फूल बेच्ने केटी(भाग-१)

भन त म आज कस्ती देखिएकि छु होला ?

फोन सुधाले नै गरेकी थि ।बिहानै त मैले उसलाई देखेको हो ! अब तिन घण्टा मै के परिवर्तन आयो होला र उसमा ? उ अझै पनि गोरी चौडा निधार भएकै होली , त्यहि निधारमाथी सानो टिका लगाई होली । सँधै जस्तै स्ट्रेट गरेको कपाल लाई खुल्लै छोडेकै होली , अनि कुनै हिन्दि सेरियलको रोमान्स हेरेर त्यसैमा डुबेर भावुक भएर मलाई फोन गरेकी होली । मलाई भने यस्तो प्रदर्शन देखि झर्को लागेर आउँछ । अब अफिसमा काम गरिरहेको बेला पनि के म आफ्नो प्रेमको प्रदर्शन गर्दै चिच्याउँ म तिमीलाई एउटा मुर्ख जत्तिकै माया गर्छु , पक्कै तिमीलाई सहने मान्छे मुर्ख नै हुनु पर्छ भनेर ?

एकदमै राम्री देखिएकी छौ होला। मैले बिस्तारै भनेँ यता उता हेर्दै । मलाई आफ्नो रिस देखाएर उसको चित्त दुखाउन पटक्कै मन लाग्दैन । नजिकैको टेबलको नारद मलाई क्वारक्वार्ति हेर्दै थियो। उसको ध्यान भने आफ्नो टेबलका फायल र कामहरु भन्दा अर्काका सेलमा आएका कलहरु , बोल्दाखेरिको एक्स्प्रेसन मा हुन्छ । त्यसबाट उनि कस्ले कससँग गफ गरेको हो त्यसमा हुन्छ । त्यसमा उनलाई पारंगत हाँसिल छ ! तर म यसमा उसको दोष देख्दिन । उसले उसको बुढि बाट माया पाएको छैन र नपाएको चिजको इर्ष्या सबैलाई हुन्छ ।

तिमी कति खेर आउँछौ कोठा ? उसले सँधै जस्तै यहि प्रश्न राखी ।

म अफिस सिधि्धिने बित्तिकै कोठा आउँछु । मैले पनि सँधै जस्तै जवाफ फर्काएँ । म मुस्कुराउने कोशिस गरिरहेको थिएँ मानौँ फोन बाटै भए पनि मैले सुधालाई मेरो मुस्कान देखाउनु पर्छ । मैले बुझिसकेको थिएँ अब यो वार्ता लामो हुनेवाला छ , मैले अब उसको तिन घण्टाको सारान्श कम्तिमा पनि पन्ध्र मिनट लगाएरै भए पनि सुन्नु पर्नेछ । त्यसैले मोबायल काँध र बाङ्गिएको टाउकोको भरले समातेर फायल हेर्नु मेरो बाध्यता थियो । साँच्चै बिहे पछि केटाहरु मल्टि डाईमेन्सनल हुन्छन् ,ढाँट्न सिक्छन् , बाहिरका समस्याहरु साना लाग्न थाल्छन किनकि घरभित्र नै उसले सबैभन्दा ठूलो समस्या सँग सम्झौता गरेको हुन्छ । तर जब जब त्यहि समस्याले सिन्दुर लाएर मेरो अगाडि आएको , चुरा बजाउँदै किचन मा चर्को नै भए पनि साग पकाएको र खुवाएको राति मेरो अँगालोमा त्यहि साग जस्तै लपक्क भएर हराएको अनि जाडोका बिहानमा पनि सरक्क मेरो न्यानो अँगालो छोडेर मेरो लागि चिया बनाएको पाउँछु त्यो समस्या पनि आफ्नि लाग्छे प्यारी लाग्छे ।

कहिलै चाँडो आउनु छैन ,कहिले काहिँ त चाँडो आएर मलाई सर्प्राईज दिए पनि त हुने नि ! कत्ति न अफिस को सबै काम गर्ने ठेक्का नै उसैले लिए जस्तो । उ थोरै लाडिई ,यदि उसको मुड भरे सम्म पनि बिग्रिएन भने त्यो मेरो लागि बोनस नै हुनेछ मैले मनमनै सोचेँ ।

तिमीलाई थाहा नै छ भने सर्प्राईज कसरि हुन्छ त ? आफ्नो कुर्सि मा ढल्किएर फाईल टेबलमा थाँति राख्दै एउटा हातले घडि हेर्दै मैले सुधालाई सोधेँ ।

थाहा छैन मलाई , म बुझ्दिन तिम्रा कुरा ! मलाई थाहा छ उ रिसाएकि होईन मात्र थोरै घुर्कि लगाएकि हो । कहिले काहिँ हाँस उठेर आउँछ मलाई उसको स्वभाव देखि !

एकछिन सम्म उहि साधारण हामीलाई बोल्न झर्को नलाग्ने अरुलाई सुन्न झर्को लाग्ने गफ भएपछि सुधाले फोन राखि । मैले कम्प्युटरको आफुले काम गर्दै गरेको एक्सेल फायल सेभ गरेँ अनि सोचेँ यो काम पर्सि सम्म सक्नु पर्ने भने पछि म सँग अझै पुरा भोलि बाँकि छ ।

....................... ............................ .......................... ...........................

बहाना बनाएर हाकिम बाट कोठा जान स्विक्रिति लिए पछि म आफ्नो कोठा तिर लागेँ । पानी सिमसिम परिरहेको थियो बाइकको सिट भिजेको रहेछ डिक्कि मा राखेको कालो कपडाको टुक्राले पुछेँ अनि रेनकोट लगाएर आफ्नो कोठा तिर हुईँकिएँ । बाटो आज पानी परेकाले होला ट्राफिक त्यति धेरै थिएन । बाटामै पर्ने नयाँ खोलेको फूल पसलमा मेरो आँखा गयो , अनि सोचेँ सुधालाई रातो गुलाफ असाध्यै मन पर्छ , बाइक रोकेर भित्र छिरेँ ।

लम्बाई भन्दा चौडाइ कम भएको कोठा थियो धेरै लामो ! पर पर सम्म फूल राखेको । एउटा रातो गुलाब काउन्टरको को एउटा कुनाको ठिक्क माथि राखेको थियो ।

त्यो गुलाब सजाउनलाई मात्र हो or is it for sale ?” मैले आफ्नो हेलमेट काउन्टरको अग्लो काठले बनाएको भागमा राख्दै औँलाले त्यो गुलाबलाई देखाउँदै सोधेँ ।

“It is for sale “ काउन्टरमा भएकि केटीले जवाफ फर्काई । आवाज मधुरो थियो । यति मधुरो कि अघि सम्म ध्यान नदिएको अनुहारमा म फेरि एक चोटि पुलुक्क हेर्न बाध्य भएँ । कालो कालो तर पनि हिस्सि परेको मुस्कुराउँदा उज्यालो देखिने अनुहार ,गला सम्म आउने घुम्रिएको कपाल अनि कपाल फैलिन रोक्न जडेको रातो चम्किलो चिम्टि , सिधा टपक्क मिलेको नाक , नाकको सानो फूलि लिपस्टिक बिनानै पनि पर्याप्त रातो अनि ग्लसले गर्दा अझ चिल्लो भएको ओठ त्यो अनुहार हत्तपत्त बिर्सिने खालको अनुहार पक्कै पनि थिएन ।

मलाई त्यो फूल निकालिदिनुहोस् न त ! मैले आफ्नो ध्यान फेरि गुलाफको फूलमा लगेँ ।

आफैँ झीक्नुहोस् न ल प्लिज , आज काम गर्ने मान्छेहरु पनि छैनन् दोकानमाँ !

मैले पुलुक्क उ तिर हेरेँ । अचम्म लाग्यो त्यो गुलाफ काउन्टरको भित्रबाट नजिक पर्थ्यो मैले त्यो झिक्न बाहिर बाट अलि बल लगाएरै लम्किनु पर्थ्यो भने उ उठ्दा मात्र पनि भेट्टाउँथी । यस्तो मान्छेले दोकान किन गर्नु होला मलाई झनक्क रिस पनि उठ्यो ।

तँपाई बसेको ठाउँ बाट नजिक पर्छ र पो भनेको त ? कस्टोमरलाई कसरि ट्रिट गर्ने पनि थाहा छैन तँपाईलाई ? म थोरै झर्किएँ ।

सरि तँपाईको इन्कन्भेनियन्सको लागि , मेरो दाहिने खुट्टा प्यारालाइसिस् भएको छ तँपाईले ठिकै भन्नु भएको हो हुन त म रिसेप्सन मा बस्नु नहुने हो मैले साधारण मान्छेहरुले गर्ने जब नगर्नुपर्ने हो । उसको अनुहार मा मुस्कान यथावत थियो ।

क्रमश:

No comments: