संस्करणमा Rajits

फेरि पानी पर्यो।वाटो हिलो भएको छ। मोटरसाइकलले वाटोको छातिमा वनाएको डोव गहिरिँदै छ। घाइते वाटोले लक्ष सम्म के पुर्याउला र खोई? मेरो झ्यालको सेतो पर्दा भिजेर अझ सफा देखियो। आकाशको सेतो वादल जस्तै. उड्ने सिमलको भुवा जस्तै हावाले जता हल्लाइदियो त्यतै हल्लिन्छ अल्लारे पर्दा। वाहिरका दृष्यहरु पानीमा ओसिला देखिए। म चियाको कप लिएर झ्याल नजिकै गएँ सँधै जस्तै,वाटो सुनसान हुँदै छ। कसैकसैको वाध्यता वाहेक कुन रहरले पो डोर्याउला र यो हिले वाटोमा !

"जहिले हेर्यो झ्यालमैँ , खै के देख्छे यसले झ्यालमा !" आशाले कोठामा छिर्ने वित्तिकै अचम्म मान्दै भनेकी थीई।
मैले आशा तिर एक पल्टलाई भए पनि नजर तेर्स्याएँ। उसको कपाल भीजेको थियो। वाहिरवाट आएकी होला ! लख काटेँ। उसको पहेँलो कुर्ताको फेर पनि भिजेछ।आज सवै चिज भिजेका छन् ।मान्छेको मन पनि शरिर वाहिर हुने भएको भए मैलो सफा हुन्थ्यो होला अथवा वाहिरको हिलोले मन अझ मैलाइदिन्थ्यो होला।

"कहाँ पुगेरी आएकी ?यो झरीमा ?" मैले चिया सुरुप्प पार्दै प्रश्न राखेँ!मेरो चिया सेलाउँदै गएको छ वाहिरको ओसले।
"एउटा किताव किन्न गएकी थिएँ, त्यतै खेरै मर्यो यो कुकुरको झोल!" उसले आफ्नो टावेलले भिजेको कपाल सुकाउँदै जवाफ फर्काई।
"झरीको के दोष र ? तैँले समयमा हिँड्न नजानेकी होस् नी!" वाहिरको धुपीको जोडले हल्लिएको वोट हेर्दै मैले झरीको वचाव गरेँ।त्यति सुन्दर प्रकृती किन दोष दिउँ म उसलाई ?कृत्रिमता त हामीले थपेका हौँ, हामीले पोतेको आवरणमा उ किन नराम्री देखियोस्।

"सुन न ! वुकस्टोरमा अजयसँग भेट भएको थियो !"
मनमा अर्को झरी पर्यो। अजय फर्केछ ,कहिले फर्कियो ? किन फर्कियो? के चाहन्छ अझै यो शहरवाट? मनमा अनेकौँ प्रश्न वादलजस्तै मडारिए।मैले केहि वोलिन मडारिन दिएँ प्रश्नहरुलाई ।अल्लारिन दिएँ प्रश्नहरुलाई,प्रश्नहरु गाँठो परे मनभित्रै अनि दुखे जस्तो भयो तिनै प्रश्नहरुले। हो प्रश्न शक्तिशाली हुन्छन् कहिलेकाहिँ उत्तरको अभावमा,कहिलेकाहिँ उत्तरको ताकतमा !

"सोध्दिनस् के भन्दै थियो भनेर ?" उसले मेरो आँखा नियाली।के उत्तर खोज्छे उ मेरो आँखामा ? मेरो आँखा त शुन्य छ। देखाउन चाहँदा पनि देखाउन नसक्ने गरीको गरिव छ।म सँग देखाउन केहि छैन ।मेरो आँखा सुदामा भएको छ ,कृष्णजी पाहुना लाग्दा पनि कनिका पस्किनु पर्ने गरी। सिंगो जीवन नभेट्टाएको मेरो आँखामा त टुक्रा टुक्रा कनिका न देखिन्छन् आखिर!

"के भन्दै थियो ?" मैले यन्त्रवत प्रश्न राखेँ। म जड भएकी छु। भाव छैन, मात्र आवाज । आफ्नै आवाज रुखो लाग्यो।

"तँलाई सोद्द्दै थियो ! सुधालाई सोधेको छ भन्देउ है भन्थ्यो " उसले झ्याल वाहिर हेरी। धुपीको रुख स्थिर भएको थियो। वादल फाट्दै थिए। गुम्सिएको सुर्यको किरण सन्ध्याको आगमनको छेउछाउमा निमेष भरकै लागि भए पनि उत्ताउलो भएर गुलावी भएको थियो।

"अझै पनि त्यस्तै छ खवटे,दुव्लो आँखा भाँस्सीएको ?" कहिलेकाहीँ प्रश्नहरु नचाहँदा नचाहँदै पनि मुखवाट फुस्किन्छन्। झिरवाट उम्केको माछोजस्तो,अनि मन हलुँगो हुँदै सोच्छ यो प्रश्न कहाँ वाट आयो, न मनले प्रश्नको निर्माण गर्यो न दिमागले ,मात्र अजयको आकृती कोरियो,प्रश्न वन्यो आवाज फुत्कियो।

"उस्तै नै छ !" उसले संक्षिप्त उत्तर फर्काई।
"अनि झुस्स दाह्री ?"
"त्यस्तै छ, केहि फरक छैन!"
" फरक तैँले भन्दैमा नहुने भएको भए, मेरो जीवन धेरै सजिलो हुन्थ्यो होला !पर्खी म तँलाई पनि चिया वनाइदिन्छु, भिजेकी छेस् भन्ने त भुसुक्कै विर्सेँ!" म किचनमा छिरेँ।दुध उमाल्नलाई ग्याँसमा राखेँ।ग्याँसको निलो आगोलाई हेरिरहेँ। आज मन जलेको छ! अजय यसै शहरमा छ।म यसै शहरमा छु।त्यहि शहरका दुई एकान्त कोठा मौनता साट्दैछन् रहरहरु मलामी गइसकेपछिको लामो मौनता!
दुध भकभकिँदै दिउरेको घाँटी भन्दा माथी आयो पोखिउँला नै जस्तो गरेर।मैले ग्याँस थोरै सानो पारेँ।दुधको उन्माद सेलायो भुक भुक उम्लिरह्यो।जीवन कति अस्थिर छ। रहरहरु उम्लिन्छन्,पोखिन्छन् जीवनको आगोमा अनि जीवन निभ्दै जान्छ रहरहरु सेलाउन्छन्।

"तँ चिया चाहिँ मिठो वनाउँछेस् , सवै थकान मेटाउने!" आशाले मेरो तारिफ गरी।सँधै  गर्छे।मानौँ वानी परेकी छे।
"कति वेर गफ गर्यो अजयले तँ सँग?" मेरो ध्यान आज मेरो तारिफमा छैन।
"धेरै वेर त गरेन !"
"किन अरु कसै सँग थियो र ?" मैले आशंका व्यक्त गरेँ।धेरै समय वितिसकेको छ । उ अरु सँग हुनु नौलो कुरा होइन।म अड्किएकी छु भन्दैमा उसको जीवन पनि अड्किएको हुनु पर्छ भन्ने के जरुरी छ र ?
"थिएन होला , म सँग भेट हुँदा त एक्लै नै थियो!" उसले मेरो आँखाको आशंका वुझी शायद।
म मौन भएँ।मनभित्रका उथलपुथल वाहिर देखाउन चाहिन।
"तँलाई नभनेकै भए हुने रहेछ !"
"त्यस्मा तेरो दोष के र !"
"तै पनि घाउ कोट्याइदे जस्तो लाग्यो !"
"त्यहि घाउ छ र त जीवित छु !"मैले सुस्तरी उत्तर फर्काएँ।
******* ************************ ********************* ************************ *******
आशाले एउटा जीवनको अनौठो पाटोमा थोरै हलचल गरिदिएकी थिई। जतन गरेर समाल्हेर राखेको पाटो, हल्लिन्छ भनेर काम्रो लगाएको पाटो ।त्यो पाटो जसको थोरै अस्थिरताले पनि पुरै मलाई हल्लाइदिन्छ।कहिलेकाहिँ म सोच्छु म कमजोर भएर हो जसले पनि मलाई हल्लाइदिन्छ।फेरि सोच्छु म हल्लिएरै टिकिरहेकी छु,जडहरु त टुक्रिन्छन् वाँच्नलाई पेण्डुलम हुनुपर्छ।

कथा केहि समय अघिकै हो। अजय आशालाई मन पराउँथ्यो।अथवा भनौँ मलाई लाग्थ्यो अजय आशालाई मन पराउँथ्यो। आशा धेरैलाई मन पराउँथी एकैचोटी।आशाका परिभाषित जीवनमा अजयको गम्भिरता चट्टानमा छाल परेर चट्टान भिजाउन चाहेजस्तै टक्राउँथे। आशाका वरीपरी अजयका आँखा डुल्दथे।टाढावाट डुल्दथे।तर उसको मौनता वुझ्ने आशालाई फुर्सद थिएन।उसको आफ्नो संसार थियो। जसमा भिँड थियो,आवाज थियो जसमा अजयको मौनता भेट्टिनु असम्भव प्राय थियो।

म खोइ त कथामा ?

 म त आशाकै छायाँ थिएँ। आशा मेरो साँचो थिई, उसको आकारमा आफुलाई ढाल्ने प्रयास गर्थेँ। आशा मलाई सिकाउँथी परिभाषाहरु , अनि म कण्ठाग्र पार्थेँ जीवनलाई। तर जीवन सुत्रवद्द हुन्न।आशाको जीवन एउटा भिन्नै धागो थियो, मेरो जीवन भिन्नै धागो। दुइवटा धागोका दुइटा परिधिलाई जोड्ने प्रयास गर्दा त जीवन उल्झिनु त अवश्य नै थियो।

"के सोचेकी ,भयो छोड्दे ,कति घोत्लिन्छेस् !" आशाले मेरो अतितको जरा काटिदिई । म वर्तमानमा फर्केँ।किचनको झ्यालमा भिजेको रुपी आएर वस्यो।मलाई हेरिरह्यो।थाहा छैन के हेर्छ उसले म मा , फेरि मनको अर्को कुनाले सोध्छ म पनि उसलाई हेरीरहेकी छु र न उसले मलाई हेरेको थाहा हुन्छ। आँखा ऐना हो, मलाई ग्यानवोध भयो , मैले आँखा अन्त मोडेँ।

"आइज खाना वनाकी छु ,खाना खान आइज !" आशाले मलाई कोट्याउँदै भनी।

आशा खासै मिठो खाना वनाउदिन।कहिले के डढाउँछे, कहिले केहि काँचै छोडिदिन्छे। लतपत पारेर काम गर्ने वानी छ। किचन फेरि सफा गर्नु पर्छ आँफैले।त्यसैले प्रायजसो भान्छाको काम म आँफै गर्छु। उसलाई वजारका काम गर्न लगाउँछु। वजारकै काममा पनि उ किनेकै चिजहरु पनि राम्ररी हेर्दिन। साग पहेँलै पनि लिएर आउँछे, आलु कुहिएको पनि वोकेर आउँछे।कहिलेकाहिँ दिक्क लाग्छ उसको काम गराइ देखेर।उ वेफिक्री छे, पहिला पनि थिई अहिले पनि छे।उसको परिचय नै त्यहि अनि किन पो वदलियोस् आफुलाई अरुको आकारमा। उसको आफ्नै आकारका प्रशंसक को भीँड छन्।उ भिँडमा छिर्छे,हराउँछे त्यसैले त वेफिक्री हुन्छे।

 म किचनमा छिरेँ। फोहर फालेको भाँडोवाट वन्दाकोपीको पत्ता चियाइरहेको थियो। थोरै कुहिएको पत्ता! पहिलो पत्र हुनुपर्छ। उसले फ्याँकिदिछे। मान्छे पनि त्यस्तै होला। किराले खाएको पत्ता फ्याँक्छ, नयाँ आफु भेट्टाउँछ। थोरै हरियो, थोरै रसिलो ,कुमारत्व भएको, कसैको स्पर्श नपाएको!
"आज वन्दा पकाइस हो?" मैले थाहा हुँदा हुँदै प्रश्न राखेँ । थाहा हुँदा गरेका प्रश्नको एउटा फाइदा छ ,दोस्रो पक्षको उत्तर कुर्नु पर्दैन।अनी एउटा वेफाइदा पनि त्यो प्रश्न रहस्य विहिन हुन्छ।

"किन? वन्दा खान मन छैन ?" उसले प्रश्नवाचक चिन्ह तेर्स्याई।
"तैँले पकाको , खानै पर्यो नी !"
"अनि घरवाट आमाले ल्याएको अचार पनि खाने !"
"आँपको?" यो पनि रहस्यविहिन प्रश्न! उसले स्विकारोक्तिमा टाउको हल्लाई। टाउको हल्लाउँदा उसको केश अनुहारमा झर्यो।उसले हातले कपाल फेरी पुरानै ठाउँमा फर्काई। म आशा जति सुन्दर छैन, मलाई विश्वास छ।

मैले सम्झे उसकी आमाले धेरै कचकच गरेकी थिइन।त्यो स्वच्छन्द हावालाई कैद गरीदिने प्रयास गरेकी थिइन् भनौँ ।तर उ किन मान्थी , उसले प्रस्तावको अनुहार,वानी व्योहोरा पनि नवुझी टारीदिई।उसलाई त छोटा भेट मनपर्छन्।स्वच्छन्द उडान मन पर्छन् उ किन चाहोस् उसको यात्राको पुर्णविराम?

"अनी साँच्चै आमाले भनेको केटोको के भयो अरे ?" मैले उसको अनुहार नियाल्ने प्रयास गरेँ।
उसले मेरो अनुहार तिर पुलुक्क हेरी !
"केहि न केहि, त्यो त केटालाई नै थाहा होला नी !" उसले म तिर हेर्दा पनि नहेरी जवाफ फर्काई।
"केटाको वारेमा तँलाई भन्दा वढी कसलाई पो थाहा हुन्छ र ?" मैले कटाक्ष गरेँ।
"म पनि करिव करिव तेरै यात्राको यात्री त हुँ नी !" उ खिस्स हाँसी
"तँ त मेरो गुरु नै होस् नी !" म पनि हाँसिदिएँ।
"तँ वाठी छेस् , त्यो तँलाई पनि थाहा छ !"
"तँ भन्छेस् भने होला ! मलाई त तैँले जे भने पनि हो जस्तो लाग्छ !" उ चुप भई । अनी खाना मुछ्न थाली।
उसले मिठो मानेर आफुले पकाएको खाना खाई।मैले पनि उसकै सिको गरेँ मिठो माने जस्तो गरीदिएँ। ""छोडी दे आज भाँडा पनि मै सफा गरिदिन्छु !"
"किन यती दया म माथी म्याडम ?" मैले आशालाई थोरै जिस्क्याएँ।

"आज वाइन खानुपर्छ ,टेवल तैले पुस्छेस् की भनेर !" उसले मेरो अनुहार हेरी। अनी थोरै मुस्काई। उ नशा खोज्दैछे। उ अचम्मकी छे, उसलाई जीवनमा नशा चाहिन्छ। म पनि अचम्मकी छु म उसको नशाको सिको गर्छु। कहिल्यै मात्न सक्दिन मात्र माते जस्तो गर्छु।
क्रमश:

आशा दिदी(अन्तिम भाग)


कहिलेकाहिँ एउटा प्रश्नले पिरोल्छ मलाई "वुद्द कसरी वुद्द वने ?" एउटा रुखको फेदमा वसेर उँघ्दा मात्रै त कसरी पो वुद्दत्व प्राप्त हुँदो हो?घर परिवार आवश्यक छ भनीन्छ, अनि मोह माया सँग दाँजिन्छ पनि ! यदि स्वतन्त्र हुनु वुद्दत्व प्राप्त गर्नु हो भने त म पनि अर्कै मानेमा स्वतन्त्र नै छु नि। सत्यवोध मलाई पनि छ। तर निष्कर्षहरु शास्वत हुँदैनन् । कथाले दृश्य फेर्छ, जसलाई साँचो मानेर मैले तँपाइलाई कथाको आधा पाटो भन्दा वढी डोर्याइसकेको छु त्यो सत्य थिएन भन्ने कुराको ग्यान मलाई त्यो दिन भयो।
समाज
म एकचोटी अँध्यारो वाट उज्यालोमा निस्किँदा प्रकाश सह्य नभएर तिरमिराएको थिएँ। आशाको जवाफ सोचेभन्दा पृथक, मेरो निम्ति कष्टकर थियो।उसले जोडले मेरो गालामा थपड हानेपछि,मैले वरीपरि हेरेका थिएँ। क्यासमा वसेको केटो वाहेक अरुले त्यो देखेनन्, मेरो सौभाग्य नै भन्नुपर्छ।आखिर फेरि सत्य त्यहिँ गएर अडियो "ग्लानी त्यहाँ हुन्छ जहाँ कसैको नजरमा गिरिन्छ, हेर्ने नजर नै नहुँदो हो त ग्लानी पनि नहुँदो हो !"
उ खुरुखुरु गएर दुइ जनाको चियाको पैसा तिरेर वाहिर निस्किई। मैले त्यति खेर आफुलाई नियालेर आफ्नो धरातल खोज्ने प्रयास गरेँ। समय शुन्य थियो।
"म गलत थिएँ, तिमीलाई फरक ठाने,कोहि पुरुष फरक हुन्नन् ! तिमी पनि फरक रहेनछौ !" कानमा शव्दहरु अझै गुन्जिरहेका थिए। मैले विस्तारै छरपष्टिएको मनलाई वटुलेँ अनि वाहिर निस्किएँ। अचम्म उ मलाई पर्खिरहेकी थिई।
"मलाई थाहा छ, मैले छोड्नुपर्ने हो अनि एक्लै जानुपर्ने हो ! तर म फेरि चर्चाको विषय किन वनौँ? अहिलेसम्म त वन्दै आएकी छु ! समाजकै आँखाले त होला तिमीले पनि हेरेको ! "
म नाजवाफ थिएँ । के उत्तर दिउँ उसलाई?
"म अरु जस्तो केटो होइन, म त प्रत्येक दिन स्वाद फरक चाहन्छु त्यहि भएर न हो ! " भनौँ "सरी " भनौँ? मैले चुप लाग्न नै उत्तम ठानेँ। शव्दका लागि त समयको समुन्द्र नै वाँकी छ। विराटनगर साँझ नै भए पनि तापिलो थियो ।गर्मीले उग्र थियो।
"वस !" उसले मलाई स्कुटरमा वस्न भनी ! म स्कुले केटा जस्तो चुपचाप वसेँ , उसलाई छोइएला जस्तो गरेर। वरवेरी को सुगन्ध टाढावाट अहिले पनि आइरहेको थियो। तर मेरो ध्यान तान्ने अरु नै केहि थियो। म हराएको थिएँ। हो पराजयले शिक्षा दिन्छ, यसपाली को पराजय वास्तवमा पराजय थियो वा थिएन थाहा छैन तर त्यसमा शिक्षा अवश्य थियो।जीवन के हो ?आखिर सत्यवोध नै त हो !
************ ************ ********* ************** ************ **********
"कता हराउँछस् हँ त ?" आमा छिर्दा म झसंग भएँ। हिजोको घटना अझै ताजै थियो। भनौँ छापिएको थियो।पहिलो चोटी मैले वुझेँ "नारी वुझ्न कठिन हैन असम्भव छ !" अनी दोश्रो वुझाईँ मा मैले वुझाईँ फेरेँ" आखिर म त लगाम लगाएका घोडा न थिएँ, म मात्र अंगहरु देख्थेँ , अनि तिनलाई छिचोल्ने वाटाहरु। तर समवेदना त सरल कहाँ हुन्छ र ?जटिल नै हुन्छ ! खहरेमा त एकैचोटीको डुवुल्कीमा ढुंगा छुन सकिन्छ समुन्द्र त मोति लिएर वसेको हुन्छ, त्यहि भएर गहिराई जटिल हुन्छ। आंशिक ग्यान अनि फुस्रा पलहरुले मोति टिप्न सकिन्न। मोति टिप्न समुन्द्रलाई वुझ्नु पर्छ।
"हैन टाउको दुखेको छ आमा !" मैले आफुलाई लुकाएँ।
"हिजो दिनभर थिइनस् नि !"
"त्यहि दृष्टीको डेकोरेसन को सामान लिन गएको थिएँ!" आमा किन घाउ कोट्याइदिनुहुन्छ!मलाई पोल्दैछ। जति छुनुहुन्छ , मलाई चर्याउनेछ। म एकान्त चाहन्छु , मलाई चिच्याउन मन लाग्यो, सकिन। फेरि निशव्द भएँ।
"सामान त तिन वजे नै आयो! वावु एउटा कुरा भन्छु नरिसा ल!"
"भन्नु न !" मलाई कौतुहलता जाग्यो।
"मैले धेरै पहिला देखी चिन्छु आशालाई , उ राम्री केटी होइन ! संगत धेरै केटाहरु सँग छ! अलि टाढै वस!"
मैले आमाको आँखामा हेरेँ। चुप नै वसेँ । के भनौँ र खोई।
"तँ सोझो छस् ! उसको केटा खोज्ने वानीले चाँडै विहे गर्दैका ! घर खान पनि सकिन ! अहिले पनि चर्ने रहर होला उसको ! केटामान्छे कतिखेर फस्छन् थाहै हुन्न , केटा विगार्ने आइमाई ले नै हो !"
मलाई आफु देखि घिन लाग्दै आयो। आमामा मैले समाज देखेँ।हो समाजको हेर्ने आँखा फरक छ। पुरुषको पुरुषत्व हुन्छ, आइमाई त कि पतिव्रता हुन्छन् कि वेश्या हुन्छन्।
"आमा भयो त वुझेँ मैले कुरा !" म थोरै झर्किएँ।
"अरु मलाई थाहा छैन, आशा सँग टाढै वस् !" आमा कठोर वन्नु भयो। कसरी भनौँ म आमालाई समाजको चश्मा दोषी छ भनेर !!

लेख्नेहरुको भाव समान नै भए पनि वुझ्नेहरुको मन फरक मात्रै हुँदा पनि कथा फरक हुन्छ। आशयले कोल्टे फेर्छन पाठकको मन अनुसारले। ढल्किन कर नै लाग्छ किनकी पढिदिने त उनीहरु नै हो। आफुलाई जत्ति नै खुला ह्रदयको छु भनिठाने पनि प्रत्येक व्यक्ति समाजको कोकुन भित्र छिर्छ। भिँडमा हराउँछ , किनकी लुक्नु मानवको स्वभावमा छ।
म एक किसिमले दोधारमा परेको थिएँ। मैले आशा सँगको साथवाट जे भोगेँ , जे ग्यान लिएँ त्यो मैले आमालाई सुनाएर आफुलाई दोषी देखाएँ भने आशाको छवी सुध्रिन्छ?तर फेरी सोचेँ त्यो चश्मा लगाएर समाजले आशालाई मात्र क्षणिक उन्मुक्ति दिन्छ। उसलाई फेरि माया गाँस्ने स्वतन्त्रता दिनेछैन! उसका कुरा काट्न रोकिने छैनन्! अनि म जस्तै उसलाई फेरि पनि शिकार सम्झिनेहरु अनुहार वदलिएर आइरहनेछन्। आशा खुशी देखिएकी थिई किनकी उसले लड्न सिकी सकेकी छे, अरु संग अनि एकान्तमा आफूसँग।
म किन त्यति लाचार वनेँ त ?प्रश्नको जवाफ छैन, मैले कथाको शुरुमै भनेको छु , ममा नायकत्व छैन। मैले औसत नै रहने सोच वनाएँ।कसैलाई केहि भनिन, मनमा कुरा गुम्सिरह्यो।
************* *********** ************ ************ ************** *******

वुद्द एयरवाट पोखरा जाने विमानमा पाल्नु हुने यात्री महानुभावहरु कृपया गेट ए तर्फ प्रस्थान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ!
"सुधा , के गर्दैछौ ?" मैले फेरि सुधालाई फोन गरेँ। मेरो वर्तमानको मिठो प्रहर सुधा नै त हो।
"पर्खिराखेको छु !"
"वोर्ड हुने वेला भो, अव चाहिँ उड्छ होला !" मैले सुस्तरी जवाफ फर्काए
"आवाजमा खुशी छैन त मिस्टर, एयरपोर्टमैँ वस्ने मन थियो कि के हो?"
"मन त अघी घर पुगिसक्यो , म मात्रै एयरपोर्टमा हो अहिले त !"
आजकल म शव्दहरु मात्र सुधाका लागि प्रयोग गर्छु। म झन माझिएको छु। शव्दहरु पनि अर्थ पाएर खुशी भए जस्तै लाग्छ।
"चेपारे! म एक छिन वजार जान्छु त्यसोभए !"
मलाई थाहा छ । उ मलाई मन पर्ने तरकारी को व्यवस्था गर्नलाई निक्लिन लागेकी हो ! परिवर्तन त्यहाँ हुन्छ, जहाँ रहर हुन्छ ,अनि लक्ष हुन्छ। मलाई अर्को परिवर्तन को कुनै रहर छैन।
म फर्किएको थिएँ वर्तमानको उडानमा । एउटा अनौठो अतित आशा दिदीले सम्झाएर जानुभयो तर मन आज हलुका भएको थियो। मैले त्यतिखेर विदा नमागिकन नै हिँडे पनि, आज समयले मौका दिएको थियो।म उठेर वोर्डिंगको लागि छिरेँ। आशा दिदी एरोप्लेनमा हुन्जेलसम्म मलाई झक्झक्याइरहिन । मेरो समय मौनवन्यो, अतितको सम्झनामा। ध्यान वर्तमानमा ल्याउन मलाई निकै अफ्ठ्यारो पर्यो।तर थाहा नै नपाइ आशा कसरी आशा दिदी बनिन् मलाई पत्तो भएन।
समाप्त:


आशा दिदी (भाग-२)----Rajits


कथाको दोश्रो अंश पनि म वाटै शुरु हुँदैछ।आशा दिदी खोइ त कथामा ?पढ्नेलाई अचम्म लाग्न सक्छ आशा दिदीको वारेमा सोचेर, तर कथा त आशा दिदीको नै हो, म त यो कथा वुन्ने फगत एउटा धागो हुँ।त्यो धागो जसले कथा मा पत्र पत्रमा रहेकी आशा दिदीलाई उक्काउने छ।हुन त धागोले जोड्छ, तर जोडिदिने वस्तुले नै उक्कायो भने ? प्रश्न अचम्मको छ, हुनैपर्छ । किनकी म पनि अचम्मको छु,समाज अचम्मको छ अनी मेरो कथा पनि ।
कथामा म कति मेरा रातहरुको वयान गरौँ, पहिलो र दोश्रो अंशको विचमा मेरा शिकार फेरिए, रातका परिदृश्यहरु फेरिए,म माझिँदै गएँ।झन झन चम्किलो भएँ, झन धैर्यवान भएँ अनि झनै शितल भएँ।  भो अहिलेलाई ! कति आफ्नो पुरषार्थलाई आफ्नो कथामा व्याख्या गरौँ?कथामा थोरै गति थप्छु, कथालाई थोरै अघि लैजान्छु।
दृष्टीको विहे

"यसपाली तँ र म तराइ जानुपर्छ वुझिस् ! दृष्टीको विहेमा !" आमाको आँखामा अनौठो खुशी देखियो। घरले वाँधेको छ,कहिलेकाहिँ पखेटा फिजाउन चहानुहुन्छ।वाहिर वार्दलिमा निक्लेको वेला आकाश हेर्नुहुन्छ। आकाश त अझै अनन्त छ, आफु खुम्चिएकोमा दुख लाग्छ। वुवाको सेमिनार अनि अफिसको विचमा वुवा घर विर्सिनुहुन्छ।तर आमालाई मात्र घर याद रहन्छ! पर्दाहरु सुम्सुम्याउनुहुन्छ झ्यालका ,धुलो लागेको जाली सफा गर्नुहुन्छ।कहिलेकाहिँ विस्कुन सुकाउनुहुन्छ छतमा!जीवनलाई घरका कुनाकुनाहरुमा बाँड्नु भएको छ।
 समय पनि अचम्मको हुन्छ,वाँडिन्छ वाँचिन्छ अनि विक्री पनि हुन्छ।वुवा समय विक्री गरेर पैसा किन्दै हुनुहुन्छ। आमा समय सँग स्वतन्त्रता साट्न खोज्नुहुन्छ। म दुइजनाको तराजु नियाल्छु।छुट्याउन सक्दिन को वढि खुशि छ , छुट्याउन सक्दिन खुशी के हो ! दिक्क हुन्छु , नियाल्न छोड्छु मलाई आफ्नै जीवन ठिक छ ।
मेरो पनि कलेज सिद्दिएको थियो,आमाले राखेको प्रस्ताव नकार्न सकिन।
"कहिले जानुपर्ने ?" आफ्नो लामो घुम्रिएको कपाल भित्र कन्याउँदै मैले सोधेँ!
"अर्को हफ्ता , जाँच त सिद्दियो ! अव तेरो जागिरमा छुट्टि मिलाउन सक्छस् कि सक्दैनस् !" वहाँको भनाइमा आग्रह थियो। कति कमजोर वनाएको छ समाजले आइमाइ मानिस् लाई सिकाएको छ साथ खोज्नलाई, तरुनीमा पतिको वुढेसकालमा छोराको !
"छुट्टि त मिल्छ होला!" मेरो कपाल कन्याइ यथावत थियो।
"तँलाई जान मन छैन भने छोड्दे न त !" आमाले मेरो कपाल कन्याइको आशय निकाल्नुभयो।
"हैन ?जान्छु नि ! मेरो पनि त वहिनी हो !" मैले आमालाई फेरि आफ्नो ढाँट उत्तर फर्काए। मलाई खासै जान मन छैन त्यो विहेमा । रातका अल्लारे पार्टीहरु,अनि नयाँ अनुहारहरु, केहि नयाँ कोठाहरु,अनि केहि सपनाहरु छुट्नेछन्।
आमा खुशी हुनुभयो किनकी मैले आमाको उडानमा पखेटा थप्ने प्रयास गरेको थिएँ।
*************** **************** **************** ************** *********
"आइस् तँ पनि !" दृष्टी मलाई हेर्दै हाँसेकी थिई। उमेरले चार महिना भएपनि उसको दाजु नै थिएँ। तर उसले कहिल्यै तँपाइ भनिन मलाई।मैले पनि सम्वोधनमा "तँपाई" खोजिन।
"किन आउँदिन जस्तो लागेको थियो र?" मैले व्याग उसको खाटमा हुत्याउँदै प्रश्न राखेँ।
"के भर तेरो ! मलाई त ठुलोमामु मात्रै आउनुहुन्छ कि जस्तो लागेको थियो!"
"इक्जाम सिद्दियो, काम वाट पनि छुट्टी पाइयो !तँ रोएको पनि हेर्न मन लाग्यो !"
म थोरै ढल्किएँ,उसैको खाटमा।विहेको सामानहरुले कोठा अस्तव्यस्त थियो।उसको कलेजको ग्र्याजुएसनको फोटो उसको टेवलमा थियो।
"तेरा साथीहरु त आउँदैनन् होला है काठमाण्डुवाट?" मैले ग्र्याजुएसनको फोटो हेर्दै प्रश्न राखेँ।
"आउँदैनन् होला ! यति टाढा!! फेसवुकमा म्यासेज त पठाको हो ! के गर्छन् थाहा छैन !"
 उसले मेरो प्रश्नको आशय नवुझीकन साधा उत्तर फर्काई। मेरो आँखा अझै तस्विरमै अडिएको थियो।कन्या क्याम्पसका पुतलिहरु दृष्टीलाई घेरेको तस्विर ! आमा आफ्नै वहिनीसँग गफमा व्यस्त होला। सके मेरो लागि पनि केटी खोज्नुपर्छ भन्ने सम्म कुरा पुगिसक्यो होला।अरुले पनि "हो दिदी अव सत्ताइस् पनि भयो,काम पनि गर्दैछ ! मास्टर्स सिध्यायो ! अग्लो गोरो राम्रो केटो जसले पनि केटी दिन्छ ! अहिल्यै हो विहे गर्ने पनि!" भनी सके होला। आमा दंग परिनै सक्नु भयो होला वुहारीको सपना देख्दै !!
 मलाई त्यसैले पनि कसैको विहेमा जान मन लाग्दैन।किन मान्छेहरुलाई अर्काको जीवनको यत्रो चासो? सपनाको सारथी वनिदिने यत्रो धोको!मैले टारिसकेको थिएँ दुइ तिन चोटी त प्रस्ताव पनि। तर आजकल वोल्न मन लाग्दैन। आखिर के भनौँ ?मैले प्रत्येक रात स्त्री भोग्न पाएको छु, चाहेको जस्तो! अनि विहान उ मलाई न त कपाल काट्नु नै भन्छे, न त मेरो टिशर्टको कलर चुज गर्छे! म स्वतन्त्र छु। मान्छे मलाई वाँध्न चाहन्छन्। मान्छेको स्वतन्त्रताको जलन हो सवै यो।
******* ******* ************** ************* ************ ****************
"दृष्टी चिया खान निस्की न वाहिर कति कोठामा घोत्लिरहन्छेस् ?हामी सँग पनि गफ गरे हुन्छ !" आवाज मधुरो थियो मेरो ध्यान तान्न सक्ने गरी पर्याप्त थियो। भौतारिरहेको मेरो पनि पहिलो चोटी धैर्य वन्न वाट अटेर गर्यो। मैले अनुहार हेरीसकेको थिइन तर अनुहार पक्कै राम्रो हुनुपर्छ मैले अनुमान गरेँ
"को हो दृष्टी ?" मैले ढोका तिर नजर दौडाउँदै प्रश्न राखेँ। ढोकाको खुलेको भागवाट केहि देखिएन । मात्र पदचाप सुनियो, किचन तिर कोहि गए जस्तो लाग्यो।
"तँ चिन्दैनस्! आशा दिदी ! मेरो काकाको छोरी !"

आशा मात्र दृष्टीको दिदी हो नि ! मेरो मनमा उठेको पहिलो सोच थियो।कथा त्यहि समयको त्यो सम्वन्धवाट डोरिइनु परेकोले अहिले दिदी शव्दलाई म थोरै विश्राम दिँदैछु।कथामा शव्द शव्दका अर्थ हुन्छन् दिदी शव्द जवसम्म प्रयोग हुन्छ तवसम्म मेरो मनको भार हट्नछैन। म कथा सुनाउन सक्ने छैन।जीवनका घुम्तिहरुमा उ पनि कुनै सम्वन्धको भार नवोकी छिरेकी थिई। सारांशमा कथाको त्यो मोडमा उ मात्र आशा थिई।
आशा
म साँझमा छतमा थिएँ।विराटनगर पहिलेको जस्तो थिएन।हामी शहरको एक कुना जस्तोमा नै भए पनि पर परसम्म खेत देखिन्नथ्यो।घाम घरहरुको विचवाट अस्ताउँदै थियो।प्रकाश गुलावी थियो।लामखुट्टेको गुनगुन वढ्न थालेको थियो।म भने शुन्य प्राय भएर आफुले नै उडाएको धुवाँलाई नियाल्दै थिएँ।संसारले मलाई दुई चरित्रको व्यक्ति मान्न सक्छ,किनकी म घरमा पृथक हुन्छु वाहिर भन्दा! कहिलेकाहिँ सोच्छु "म मेरि माया गर्ने आमालाई किन कुरा लुकाउँछु ?" उत्तर पाउँदिन । खोज्न छोडिदिन्छु। म दुई चरित्रमै ठिक छु। यसलाई सामाजिक भाषामा मान्छे प्र्याक्टिकल भएको भन्छन्।
आशा पनि एकान्त खोज्दै हुन सक्छ छतवाट उक्लिएको मैले देखेँ।मैले हत्तपत्त सल्किएको चुरोट निभाएँ।म चाहन्न मैले समाजको अघी ठड्याएको अर्को मको स्वरुप झर्यामझुरुम होस् एउटा चुरोटले।
"विहेको माहौल मन पर्दैन हो ?" उसले नै कुराको शुरुवात गरी!
"किन र?" मैले अचम्म माने जस्तो गरेँ।
"एक्लै छतमा किन त ?"
"मलाई भिँडभाँड मन पर्दैन खासै!"
"त्यो भनेकै पहिलो प्रश्न हैन र ? विहेको माहौल भिँडभाँड !" उसको मुस्कानमा धेरै रंगहरु थिए।केहि अस्पष्ट आकृति थीए। सरल पक्कै पनि थिएन उसको मुस्कान।
"कैद कसलाई मन पर्छ र ? त्यसमाथी जन्मकैद !" मैले सपाट उत्तर फर्काएँ।
"कैद किन र?"
"विहे भनेको सिमा तोकेको त हो नी ! मान्छे त स्वच्छन्द हुनुपर्छ ! पखेटा फिँजाउनुपर्छ,उड्नुपर्छ!"
"केहि सम्वन्धहरु आकार नपाउन्जेल छताछुल्ल हुन्छन्,पोखिन्छन! वोक्ने भाँडो चाहिन्छ !"
"छताछुल्ल भएर त यात्रा तय गरिन्छ ,आकार त स्थिर हुन्छ !" मैले उसलाई नियाल्दै जवाफ फर्काएँ। एउटा गम्भिर भेष ! उसले मलाई तानेकी थिई। कुर्ताको टप ,जिन्स प्यान्ट अधवैँशे अनुहार ! करिव म भन्दा पाँच छ वर्ष जेठी हुनुपर्छ उ! अहिलेसम्म का केटीहरु भन्दा पृथक। अहिलेसम्म मेरो वरालिने मनले वरालिने मनलाई नै भेटिरहेको थियो।खहरेहरु रातका भेल वोकी आउँथे,दिनको प्रकाशमा उनीहरु सुके जस्ता हुन्थेँ, तिर्खा जस्ता को तस्तै,यात्रा जस्ताको तस्तै !दिन फेरि अर्को खोजमा वित्थ्यो। एउटा स्थिर समुन्द्रले मेरो मनमा पौडि खेल्ने गरीको काउँकुति लगाएको नै थियो त? जहाँ गहिराई थाहा हुन्न,त्यहाँ डुव्नुको मजा नै वेग्लै!
"कहिलेकाहिँ गति हानीकारक हुन्छ,विशेषत लक्षको उल्टो हिँडियो भने !"
"लक्ष थाहा नपाइकन पक्डेको गतिको फेरि अलग्गै नशा हुन्छ !"
"आ-आफ्नो सोचाइ हो !" उसले थोरै भुइँमा झुक्दै जवाफ फर्काई।
 "तँपाइको सोचाइ के हो त ?" मैले तँपाई नै भनेर सम्वोधन गरेँ। तिमीमा झर्ने मैले हालसम्म अनुमति पाएको छैन। अनि उ म भन्दा जेठी नै पनि थिई।
"कहिलेकाहिँ उत्तर नहुने प्रश्नहरुले पिरोल्छन् ! म तल झरेँ ल, पछि कुरा गरौँला ! तिमी साह्रै रमाइलो कुरा गर्छौ! अनि नडराए हुन्छ,म चुरोटको लतको वारेमा कसैलाई भन्नेछैन! ह्याप्पी स्मोकिंग एण्ड सरी टु वदर यु !"
उ हाँसी , केहि त छ उसको अनुहारमा ! त्यो पिडा हुनुपर्छ! हाँसोमा मिसिएर एउटा अनौठो रंग वनाउँछ अनुहारमा ! एउटा रहस्य पोत्छ क्यानभासमा !
********* ********** ********* ********** ********* ********* ************
"तेरो आशा दिदी वस्ने चाहिँ कहाँ हो?" मैले दृष्टीलाई प्रश्न राखेको थिएँ हामी दुइजना मात्रै हुँदा। आमा मैले केटी मान्छेको चासो लिएको राम्रो मान्नुहुन्न। फेरि आशा त आइमाइ थिइ होला आमाको नजरमा, म भन्दा जेठी हुनाले!
"तेरो पनि दिदी नै हो, जेठी हो धेरै !" मनमा चस्स विझ्यो। किन दिदी भन्नु ? जेठी भन्दे त भइगो नी !
"घर कहाँ हो वहाँको ?" मैले प्रश्न गर्न छोडिन।
"कुलेश्वर तिर होला वसाइ !" उसको उत्तरमा सोधे भन्दा वढी केही आएन। सामान्यतय केटी मान्छेहरुलाई एउटा प्रश्न गरेपछि उधार्न सजिलो हुन्छ। तर दृष्टी अपवाद निस्किई, उसले उसलाई थाहा भएका धेरै कुरा लुकाए जस्तो लाग्यो। के उसले मेरो आशय वुझि त मनमा डर लागेर आयो। यहाँ मलाई समाजको पनि त डर छ।
"को को वस्छ र सँगै ?" मनमनैँ सोचेँ जे सुकै सोचोस् दृष्टीले !मैले के नै गरेको छु र अहिलेसम्म !
"वुढाले छोडेपछी,वसाई एक्लै छ !"
मन एक तमासको भो !उसको गम्भिर अनुहार अनि छतको वार्ता सम्झेँ "कहिलेकाहीँ उत्तर नभएका प्रश्नहरुले पिरोल्छन् !" त्यसो भए आशाले उत्तर नभएका प्रश्न कोट्याइ नै किन त ? उसलाई थाहा थियो त्यो प्रश्न आउँछ , उ सँग उत्तर हुने छैन भन्ने। आखिर मेरो अघि निरुत्तर हुने रहर किन ? शायद उसले मलाई जाँच्न चाहेकी थीई, उसको रहस्यमा मेरो जिग्यासा कति भन्ने ! जव मान्छे सम्वन्धसँग वाक्क हुन्छ , उसले एकान्त खोज्छ तर सम्वन्ध र एकान्त दुवै सँग वाक्क भएको मान्छेले म जस्तो साथी खोज्छ। शायद आशाको खोज ममा आएर टुंगेको थियो। मन फुरुंग भयो, म फेरि धैर्यवान भएको छु, सहि समयको खोजीमा !
आशा सुन्दर थिई। तर सुन्दरता पारख सँग मिसियो भने त्यो अद्दितिय हुन्छ। उ अद्दितिय थिई किनकी उ पारखी थिई।एउटा अनौठो मैले नचाखेको स्वाद थिई। भोगि म उ तिर डोरिएको थिएँ। उसका रहस्यमयी शव्दहरुको मैले सुन्दर अर्थ निकालेको थिएँ।
आशा(भाग-२)
"एक्लै त कता जानु ठूलो मामु ! फेरि मलाई विराटनगरको खासै थाहा पनि छैन" उसले म तिर हेर्दै भनी । उ स्कुटी स्टार्ट गरेर साथी खोज्दैथिई दृष्टी विहाको डेकोरेसनको सामान लिन जानलाई।
"म जाउँ त आण्टी ?" मैले उसको इशाराको अर्थ निकालेँ। उ मेरो साथ चाहन्छे।
"जा न त ! त्यो केदारको दोकान देखाइदे !"
म सिँढीवाट फटाफट झरेँ। अनि स्कुटी को नजिकै पुगेँ।
"आज म तँपाइको साथी !" भन्दैगर्दा मनमा अनौठो काउँकुति लागेर आयो। किन म उसलाई अझै तिमी भन्न सक्दिन?
"पछाडी वसेर लडिएला, म खासै राम्रो कुदाउँदिन !" उ मुस्कुराई।
"म कस्सिएर पक्डिन्छु नि !" उसको कम्मर नियालेको मात्र के थिएँ, उत्तर फुर्न वेर लागेन।
उ खित्का छोडेर हाँसी पहिलो चोटी।सदा जस्तै पहिलो चाल सोचेको ठाउँमा वस्यो मेरो!
************* ******************* ************** *************** *********
"बर्ब्रेरी ब्रिट ,फ्रेन्च , एण्ड आइ लभ द स्मेल !" मैले स्कुटीवाट झर्दै गर्दा उसको छनौटको तारिफ गरेँ। हुन पनि स्कुटीमा वसुन्जेल उसको सुवाष मात्र घुम्यो,उसको हेलमेटवाट वाहिर निस्किएर पनि मेरो अनुहार छुन भ्याएका उसको कपालले मलाई अरुतिर हेर्न पनि दिएन।त्यो कालो वादल थियो जसले आकाशको आकाश छेकेको थियो।
"वाउ, आइ एम इम्प्रेस्ड!" उसले अचम्म मान्दै मलाई हेर्दै भनी।
प्रत्येक शिकारका प्रकार हुन्छन। काहिँ वलियोको अघि वलियो वनिनुपर्छ। कहिलेकाहिँ निर्धोको मुखौटो लगाउनुपर्छ। हो उ अभ्यस्त भइसकेकी थिई पुरुषत्वसँग । त्यसैले मैले कलिलो केटो देखिनु उचित ठानिन। मैले उसलाई मेरो संगत धेरै उ जस्ताहरुसँग भइसकेको छ भनेर देखाउनु नै मेरो लागि श्रेयस्कर थियो।
"तिमीलाई पर्फ्युमको वारेमा धेरै थाहा छ जस्तो छ !"
"लगाउनेहरुसँग संगत छ !" म हाँसे। उसले मलाई घोरिएर हेरी।मैले त्यो रहस्यमयि नजरको अर्थ लगाउन सकिन। लाग्यो जीवन जटिल भएर नै होला सुन्दर छ।
********* ******** ********* ********* *********** ********* ******* *****
"तिमी फरक छौ , केहि न केहि त फरक छौ !" उसले धेरैवेर मेरो कुरा सुनेपछि मलाई भनी।काम सिध्याएर हामी चिया पिउनलाई "आँगन"मा छिरेका थियौँ।म जानीवुझि कुनाको कुर्सीमा गएर वसेँ।
"फरक भएर न मान्छे म हुन्छ ! नत्र त म पनि भिँडभित्र हुन्छ, खोज्नुपर्छ!"
"अनि काठमाण्डौमा कहाँ हो घर ?पुगेर पनि भेट्नुपर्छ वुझ्यौ ?"
"मलाई त वानी लागेपछि छुटाउन गाह्रो हुन्छ !"
"भन्नाले ?"
"मैले भेट्ने वानी भनेको !"
"भेट्ने पनि वानी हुन्छ कहिँ ?"
"हुन्छ त !" म हाँसे।उ पनि हाँसी। चियाको चुस्कि नै गुलियो भयो।
"तँपाइ हाँसेको मलाई खुव मन पर्छ ,एकदम गहिरो !"
"तिमी जसलाई पनि हँसाउन सक्छौ!" उसले मेरो तारिफ गरी । म शव्दहरु वुन्दै गएँ किनकी मलाई पनि त शव्दको जालो वनाउनु थियो।
********* ********* ************** ************* ********** **************
"जाने हैन त,अव घर ?"
त्यहाँ खासै भीँड थिएन।फाट्ट फुट्ट मान्छे अनि कुनामा हामी ! आशाको उपस्थितिले गर्दा हुन सक्छ मैले वाहिर नियाल्न पनि भ्याएको थिइन। उसको घाँटीमा गरिएको पुतलिको ट्याटु मैले स्कुटरमा हुँदा देखेको थिएँ। मलाई अचम्म लागेको थियो। उसले समाज सँग लुकाएकी होला ट्याटुलाई आफ्नो लामो कपालले।दृश्यहरु सहि गलत हुँदैनन्, मात्र समाजको नजरमा पाच्य र अपाच्य हुन्छन् मैले त्यहि निष्कर्ष निकालेको थिएँ।
"हेलो, कता हराएको ?ढिलो भएन भन्या ?" उसले फेरि पनि जिद्दी गरी ।
"वसौँ न!एक छिन, अनि फेरि अल्लारेको कुनै घर हुँदैन! कुन घरलाई पो आफ्नो भनौँ ?" म हाँसे।
"आफुलाई अल्लारे वनाउने कत्रो धोको !" उ हाँसी
"मैले भनी सकेँ नी, मलाई स्वतन्त्रता मन पर्छ !"
"ओ यस, साँची , चुरोट खान्नौ आज ?" उसले मलाई जिस्क्याई
"मनमा धेरै धुवाँ भएको वेला म चुरोट पिउँदिन !"
"फिलोसफिकल, अगेन ! कहिले काहिँ म तिम्रो कुरा वुझ्दिन !"
"एउटा कुरा सोधौँ ?" मलाई गोलघुम्ति घुमिरहन मन छैन । उ मेरो यति नजिक छे, उसको सुवाष अझै व्याप्त छ ।मैले आफ्नो धैर्यताको धेरै परिक्षा लिइरहनु उचित हुन्न।
"सोध न !"
"माया ठूलो कि आवश्यकता ?"
"मैले त माया भेट्टाएको छैन, मात्र भ्रम भेट्टाएको छु !"
"त्यसो भए आवश्यकता?"
"हुन सक्छ !" उ गम्भिर भएर मलाई हेरीरही !
"त्यसो भए तिमी मलाई आवश्यक छौ !"
मैले उसको हात समाउँदै भनेँ। पहिलो चोटी तिमी भने, लाग्यो म सँग अव तिमी भन्ने हक छ।
क्रमश:

आशा दिदी(भाग-१) Rajits

म पात्रमा नायकत्व कति जरुरी छ ?मेरो कलमले अघि वढ्दा वढ्दै गहिरो प्रश्न राखेको थियो। म सोच्न वाध्य भएँ, किनकि यदि जरुरी छ भने जे म लेख्दैछु त्यो कथा होइन। ममा नायकत्व छैन।

कथा भन्दा थोरै अघि,

एयरपोर्ट डिलेभएका फ्लाइटको कारणले गर्दा हुनुपर्छ भिडभाँड थियो।आकृतिहरु दिमागमा छाप वनाउन नपाइ देखिँदै विलाउँदै थिए।भिँडभित्रका झुण्ड,उपझुण्डहरु कोहि रमाइरहेका थिए,कोहि गम्भिर देखिन्थे।गम्भिर हुनेहरु प्लेन डिले भएकाले हुनुपर्छ। मनमनै सोचेँ, किन आएँ आज एयरपोर्टमा चाँडो। म एक घण्टा अघि आएँ,फ्लाइट एक घण्टा डिले भयो । के गर्ने होला दुइ घण्टा? समय अचम्मको हुन्छ, जति खाली भयो त्यति गह्रुंगो हुन्छ!
"फ्लाइट डिले भो नि त केटी !" उसलाई केटी भन्न मलाई रमाइलो लाग्छ।शुरु शुरुमा उ अचम्म मानेर हेरेकी थिई। तर पछि उसले मलाई र मैले दिएको विशेषण दुवैलाई अंगाली!
सुधालाई सुचना दिनु आवश्यक थियो । बेक्कारमा अतालिन्छे, मोवायल स्विच अफ भएको वेला पर्यो भने त झन् उसको होशले ठाउँ छोड्छ।तर आवश्यकतावोध भन्दा पनि मेरो लत भन्नुपर्छ, दुइ चार घण्टा ,दुइचार घण्टामा मोवायलका टेक्स्ट,फेसवुकका प्राइभेट म्यासेज वा कल जे वाट भएपनि मैले सुधासँग शव्द साटासाट गर्नुपर्छ। कहिलेकाहिँ जिस्किनुपर्छ , कहिलेकाहिँ ठूस्केकी उसलाई मनाउनु पर्छ। मलाई थाहा छ, उ रिसाएकी हुन्न तर पनि म उसलाई मनाइ टोपल्छु, किनकी मलाई थाहा छ मैले धेरै मेहेनत नगरी उ रमाउनेछे।
कहिलेकाहिँ म आफुलाई उसको नजरवाट हेर्न खोज्छु। मलाई थाहा छ, ममा औसत पुरुष भन्दा वढी केहि छैन।वरु कम होलान, केहि दुर्गुण होलान् । तर जव जव म आफुलाई उसको आँखावाट हेर्न खोज्छु, आफुमा स्वाभिमान देख्छु, एउटा अनौठो आकर्षण भएको व्यक्तित्व देख्छु , मन पगाल्न सक्ने पुरुषत्व देख्छु,खुशी हुन्छु अनि फेरि आफ्नो जीवनमैँ फर्किन्छु।कसैको जीवनमा आफ्नो उपस्थितिले पार्ने फरकमा रमाउनु नै माया होला शायद!
"किन र ?" उसको निन्याउरो आवाज फर्कियो। मोवायलमा निराशा चुहियो सुधाको!
"वेदरको प्रोव्लेम भने, तिमी सँग भेट हुन नदिने षड्यन्त्र गरे जस्तो लाग्यो !" मैले उसको निराशा हलुक्याउन खोजेँ!
"म त तँपाइ आउने होला भनेर अफिस छोडिदेँ आजको !" उसले हाँस्दै भनी ! उसले गुनासो पोखेको हुनुपर्छ उसको प्रतिक्षाप्रति।उसको म तिमीलाई माया गर्छु भन्ने शव्द छनौट पनि अचम्मको छ। उ भन्दिन तर म उसले नभनेको वुझ्छु।जहाँ मौनता रमाइलो हुन्छ , त्यो पल शव्दहरु कुरुप हुन्छन् मौनताको सुन्दरताको अघि।
"कि कुद्दै आउँ त ?"
"अलि टाढै पर्छ होला, भो छोड्दिनु गल्नुहुन्छ!" उ खितित्त हाँसी । मलाई सन्तोक भयो।
"ल वेलुका सम्ममा आइपुग्छु, खास त्यहि भन्नलाई फोन गरेको । राखे है मैले! " मैले फोन काटेँ, यताउति हेरेँ कसैले सुनेका त छैनन् नि भनेर! अनि चुरोट कक्ष तिर लागेँ।
*************** ************** *************** ************* ***********
"तिमीले चुरोट खान अझै छोडेको छैनौ है ?" आवाज मधुरो थियो। अनि पुरानो पहिचान बोकेको पनि !
"आशा दिदी ! वाट ए प्लिजेन्ट सरप्राइज !" मैले भने पनि मलाई थाहा छैन यो भेट सुखद थियो वा थिएन, तर सरप्राइज भने अवश्य थियो।
"कता ?"
"घर हिँडेको दिदी !"
"अल्लारेहरुको घर हुन्न नि आकाश , तिमीले नै भन्थ्यौ हैन र ?" आशा दिदी थोरै मुस्कुराउनुभयो। मैले वहाँको अनुहार नियालेँ। पुरानो अनुहार भन्दा पृथक केहि थिएन। करिव एक वर्ष भयो होला भेट नभएको ! परिवर्तन खासै थिएन। अझै पनि उसरी नै मुस्कुराउनु हुन्थ्यो । अझै पनि गहिरा शव्दहरुमा जिस्किनुहुन्थ्यो। परिवर्तन त ममा थियो। किन एउटै आकाशका दुइ पाटामा घामले फरक फरक असर गर्छ ?
"मान्छे सँधै अल्लारे रहँदैन नि त दिदी !" म पनि वहाँको मुस्कानको साथ दिँदै मुस्कुराएँ।घर शव्द मात्र होइन।घर भौतारिनेको लागि स्थिरता हो। घर वाँध हो,परखाल हो अनि दुइ मुटु जोड्ने पुल पनि।
"विहे गर्यौ कि के हो ?" वहाँले आश्चर्य मान्नुभयो ! आश्चर्य मानेकोमा मलाई आश्चर्य भएन, छवि नै त्यस्तै वनाएको छु मैले। छाप नै त्यस्तै छोडेको छु मैले! म जे देखाउन चाहन्छु, संसारले त्यहि न देख्छ। रंगहरु त मैले छान्ने हो मेरो इन्द्रेणीको। कुन गाढा हुन्छ, कुन फिक्का हुन्छ त्यो त मेरो क्यान्भास कोराइमा फरक पर्छ।
मैले टाउको हल्लाएँ।
"अचम्म छ, तर खुशी लाग्यो ! "
वुद्द एयरवाट पोखरा जाने विमानमा पाल्नु हुने यात्री महानुभावहरु कृपया गेट ए तर्फ प्रस्थान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ!
सँधै झै सुमधुर आवाजमा एउटी युवतिको ध्वनि गुन्जियो!
"ल म लागेँ, यु मेड अ गुड डिसिजन फाइनल्लि !" आशा दिदीले आफ्नो व्याग उठाउनु भयो !
"दिदी तँपाइले मलाई परिवर्तन गरिछाड्नु भयो, हुन त मैले माफि माग्न नमिल्ने हो !तर गर्न सक्नुहुन्छ भने तँपाइले मलाई माफ गर्नुहोला !" वोल्न गाह्रो भएको थियो! तर वोले पछि हलुका भयो मनवाट भार हटे जस्तो!
"कमअन! इट्स ओके! मान्छे पल पल फरक हुन्छ! त्यो तिम्रो हैन पलको दोष थियो !" मेरो दुइ काँधमा हात राख्दै जवाफ आयो आशा दिदीको !
विस्तारै भिँडमा आशा दिदि हराउनु भयो। मेरो दुइ घण्टा अव खाली छैन! त्यसमा अतितले समय पाएको छ!
**************************************************************************************


यहाँवाट कथाको शुरुवात हुन्छ।म स्वार्थी भएर हुन सक्छ,कथा मैले मवाटै शुरु गरेको छु। जीवन अचम्मको छ,वृत्तको केन्द्रमा सदैव म हुन्छ, म जे गर्छ सहि हुन्छ। म स्वार्थी हुन्छ, स्वार्थलाई फरक फरक नाम दिन्छ। मेरो मात्र किन प्रत्येक कथा मवाट शुरु हुन्छ,शुरु नभएकामा म को खोजी हुन्छ, म भेट्टाइन्छ र त कथाले महत्व पाउँछ।

म(करिव एक वर्ष अघी)

उ भिँडवाट टाढा एउटा कुर्सि आफ्नो लागि मात्र वन्दोवस्त गरेर वसेकी थिइ,एउटा हातमा वाइनको ग्लास लिएर। तर मैले भन्नैपर्छ परवाट वाइन भन्दा उ नै मादक देखिन्थी ।क्रस लेग पोजिसनमा उसको देखिएको घुँडासम्मको अंशले रहर पलाउँथ्यो उसलाई हेरीरहने।मेरो आँखाहरु सन्त थिएनन्, उसलाई हेरिरहन लाज मानेनन्। धक फुकाउन्जेल हेरिरहे।परैवाट उसको इयररींग रातो प्रकाशमा टल्किएको थीयो। वेला वेलामा उ आफ्नो कपाल मिलाउन आफ्ना औँला कपालमा कुदाउँथी। पटक पटक उसको एयररिंग गालामा ठोक्किएर मेरो मनमा अनौठो काउँकुति लगाइ छाड्यो।
"मौनता ,एकान्त अनि वाइन,जीवन एक्लिएर पनि नशालु छ ! " मैले पनि चुस्कि लगाउँदै उसको छेउमा गएर मौनता तोडेँ।
"तँपाइलाई मेरो एकान्त मा किन इर्ष्या त ?" उसले हाँस्दै प्रश्न राखी । उसको मुस्कानले मेरो वाटो खोल्यो।
"राम्री केटीहरुलाई पिउन साथ दिने मेरो राम्रो वानी छ, आज पनि वानीले विवश वनायो !"
उसले मलाई आफ्ना गहिरा आँखाले हेरी। चश्मामा खासै पावर थिएन शायद! त्यति भद्दा देखिँदैनथ्यो।मलाई पढ्न सक्यो वा सकेन थाहा छैन।
"म यसलाई तारिफ सम्झिउँ ?"
"जे सम्झे पनि हुन्छ , म त मात्र साँचो वोल्छु ! मैले एकान्त तोड्न मिल्छ भने म कुर्सी ल्याउँछु अर्को !"
"एकान्त पातलो हुन्छ,सानो क्षणले पातलिन्छ, सानो साथले चिरिन्छ,करिव दुइ मिनट देखि म एक्ली छैन ,ल्याए हुन्छ !" उसले स्विकृति दिइ। पहिलो चरण मैले सफलता पुर्वक पार गरेँ!वाइनमा डुवेर उसको ओठ अझ रसिलो देखियो। मैले आँखा हटाउन सकिन।
"कुर्सी लिन जाने भनेको होइन ?" मेरो ध्यान भंग भयो।
"उभिएर यति राम्रो चिज हेर्न पाएको छु, कुर्सी लिन जाने समयको लोभ लागेको छ !"
"नहतारिइ गए हुन्छ ! मलाई कुनै हतार छैन ! म समयमा कन्जुसी गर्दिन, आफु सँग कति छ भन्ने थाहा भएको वस्तुमा न हो कन्जुसी गर्ने ! म सँग दुइ दिन छ वा दुइसय वर्ष कसलाई के थाहा ? अनै थाहै नभएको वस्तुमा भएको खर्चमा के चिन्ता ?" उसको अनुहारमा हलुका गुलावी लाली छायो।थोरै लागेको हुनुपर्छ उसलाई। मान्छे जव वेहोश हुन्छ अनि चिन्तन फुर्छ, सोचका क्षितिजका दायरा हरु चौडिन्छन् । मोक्ष वेहोशीमी नै हुन्छ।उसको वेहोशी त मेरो लागि वरदान नै हो। मन खुशी भयो।
"वाइ द वे मेरो नाम आकाश हो !" मैले कुर्सी ल्याउँदै गर्दा आफ्नो परिचय दिएँ। उसलाई मेरो नाम आवश्यक थियो थिएन थाहा छैन।
"सरी नाम नसोधेकोमा, म रितु !"
"पक्कै वसन्त हुनुपर्छ !" म जिस्किन चाहेँ। उसले पनि साथ दिइ, धक फुकाएर हाँसी यसपाली।
"हरियो देखिएको छु हो ?"
"हैन मलाई वसन्त रितु मन पर्छ त्यहि भएर, यहाँ कसरी त ?" मैले प्रश्न मोडेँ । हुन त मलाई उसको उत्तरमा कुनै मतलव छैन । तर पनि प्रश्नले शिष्टता थप्छ।म उसको वारेमा जान्न चाहन्छु भन्ने वुझाउँछ।राम्रो शिकारी धैर्यवान हुन्छ। उ आफ्नो घडी घर नै छोडेर शिकारमा निक्लन्छ।
"वर्थडे गर्लको एउटी साथी मेरो पनि साथी हो, उसै सँग आएको तर उ अन्तैतिर व्यस्त भइ जस्तो छ!" उसले आँखा यता उता डुलाउँदै जवाफ फर्काइ।उसको आँखाले उसको साथी खोजेको हुनुपर्छ।मलाई डर लागेर आयो। कतै उसले खोजेकी उसको साथी भेट्टाइ भने ?
"मेरो साथ मन नपरेको हो ?" मैले इशारा उसको आँखा घुमाइ तिर गरेँ।
"हैन ! तर पनि!!!!!......... उ हराइ, उसले पनि आकाश भेट्टाइ जस्तो छ !" उसले मलाई जिस्क्याइ।
"मेरो भाग्य राम्रो भन्नुपर्छ, उ हराई !"
"तिमी शव्दहरुसँग राम्ररी खेल्छौ ! धेरै चोटी खेलेजस्तो ! खप्पिस भएजस्तो !" उसले कटाक्ष गरी। घुमाउरो शव्दमा उसले मलाई चिनीसकेको भनेकी थिई।
"त्यो त कसको अगाडी खेल्दैछु त्यसमा भर पर्छ! कहिले काहिँ सुन्दरता को अघी शव्दहरु विवश हुन्छन्,फुर्नलाई आतुर हुन्छन्, मन पग्लिएर तरल हुन्छ , अनि वाक्यहरु गजल वन्छन्।"
"तिमीलाई लागे जस्तो छ, कविता फुर्न थाल्यो !" उ खित्का छोडेर हाँसी।
"तिमी छेउमा भएपछि नलाग्ने त कसैलाई पनि हुन्न होला !" मैले अझ थपेँ उसको प्रशंसा। प्रशंसा पनि नशा न हो , मान्छेलाई चढ्दै जान्छ वेहोश हुँदै जान्छ।
"यति लागिसकेको मान्छे, घर कसरी पुग्छौ?"
"अल्लारेको घर हुँदैन, उ त यात्रा गर्छ, रितुले जता डोर्याउँछे त्यतै डोरिन्छ !" यसपालि मैले उसको आँखामा आँखा जुधाएर अन्तिम अस्त्र छोडेँ। उ पनि मलाई हेरीरहि धेरैवेर! अनी मेरो हात समाती, कुनाकै अँध्यारो ढोकावाट हामी वाहिर निस्कियौँ!गोजीवाट मोवायल निकाली अनी मादक स्वरमा वोली "ओइ सुन त ! मलाई सन्चो भएन , एकजना साथी मलाई पुर्याउन कोठा जाँदैछ!यु इन्जोय द पार्टी, !!!"

क्रमश: