच त सिद्दियो ! अव तेरो जागिरमा छुट्टि मिलाउन
सक्छस् कि सक्दैनस् !" वहाँको भनाइमा आग्रह थियो। कति कमजोर वनाएको छ समाजले
आइमाइ मानिस् लाई सिकाएको छ साथ खोज्नलाई, तरुनीमा पतिको वुढेसकालमा छोराको !
"छुट्टि त मिल्छ होला!" मेरो कपाल कन्याइ यथावत थियो।
"तँलाई जान मन छैन भने छोड्दे न त !" आमाले मेरो कपाल कन्याइको
आशय निकाल्नुभयो।
"हैन ?जान्छु नि ! मेरो पनि त वहिनी हो !" मैले आमालाई फेरि आफ्नो
ढाँट उत्तर फर्काए। मलाई खासै जान मन छैन त्यो विहेमा । रातका अल्लारे
पार्टीहरु,अनि नयाँ अनुहारहरु, केहि नयाँ कोठाहरु,अनि केहि सपनाहरु छुट्नेछन्।
आमा खुशी हुनुभयो किनकी मैले आमाको उडानमा पखेटा थप्ने प्रयास गरेको थिएँ।
*************** **************** **************** **************
*********
"आइस् तँ पनि !" दृष्टी मलाई हेर्दै हाँसेकी थिई। उमेरले चार
महिना भएपनि उसको दाजु नै थिएँ। तर उसले कहिल्यै तँपाइ भनिन मलाई।मैले पनि
सम्वोधनमा "तँपाई" खोजिन।
"किन आउँदिन जस्तो लागेको थियो र?" मैले व्याग उसको खाटमा
हुत्याउँदै प्रश्न राखेँ।
"के भर तेरो ! मलाई त ठुलोमामु मात्रै आउनुहुन्छ कि जस्तो लागेको
थियो!"
"इक्जाम सिद्दियो, काम वाट पनि छुट्टी पाइयो !तँ रोएको पनि हेर्न मन
लाग्यो !"
म थोरै ढल्किएँ,उसैको खाटमा।विहेको सामानहरुले कोठा अस्तव्यस्त थियो।उसको
कलेजको ग्र्याजुएसनको फोटो उसको टेवलमा थियो।
"तेरा साथीहरु त आउँदैनन् होला है काठमाण्डुवाट?" मैले
ग्र्याजुएसनको फोटो हेर्दै प्रश्न राखेँ।
"आउँदैनन् होला ! यति टाढा!! फेसवुकमा म्यासेज त पठाको हो ! के
गर्छन् थाहा छैन !"
उसले मेरो प्रश्नको आशय नवुझीकन
साधा उत्तर फर्काई। मेरो आँखा अझै तस्विरमै अडिएको थियो।कन्या क्याम्पसका पुतलिहरु
दृष्टीलाई घेरेको तस्विर ! आमा आफ्नै वहिनीसँग गफमा व्यस्त होला। सके मेरो लागि
पनि केटी खोज्नुपर्छ भन्ने सम्म कुरा पुगिसक्यो होला।अरुले पनि "हो दिदी अव
सत्ताइस् पनि भयो,काम पनि गर्दैछ ! मास्टर्स सिध्यायो ! अग्लो गोरो राम्रो केटो
जसले पनि केटी दिन्छ ! अहिल्यै हो विहे गर्ने पनि!" भनी सके होला। आमा दंग
परिनै सक्नु भयो होला वुहारीको सपना देख्दै !!
मलाई त्यसैले पनि कसैको विहेमा
जान मन लाग्दैन।किन मान्छेहरुलाई अर्काको जीवनको यत्रो चासो? सपनाको सारथी वनिदिने
यत्रो धोको!मैले टारिसकेको थिएँ दुइ तिन चोटी त प्रस्ताव पनि। तर आजकल वोल्न मन
लाग्दैन। आखिर के भनौँ ?मैले प्रत्येक रात स्त्री भोग्न पाएको छु, चाहेको जस्तो!
अनि विहान उ मलाई न त कपाल काट्नु नै भन्छे, न त मेरो टिशर्टको कलर चुज गर्छे! म
स्वतन्त्र छु। मान्छे मलाई वाँध्न चाहन्छन्। मान्छेको स्वतन्त्रताको जलन हो सवै
यो।
******* ******* ************** ************* ************
****************
"दृष्टी चिया खान निस्की न वाहिर कति कोठामा घोत्लिरहन्छेस् ?हामी
सँग पनि गफ गरे हुन्छ !" आवाज मधुरो थियो मेरो ध्यान तान्न सक्ने गरी
पर्याप्त थियो। भौतारिरहेको मेरो पनि पहिलो चोटी धैर्य वन्न वाट अटेर गर्यो। मैले
अनुहार हेरीसकेको थिइन तर अनुहार पक्कै राम्रो हुनुपर्छ मैले अनुमान गरेँ
"को हो दृष्टी ?" मैले ढोका तिर नजर दौडाउँदै प्रश्न राखेँ। ढोकाको
खुलेको भागवाट केहि देखिएन । मात्र पदचाप सुनियो, किचन तिर कोहि गए जस्तो लाग्यो।
"तँ चिन्दैनस्! आशा दिदी ! मेरो काकाको छोरी !"
आशा मात्र दृष्टीको दिदी हो नि ! मेरो मनमा उठेको पहिलो सोच थियो।कथा
त्यहि समयको त्यो सम्वन्धवाट डोरिइनु परेकोले अहिले दिदी शव्दलाई म थोरै विश्राम
दिँदैछु।कथामा शव्द शव्दका अर्थ हुन्छन् दिदी शव्द जवसम्म प्रयोग हुन्छ तवसम्म
मेरो मनको भार हट्नछैन। म कथा सुनाउन सक्ने छैन।जीवनका घुम्तिहरुमा उ पनि कुनै
सम्वन्धको भार नवोकी छिरेकी थिई। सारांशमा कथाको त्यो मोडमा उ मात्र आशा थिई।
आशा
म साँझमा छतमा थिएँ।विराटनगर पहिलेको जस्तो थिएन।हामी शहरको एक कुना
जस्तोमा नै भए पनि पर परसम्म खेत देखिन्नथ्यो।घाम घरहरुको विचवाट अस्ताउँदै
थियो।प्रकाश गुलावी थियो।लामखुट्टेको गुनगुन वढ्न थालेको थियो।म भने शुन्य प्राय
भएर आफुले नै उडाएको धुवाँलाई नियाल्दै थिएँ।संसारले मलाई दुई चरित्रको व्यक्ति
मान्न सक्छ,किनकी म घरमा पृथक हुन्छु वाहिर भन्दा! कहिलेकाहिँ सोच्छु "म मेरि
माया गर्ने आमालाई किन कुरा लुकाउँछु ?" उत्तर पाउँदिन । खोज्न छोडिदिन्छु। म
दुई चरित्रमै ठिक छु। यसलाई सामाजिक भाषामा मान्छे प्र्याक्टिकल भएको भन्छन्।
आशा पनि एकान्त खोज्दै हुन सक्छ छतवाट उक्लिएको मैले देखेँ।मैले हत्तपत्त
सल्किएको चुरोट निभाएँ।म चाहन्न मैले समाजको अघी ठड्याएको अर्को मको स्वरुप
झर्यामझुरुम होस् एउटा चुरोटले।
"विहेको माहौल मन पर्दैन हो ?" उसले नै कुराको शुरुवात गरी!
"किन र?" मैले अचम्म माने जस्तो गरेँ।
"एक्लै छतमा किन त ?"
"मलाई भिँडभाँड मन पर्दैन खासै!"
"त्यो भनेकै पहिलो प्रश्न हैन र ? विहेको माहौल भिँडभाँड !"
उसको मुस्कानमा धेरै रंगहरु थिए।केहि अस्पष्ट आकृति थीए। सरल पक्कै पनि थिएन उसको
मुस्कान।
"कैद कसलाई मन पर्छ र ? त्यसमाथी जन्मकैद !" मैले सपाट उत्तर
फर्काएँ।
"कैद किन र?"
"विहे भनेको सिमा तोकेको त हो नी ! मान्छे त स्वच्छन्द हुनुपर्छ !
पखेटा फिँजाउनुपर्छ,उड्नुपर्छ!"
"केहि सम्वन्धहरु आकार नपाउन्जेल छताछुल्ल हुन्छन्,पोखिन्छन! वोक्ने
भाँडो चाहिन्छ !"
"छताछुल्ल भएर त यात्रा तय गरिन्छ ,आकार त स्थिर हुन्छ !" मैले
उसलाई नियाल्दै जवाफ फर्काएँ। एउटा गम्भिर भेष ! उसले मलाई तानेकी थिई। कुर्ताको
टप ,जिन्स प्यान्ट अधवैँशे अनुहार ! करिव म भन्दा पाँच छ वर्ष जेठी हुनुपर्छ उ!
अहिलेसम्म का केटीहरु भन्दा पृथक। अहिलेसम्म मेरो वरालिने मनले वरालिने मनलाई नै
भेटिरहेको थियो।खहरेहरु रातका भेल वोकी आउँथे,दिनको प्रकाशमा उनीहरु सुके जस्ता
हुन्थेँ, तिर्खा जस्ता को तस्तै,यात्रा जस्ताको तस्तै !दिन फेरि अर्को खोजमा
वित्थ्यो। एउटा स्थिर समुन्द्रले मेरो मनमा पौडि खेल्ने गरीको काउँकुति लगाएको नै
थियो त? जहाँ गहिराई थाहा हुन्न,त्यहाँ डुव्नुको मजा नै वेग्लै!
"कहिलेकाहिँ गति हानीकारक हुन्छ,विशेषत लक्षको उल्टो हिँडियो भने
!"
"लक्ष थाहा नपाइकन पक्डेको गतिको फेरि अलग्गै नशा हुन्छ !"
"आ-आफ्नो सोचाइ हो !" उसले थोरै भुइँमा झुक्दै जवाफ फर्काई।
"तँपाइको सोचाइ के हो त
?" मैले तँपाई नै भनेर सम्वोधन गरेँ। तिमीमा झर्ने मैले हालसम्म अनुमति पाएको
छैन। अनि उ म भन्दा जेठी नै पनि थिई।
"कहिलेकाहिँ उत्तर नहुने प्रश्नहरुले पिरोल्छन् ! म तल झरेँ ल, पछि
कुरा गरौँला ! तिमी साह्रै रमाइलो कुरा गर्छौ! अनि नडराए हुन्छ,म चुरोटको लतको
वारेमा कसैलाई भन्नेछैन! ह्याप्पी स्मोकिंग एण्ड सरी टु वदर यु !"
उ हाँसी , केहि त छ उसको अनुहारमा ! त्यो पिडा हुनुपर्छ! हाँसोमा मिसिएर
एउटा अनौठो रंग वनाउँछ अनुहारमा ! एउटा रहस्य पोत्छ क्यानभासमा !
********* ********** ********* ********** ********* ********* ************
"तेरो आशा दिदी वस्ने चाहिँ कहाँ हो?" मैले दृष्टीलाई प्रश्न
राखेको थिएँ हामी दुइजना मात्रै हुँदा। आमा मैले केटी मान्छेको चासो लिएको राम्रो
मान्नुहुन्न। फेरि आशा त आइमाइ थिइ होला आमाको नजरमा, म भन्दा जेठी हुनाले!
"तेरो पनि दिदी नै हो, जेठी हो धेरै !" मनमा चस्स विझ्यो। किन
दिदी भन्नु ? जेठी भन्दे त भइगो नी !
"घर कहाँ हो वहाँको ?" मैले प्रश्न गर्न छोडिन।
"कुलेश्वर तिर होला वसाइ !" उसको उत्तरमा सोधे भन्दा वढी केही
आएन। सामान्यतय केटी मान्छेहरुलाई एउटा प्रश्न गरेपछि उधार्न सजिलो हुन्छ। तर
दृष्टी अपवाद निस्किई, उसले उसलाई थाहा भएका धेरै कुरा लुकाए जस्तो लाग्यो। के
उसले मेरो आशय वुझि त मनमा डर लागेर आयो। यहाँ मलाई समाजको पनि त डर छ।
"को को वस्छ र सँगै ?" मनमनैँ सोचेँ जे सुकै सोचोस् दृष्टीले
!मैले के नै गरेको छु र अहिलेसम्म !
"वुढाले छोडेपछी,वसाई एक्लै छ !"
मन एक तमासको भो !उसको गम्भिर अनुहार अनि छतको वार्ता सम्झेँ
"कहिलेकाहीँ उत्तर नभएका प्रश्नहरुले पिरोल्छन् !" त्यसो भए आशाले उत्तर
नभएका प्रश्न कोट्याइ नै किन त ? उसलाई थाहा थियो त्यो प्रश्न आउँछ , उ सँग उत्तर
हुने छैन भन्ने। आखिर मेरो अघि निरुत्तर हुने रहर किन ? शायद उसले मलाई जाँच्न
चाहेकी थीई, उसको रहस्यमा मेरो जिग्यासा कति भन्ने ! जव मान्छे सम्वन्धसँग वाक्क
हुन्छ , उसले एकान्त खोज्छ तर सम्वन्ध र एकान्त दुवै सँग वाक्क भएको मान्छेले म
जस्तो साथी खोज्छ। शायद आशाको खोज ममा आएर टुंगेको थियो। मन फुरुंग भयो, म फेरि
धैर्यवान भएको छु, सहि समयको खोजीमा !
आशा सुन्दर थिई। तर सुन्दरता पारख सँग मिसियो भने त्यो अद्दितिय हुन्छ। उ
अद्दितिय थिई किनकी उ पारखी थिई।एउटा अनौठो मैले नचाखेको स्वाद थिई। भोगि म उ तिर
डोरिएको थिएँ। उसका रहस्यमयी शव्दहरुको मैले सुन्दर अर्थ निकालेको थिएँ।
आशा(भाग-२)
"एक्लै त कता जानु ठूलो मामु ! फेरि मलाई विराटनगरको खासै थाहा पनि
छैन" उसले म तिर हेर्दै भनी । उ स्कुटी स्टार्ट गरेर साथी खोज्दैथिई दृष्टी
विहाको डेकोरेसनको सामान लिन जानलाई।
"म जाउँ त आण्टी ?" मैले उसको इशाराको अर्थ निकालेँ। उ मेरो
साथ चाहन्छे।
"जा न त ! त्यो केदारको दोकान देखाइदे !"
म सिँढीवाट फटाफट झरेँ। अनि स्कुटी को नजिकै पुगेँ।
"आज म तँपाइको साथी !" भन्दैगर्दा मनमा अनौठो काउँकुति लागेर
आयो। किन म उसलाई अझै तिमी भन्न सक्दिन?
"पछाडी वसेर लडिएला, म खासै राम्रो कुदाउँदिन !" उ मुस्कुराई।
"म कस्सिएर पक्डिन्छु नि !" उसको कम्मर नियालेको मात्र के
थिएँ, उत्तर फुर्न वेर लागेन।
उ खित्का छोडेर हाँसी पहिलो चोटी।सदा जस्तै पहिलो चाल सोचेको ठाउँमा
वस्यो मेरो!
************* ******************* ************** ***************
*********
"बर्ब्रेरी ब्रिट ,फ्रेन्च , एण्ड आइ लभ द स्मेल !" मैले
स्कुटीवाट झर्दै गर्दा उसको छनौटको तारिफ गरेँ। हुन पनि स्कुटीमा वसुन्जेल उसको
सुवाष मात्र घुम्यो,उसको हेलमेटवाट वाहिर निस्किएर पनि मेरो अनुहार छुन भ्याएका
उसको कपालले मलाई अरुतिर हेर्न पनि दिएन।त्यो कालो वादल थियो जसले आकाशको आकाश
छेकेको थियो।
"वाउ, आइ एम इम्प्रेस्ड!" उसले अचम्म मान्दै मलाई हेर्दै भनी।
प्रत्येक शिकारका प्रकार हुन्छन। काहिँ वलियोको अघि वलियो वनिनुपर्छ।
कहिलेकाहिँ निर्धोको मुखौटो लगाउनुपर्छ। हो उ अभ्यस्त भइसकेकी थिई पुरुषत्वसँग ।
त्यसैले मैले कलिलो केटो देखिनु उचित ठानिन। मैले उसलाई मेरो संगत धेरै उ
जस्ताहरुसँग भइसकेको छ भनेर देखाउनु नै मेरो लागि श्रेयस्कर थियो।
"तिमीलाई पर्फ्युमको वारेमा धेरै थाहा छ जस्तो छ !"
"लगाउनेहरुसँग संगत छ !" म हाँसे। उसले मलाई घोरिएर हेरी।मैले
त्यो रहस्यमयि नजरको अर्थ लगाउन सकिन। लाग्यो जीवन जटिल भएर नै होला सुन्दर छ।
********* ******** ********* ********* *********** ********* *******
*****
"तिमी फरक छौ , केहि न केहि त फरक छौ !" उसले धेरैवेर मेरो
कुरा सुनेपछि मलाई भनी।काम सिध्याएर हामी चिया पिउनलाई "आँगन"मा छिरेका
थियौँ।म जानीवुझि कुनाको कुर्सीमा गएर वसेँ।
"फरक भएर न मान्छे म हुन्छ ! नत्र त म पनि भिँडभित्र हुन्छ,
खोज्नुपर्छ!"
"अनि काठमाण्डौमा कहाँ हो घर ?पुगेर पनि भेट्नुपर्छ वुझ्यौ ?"
"मलाई त वानी लागेपछि छुटाउन गाह्रो हुन्छ !"
"भन्नाले ?"
"मैले भेट्ने वानी भनेको !"
"भेट्ने पनि वानी हुन्छ कहिँ ?"
"हुन्छ त !" म हाँसे।उ पनि हाँसी। चियाको चुस्कि नै गुलियो
भयो।
"तँपाइ हाँसेको मलाई खुव मन पर्छ ,एकदम गहिरो !"
"तिमी जसलाई पनि हँसाउन सक्छौ!" उसले मेरो तारिफ गरी । म
शव्दहरु वुन्दै गएँ किनकी मलाई पनि त शव्दको जालो वनाउनु थियो।
********* ********* ************** ************* ********** **************
"जाने हैन त,अव घर ?"
त्यहाँ खासै भीँड थिएन।फाट्ट फुट्ट मान्छे अनि कुनामा हामी ! आशाको
उपस्थितिले गर्दा हुन सक्छ मैले वाहिर नियाल्न पनि भ्याएको थिइन। उसको घाँटीमा
गरिएको पुतलिको ट्याटु मैले स्कुटरमा हुँदा देखेको थिएँ। मलाई अचम्म लागेको थियो।
उसले समाज सँग लुकाएकी होला ट्याटुलाई आफ्नो लामो कपालले।दृश्यहरु सहि गलत
हुँदैनन्, मात्र समाजको नजरमा पाच्य र अपाच्य हुन्छन् मैले त्यहि निष्कर्ष
निकालेको थिएँ।
"हेलो, कता हराएको ?ढिलो भएन भन्या ?" उसले फेरि पनि जिद्दी
गरी ।
"वसौँ न!एक छिन, अनि फेरि अल्लारेको कुनै घर हुँदैन! कुन घरलाई पो
आफ्नो भनौँ ?" म हाँसे।
"आफुलाई अल्लारे वनाउने कत्रो धोको !" उ हाँसी
"मैले भनी सकेँ नी, मलाई स्वतन्त्रता मन पर्छ !"
"ओ यस, साँची , चुरोट खान्नौ आज ?" उसले मलाई जिस्क्याई
"मनमा धेरै धुवाँ भएको वेला म चुरोट पिउँदिन !"
"फिलोसफिकल, अगेन ! कहिले काहिँ म तिम्रो कुरा वुझ्दिन !"
"एउटा कुरा सोधौँ ?" मलाई गोलघुम्ति घुमिरहन मन छैन । उ मेरो
यति नजिक छे, उसको सुवाष अझै व्याप्त छ ।मैले आफ्नो धैर्यताको धेरै परिक्षा
लिइरहनु उचित हुन्न।
"सोध न !"
"माया ठूलो कि आवश्यकता ?"
"मैले त माया भेट्टाएको छैन, मात्र भ्रम भेट्टाएको छु !"
"त्यसो भए आवश्यकता?"
"हुन सक्छ !" उ गम्भिर भएर मलाई हेरीरही !
"त्यसो भए तिमी मलाई आवश्यक छौ !"
मैले उसको हात समाउँदै भनेँ। पहिलो चोटी तिमी भने, लाग्यो म सँग अव तिमी
भन्ने हक छ।
क्रमश: