चार पुरुष - Rajit

पुरुष १

" अव किन रोएकी, जे हुनु थियो भइसक्यो!" मलाई दिक्क लागिसकेको थियो, सावित्रीको गनगन सुन्दा सुन्दा। यस्ता कुरामा म अभ्यस्त छैन, त्यहि भएर मलाई उसलाई सल्लाह के दिने पनि थाहा छैन।म एउटा अन्धा ले उसको जीवन अँध्यारो पार्ने रंग कालो छ कि खैरो छ कसरी पत्ता लगाउँ र! भोगाई वास्तवमै आँखा हुन् । भोगेको मान्छे आँखा बिग्रेको हुन सक्छ , तर अन्धा हुँदैन।

हुन त पर्नु सम्मको पिर परेको छ उसलाई। आफ्नो भन्नु कोहि थिएन उसको। आफ्नो काकाको घरमा जेनतेन गरेर पालीएकी थीई । उमेर पुग्यो भनेर विहे गरीदिए काकाले ।उसको खप्पर अभागी पर्यो, बुढो ले रक्सी खाएको सुरमा भट्टीवाल्नीलाई नै लिएर आयो । सावित्रीलाई घरवाट निकालीदियो। म सोच्दै गर्दा मनमनै हाँसे । म एउटा स्त्री , अर्कोलाई पिर पर्दा उसैको खप्पर अभागी भन्दैछु,किन म उसको पाटो मात्र देख्दैछु? हो म अन्धा नै हो !

" दिदी जति सम्झिन्छु नि , मेरो चित्त कुँडीएर आउँछ!" उसको सुँक सुँक यथावत थियो।

" मुद्दा हाल न त !" मैले सेलाइसकेका थालका ठेट्ना मकै टोक्दै उसलाई सल्लाह दिएँ । थाहा छैन यो आलाकाँचे सल्लाह थियो तिनै मकैका ठेट्ना जस्तै वा परिपक्व ,किनकी मुद्दाको मलाई मु पनि थाहा छैन। उसले कसरी भनेर मात्र प्रश्न गरी भने म सँग त्यो प्रश्नको उत्तर छैन।

मलाई टोक्न गाह्रो हुँदा , मैले ति मकैका ठेट्ना सँगसँगै सावित्रीलाई पनि हेरेँ । काममा ध्यान भए पो मोरीको,जत्तिखेर पनि वुढालाई नै सम्झिरहन्छे होला! चार महिना भयो भन्थी विहे गरेको। विहे सँगै उसका अनेकौ रहर जागेका थिए होलान। राम्री नै छे, दुई चार दिन त वुढोले पनि रक्सी छोडेको थियो होला, उसको आँखाको नशामा डुव्नलाई । पुरुषहरु ,पाखण्डीहरु, नशाका शौखिन हरु , माया उनीहरुलाई मात्र नशा हो ,पुजालाई नशा सँग तुलना गर्ने पाखण्डीहरु! भट्टीमा गयो होला, नशा चढ्यो भट्टीको ,भट्टीवाल्नीको,के वुझोस् त त्यो पाखण्डीले सावित्रीको बेथा!!उसको पुजा !! उसको समर्पण!!

"मुद्दा हालेर पनि के गर्नु र दिदी!"
उसले हारेको स्वरमा भनी । उसको हार मलाई विझ्यो । उ हार्दैछे वा सम्झौता गर्दैछे उसको वुढो सँग मैले केलाउन चाहेँ ।
" तेरो वुढोलाई धेरै माया गर्छेस् तँ , त्यति साह्रो मायाको लायक छैन वुझिस् त्यो !"
हुन त को कति मायाको लायक छ त्यो दाँजीदिने म कुनै कसी हैन। तै पनि, माया गर्ने मान्छेले दुख दिँदैनन् , दुख दिनेले माया गर्दैनन्।

"शुरु शुरुमा त खुव माया गर्थ्यो, त्यहि मोरीले लगी मोहनी लगाएर !"
दोष फेरी अर्की आइमाइको टाउकोमा उसले थोपरीदिई। उसको लोग्नेले सावित्रीलाई कति माया गर्छ गर्दैन थाहा छैन। तर उ अझै पनि उसलाई माया गर्छे। यो हार हैन ,यो उसको सम्झौता हो। अथवा भनौँ एउटा चाहना हो, उ फर्केर आओस् भन्ने ,जसको आशमा उसको प्रतिक्षा पनि मायाले भरीएको हुन्छ।
"शुरु शुरु मा त रमाइलो भो होला माया त गरीहाल्छ नि!" मैले उसलाई जिस्क्याएँ।
"छ्या दिदी ! तर तँपाईलाई कसरी थाहा भो? तँपाईको त विहे पनि भएको छैन!"
मनमा चसक्क विझ्यो यसपाली। तँपाईको त विहे पनि भएको छैन !! के विहे नै अन्तिम सत्य हो मायाको ?? वा माया त्यसविना पनि पुर्ण हुन्छ । मलाई लागेको त माया आफैमा पुर्ण हुन्छ त्यसमा अरु पुर्णता दिन खोज्नु भनेको फगत मुर्खता हो। मैले उसलाई त्यो सवै भन्न सकिन।
"मलाई विहे नभए पनि थाहा छ !" मैले खिस्स हाँस्दै उसलाई जवाफ फर्काएँ। उसका ठूला राम्रा आँखा अझ वढी ठूला भए आश्चर्यमा !
"सुनेको !! अरु साथीको मुखवाट!!मेरा विहे भएका साथी पनि छन् " मैले ढाँटे उसलाई। संसार ढोंगि छ । म पनि दुइ जिव्रे छु। उसले सामान्य रुपमा लिएको भए ढाँट्दिन थीए। उसले अचम्म मानी मैले ढाँटीदिएँ।
"हो दिदीलाई थाहा छ, पढे लेखेकी मान्छे !!" उ छेवैमा भुइँमा टुसुक्क वस्दै भनी!!विचरी सोझि छे , पत्याई।यस्तै भन्थ्यो होला वुढो पनि ।ढिलो आउँथ्यो होला, आज काम थियो भन्थ्यो होला , उ टाउको हल्लाई दिन्थी होला, उसको वुढो फर्केकोमैँ पुर्ण रुपमा रमाउँदै। खुशी साँच्चै पानीको फोका जस्तै हुन्छन् त्यति वल नगरीकन नै उठ्छन् , वढ्छन् मौलाउँछन् , अनि जतन गरेर राख्न नपाउँदै फुट्छन् ।
" तँ कति सालकी ?" मैले प्रसंग वदलेँ । अघी नै धेरैचोटी दिदी भनीसकेकी थीई। मलाई दिदी भनेको मन पर्दैन। कसैले मेरो टाउको मा ठूलो भारी थोपरीदिए जस्तो लाग्छ। उसको उमेरप्रतिको जिग्यासा थोरै वढेर आयो।
"छयालिस दिदी" हो साँच्चीकै दिदी पो रहेछु। मैले मनमनै सोचे ।ठूलो भार पाएकी छे अहिल्यै उसले जीवनमा ।जीवन दिनमा हैन पलमा हुन्छ शायद। मैले धेरै दिन जिएपनि उसले धेरै पल भोगेकी छे, त्यसैले म दिदी नै भए पनि उ भन्दा कान्छी छु मैले आँफैले आँफैलाई सान्त्वना दिएँ।थालको मकै सिद्दियो।तिर्खा लागे जस्तो भएर आयो। उ आएपछि म अरु अल्छि भएकी छु, किचन छिर्न मन लाग्न छोडेको छ ।
"तेरो बुढोको कुरा छोड्दे अव , एक कप मिठो चिया खुवा न त!" मैले उसको प्रसंग वदलीदिएँ आफ्नो आँग तन्काउँदै।उसले टाउको हल्लाई , अनि विस्तारै उठेर किचन तिर लागी । हुन त घरमा आएको उ तिन दिन भयो, तर पनि तिन दिन देखी प्रसंग वदलीएको छैन। म विश्राम चाहन्छु उ र उसको वुढाको किचलोवाट। दिउँसो म कलेजवाट पढाएर फर्केपछि उ नै हुनेछे दिउँसो भरीकी मेरी साथी । म उसलाई अलि खुशी देख्न चाहन्छु।
चियाको वासना परैवाट आयो।मैले तातो गिलास पक्डिदै गर्दा सलक्क परेका उसका औँला नियालेँ।आफूलाई सोचेँ ,उसको ठाउँमा राखेँ, म भएको भए कुच्चै कुच्चो ले हिर्काउने थिएँ । फेरी सोचेँ मलाई पनि त कुट्थ्यो होला नी , त्यति गरीसकेपछि। अनि सोचेँ कुट्यो भने त स्वास्नी कुटेको भनेर वुढालाई झ्यालखानामा हालिदिने कति वोमेन अर्गोनाइजेसन् छन् कति , उ अहिले सम्म जेलमा हुन्थ्यो !! अनि सोचेँ झन्न म उसको ठाउँमा छैन चिया सुरुप्प पारेँ, म उ जति मिठो चिया वनाउन सक्दिन।

पुरुष-२

दिउँसो को टन्टलापुर घाममा पान पसलको छेउमा वसेर उ धेरै जस्तो मेरो झ्याल हेरिरहन्थ्यो । म विशेषत आएपछि भोलिको क्लासको प्रिपरेसन गर्न स्लाइड मेरो ल्यापटपमा टेवलमा वसेर बनाउँथे।उसलाई त्यहिँ वाट देख्थेँ। मलाई पान खाएको मन पर्दैन।पान सँग फोहोर जोडिएर आउँछ मेरो दिमागमा । मेरो प्री अकुपाइड दिमाग सोच्छ , पान खाने केटाहरु सफा हुन सक्दैनन् र मलाई फोहोरीहरु मन पर्दैनन् । तर मेरो सोचको अर्को पाटो फरक थियो , उ त्यो पसलमा केहि खान हैन , केहि हेर्न आउँथ्यो त्यो देख्दथ्यो , उ तृप्त हुन्थ्यो पान वेगर पनि!!
उ मलाई देख्थ्यो देख्दैनथ्यो मलाई शंका लागेको थियो त्यहि भएर एक दिन सावित्रीलाई म वसेको ठाउँमा वस्न लगाएर म त्यो पान पसलमा गएर मेरो झ्याल मा हेरेँ।त्यो दिन एउटा सामान्य कुरा प्रमाणित भयो यदि म उसलाई देख्न सक्छू भने उ पनि मलाई देख्न सक्छ ।कुरा धेरै सामान्य थियो तर धेरै पछी मात्र मेरो दिमागले चाल पायो। कहिले काहिँ हामी यति जटिल वनिदिन्छौकी सामान्य जीवनमा पनि जटिलता खोज्छौँ , अनि नभएको जटिलता नभेटिएर हैरान हुन्छौ ।वायस्ड दिमाग सवै सामान्य वस्तुहरुलाई जटिल वनाउन खोज्छ। म किन तटस्थ वनेर सोच्न सक्दिन , हो उ मलाई नै हेर्न आउँथ्यो । मेरो आशमा झ्यालमा नियाली रहन्थ्यो। मेरो वसाई धेरै जसो त्यहि झ्यालको छेउछाउमा नै हुनाले धेरै जसो उसले खोजेको कुरा पाउँथ्यो । उ सन्तुष्ट हुन्थ्यो , फर्कन्थ्यो!
त्यसपछि धेरै प्रश्नहरु त्यहि प्रमाण सँगै तेर्सिए। के उ त्यो पान पसलमा वसेर मलाई नै नियाल्थ्यो त? मलाई नियाल्थ्यो भने किन?? को हो उ?? के चाहन्छ म वाट?? किन फुर्सद छ उसलाई त्यति धेरै !! पसलमा उभिएर मलाई नियालिरहने सम्मको !!
आज पनि उ त्यहिँ थियो। मैले परवाट उसको अनुहार नियालेँ । खासै अनुहारका भावहरु, त्यसका साना साना प्रभावहरु त्यति टाढावाट म कसरी नियाल्न सकुँ?? तर पनि टाढैवाट म उसलाई नियालीरहेँ।के हेरिरहेको छु थाहै नभए पनि नजर त्यहिँ अडियो , मानौँ परिक्षाको समयमा कुनै नजानेको प्रश्नमा गएर कलम अडिन्छ । उ एउटा महत्वपुर्ण प्रश्न वनेको छ आजकल मेरो दिनचर्यामा। त्यो झ्यालमा गएर म पनि एक चोटी नै भए पनि त्यो पसलमा नियाल्छू।उसलाई खोज्छु, धेरै जसो उसलाई भेट्टाउँछू , ढुक्क भए जस्तो अनुभुति हुन्छ मनमा ,अनि आफ्नो काममा लाग्छू।
त्यो पसल बेलुकी नौ वजे बन्द हुन्छ । उ लगभग पौने नौ मा त्यहाँवाट आफ्नो वाइकमा हिँड्छ अनि हराउँछ त्यहि गल्लीको अँध्यारोमा! हुन त एउटा भावनाको वेग होला उ ,जुन यथार्थको धरातलमा कहाँ हराउँछ , वा उपस्थिति जनाउन सक्छ त्यसमा अझै प्रश्नचिन्हहरु छन् । तर उ उपस्थित छ , उसको उपस्थिति मेरो लत वनेको छ । हामी विचको मौन दुरी मा आँखाहरु पुल बनेका छन् ,जोड्छन हामीलाई तरंग पैदा गर्छन् मनमाँ ।
"सावित्री तँलाई म कस्ती लाग्छु?" मैले अनायसै एकदिन सावित्रीलाई सोधेँ ।प्रश्नको कुनै तुक थिएन। उ वाल्ल परी !!मलाई टुलुटुलु हेरी
"राम्री!" अनि खिस्स हाँस्दै जवाफ फर्काई!
"कती राम्री?" मेरो धित मरेन, मन मनै मख्ख पर्दै फेरी प्रश्न राखेँ।
"धेरै राम्री दिदी! मलाई हैन कुनै केटालाई सोध्नुस्! हुरुक्कै हुनेछन् सोध्नुभयो भने!" मलाई अझ वढी चिल्लो घसी उसले!
मनमनैँ सोचेँ पुरुष , अनि उसको मुखवाट निस्कने नारीको वर्णन ,मेरो वर्णन शास्वत छैन, वदलिँदै जान्छ जव जव उनीहरु मेरो नजिक आउँछन् म राम्री लाग्छु, पारीजात जत्तिकै सुगन्धि वन्छु। तर विस्तारै मेरो सुगन्ध हराउँछ। म पत्र पत्र उक्किदैँ जान्छु, उनीहरु मलाई कुरुप देख्न थाल्छन् । सम्वन्ध हराउँछ ,मलाई विर्सन्छन्! तर आज मैले यो प्रश्न सोध्नुको पनि कारण थियो। कारण नजिकैको पान पसलमा थियो ,मलाई नियाल्दै थियो। मैले सावित्रीको नजर लाई उसको मान्ने प्रयास गरेकी मात्र थिएँ।
"साँच्चीकै सोधौँ त?" उसतिर हेरेर जिस्कँदै भनेँ।
"सोध्नुस न दिदी! मैले भने जस्तो उत्तर आउने पक्का!"
"साँची के छ तेरो वुढोको खवर आजकल ?" मैले प्रसंग वदलेँ।
" मरोस कि राखोस् ! जता सुकै जाओस् ,जता सुकै चरोस् !! हैँजा लागेर मर्छ त्यो !!" उ अचानक आवेगमा आई!
"आम्मामा!!! कत्ति रिसाकी!!" पहिला त उसको दोष छैन भन्थिस् त !" मैले उसलाई जवाफ फर्काउँदै गरे पनि मेरो आँखा पान पसलमै थियो।
"हुँदो रैछ दिदी ,गल्ती जिन्दगीमा!!"
"अव कसरी सुधार्छेस् त गल्ती?" मैले उसलाई प्रश्न राखेँ !!
" अव त त्यहि गल्ति नै जीवन थियो जस्तो लाग्न थालेको छ दिदी!! किन सुधार्नु दिदी , कहिले काहिँ दोहोर्याउनु रमाइलो हुन्छ !तेहेर्याउनु आवश्यक हुन्छ !! अनी गरीरहनु दिनचर्या हुन्छ !!! हैन र दिदी?" उ खिस्स हाँसी , मैले उसलाई अचम्म मान्दै हेरे, मलाई जिस्क्याएँ झै लाग्यो सहन सकिन ।
" जा भान्छा मा! वढ्ता वोल्दी रहिछे जे पायो त्यहि !" आवेगले आफ्नो मुटु ढाक्न चाहेँ!!!
उ केहि वोलिन सरासर भान्छा तिर लागि !! एक छिन टोलाएँ !! झ्याल वाहिर नियाँले त्यो पुरुष आकृती गल्लीमा हराउने समय भइसकेको थियो !! उ पनि आफ्नो वाटो लाग्यो!!!
*************** *************** ************** ************* *********** ********
*************** ************ ***************** ************** ********** ********
आज विहानै काम गर्ने जाँगर चल्यो!
"सावित्री !! चिया खुवा त !!"कोठा वाटै कराएँ
"छैन त्यो ! मैले पत्रीका लिन पठाको छु !!" वुवाको आवाज आयो!!
मेरो चियाको लतले उसको प्रतिक्षालाई गाह्रो वनायो । मैले झ्याल वाट नियाँले । उ पान पसलमा देखिइ ,मैले चिनेको आकृती सँग कुरा गर्दै। मैले पर्दा वन्द गरेँ।


पुरुष-३


" के भयो ? किन टोलाकी?" मेरो भाइले मलाई धेरैवेर नियालेर सोधेको प्रश्न हुनुपर्छ त्यो!!!
"छैन ,टोलाको !"
"क्लासमा स्टुडेन्टले नै जिस्क्यायो कि के हो? राम्री छेस् नि त दिदी त्यहि भएर हो! धेरै टेन्सन नली" फ्रिजमा भएको स्याउ दार्दै अनी आँखा झिम्क्याउँदै उसले मलाई जिस्क्यायो। मलाई चस्स विझ्यो । के उसले मेरो रुपको खिल्ली उडाएको हो ? विहान उठ्नेवित्तिकै मेरो अनुहार मैले नियालेकी छु। अनी विगत का केहि दिनमा सावित्री सँग आफ्नो अनुहार दाँजेकी छू। उसको अनुहारमा तेज छ।मेरो अनुहार फुस्रो छ। पुरुषले नारीको अनुहारमा तेज,ओज थप्दो रहेछ।धेरैचोटी मैले पनि आफुलाई अर्काको आँखावाट हेरेर तेजीली,ओजस्वी महसुस गरेकी छु। तर समय ले पाटो फेरेको छ। म यसपाली पछारिएकी छु। म फुस्रीएकी छू। मुटु अचम्मको हुँदो रहेछ, स्वामित्व भएकाको वशमा हुन्न, वशमा राख्नेले मुटुको स्वामित्व लिन मान्दैनन् अनि मुटु पेण्डुलम वन्छ, कहिले ओजको उचाइमा पुग्छ, अनि कहिले अँध्यारो कहालीलाग्दो निस्सासिने गहिराइमा।
"काम छैन तेरो , जिस्क्याएर वस्छ!!"
मैले यति मात्र भन्न सकेँ।
"मलाई पनि भन्न नमिल्ने टेन्सनमा नै छेस् जस्तो लाग्यो !" उसले दार्दै गरेको स्याउ सिद्द्याएको थियो। सिद्दिएको स्याउ सँगै उसको निष्कर्ष फुट्यो। निष्कर्ष हरु यति छिट्टै निस्किने भए कति रमाइलो हुन्थ्यो। यहाँ त कहिलेकाहिँ निष्कर्षका लागि जीवन छोटो भइदिन्छन् र पो त !
"तँलाई सावित्रीको चालचलन ठिक लाग्छ?" मेरो इर्ष्यालु मनले आखिर उ सँग वह पोखेरै छोड्यो ! उसले मलाई धेरै वेर मलाई नियाल्यो।
"किन र दिदी?"
"हैन मैले एउटा केटा सँग पान पसलमा देखेकी थिएँ, इत्तरिँदै वोल्दै थिई!!" मेरो मनको चुक निक्लिदै गयो।
"कोहि उसैको गाउँको मान्छे होला !"
उसले सावित्रीको वचाव गर्न चाह्यो।
"हुन्छ गाउँको मान्छे !! हात समाइ समाइ हाँसी राखेकी थिई!" म झ्याल तिर लम्किँदै आफ्नो अनुहार लुकाउँदै जवाफ फर्काए। कहिलेकाहिँ अनुहारले लुकाउन खोजेको कुरा वोलिदिन्छ। त्यो समय मेरो अनुहार मेरो भाइ सँग लुकाउनु जरुरी वन्यो।
"अव उसले हाँस्न पनि नपाओस् त ! विचरी ! वुढोले कति टेन्सन दिएको थियो ! वल्ल रमाउन थालेकी छे, तँ पनि दिदी व्यर्थैमा शंका गर्छैस्!"
मैले मनमनै सम्झेँ सावित्रीका शव्दहरु, मलाई विझेका शव्दहरु,
" अव त त्यहि गल्ति नै जीवन थियो जस्तो लाग्न थालेको छ दिदी!! किन सुधार्नु दिदी , कहिले काहिँ दोहोर्याउनु रमाइलो हुन्छ !तेहेर्याउनु आवश्यक हुन्छ !! अनी गरीरहनु दिनचर्या हुन्छ !!! हैन र दिदी?"
"तँ बुझ्दैनस् , सानै छस् !!!"
मैले वातको विट मारेँ!!
******************* ***************** ************ ************* ************* ************** ************** ******************* ************* *****************
त्यो दिन म कुर्सीमैँ वसीरहेँ। पान पसल नियालेँ । पान पसल शुन्य थियो। वाटो उराठलाग्दो चहलपहल विहिन देखिएको थियो।जीवन हराएको थियो त्यो वाटोको , मृत लम्पसार परेको थियो। हिँड्ने कोहि कोहि पनि वाटो खोक्र्याउने धमिरा जस्तै लाग्थे। मैले पर्दा वन्द गरेँ। धेरैवेर पानपसलको पुरुषलाई सम्झेँ।वलियो कदकाठीको देखिन्थ्यो परवाट। उसको अँगालोमा वाँधिएकी सावित्रीलाई कल्पना गरेँ। त्यत्तिकै खुशी त किन हुन्थी र ? उ पुर्ण थिई, रित्तो मेरो उदाहरण नै पनि उसको लागि खुशि हुन पर्याप्त थियो। अँगालोमा वाँधिएकी सावित्री मलाई जिस्क्याइरहेकी छे। मैले ध्यान मोड्न चाहेँ। वाहिर गएर टिभिको रिमोट थिचेँ , खासै केहि थिएन टिभिमा तर टिभि मेरो वाध्यता पनि त थियो।
केहि गुनगुन आवाजले मेरो ध्यान खिच्यो।आवाज किचनवाट थियो। सावित्रीको कत्रो आँट !!! उसलाई मेरो घरमा वोलाइछे!! उसलाई म घरमैँ छु भनेर थाहा पनि नहुन सक्छ!! हो हो उसलाई म आज घरमैँ छु भनेर थाहा छैन। उसले म काम मा गएँ भनेर ठानी !! आज दिनभरि मैले उसलाई वोलाएको पनि त थिइन !! आज यसलाई रंगेहात पक्डिन्छु ,अनि वुवालाई भन्छु ,घरवाट निकालीदिन्छु, कथै खत्तम , समयले मेरो घाउ पुरिहाल्ला!! म किचन तिर वढेँ, अस्पष्ट शव्दहरु स्पष्टीँदै गए!!
"को हो त्यो पान पसलको केटो?"
"दाजु हो, गाउँको !!"
"हुन्छ तेरो दाजु !!"
"कसम, तँपाइको मासु खाने !! तँपाइ वाहेक अरुको वारेमा सोचेकी पनि छैन मैले"
"दिदीले हाँस्दै हात समातेको पनि देखेकी रे !!"
"दाजुनै हो भन्दा पनि नपत्याउने!!"
"नरिसा न!!"
"यो चाहिँ तँपाइको दिदीले देख्नुभयो भने के हुन्छ नि?"
सावित्री खितिति हाँसी । मैले आफ्ना पाइला विस्तारै टिभिकोठा तिरै फर्काएँ।

************* ************** ************** **************** *************************
पुरुष-४


म अघिका तिन अध्याय देखि गुम्सिएको म पात्र होइन । म यो कथाको चौथो पुरुष हुँ जुन पछिल्ला अध्यायहरुको म सँग नजिकैवाट गाँसिएको छु।चौथो अध्याय मेरो अध्याय हो। त्यसैले पछिल्ला तिन अध्यायकी म लाई यहि अध्यायको कुनै कुनामा भेट्टिने गरी आफ्नो कथाको शुरुवात गर्ने अनुमति चाहन्छु:
करिव तिस वर्षको साथ पछि गएको वर्ष उसले मेरो साथ छोडी । छोड्न भन्दा अघि तिन दिन सम्म वोलिन म सँग । जीवनको यत्रो लामो कालखण्डमा विचमा उ सँग म धेरै चोटी रिसाएँ अनि उसलाई मैले धेरै चोटी फकाएँ । तर उ कहिल्यै लामो रिसाइन म सँग , मेरो फकाउने प्रयास मात्र पर्याप्त हुन्थ्यो उसलाई फकाउनलाई। उ आफ्नो कपालमा लगाउने फूल जस्तै नि फक्रिएकी , उज्याली थिई । फरक यति मात्र थियो त्यो फूल फेरिनु पर्थ्यो, प्रत्येक दिन ओइलाउँथ्यो, तर मैले उसलाई जहिले जहिले हेरेँ फक्रिएकै पाएँ ।आफू गलेर थकित भएको वेला पनि मलाई मुस्कान सहित उसले जव जव ढोका खोली , मेरो थकान नै थकित भयो, हरायो। तर अन्तत तिस वर्ष मेरो जीवनको वँगैचामा फक्रीएकी फूललाई दैवले चुँडेर लग्यो। मैले आफ्नो आँशुले भरीएका आँखाले उसलाई विदाइ गरेँ । मलाई लाग्यो मेरो जीवनको कथा टुंगियो। अव मेरो कितावमा मात्र खाली पाना रहेका छन् । दिन वित्दै जानेछ,खाली पाना पल्टिदैँ जानेछन् मेरो किताव वन्द हुनु अघि!!!
उसले दिएको मायाको चिनो एउटा छोरो र एउटी छोरी अव मेरो वुढेसकालको सहारा भएका छन्।कहिले काँहि जव मेरा समकक्षी साथीहरु सँग भेट्छु, उनीहरु आफ्ना छोराछोरीका कुरा गर्छन् । चित्त नवुझेका कुरा गर्छन् अनि मन अमिलिएका कुरा गर्छन् । म उनीहरु भन्दा आफुलाई पृथक देखाउन चाहन्न तर हामीले पनि यो पुस्ताको वारेमा केहि सोचिदिनुपर्छ।यो पुस्ता गतिशिल छ, हामी जस्तो ठहराव मन पराउने पुस्ता सँग कहाँ चालमा चाल मिलाउन सक्छ त !! फेरी अर्को मनले सोच्छु, सोच पुस्ता प्रति पुस्ता खुम्चदै छ। म जे सोच्थेँ, जति जनाको वारेमा सोच्थेँ त्यति नै मेरो छोराछोरीले पनि सोचुन जरुरी छैन। उनीहरुको सोच्ने वृत्त मा एक्लिएको म अटाउन सकुँ म त्यति मात्र चाहन्छु।
जीवनमा कसैको महत्व उसलाई गुमाइसकेपछी थाहा हुँदो रहेछ।छोराछोरी सँग गफ कति नै वेर गर्न सकिने रहेछ र? त्यसैले एकान्त मा आजकल टिभी मेरो सवैभन्दा ठूलो साथी भएको छ।मलाई देश विदेशका समाचारहरु कण्ठाग्र हुन थालेका छन्। योगाका आसन हरु मैले सजिलै सम्झिन थालेको छु। विहान घरमा सवैभन्दा चाँडो उठ्छु। मर्निंग वकमा जान्छु । एउटा चिया पसलमा सवै साथी भेट्छौँ। पत्रिका पढ्छौ ,देश विग्रीएको कुरा गर्छौँ,सपार्ने कोहि आइदिए छोराछोरीको भविष्यको सप्रिने आशा गर्छौँ। कसै कसैले मैले माथी नै भने जस्तै छोरा छोरीको पोल लगाउँछन् । चिया सिद्दिन्छ , जिवन त्यहिँ वाट फेरि एक्लो हुन्छ ।अर्को विहान सम्म को लागि।
" मैले भनेको मान्छस् भने फेरि विहे गर , छोरी कहिले अर्काको घर जान्छे , अल्लारे छोराहरुको के भर गर्छस् !"
छोरा र वुहारी सँग मन कुँडिएको एउटा मेरो साथीले अनायसै मलाई प्रस्ताव राखिदिएको थियो।उसले त्यसो भन्दै गर्दा त्यो वाक्य छोराछोरीप्रतिको आक्रोश थियो वा मेरो एक्लो जीवन प्रतिको सहानुभुति त्यो मात्रै खुट्याउन भए पनि धेरैवेर सम्म उसको अनुहार हेरीरहेँ।
"कति नै वाँचिएला र अव !"
मैले खासै चासो देखाइन।
"भोलि कल्ले देखेको छ र ? वाँचुन्जेल सुखि भएर वाँच मात्र भन्न खोजेको हुँ मैले त !" उसले आफ्नो ट्राउजरमा लागेका कुरो टिप्दै भन्यो।
"मलाई त वितेका यादहरुले नै सुखि वनाएका छन् !" मैले मेरी उ लाई सम्झेँ । उ गएको करिव एक वर्ष हुँदैछ । कसरी चटक्क विर्सौँ उसलाई म !! उसको ठाउँमा कसरी अर्की स्वास्नी हुलुँ म। उसको सट्टा म मरेको भए उसले त पक्कै पनि यसो गर्दैनथी । म किन स्वार्थी वनुँ । मेरो मनले त्यो मानेन्
" मैले भाउजुलाई विर्सी भनेको हैन , माया एउटा पाटो हो ,आवश्यकता अर्को ! लोग्नेमान्छे आइमाइमान्छे जस्तो कहिल्यै परिपक्व हुँदैन वुझिस् उसलाई स्याहार चाहिन्छ साथ चाहिन्छ ! अनि सवैभन्दा महत्वपुर्ण कुरा उ भोगि हुन्छ सुविधाको दुख पचाउन सक्दैन !! तैले पनि सक्दैनस् , मैले भनेको लेखेर राख, तैँले पनि सक्दैनस......... पहिलो विहा माया को लागि गरिस् अव आवश्यकता को लागि गर न त !!"
म सोचमा परेँ। पुरै नकार्न सकिन। छोरी जागिर खान्छे ।दिनभरी हुन्न । भएपनि म सँग खासै गफ गर्दिन। कोठामा वसेर आफ्नो काम गर्न मात्रै व्यस्त हुन्छे । छोरो कलेज जान्छ । कता हराउँछ थाहा छैन, अस्ति त दंग दंगि चुरोट गनाएको थियो त्यस्को कोठामा, मैले भनेको " हैन वुवा , अरु नै केहि होला!!" भनेर टारिदियो। एकजना कोहि भयो भने हो अलिकति हच्किन्थ्यो पनि । मेरो मात्रै होइन उनीहरुको भविष्य पनि मैले सोच्नुपर्छ नि !! घरमा उनीहरुसँग हुने त कोहि चाहिन्छ .. तर पनि ...
"छोरा छोरीले के भन्छन् ? छोड्दे भो !!" मलाई अझै आँट आएन।
"जीवन तेरो आफ्नो हो, वाँच्न मन लागेको तरिकाले वाँच ! कसले के भन्छ किन सोच्छस् ! कसैले केहि भन्दैन ! तँलाई कुमारी , तरुनीनै विहे गर भनेको त हैन नी ! सम्वन्ध विच्छेद भएकी ,वुढो मरेकी भेट्टाइ हाल्छस् नि !!साठी नै त पुगेको छस् नि !!"
उसले चुरोट उडाउँदै मलाई सल्लाह दियो। त्यो दिन वाटो भरी सोची रहेँ।
************** ************ ************* **************** ****************** ****** *************** ************** ******************* **************** ******
" चिया ल्याउँ ?"
घर पुग्ने वित्तिकै सावित्रीले मलाई सोधी !!
मैले उसलाई हेरेँ ।अरु दिनको भन्दा फरक देखेँ भरीएकी , उज्याली । वुढाले अर्की आइमाइ ल्याएपछि हाम्रो मा काम गर्न वसेकी । हुन त उमेर त्यति धेरै भएको छैन। तर उसले अव कुमार केटो पाउँदिन पक्का छ।
"ले न त !"
मख्ख भएर मैले उसलाई अह्राएँ । छोरी सँग आज नै मेरो कुरो राख्छु, मन मनैँ सोचेँ। जीवन मा फेरि वसन्त आए जस्तो लाग्यो। त्यो खाली पानामा कसैले कविता कोरे जस्तै लाग्यो
समाप्त

1 comment:

sushil ojha said...

la thik cha :)