क्यारेक्टर


मलाई संगिता कहिल्यै आकर्षक लागिन । न उसको काम । मेरो घर छिर्ने चोकमा तरकारी वेच्थी । धुलाम्मे बाटोले सँधै फुस्री , खासै नबोल्ने ! तर आजको दिन फरक थियो । के फरक भनेर नसोध्नुस् , मैले पनि खुट्याउन सकेको छैन । उ थोरै झुकेपछि , नपुग्नुपर्ने ठाउँमा मेरा आँखा पुगे , मैले हटाउन सकिन । उसले देखेर पनि नदेखे जस्तै गरी । उ झुकी रही , मानौँ उ मेरो आँखाको खुराक पुर्याइदिन चाहन्छे । पैसाको विटो कुर्ताको गला र उसको भित्री छाला छोएर गमक्क परेर बसेको थियो । मलाई जिस्क्याउँदै थियो ।
"तेरो यत्रो भाग्य छैन , तँ आँखैले चित्त बुझा !"
मैले तरकारी छानीसकेर सोधेँ " कति भयो ?"
"एक सय बिस !" उ थोरै हाँसी । शायद मनमनै भनेकी होली
" तिमी के हेर्दैछ्यौ, मलाई थाहा छ , तर मलाई तिम्रो हेराइ मन पर्यो !"
मैले मेरो पर्स हेरेँ एउटा सयको नोट , एउटा बिस को नोट सुम्सुम्याएँ । अनि पाँच सयको नोट झिकेर दिएँ । उसले त्यो पाँच सयको नोट लिइ । उसका हात र मेरा हात ठोक्किए । करेन्ट लागे झैँ झनन भयो । उसले विस्तारै सोधी ।
"खुजुरा छैन ?"
"अहँ !" मैले ढाँटीदिएँ ।
उसले अनि हात आफ्नो छाति तिर लगि । उसको छातिमा चेपीएर गजक्क परेको नोट झिकी । उसको हातलाई मेरो आँखाले पछ्याए । उसको छातिसम्म पुगेर नजर फर्कियो । मैले तिनवटा सयका र चार वटा बिसका नोट समाएँ । अनि विस्तारै घरतिर लागेँ ।
घर पुगेर डोरम्याटमा जुत्ता टकटक्याएँ । ढोका ढक ढक गरेँ । खोल्दै गर्दा छोरी थोरै मुसुक्क हाँसी । शायद एक्लै बसीरहँदा उसलाई पनि दिक्क लाग्छ । धेरै जसो पढेरै बसेकी हुन्छे । तिन माथी अहिले त सेन्ट अप आउँदै छ । मेरो हातको प्लाष्टिकको झोला देखेपछी आफुले पढ्दै गरेको किताब तल राखी । अनि तरकारी समाई । किचनमा राख्दै गर्दा भित्रै बाट सोधी ।
"चिया बनाइदिम् ?"
"बना न त , म टोइलेट गएर आउँछु !"
टोइलेट भित्र गएपछि चुकुल लगाएँ । भेन्टिलेसनको पर्दा लगाएँ । गोजी छामेँ , अघिका तिन वटा सयका र चारवटा बिसका नोट निकालेँ , सुम्सुम्याएँ । संगिताले नोट राखेको ठाउँको थोरै तल एउटा कोठी थियो , उ झुक्दै गर्दा मैले देखेको । झिलिक्क याद आयो, आँखा चिम्ले अनि पेन्टको जिप खोलेँ । उर्जा एकै ठाउँमा केन्द्रित भयो , संगिताका भिन्न स्वरुपहरु बन्द आँखाले देख्न थाले , अनि एकछिन पछि पुर्ण शुन्य ,अँध्यारो।म सुस्ताएँ ।
 कतै टाढाबाट आवाज आयो
"बुवा चिया पाक्यो !"
मैले पहिले नै भनेको हुँ तँपाइहरुलाई , आजको दिन फरक थियो । किनकी यस अघी संगिता मलाई कहिल्यै आकर्षक लागिन ।
**************** ****************** ****************** **************** *********
"वुवा !" छोरीले मलाई चिया सुरुप्प पार्दै गर्दा , सुस्तरी बोलाई ।
म टिभीको रिमोट घुमाउँदै थिएँ । टक्क अडिएर पुलुक्क छोरी तिर हेरेँ ।
"हजुर !"
"आज सुधाकोमा पढ्न जान्छु है , उसलाई म्याथ्स राम्रो आउँछ !"
मैले सम्झेँ , सुधाको एउटा दाजु छ । संगिताको तरकारी पसलको पारिपट्टीको चिया पसलमा क्यारेमबोर्ड खेलेर बस्छ । टोल भरका ट्यापे केटा हरुको अड्डा हो त्यो । त्यहाँ बसेर बाटोमा हिँड्ने केटी जिस्क्याउँछन् केटाहरु । तिन दिन अघि म त्यहिँ बसिरहेको बेला चियापसलेकै छोरीसँग नि इत्तरीदै थियो । चियापसलेकी छोरी पनि उसको बुवा नभएको मौका पारेर हाँस्दिदै थिई । कोहि नभएको मौका पारेर उ पसल भित्रै पनि छिर्यो अनि त्यो केटीको कम्मरमा चिमोटीदियो ।
"ऐया , के गरेको !" केटी रिसाए जस्तो गरेकी थिई । उसले कानमा खुसखुस केहि भनेको थियो । अनि केटीले टाउको हल्लाएकी थिई । मैले खासै ध्यान दिएको थिइन । हतार थियो, चिया सिध्याएर बाटो लागेको थिएँ ।
"पर्दैन जानु !" मैले चिया फेरि सुरुप्प पारेँ ।
"मलाई म्याथ्स गाह्रो लाग्छ वुवा !" उसले फेरि आग्रह गरी ।
"टिउसन पढ्न जा न त !" मैले फेरि आग्रह टारेँ ।
"सरले बेलुका मात्रै पढाउनु हुन्छ , फर्किन गाह्रो हुन्छ !"
म बेलुका सुनेपछी फेरि हच्किएँ ।बेलुका छोरी मान्छेले हिँड्नु हुन्न । फेरि त्यहि केटाहरु जाँड खाँदै हल्ला गर्छन् चोकभरी ।
"सुधालाई यतै बोला न त , आउँछे होला !" मैले उसको समस्याको समाधानको अर्को उपाय निकालिदिएँ।
उसले खुशीले टाउको हल्लाई । मैले फेरि रिमोट बटारेँ ।
****************** ****************** *********************** *************** ***
सुधालाई उसको दाइले वाइक मा लिएर आयो । वाहिर छोडिदियो , अनि गयो । खुशी लाग्यो , भित्र आएन । फटाहा केटाहरुलाई भित्र आउने मौका पनि दिनुहुन्न , जवान छोरी घरमैँ छे ।
"नमस्ते अंकल ! दुव्लाउनु भएछ " सुधाले भित्र छिर्दै गर्दा भनी । मेरो तौल खासै घटेको छैन , मैले हिजो भख्खरै वेट लिएको थिएँ । सुधाले जिस्क्याए जस्तो छ ।
"दुव्लाएको हैन , फिट भएको ! तिमी पनि दुव्लाएछौ त !"
"थ्यांक यु अंकल ! तैले पत्याइकी थिइनस् नी , हेर कस्तो फिटिंग छ यो टिशर्ट पनि !" उ अगाडी पछाडी फर्किइ । फिटिंग थियो । टि शर्ट पनि, अनि जिन्स पनि । जिन्सको पछिल्लो गोजीमा पुतलीको फोटो । मैले हत्तपत्त आँखा हटाएँ ।
"ह्या वुवा पनि ! कहाँ दुव्लाउनु यो , हामी त सवै मोटी मोटी भन्छौँ यसलाई !"
"मैले त देखेको कुरा भन्देको ! तिमीहरुलाई म चिया बनाइदिन्छु है !" म किचनमा छिरेँ । सुधा मोटी छैन । हलक्क वढेकी , लरक्क परेकी लोभ्याउँदी छ । केटीको आँखाले त्यो देख्दैनन् , म छोरीलाई भन्न सक्दिन ।
"तेरो वुवा कस्तो स्विट , चिया पकाउन आँफै जानु भो !" मैले लिभिंग रुमको गुनगुन सुनेँ
"यप हि इज !" मेरी छोरीले सहि थापीदिई ।
"मेरोमा किन नआएकी ?"
"खोइ यतै बोला भन्नुभयो !"
"छोरी भाग्छे भनेर डराउनु भयो कि के हो ?"
मेरो कान ठाडो भयो । म ढोकाको नजिकै गएर सुन्न थालेँ ।
"तलाई सुरेश सँग देख्नु भो भने त झन !"
"ह्या केहि होइन के त्यस्तो !"
"सिकाउँछेस् मलाई ! क्लासमा फर्की फर्की हेरेको मलाई पनि थाहा छ !"
"होइन भन्छु , चुप लाग सुन्नु हुन्छ किचनमा !"
"नडरा नडरा , योर सिक्रेट इज सेफ विथ मी ! "
चिया उम्लिएछ । हतार हतार गएर टालोले पुछेँ । एक कप पोखिएछ । दुइटा कपमा चिया सारेँ ।
"हजुर खानुहुन्न अंकल ?"
"भख्खर त खाएको !" पोखिएको एक कप सम्झिँदै जवाफ फर्काएँ ।
****************** ***************** **************** **************** **********
"खाना नि हजुरले बनाउनु भएको ?" सुधाले खाना खाँदै गर्दा सोधेकी थिई
"मैले बिहानै बनाएको !" छोरीले मलाई बोल्न दिइन । म चुपचाप खाना खाइरहेँ ।
"अंकलले बनाउनु भएको भए अझ मिठो हुन्थ्यो !" सुधाले आँखा झिम्क्याई । मैले झिम्कीएको आँखा देखेँ । लामा परेलीहरु अनि पोतिएको कालो गाजल देखेँ । सुधा हाँस्दा गालामा खाल्डो पर्छ । विच विच मा खाना खाँदा उ कपाल मिलाउँथी । घाँटीमा कोठी रैछ । मलाई अचानक संगिताको कोठी याद आयो । आँखा झुकाएँ । छोरीको अघी छोरीकै साथीलाई क्वारक्वार्ती हेरौँ पनि कसरी ?
"एसएलसी पछि के गर्छ्यौ सुधा ?"
"डिसाइड भएको छैन अंकल !" हाँस्दै भनी ।
"अहिले देखि नै सोच्नु पर्छ !"
"तँपाइकी छोरीले जे पढ्छे त्यहि , यसलाई छोड्नै मन लाग्दैन !" उसले कुरा टुंग्याइदिई ।
"केहि थपौँ ?"
"भयो अंकल , मलाई हजुरले फेरि मोटी बनाइदिनुहुन्छ एकै दिनमा !" उ खुलेर हाँसी , गालाको खाल्डो अझ स्पष्ट देखियो ।
"थोरै दही खाउ , त्यसोभए ,गुड फर हेल्थ !" म फ्रिजतिर लम्किदै भने ।
"मलाई त कहिल्यै यसो भन्नुहुन्न त !" मेरी छोरी विचमै लाडिई ।
"सुधा ,पाहुना हो नि त !"
"के को पाहुना , यो पनि पाहुना हुन्छे , यो त घरकै मान्छे !"
"हो हुन त ! सुधा हाम्रै घरकी मान्छे !"
त्यो रात अचम्मको सपना देखेँ एउटी आइमाई रातो साडी मा आई , धमिलो देखिए पनि मेरी मरिसकेकी श्रीमति जस्तै जस्तै थिई । अनि मेरा शर्टका वटन खोल्न थाली । खोल्दा खोल्दै मैले हेर्दा हेर्दै उसको अनुहार संगिताको जस्तो भयो । उ अझ नजिकै आई ,मेरो अनुहारको नजिकै आएर मेरो कपाल खेलाई , हेर्दा हेर्दै उसको अनुहार सुधाको जस्तो भयो । म झस्यांग बिउँझिए । अनि छेवैको पानी पिएँ । बाहिर वरण्डामा निस्किएँ । छोरीको कोठाबाट गुनगुन आवाज आउँदै थियो ।
"सुरेश राम्रो केटा हो के ! तँ बाहेक अरु केटी सँग जिस्किएको पनि देखेको छैन ।"
"चुप लाग !"
म फेरि भित्र छिरेँ ।
****************** ************** ***************** **************** ************
"ओइ तेरो वाथरुमको भेन्टिलेशनको पर्दा भेट्टाइन मैले कुर्सी छैन ?" सुधा वाथरुमबाट चिच्याउँदै थीई ।
"ह्या नुहा न तँलाई कसले चियाइ चियाइ हेर्छ !" मेरी छोरीले जवाफ फर्काई । मेरो मन ढक्क फुल्यो । पछाडी पट्टिको पानी ट्यांकी जाने माथ्लो सिँढीबाट वाथरुम देखिन्छ । म हत्तपत्त वाहिर निस्किएँ । माथ्लो सिँढीमा गएर वसेँ । धमिलो धमिलो मा सुधाको आकृती देखियो । उसको शरिरका केहि अंश देखिए । उसको टाउकोको शेम्पुको फिँज देखियो । उसले फेर्दै  गरेका कपडाहरु देखियो । चुपचाप बसेर हेरीरहेँ । पानी ट्यांकीको पछाडी गएर आँखा चिम्लिएँ । पेन्टको जिप खोलेँ । सुधालाई भिन्न आकृतीमा कल्पना गरेँ । उ कल्पना गरेकै आकृतीमा प्रकट भई । उर्जा एकै ठाउँमा केन्द्रित भयो। एकै छिनमा पुरै अँध्यारो ,शुन्य !!!
****************** **************** ****************** ************* **********
"अंकल म हिँडे !" सुधाले हात हल्लाई । म थोरै हाँसिदिएँ । उसको ट्यापे दाइ बाहिर बाइकमा पर्खिरहेको थियो ।
"तँ यो केटीको धेरै संगत नगर नानी !" मैले छोरीलाई सम्झाएँ ।
"किन ? यस्को म्याथ्स राम्रो छ वुवा , मेरो कमजोर मलाई सिकाउँछे !" छोरीले अचम्म मानी ।
"तर क्यारेक्टर राम्रो छैन !"

Published on: http://baahrakhari.com/news-details/17065/2017-02-04#.WJVLTcc9i_Q.twitter


सरिताको चिया पसल

त्यो बाटो कहिल्यै बन्ला जस्तो छैन । झन धुवाँ धुलो मैलाको त कुरै नगरौँ , सरिता आफ्नो चियापसलका टेवल सफा गर्दा गर्दा दिक्क हुन्छे । उसको पसलमा शहरले रुचाएको हरियो पर्दा छ । अनि त्यो हरियो पर्दामा धुलोका कणहरु टाँस्सिएका छन् । कस्तो आकर्षण ति धुलोका कणहरु र त्यो पर्दाको ! जन्म जन्मका प्रेमीजस्तो । उ बिहान उठ्छे, झट्कारेर छुट्याइदिन्छे ।विहानको पहिलो काम हो सरिताको । बेलुकासम्म चक्रपथमा दगुरीरहेका गाडीहरुले धुलोलाई हण्डर खुवाउँछन् । उ एक्लिन्छ । शायद धुलोको पनि मुटु हुँदो हो । आफुलाई अँगालो मारेर मैलिएको पर्दा सम्झिन्छ । साँझको गोधुली सँगै टाँस्सिन आइपुग्छ त्यहि पर्दामा ! उसको विश्राम भनेकै त्यहि सरिताको चियापसलको हरियो पर्दा । सरिताले नचाहनुको कुनै औचित्य छैन । यो आकर्षण कि खलनायक हो सरिता ! खलनायक भएको कारणले धुलोले उसलाई पिरोल्छ पनि ! त्यहि धुलोले होला , सरितालाई खस खस खोकी लागीरहन्छ । तर उ युद्दमा होमिएर बाँचेकी मान्छे । आफ्नो शरिर सँगको युद्द पक्कै जित्नेछे ।कुनै जमानामा उ एक हातले बन्दुक बोकेर माटोमा घिसारिन्थी । देश बनाउन घुँडा र कुइनाका छाला पिल्स्याएरै घस्रिएकी सरिता ! तर आजकल समय बदलिएको छ। आजकल उ मास्क लाउँछे । मास्क लाए पनि कहिलेकाहिँ कालो कफ  निस्किन्छ । वाहिर निक्लेर ख्याक्क थुकिदिन्छे । भुइँमा दाग वस्छ । उसलाई लाग्छ उ बालुवा थुक्दै छे । खस्रो बालुवा । भित्र छिर्छे , पानीले कुलुकुलु गर्छे अनि फेरि मास्क भिर्छे ।  किन आइ उ यो गन्धे शहरमा ? बाटो मैलो , शरिर मैलो उसले भेटेका मान्छे मैला उनीहरुका मन मैला ! आफुलाई एक्लै हुँदा ओल्टाइ पल्टाई हेर्छे ऐना अघि , खाटा बसेका धेरै घाउ पुरिन वाँकी छन् ।
यो शहरमा पानीको हाहाकार उ आउँदा भन्दा वढेको छ। नुहाउन राम्ररी पाउँदिन उ । नुहाए नै पनि त्यो धुलोले कपाल बेलुका फर्किउन्जेलसम्म अररो पारिदिन्छ । राती चिसोमा सिरकभित्र गुटमुटिन्छे । केहि बिर्सिए जस्तो लाग्छ उसलाई सँधै निदाउनु अघि । एक चोटी आफ्नो मोवायल बालेर यताउता हेर्छे । उसको छोरो अलि पर लडिरहेको हुन्छ मस्त निन्द्रामा । उसलाई देखेपछि उसले के बिर्सिएकी थिएँ भन्ने नि बिर्सिन्छे । उसको संसार , उसकै अगाडी मस्त निन्द्रामा छ । कोल्टे फेर्छे । उ हत्तपत्त निदाउँदिन । यो शहर सुत्दैन । राति पनि कर्कश ध्वनी उसको निन्द्रा बिथोलिरहन्छन् । हुन त उसको निन्द्रा पातलो छ । त्यहि भएर नि टाढाको मसिनो ध्वनी नि उसलाई कर्कश लाग्छ । एक चोटी निन्द्रा बिथोलिए पछि उ धनबहादुर को अंगालो सम्झिन्छे । त्यहाँ निन्द्रा राम्ररी लाग्थ्यो । त्यहाँ उ सुरक्षित महशुश गर्थी । उसलाई लाग्थ्यो उ कुनै सुरक्षा घेरा भित्र छे । जसलाई तोड्न गाह्रो छ । अहिले त्यो सुरक्षाको घेरा छैन । धन बहादुर यो संसारमा छैन । शायद छैन होला भनौँ । युद्दकालमा हराएपछि भेटिएन । बेपत्ता पारिएका नाममा उसको पनि नाम छ । आर्मीले मारेर खाल्डो खनेर पुरे भन्ने हल्ला उसले सुनेकी थिइ । त्यो युद्दमा उ दुई जिउकी हुनाले जान पाइन । जान नपाएकैले जोगिई । तर संसार खोसिएर वाँचेको पनि के वाँचेको ।
**************** **************** *************** *************** *************
उसकोमा चिया खाने अनुहारहरु दोहोरिन्छन् । कोटेश्वरको नाइट गाडी छोड्ने ठाउँ नजिकै भएकोले होला ,कहिलेकाहिँ  उपत्यका छोड्दै गरेका मान्छेहरु टुप्लुक्क झुल्किन्छन् । उ त उपत्यका छोड्न पनि सक्दिन । धन बहादुर सँगको बिहा आफ्नै जातको थिएन । क्रान्तिमा होमिएकी सरिताले घरमा नि त्यहि क्रान्तिकारी कुरा गरी । उसले सवै मान्छे समान छन् , तर हाम्रो समाजमा सामन्तीहरुको विगविगी छ भन्ने वुझी । धनवहादुर को नाम मा नाक खुम्च्याउँदा उसलाई आफ्नै परिवार सामन्ती लागे । उसको सिन्दुर पुछियो अनि अयोग्य लडाकु घोषणा भए पश्चात घर पुग्दा भाउजुले सजिलै भनिदिइन्
“यहाँ नवस्नुस् , हाम्रो पनि समाजमा इज्जत छ ।“
उसलाई लाग्यो उ मात्र हो गाउँमा इज्जत नभएकी । आठ कक्षामा हुँदो हो, उसले कलम फ्यालेर समाज परिवर्तनको लागि बन्दुक बोकेकी । अहिले त्यहि समाजमा उसको इज्जत छैन । हो त्यो समाज मान्छेलाई मान्छे गन्दैन । अझै पनि धनबहादुर मान्छे होइन त्यो समाजमा । युद्द बिचमै छोडेर भागेर आए जस्तो भान भो उसलाई । उसको युद्द टुंगिएको छैन । तर सरकारले उसलाई अयोग्य घोषणा गरिदिइ सक्यो । उसलाई फेरि फर्केर चिच्याउन मन लाग्यो “म अयोग्य होइन ! हेर मेरो घस्रिदाँ घस्रिदाँ मरेको छालालाई तिमीले मरेको छाला त  देख्नेछौ । तर मेरो सपना मरेको छैन । सपना मर्नेहरु अयोग्य हुन् । म अयोग्य हैन ।“
तर भाउजुको अघि चिच्याएर केहि औचित्य छैन , उसले केहि पनि बोलिन । एक रात बसी । रात भरी निदाइन । बिहानै भाउजुले नदेख्ने गरी दाइले खल्तिमा पाँच हजार हाल्न खोजे ।
उसले “पर्दैन , म सँग मेरो पैसा छ अलि अलि” भनी । दाजु अवाक भए ।
*************** ************** ************** **************** ************* ***
यो शहर स्वागत बडो गज्जप किसिमले गर्छ । शुरुमा आउँदा थोरै हण्डर भने सरिताले खाएकै हो । खासै धेरै पैसा उ सँग थिएन । पार्टीको लेवि तिरेर थोरै बचेको थियो । उसले चिनेका पनि तिनै पार्टिका मान्छे ! खासै साथ दिएनन् । धनवहादुरको काकाले केहि शुरु गर यहि पैसा बाट , सानोतिनो चियापसल चलाए हुन्छ भनेर सल्लाह दिए । शुरुमा एउटा काठको टेवल बाट शुरु गरेको चिया पसल अहिले सटर सम्म पुग्यो  । सबैले चिया ल्याउँदाको उसको मुस्कान देख्छन। त्यो मुस्कान पनि चिया बिक्री हुने कारण मध्येको एक होला । धन्न , मन भित्रको लुकेको पिडा देख्दैनन् । लुकेको मन भित्रको धुवाँ देख्न आँखा पनि मनसँग जोडिएको हुनुपर्छ । छोरो भाडा माझ्न अलि अलि सघाउँछ । सानै छ ।
उ मायाले “पढ पढ म आफै गर्छु” भन्छे । उ टेवलको एउटा कुनामा पढ्न वस्छ । इंग्लिस स्कुलमा एक कक्षामा पढ्दै छ। हुन त स्कुल महँगो छ। उसले पढ्ने गरेको स्कुलमा पैसा तिर्नु पर्दैन थियो । तर उसले आठ कक्षामै जनयुद्द मा लाग्दा छोडिदिइ । स्कुल महँगै भए पनि उसको चिया पसलले धानेको छ। उ पढ्ने स्कुलमा संस्कृत लगायत अन्य वुर्जुवा शिक्षा पढाइ हुन्थ्यो , छोराको स्कुलमा पढाइ हुने बुर्जुवा शिक्षा हो कि होइन छुट्याउन सक्दिन  । उमेर ढल्किँदै छ , शिक्षा पद्दतिमा आजकल खासै ध्यान पनि दिन्न । एकचोटी सोधेकी भने थिई “तेरो किलासमा संस्कृत पढाइ हुन्छ ?” । उसले हुँदैन भनेर टाउको हल्लाइदियो । त्यसपछि मौन छे । आठ सम्म पढेकी उसलाई मुस्किलले थोरै अंग्रेजी आउँछ । छोराको होमवर्क सिकाउनलाई पनि हम्मे हम्मे पर्छ । कहिलेकाहिँ अतालिन्छे , सोच्छे “ पछि तिन चारमा पुगेपछी कसरी सिकाउने होला ?” । कहिलेकाहिँ छोराको स्कुल पनि जान्छे । सरहरु राम्रो पढाइ छ भन्छन् । खुशी हुन्छे , फर्किन्छे ।
************************ ***************** ******************** ****************
उनीहरुले तिरेको लेवी मा ठूलो घोटाला भयो भनेर एक चोटी पत्रिकामा पनि आयो । उसले घोरिएर हेरी । जवाफ थिएन ।
पत्रिका पट्याएर राख्दिई । छेवैमा सँधै आउने लामिछाने अंकल कराए
“नानी मिठो चिया खुवाउ त ल !”
लामिछाने अंकल छैवैको सटरमा पत्रिका वेच्छन् । शनिवारको दिन , छोरो नि छेवैमा थियो । बनाएर “जा त पुर्याइदे” भनेर अह्राइ । त्यहि दिन दिउँसो उसका दुइ चार जना साथीहरु आए अनि भने
“जौँ हिँड पार्टी कार्यलय घेर्न जानु पर्छ , हामी अयोग्य होइनौ !”
धेरै वर्ष वितिसक्यो । उसलाई उसको गाउँ अनायसै सम्झना आयो । उ नितान्त एक्ली छे । उसलाई थाहा पनि छ , पार्टी कार्यलय घेरेर केहि हुनेवाला छैन । कहिलेकाहिँ आफ्नो हत्केलाका डामहरु हेर्दा उसलाई लाग्छ उसले धेरैलाई त्यहि हत्केलाले बोकेर सफलताको शिखर चढाइ । धेरैले उसको हत्केलामा कुल्चेर चढे । फर्केर कसैले हेरेनन् ।
“जान्न म , आज चिया वेचिन भने भोली छोरा भोकै सुत्छ ! यसलाई कसले कमाएर खुवाउने ” सरिताले रुखो जवाफ फर्काई
“कस्तो लाछिको जस्ता कुरा गरेकी ?” एउटा साथि प्याच्च बोल्यो
“लाछि भए लाछि नै सहि !”
उ भित्र छिरी , टोली तितरवितर भयो । त्यहि रात उसले जतन गरेको सन्दुकबाट पत्रिका का कटिंगहरु झिकी । उसले सम्हालेर राखेका केहि पत्रिका का टुक्राहरु जस्मा “वेपत्ता आयोग , वेपत्ता पारिएकाहरुको छानविन” जस्ता समाचारहरु थिए ।
“के हो आमा?”
छोरोले टाँसिदै सोध्यो ।
“केहि होइन , होमवर्क सिद्दियो ?”
उसले सुस्तरी सोधी । उसले सकियो भनेर टाउको हल्लायो ।
“पढ्नु पर्छ है बा , ठूलो मान्छे हुनुपर्छ !” उसले कपाल सुम्सुम्याई । छोराको कपाल धनबहादुरको जस्तै पातलो छ । छोराको कपाल, उसको आँखा देख्दा प्रायशः उ धनबहादुरलाई सम्झिन्छे ।  असरल्ल समाचारका छरपस्ट टुक्राहरुलाई फेरि पोको पारेर सन्दुकमै राखिदिई । त्यो रात धनवहादुर सपनामा आयो सुस्तरी उसको कानमा भन्यो
“तिमी अयोग्य हैनौ , मलाई गर्व छ तिमीमा ! तिमीले म विना पनि जीवनको युद्द लडेकी छ्यौ ”
भोलिपल्ट कार्यलय घेराउको खवर पत्रिकामा आयो । खासै ध्यान दिइन । छेवैमा उसका पुराना नेताहरु मध्ये एक ले “आर्थिक समृद्दिमा ध्यान दिनुपर्ने” भनेछन्  अनि अर्का नेताले भने “पार्टि टुक्रिएकोमा चिन्ता व्यक्त गरेछन् । कुनै चुट्किला जस्तो मानेर उ हाँसी, धेरै पछि ।
छोरो छेउमा आएर सोध्यो “के भयो आमा ?”
उसले हाँस्दै भनी “केहि होइन बाबा , एउटा कुरा पत्ता लाग्यो !”
“के आमा ?” उसले उत्साही हुँदै सोध्यो

“म अयोग्य हैन !”

पोस्ट सिस्मिक-मेरो शहरको एउटा रात

खोइ कोही आउँछन् जस्तो छैनन्!” सरिताले चुरोट सल्काई
“चुरोट नसल्का न , यो गुम्ममा पेट हुँडल्दैन ?”
“कसैको नभको तेरो पेट !”
हर्केले सरितालाई हेर्यो उ धुवाँ फुक्न थालीसकेकी थिई
उसले ट्याक्सीको झ्याल खोल्यो धुवाँ बाहिर निस्कियो । निष्पट्ट अँध्यारो अनि सिमसिम पानी । धुवाँ पानीमा पनि त मिसियो होला थोरै । कस्तो अचम्म दुइ विपरित धार मिसिए । पर पिल पिल वल्दै गरेको वत्ति अचानक निभ्यो।
“आज लोडशेडिंग हो कि के हो ?”
सरिताले प्रश्न गरी
“के बार हो आज ?”
“भइ दे पनि हुन्थ्यो , कहिलेकाहिँ त अनुहार नहेरी काम टुंग्याउन पाए नी हुन्थ्यो जस्तो लाग्छ !” उ खिस्स हाँसी
“पर्खी पर्खी कोहि आए जस्तो छ !”
“त्यो ?” उसले नाक खुम्च्याइ ।
“किन ?”
“गोजी पनि गाला जस्तै रस सिद्दिएको होला । खवटे ।खान त पाए जस्तो छैन । पैसा के देला !”
“देला हौ पैसा त !”
“अघि खैनी पनि माड्दै थियो ,मुख गन्हाउँछ !” सरिताले आनाकानी गरी।
“मुख नजोड्नु नि त !” हर्के खितित्त गर्यो । सरिताले उसलाई हिर्काइ।
“मान्दै मान्दैनन् , जोड्नु पर्ने ठाउँ जोडेपछि त पुग्नु पर्ने हो !”
“नशा हौ सरिता नशा !” हर्केले आंग तान्यो ।
“उ त्यो परको ? ज्याकेटमा छ नी ! जा त , सोध त एक चोटी”
परेबाट ज्याकेट मात्रै देखियो । अनुहार देखिएन। सरिताले हर्केलाई अह्राइ ।
“मानेन भने चाहिँ यो पानीमा वेक्कारमा भिजिन्छ !”
“जा न जा !” उसले हर्केलाई धकेल्दी बाहिर !
*************** ***************** ************** *************** **************
“भाइ चाहिने हो ?” हर्के गएर दाह्री कन्ह्यायो । हर्केको दाह्री अलि अलि फुल्न थालेको छ । दाह्री देखेर उसलाई बिरक्त लाग्छ। तर बिहान बिहानै काट्ने जागर पनि चल्दैन । त्यहि भएर बिहान खासै ऐना हेर्दैन ।ऐनाको जातै बेइमानी जे छ त्यहि देखाउनुपर्ने, कहिलेकाहिँ नभएको देखाइदियोस् , सुधारेर देखाइदियोस् , कति खुशी हुन्थे होला मान्छे !
“के?”
“सामान !” हर्के नजिकै गएर फुसफुसायो ।
“कति ?”
“एक हजार !”
“महँगो भएन ?”
“एक चोटी गएर हेर्नु , महँगो लागे जवर्जस्ती गर्दिन !”
उ लुरु लुरु पछि आयो ।
हर्केले ट्याक्सीको भित्रको वत्ति बाल्यो । सरिताको अनुहार देखियो ।
“हुन्छ !” उसले सुस्तरी बोल्यो ।
“ट्याक्सीमा चढ्नुस्!”  हर्केले पछाडीको ढोका खोल्यो
उ सरिताको छेवैमा गएर वस्यो । ट्याक्सी हुइँकियो । सरिता टाँस्सीएर वसी ।
“के हो नाम ?”
“गौरी !” सरिताले ढाँट्दिई ।
“ढाँटेको ?” उ मुस्कुरायो ।
“किन ?”
“त्यत्तिकै !”
“तँपाइलाई नाम सँग के मतलव !”
“तिमीहरुलाई बाटो बाटो मा यसो गर्न डर लाग्दैन ?” उसको भाव अचानक परिवर्तन भो ।
“के को डर सर ? पुलिसलाई हामीले सेटिंग गरेको छ।“ अघिल्लो सिटवाट हर्के बोल्यो।
“म को हुँ चिनेको छौ ?”
“ग्राहक , ग्राहक भगवान सरह हुन्छ अरे , आज तँपाइको पुजा गर्ने !” सरिताले उसको छातीमा हात राख्दै भनी !
“तिमीहरुलाई नै पक्डिन आएको  ! म अनुसन्धानको मान्छे ! गाडी रोक !” उ अचानक कड्कियो ।

पात्र-१ (सरिता)

सानो हुँदा मलाई रात मन पर्दैन थियो । दाजु भुतका कथाहरु सुनाउथियो । म सुनीसकेपछि कुंग्लिंग परेर सिरक भित्र आमाको नजिकै घुस्रीन्थे । आमा दाजुलाई कराउनुहुन्थ्यो ।
“फेरि तर्साइस् बहिनीलाई !”
आजकल समय फेरिएको छ । मलाई रात मन पर्छ । रात सवैमा समान व्यवहार गर्छ । सवै कालो देखिन्छन् । उज्यालोमा त मात्र छायाँ कालो हुन्छ। रातमा मान्छे, छायाँ ,अस्तित्व,आत्मा सवै कालो ।
************* **************** ************** ***************** ***************** **************** ****
“म काठमाण्डौ जान्छु” मैले एसएलसी सिद्दिने वित्तिकै जिद्दी गरेकी थिएँ। आमाले भने गाली गर्दै भन्नु भएको थियो “ किन जिल्लाको कलेजले भएन तँलाई ?”
साथीहरु पनि काठमाण्डौ जाँदै थिए । मलाई गाउँ किन किन आफ्नो लागेन । सुस्तरी भने
“कहाँ काठमाण्डौमा पढे जस्तो हुन्छ र !”
“ बस्न , खान ! मलाई अफ्ठ्यारो हुन्न ? पर्दैन जानु !”
“तारा दिदी सँग वस्छु ,अस्ति गाउँ आउँदा सोधेको !हुन्छ अरे !”
विवाद खासै लम्बिएन , मैले जिद्दी गरेर जितेँ ।
तारा दिदीको कोठामा एउटा सुत्ने खाट पाइयो , कलेजमा एड्मिसन भयो , जीवन दगुर्न थाल्यो । मैले सोचेकी थिएँ जीवन यस्तै हुन्छ चलिरहन्छ । मैले सोचेका कुरा पुगिरहन्छन् । तर वैशाख १२ मा भुइँचालो आयो ।
************** ************* **************** ************** *******************
“अव तेरो पढाइ को खर्च बेहोर्न सक्दिन कान्छी !” वुवाको तेह्र दिनको दिन आमाले वोली फोड्नु भयो ।
“चिन्ता नलिनु , म केहि काम खोजुम्ला !” मैले भुइँ कोर्दै जवाफ फर्काएँ
छेवैको भत्किएको घर हेरेँ ।त्यो घरको झ्यालबाट पुर्व तिर उदाएको सुर्य कति रमाइलो देखिन्थ्यो । आज बिहानै देखी धुम्मिएको छ। मेरो जीवन जस्तै आकाशमा पनि काला बादल !  दाजु आउन भ्याएन बाहिर वाट । शुरुको दुइ चार दिन टिकट नै पाएन । त्यसभन्दा पछि छुट्टी पाएन। बल्ल बल्ल लाखौँ खर्च गरेर वाहिर गएको । उसले खर्चको हिसाव किताव गर्यो । तराजु जोख्दा वुवाको किरिया भन्दा उसको आउने जिन्दगी नै भारी लाग्यो उसलाई । पछि आमालाई पैसा पठाइदिने वाचा गर्यो । रेडियोले फुक्यो “ दश हजार तुरुन्तै” । म भत्केको घर र आमालाई गाउँ छोडेर काठमाण्डौ आएँ।
************ *************** ************ ************ ************* **********
काठमाण्डौ ,
भित्ता चर्किएका थिए । मैले तारा दिदीलाई सोधेकी पनि थिएँ
“यहिँ वस्ने ?”
“कोठा पाउन गाह्रो छ अव , अनि महँगो पनि !”
“दिदी केहि काम गर्न पर्यो अव !”
“माथी घरपेटीको छोरालाई पढाइदे न त , खोज्दैछन् पढाउने मान्छे” उनले ऐना हेर्दै जवाफ फर्काइन् । खोइ के देख्छिन त्यो ऐनामा हेरिरहन्छिन तारा दिदी । हुन त त्यो ऐना पनि जव्वर छ प्रतिविम्व देखाउनमा । भुइँचालोको बेला टेवलबाट खसेको । केहि भएन । कहिलेकाहिँ शिषा पनि ढुंगा भन्दा कडा हुँदो रहेछ ।
*********** *************** *************** *********** ************* ********
समय ,काल परिस्थिति फेरिएको छ। पहिला हामी अंग्रेजी पढ्न ट्युशन खोजी गर्थ्यौँ ।घरपेटीको छोरोलाई आठ क्लासको नेपाली ट्युशन पढाउनुपर्ने । उसको ध्यान भने कितावमा हुन्नथ्यो । खोइ केमा केमा । कहिलेकाहिँ उसका साथीहरु चिहाउँदै आउँथे । उ पुलुक्क हेर्थ्यो । मैले हेरेपछि भाग्थे उसका साथीहरु ।मलाई रिस उठ्थ्यो अनि कराइदिन्थे
“के हो तिमी पढाइमा ध्यान छैन ? मलाई सानोमा यसरी पढाइदिने मान्छे भए ! सवैले पाउन्नन मौका !”
उ खिस्स हाँस्थ्यो ।
सँधै जसो त घरपेटी घरमै हुन्थे । तर त्यो दिन उनी बाहिर थिए । लोडशेडिंग थियो । इन्भर्टरमा थोरै वाटको वत्ति भएर होला वत्ति मधुरो थियो । उ लेख्दा लेख्दै रोकियो । म आफ्नै किताव पढ्दै थिएँ , उ लेखेको मौका पारेर ।
“के पढ्नु भएको?”
“मेरो पनि कलेजको इक्जाम छ !”
“मलाइ त नेपाली पढ्नै मन लाग्दैन !” उसले टाउको कन्यायो ।
म थोरै मुस्कुराएँ।
“तँपाइ हाँस्दा कति राम्री देखिनुहुन्छ ! मेरो साथीहरुले भनेको तपाइँसँग पढ्न पाउनु मेरो भाग्य अरे !”
“अरु के के भन्छन् त तिम्रो साथिले ?” उसको कुरामा मलाई नि चाख लाग्यो । तारिफ कसलाई पो मन पर्दैन र !
उसले केहि भनेन । तर उसको आँखामा अनौठो परिवर्तन देखेँ । मलाइ घोच्ने किसिमको ।
“ल ल पढ !” म अलि सम्हालिएँ । तर त्यो दिन पत्ता लाग्यो । उसको ध्यान पढाइमा नभएर के मा थियो । उ नजिकै सर्यो । अनि मेरो हात समात्यो । मैले हात झट्कार्न खोजे । उसले अझ जोडले समात्यो अनि भन्यो
“वुवा घरमा हुनुहुन्न , कसैलाई पनि थाहा हुन्न , मेरो पनि यो पहिलो पल्ट हो, तँपाइलाई पनि मन लाग्छ रे , साथीहरुले भनेको !” उसले विस्तारै मेरो छातीमा हात राख्यो , अनि अनुहार मेरो नजिकै ल्यायो ।
म उसलाई चिथोरेर भागेँ । घर बाटै बाहिर निस्किएँ । धेरैवेर वाहिर घुमेर फर्केपछि ढोका थुनेर वसेँ । कसैलाई केहि भनिन ।
त्यहि रात तारादिदीलाई घरपेटीले मलाई निकाल्न लाएछन् । म राम्रो क्यारेक्टरकी थिइन रे , छोरोले भनेको अरे !
************* ************** ************** ************ ********************
 रेस्टुरेन्टको काम पाइयो ।निकै कम तलव थियो । मलाई गिज्याएर साहु भनिरहन्थ्यो
“ग्राहक खुशी पारे टिप्स पाइन्छ ! सजिलो छ लोग्ने मान्छेलाई खुशी पार्न ”
मलाइ काठमाण्डौ वस्ने खर्च भए पुग्छ जस्तो लाग्थ्यो ।
गाउँमा पैह्रो गयो । रेडियोमा “दश हजार”को सट्टा “पचास हजार” र “एक लाख पचास हजार” को बहस सुनिन थाले । तर मेरी आमा वस्ने ठाउँ भएन । विरामी पनि हुनु भयो । मैले आमालाई लिएरै आएँ काठमाण्डौ ।
समयले कोल्टे फेर्यो । थलिएकी आमा अनि आफ्नो अँध्यारो कोठा हेर्थेँ । पैसा केहि होइन जस्तो लाग्थ्यो , तर रिनले थिचेको अध्यारो जीवनमा पैसा उज्यालो रहेछ । पैसा अन्तिम सत्य रहेछ ।
 रिन विस्तारै थपिदै जाँदा  मलाई नि टिप्स चाहिने भो ।
************* ************** ************** *************** *********** ******
हर्केसँग रेष्टुरेन्टमा भेट भयो ,
“ट्याक्सीमा राम्रो छ बिजनेस !”दुइ चार दिन भेट वाक्लिएपछि उसले छुस्स मलाई भन्यो । मैले रेष्टुरेन्ट छोड्दिएँ । आमालाई पनि राम्रो जागिर पाएँ भने । थलिएकी आमा थोरै भएनि खुशी हुनुभयो।
त्यो रात अझै सम्झना छ , पानी सिमसिम परेको थियो ।
उसलाई हर्केले तानेर लिएर आयो , उ सकपकिएर वसेको थियो । थोरै भिजेको थियो , थोरै आत्तिए जस्तो पनि थियो , नयाँ स्वाद चाख्नु अघिको अफ्ठ्यारो होला भन्ने ठाने । उसलाई सजिलो बनाउन खोज्दै थिएँ , अचानक कड्कियो
“तिमीहरुलाई नै पक्डिन आएको  ! म अनुसन्धानको मान्छे ! गाडी रोक !”
मैले हात हत्तपत्त हटाएँ उसको छातिवाट । हर्केले घ्याच्च ब्रेक लाएर पछाडी हेर्यो ।
उसले कार्ड देखायो आफ्नो
“ म तिमीहरुसँग छु , अफिसमा थाहा छ । तिमीहरुको ट्याक्सी नम्वर थाहा छ । मलाई केहि गर्न खोजिस् भने भोली नै पक्डाउ पर्छस् । हिँड अव थानातिर !”
उसले आदेश दियो । म चुप नै बसेँ । विस्तारै अँध्यारो कोठामा थलिएकी आमा याद आयो । आज छुटिदैँन ,भोलि विहानको दवाइ कसले दिन्छ?

*********** **************** ****************** ****************** **********
पात्र-२ (हर्के)
ट्याक्सीमा खासै फाइदा छैन । आएजति पैसा साहुलाई वुझाउँदैमा जान्छ । तिँ माथी भुइँचालोले पिर थप्यो भएको घर पनि भत्काइदियो । डुंग्रुंग लडेको घरको वाहिर उभिएर धेरै वेर आफ्नो अतित सम्झेँ । त्यहि घर त थियो मलाई अंशमा आएको । त्यो घर र जग्गा वेचेर काठमाण्डौ सरुँ की भन्ने पनि सोच्दै थिएँ । अव त माथीबाट पहिरो झर्ला जस्तो छ । कसले किन्छ मेरो त्यो घरबारी ।
 एक दिन साथीले ट्याक्सीमा कमाइको तरिका सुझायो । भत्केको घर सम्झेँ । अव गाउँ फर्कन सकिन्न । काठमाण्डौ मा अलि स्थायी भएर बसोवासको व्यवस्था मैले गर्नै पर्छ ।
“पुलिसको डर छैन ?”
“मिलाउनुपर्छ , अलि अलि कमाको वाँड्नुपर्छ !” उसले दाँत देखायो । मैले वुढीको गन गन सम्झेँ
“घर कहिले बनाउँछौ अव ?”
सँधै जस्तो चुप लाग्थेँ । भित्ता तिर फर्किदिन्थेँ । उ फतफताइ रहन्थी । म उडाइ रहन्थे । जीवन उ फतफताउनु र मैले उसका कुरा नसुन्नु नै हो जस्तो लाग्थ्यो । रात ढल्किँदै गर्दा छोरी निदाउँथी । उ मेरो शर्टका टाकका वटन खेलाउँदै भन्थी
“बुढा पैसा कमाउने केहि उपाय त गर्नै पर्छ , कति दिन चल्छ यसरी, छोरी पनि ठूलि हुँदै छे !”
उसले भनेका सवै सत्य । मेरो मुखमा वुझो लाग्थ्यो । म उसलाई अँगालो मार्थे । उ चुप लाग्थी ।
************** **************** ************** ************* ****************
रेष्टुरेन्टमा सरिता सँग भेट भयो । कुरा मिल्यो । त्यो दिन कोठा पुगेर ढल्किँदै गर्दा सानी छोरीलाई पनि हेरेँ । अनि सोचेँ , पोहोर महँगो भनेर भर्ना नगरेको वोर्डिंगमा यसपाली भर्ना गरिदिनु पर्ला , यो काम वन्यो भने !
त्यो दिन मैले नै हो उसलाई तानेर लिएर आएको । सरिताले पहिला औँलाले देखाउँदै भनी
“उ पर ज्याकेट लगाएको !”
ट्याक्सी भित्रबाट अनुहार देखिएन । पहिला मोल मोलाइ भयो अनि उ लुखुर लुखुर आयो । थोरै छुस्स दाह्री अनि क्याप पनि थियो । शायद पानीले भिज्ने डरले पनि होला । सिम सिम पानी परिनै रहेको थियो । गाडीमा मैले सानो स्वरले नारायण गोपाल बजाएँतिमी जुन रहरले ममा भुल्न आयौ !” अनि गाडी थोरै हुइँक्याएँ । अरु ट्याक्सीमा जस्तो मलाई तडक भडक वाला गित लाउन मन पर्दैन । सरिता उ सँग खास खास खुस खुस गरीरही । कहिलेकाहिँ त ट्याक्सीमै शुरु गरुम्ला जस्तो गर्छे । ग्राहक गए पछि कराउँछू
“गाडीमा नगर , म सफा गर्न सक्दिन !”
“मुड बनाइदिनु पर्छ क्या , थाहा नपाए जस्तो गर्छ !” उ इत्तरिन्छे म सँग ।
“कसैको नभको मुड !”
म त्यहाँ भन्दा वढी भन्दिन । बोल्न पनि सक्दिन । सरितालाई हेर्छु । मेरो सुनको अण्डा दिने कुखुरी । मेरो भुइँचालोले भत्केको घर उसैले बनाउनेछे ।
अचानक उ कड्कियो ,
“तिमीहरुलाई नै पक्डिन आएको  ! म अनुसन्धानको मान्छे ! गाडी रोक !”
मैले गाडी घ्याच्च रोकेँ । पछाडी फर्केँ ।
“ म तिमीहरुसँग छु , अफिसमा थाहा छ । तिमीहरुको ट्याक्सी नम्वर थाहा छ । मलाई केहि गर्न खोजिस् भने भोली नै पक्डाउ पर्छस् । हिँड अव थानातिर !”
उसले कार्ड देखाउँदै भन्यो । वुढी घरमा पर्खेर बसेकी होली । छोरी पनि । छोरीले आज क्याडवरी ल्याइदिनु ल भनेर अघि भर्खरै मोवायलमा फोन गरेको छ्यास्स सम्झेँ । अनि सम्झेँ मेरो भुइँचालोले भत्काएको घर जसको अगाडी वसेर म धेरै वेर टोलाएको थिएँ ।
***************** **************** ************** *************** **************
पात्र ३ (दिपक)
करारको जागिर थियो । भुइँचालो आएपछि हाकिमलाई घर जान्छु भनेर एक चोटी फकाउन गएको । फकाउन सकिएन । सोधेका थिए
“कसैलाई केहि भयो ?”
मैले टाउको हल्लाएँ । पशुपतिनाथकै कृपाले होला घरमा कसैलाई केहि भएको थिएन । सवै खेतमा थिए । घर भने ढल्यो
।एकवर्ष अघि त्यतिखेर त विदा दिएनन् दिएनन् ,अहिले त गाउँमा पहिरो नै गयो ।गाइवस्तु  गोठ नै भत्काएर सवै सोत्तर पार्यो । दुइटा वाख्रा मरे , एउटा गाइ पनि । कान्ला मुनि उत्तानो परेछ । घरको सम्पत्तिको नाम मा त्यत्तिनै । दाजुले फोन गर्दा दुखेसो सुनाका थिए
“दुध वेच्दै गरेको गाइ नि मर्यो , थोरै पैसा भए लिएर आइज , गाउँमा सवै चिजको भाउ वढ्यो , पैसा चाहियो !”
“वुढी दुइ जीउकी छे , कसरी छोडेर आउनु !” मैले झर्किँदै जवाफ फर्काएँ।
“माइतमा छोडेर आइज न , आमा अनुहार हेर्न मन लाग्यो भन्दै हुनुहुन्थ्यो !” दाजुले थप कर गरेका थए
“हेरुम !” भन्दै मैले फोन राख्देको थिएँ।

“दाजु छन् हैन घरमैँ ?” हाकिमले अर्को प्रश्न तेर्स्याए
छन् भन्न सकिन । मात्र टाउको हल्लाएँ  स्विकारोक्तीमा ।
“हेरीहाल्छन् नि , कसैलाई छुट्टि नदिनु भन्ने आदेश छ !” हाकीमले विदाको अध्याय बन्द गर्दिए।
आशा भने गाउँ जाने भनेपछि काज मिलाएर टिएडिए नि पाइन्छ भन्ने थियो । विदा नै नदिने भएपछि टिएडिएको पनि कुरा आएन ।
“आमालाई ज्वरो आयो , सदरमुकाम लानु पर्ने भो । खर्च छैन । नआए पनि खर्च पठा न !”

छैन भन्न सकिन । काठमाण्डौमा काम गर्छ छोरो । त्यति आश सवैमा हुन्छ । गोजीमा हेरे , पठाउन लायक पैसा छैन । कोठामा घरपेटी र्याल काडेर वसिरहेका छन् मेरो आउने तलवमा । बुढीको अवस्था त्यस्तो छ। किन किन कोठा जानै मान लागेन । रत्नपार्क तिरै डुलेर वसिरहेँ ।
छेवैको केटालाई एउटाले कोट्यायो ।
“भाइ जाने हो ?”
“कहाँ ?”
“सामान छ ट्याक्सीमा” उसले ट्याक्सी देखायो ।ट्याक्सी भित्र एउटा युवति लिपस्टिक पोत्दै होली ।सँध यस्तै हो ,विगारेका छन् यो शहरलाई !

****************** *************** ****************** ***************** ********
अचानक राती बुढी छट्पटाउन थाली । भख्खर सात महिना मात्रै हुँदैछ। अस्ति डक्टरले कम्प्लिकेसन हुन सक्छ भनेर त भन्दै थियो । मलाइ आजकल गाउँमा पहिरो र मेरो जीवनमा दुखको पहिरो सल्लाह गरेर आए जस्तो लाग्छ । पन्ध्र दिन अघी हो रेगुलर चेकअप मा गएको । हस्पिटल चाहारेँ ।  छोइनसक्नु छ अस्पताल । बल्ल बल्ल भर्ना भो । उसको अनुहार पिडा सहन नसकेर रातो भएको हेरेर बसेँ । मान्छे जहिले जहिले आफुलाई शक्तिशाली ठान्छ । प्रकृतिले उसलाई विवश देखाएरै छोड्छ। त्यो रात हस्पिटलमैँ काटेँ । बुढीकी बहिनिले खाना ल्याइ । खासै रुचेन । भोली हाकिम सँग जसरी नि टिएडिएको कुरा गर्छु गएर ।
********************* ******************* *************** **************** *****
“जाँदै नगको मान्छेलाई कसरी टिएडिए दिनु !” हाकिम कड्कियो ।
“वुढी बिरामी छे सर !”
“कहिले आमा बिरामी ,कहिले वुढी बिरामी ?”
त्यो भन्दा वढी भन्न सकिन । रिसले रन्थनिएर निस्केँ ।रत्नपार्क तिर गएर घोत्लिएँ ।
फेरि त्यहि पुरानो चिनेको बोलीले छेउको केटालाई जिसक्यायो
“भाइ जाने हो ?”
“कहाँ ?”
“सामान छ ट्याक्सीमा” उसले ट्याक्सी देखायो
“कति ?”
“दुइ हजार !”
“कस्तो महँगो !”
“सवैलाई मिलाउनुपर्छ भाइ , पुलिसलाई पनि ! त्यहि भएर !”
उ लुखुर लुखुर पछि लाग्यो ।
किन किन मलाई पनि पछि जाउँ जाउँ लाग्यो । गएर ट्याक्सीको नम्वर टिपेँ । ट्याक्सी घुइँकियो ।
************** *************** ******************* ******************* ********
बल्ल बल्ल गरेर पुतलिसडकमा नक्कली कार्ड बनाइयो ।
“राष्ट्रिय अनुसन्धान विभाग , डिएसपी प्रकाश खत्री !” सुम्सुम्याएँ अनि रत्नपार्क तिर लागेँ । सिमसिम पानी पर्दै थियो ,उनीहरु ग्राहक कुरेरै बसिराखेका होलान् रत्नपार्कमा । मलाई पनि दशबाह्र जना उनीहरु जस्तै ग्राहकको खाँचो छ , विस्तारै सम्झिँदैछु भन्नुपर्ने कुरा !
“तिमीहरुलाई नै पक्डिन आएको  ! म अनुसन्धानको मान्छे ! गाडी रोक ! म तिमीहरुसँग छु , अफिसमा थाहा छ । तिमीहरुको ट्याक्सी नम्वर थाहा छ । मलाई केहि गर्न खोजिस् भने भोली नै पक्डाउ पर्छस् । हिँड अव थानातिर !”
त्यसपछि वार्गेनिंग गर्नुपर्छ ।











#सेभ धृतराष्ट्र

मेरो दाह्री काट्दिदै गर्दा उ अडियो । मैले घडी हेरेँ , नौ बजिसकेको छ । अफिस जानु छ , अनि मेरो दाह्री आधा मात्र काटिएको छ ।  झनक्क रिस उठ्यो । मेरो घरबाट सवैभन्दा नजिकैको सेलोन । सँधै आउँछु । उसलाई मेरो समय थाहा छ । त्यहि पनि अड्किन्छ ।
“ के भो ?”झर्केकै स्वरमा सोधेँ ।
“निउज हेर्नु न !” उ उत्साही देखियो ।
“मेरो अफिस जानु छ ! चाँडो गर न यार !” मलाई उसको टिभीमा आएको निउजमा कुनै चासो छैन । वुढीले खाना पस्केर मेरो मोबायलमा छिटो आउनु भनेर म्यासेज गरेको पाँच मिनट जति भयो । मैले पाँच मिनट नै भनेर रिप्लाइ गरेको थिएँ ।त्यो रिसाएको अनुहार देखी मलाई सवै भन्दा डर लाग्छ । राजा भन्दा नी !!!!
“खोइ आज अफिस जानुहोला जस्तो लागेन , कर्फ्यु लाग्ने हल्ला छ ,हस्तिनापुरमा !” उ खिस्स हाँसिदियो । रिसाए जस्तो पनि कसरी गरौँ । छुरा उसैको हातमा छ । दाह्री सँग सँगै गाला पनि काटिदियो भने ? थोरै डर पनि लाग्यो ।
“किन के भो र ?” अलि नरम भएर सोधेँ ।
उसले टिभीको भोल्युम वढायो । टिभीमा द्रौपदीका अर्धनग्न तस्विरहरु छ्यापछ्याप्ती आएका थिए । हस्तिनापुर निउजमा राजदरवारको रिपोर्टर हिजो को घटना बारे विस्तार लाउँदै थियो । युधिष्ठिरले भाइहरु सहित ,द्रौपदीलाई नि जुवामा हारेछन् । त्यो खेलेको खाल टिभिमा पटक पटक जुम इन जुम आउट हुँदै थियो । उ चिच्याउँदै थियो “यहि हो त्यो जुवाको खाल जसमा द्रौपदीलाई बाजी थापियो !” द्रौपदी माथी जोर जवर्जस्ती नै भएछ । भित्रै बाट कसैले सिसिटिभिको फुटेज लिक गरेपछि महिला अधिकारवादीहरु बाहिर निक्लेछन् । एक जनालाई गोली पनि लागेछ । अहिले राजदरवार नजिकैको स्थिति तनावग्रस्त हुँदै छ । कर्फ्यु लाग्ला जस्तो छ भनेर तलका स्क्रोलहरु बताउँदै थिए । म आधा दाह्री मै सोचमग्न भएँ । के हुन लाग्या हो यो द्वापर युगमा ! घोर द्वापर युग !!!!
मोवायल फेरि भाइव्रेट गर्यो
“पाँच मिनट भएन ?” घरवाट टेक्स्ट आएछ । आज घरकी लक्ष्मी रिसाउली जस्तो छ।
“छिटो काट्दे यार !” मैले टेक्स्ट हेर्दै उ सँग अनुरोध गरेँ । उ मुन्टो टिभितिरै राखेर भए नि मेरो नजिकै आयो ।
“ध्यान दिएर काट ल, गाला नि काटिएला !”
मैले सुस्तरी अनुरोध गरेँ ।
हुन्छ” मुन्टो टिभितिरै राखेर उसले हुन्छ भन्ने आशयमा हल्लाइदियो!
******************** **************** ***************** ****************** *****
“किन ढिलो ?” उ थोरै ठुस्किइ
आँखामा हेरेँ , ठुस्के पनि त्यो ठुस्काई क्षणिक र झुटो थियो, पत्ता लाएँ । उसको बोलीले त सँधै ढाँट्छ , त्यहि भएर आँखा पढ्न मन लाग्छ । उसलाई मैले चिल्लिएको गाला देखाएँ ।
“अव काहिँ नभएर नाराबाजी , वन्द ,कर्फ्यु भएकै दिन दाह्रि काट्नु पर्ने है तँपाईलाई ?”
हुन त अझै खुशी देखिएकी थिइन तर उसको ठुस्काई विस्तारै मायामा परिणत हुँदै थियो ।
“मलाई के थाहा त त्यस्तो हुन्छ भनेर ? अनि नजिकै पनि त छ”
“तँपाइ त त्यहि काम गर्ने राजदरवारमा थाहा हुनुपर्ने नि  !तिँ माथी राजाको खास भन्ने सुनेकी मैले त ”
“अनि सवै कहाँ थाहा हुन्छ त हामी साना कर्मचारीलाई !”
“युवराज सँधै त्यस्तै हुन ? आशक्त ? टाढै वस्नुस ति भोगीबाट !!”
“मलाई त पहिला त्यस्तो गर्ने जस्तो लागेको थिएन ! कहिलेकाहिँ मिडियामा वढी नि आउँछ !” मैले अडेस लाग्दै जवाफ फर्काएँ ।
“कसरी हुन्छ वढी ? निउजमा देखाएको देखाइ छ !! राजाको चाकडी गर्ने कर्मचारी !” उ थोरै रिसाई । उ भित्रको स्त्री जागेको हुनुपर्छ ।
“मिडियामा वढी देखाउन सक्छ के , मलाई त थाहा थिएन कमसेकम ! हामी त्यहिँ काम गरिरहेका हुन्छौँ , अहिले सम्म त्यस्तो भएको थाहा छैन !” मैले आफ्नो वचावट गर्ने प्रयास गरेँ ।
“लोग्ने मान्छेको जातै त्यस्तै , कहिल्यै थाहा नहुने के हुन्छ भनेर !!” अचानक उसको भाव बदलियो । उ अव मलाई नि आरोप लाउँदै थिई । म घरवाट दरवार , दरवार बाट घर बाहेक अरु केहि नगर्ने लाई !!!
“हजुर !!!!” मलाई उत्तर फुरेन ।
“महारानीलाई नै हेर्नु न , वुढाले जुवामा हार्ला , देवरहरु मिलेर खिल्ली उडाउलान , के थाहा थियो होला र त्यस्तो ?”
“ ठूलावडासँग दाँजेर हुन्छ त हामीलाई ?” मैले प्रसंग वदल्न चाहेँ । यो प्रसंगबाट तनाव नै थपिने छ मलाई थाहा छैन ।
“ठूलो होस् कि सानो पुरुष पुरुष नै रहन्छ , स्त्रीलाई सँधै वस्तु सँग दाँज्ने !” उ अझै झोँक्किई
म सँग अझै उत्तर थिएन । चुप नै बसेँ ।
***************** ************** *************** ************** ****************
उसको मौनताका धेरै अर्थहरु हुन्छन् । कुनै मौन पल प्यारा हुन्छन् , मह जस्तै गुलियो चुहिने हुन्छन् कुनै भने तिनै माहुरीले चिले जस्तो । आज उ त्यत्तिकै रिसाइदिई । दरवारको घटनालाई उसले हाम्रो जीवनमा दाँजी होला , दरवारका घटनाहरु सामान्य मान्छेले सोच्न सक्दैन । तर उसले बुझिन । म सँग रिसाइदिए ठिक हुन्छ द्रौपदी काण्ड भन्ने ठानी । दिन भरी टेलेभिजनमा हिजोकै घटना परिघटना आइरहे । उ भने बोलिन  । छेवैको कोठामा घाम छिर्छ , अनि जाडोको घाम उसलाई म भन्दा प्यारो  भयो आज ! गएर घामतिर फर्केर पल्टिदिई । मलाई पनि उसलाई बोलाउन खासै मन लागेन । रिमोट घूमाइरहेँ एक देखी अठ्चालिस , अनि अठ्चालिस देखि एक । विचमा एक चोटी आँफै किचनमा गएर ग्रिन टि बनाएँ । वाहिर सुनसान थियो । घामका किरणहरु मात्र त्यो सुनसान सडकमा !!अचानक करिव एक बजे तिर एउटा च्यानलले एक्सक्लुजिभ भनेर एउटा फुटेज चुहायो । प्रष्ट भाषामा इन्द्रप्रष्थ दरवारमा द्रौपतिले हाँसेर दुर्योधनलाई गिज्याएको दृश्य
“अन्धाको छोरो अन्धो !!!”
मलाई झनक्क रिस उठेर आयो । यता उता हेरे । वुढी अर्को कोठामा सुतिरहेकी थिई , दिउँसोको घाम ताप्दै । गएर उठाएर यो निउज देखाउँ झै लाग्यो । भन्न मन लाग्यो ।
“हेर सँधै पुरुषको गल्ती हुन्न , तिम्री अवला नारीले सम्पत्तिको आडम्वरमा यहि दुर्योधनलाई गिज्याएकी रहिछन् । अगाडी जे समाचार आयो , सवै झुटो पनि त हुनसक्छ । समाचारलाई एक ढंगले प्रकाशित गरिएको रहेछ ।“
तर सकिन ।
रिमोट खेलाएरै बसेँ । द्रौपदिको अट्टाहस त्यो च्यानलमा गुन्जिरह्यो । हामी सामान्य युवकलाई एउटा सम्भ्रान्त परिवारकी युवतीको अभिमान । ति माथी अपांगता भएका वृद्द पुरुषलाई अन्धा भनेर कसरी भन्न सकीन् ?
एकै छिनमा छ्यापछ्याप्ती पाण्डवको तर्फमा भएका निर्णयहरु कति एक तर्फि थिए भनेर प्यानलहरुमा आवाज उठ्न थाल्यो । धेरै पुराना कुराहरु समाचारमा खोतलिए । किन जेठो हुँदा हुँदै पनि धृतराष्ट्र लाई राजगद्दी दिइएन ? कसरी पाण्डवले साम्राज्यमा जरो गाडे  र त्यसमा के के गलत थियो केलाइन थाले ।जति जति म हेर्दै गएँ उति मलाई पाण्डव र द्रौपदी प्रति रिस उठ्दै गयो । धृतराष्ट्र आँखा नदेख्ने भएकै भरमा राजा चुनिएनन् । राजाले आँखा देख्नै पर्ने के वाध्यता छ र त्यस्तो ? उसका सल्लाहकारहरुले जे सल्लाह दिन्छन् त्यहि अनुसार कानुन र न्यायको पक्षमा रहे त पुगिहाल्यो । अहिले को द्रौपदी काण्ड पनि पक्कै पनि प्रोपोगाण्डा मात्रै हुनुपर्छ । कौरवहरुलाई गलत देखाउने !!
आजकल मिडिया बिकेका हुन्छन् । मेरो मनले निर्क्यौल गर्यो “हो आजकल मिडिया बिकेका हुन्छन् ।“
उ उठेर आइ । अनि विस्तारै सोधी
“के हेर्दै हो ?”
“निउज !”
“चिया खाने ?”
“भख्खरै खाएँ !” अनि च्यानेल चेन्ज गरेर उसलाई फुटेज देखाएँ
“अन्धाको छोरा अन्धा !!!!”
“यो सव मिडियाको प्रोपोगाण्डा हो , कौरवहरुको हिजोको कुकर्म लुकाउन !!” उसले भनी
“पाण्डवले गरेको चाहिँ सवै चोखो ?” यसपाली भने म झनक्क रिसाइदिएँ । उ मेरो मौनतालाई मेरो समर्थन ठान्छे । त्यो सत्य होइन ।
“जे भए नी नारिको अस्मिता !!!”
“अनि त्यो वृद्द पुरुषलाई अन्धा भनेको नि !!!” मैले उसको वाक्य समाप्त हुन दिइन । मलाई रिसको पारो चढेको थियो ।
“धृतराष्ट्लाई अन्धा भन्नु र यो घटना उत्तिकै हो ?”
“होइन , तर धेरै यस्ता घटनाले यो घटना जन्माएको हो , पाण्डवहरुको नि कम गल्ति छैन । त्यो युधिष्ठिरले दाउ किन थापे । जुवामा लागेको मान्छेले देश चलाउन सक्छ ? देश ,जनता नै दाउमा लाउने ?”
“दुर्योधन जस्तो अग्यानि भन्दा त युधिष्ठिर नै ठिक !” उ फेरि च्याठ्ठिइ ।
“चिया नखाने भए ,एक्लैलाई पकाउँछु !”
“खान्न !!”
“तिम्रा राजाले पछि चिया दिँदैनन् !”
“तिम्री द्रौपदीले ग्याँस पनि त किन्दिन्नन् !!” उसले सुनिन । जवाफ यसपालि भने मनमनै फर्काएँ।
टिभि वन्द गरिदिएँ । झ्यालको छेउमा गएँ । बाहिर ननिस्किन माइकिंग भइराखेको छ । घाम पनि कर्फ्युले होला वादल भित्र छिरेछ । यसो मोबायल हेरेँ , ह्यासट्याग ट्रेण्डमा छ । मैले पनि ट्विटि दिएँ
“जुवाडेले देश नचलाएकै बेस #सेभधृतराष्ट्र”