कल्पनाकुञ्ज (भाग-५)

सुधा फर्केर आउन्जेल सम्म पनि म बरण्डामै थिएँ ,साँझ मा बरण्डामा चिसो हावा चल्दो रहेछ । छोएर जाने हावा मध्ये कुनै न कुनै सिरेटोले म सन्चै भएको खबर घरसम्म पुर्याइ दिने हो कि झैँ लाग्ने रहेछ । " कन्ट्रि रोड टेक मि होम " घर बाट टाढा भएकाले मेरो अर्ध चेतन मनले नै होला त्यसका धुनहरुलाई बजाएको , औँलाहरु त आँफै नाचिरहेका थिए स्ट्रिङ्ग्समा ! धेरै समय बितिसकेको थियो आफ्नो गिटारसँग जिस्किँदै ! सुधा को अनुहार मा चमक हुनुपर्छ अहिले त धेरै ,मलाई पनि थाहा छ सन्तुष्टिको चमक कस्तो हुन्छ ! त्यो एउटा जीवन थियो जुन रमाईलो थियो ,आजकल त सम्झनाले पनि पोल्छन् र मात्र बाडुलि दिएर जान्छन् ।

"Boyfriend ?" मैले सुधा मलाई दवाई खुवाउन मेरो कोठा भित्र छिर्ने बित्तिकै प्रश्न गरेँ ।
"को ? कस्को ? " सुधाले मुस्कुराउँदै बुझ पचाई ।
"तिमीलाई थाहा छ को कस्को Boyfriend हो भनेर!" मैले बाहिर खुलेर हाँसिरहेको चन्द्रमा बरण्डाबाट नियाल्दै उत्तर फर्काएँ ।
उ फेरि हाँसि अनि केहि नभनि दवाई लिएर नजिकै आई ।

"के हो यो ? एन्टिडोज हो कि के हो ? सिरिन्ज बाट लिन मिल्दैन र ?सिरिन्ज बाट पानी नै हाल्न पाए पनि एकछिन को तलतल निको हुन्थ्यो जस्तै भइसक्यो !"
"तिमीले यस्तो कुरा गर्न सुहाउँछ ?भोलि देखि मेडिटेशन गर्न थाले पछि सब ठिक हुन्छ ,अनि तिमी गिटार एकदम राम्रो बजाउँदिरहिछ्यौ ! मैले बाटोमा आउँदै गर्दा सुनेको ! म भित्र छिर्ने बित्तिकै बन्द भयौ नि ?" सुधा एक छिन रिसाएझैँ गरी ।
"थ्यांक्स !त्यसले गर्दा बन्द भएको हैन ! त्यो केटाको बारेमा केहि बताईनौ ,आफुलाई भने साथी जस्तो लागेर मात्र सोधेको है । " उसले कुरा बदल्न चाहेको थाहा पाउँदा पाउँदै पनि मैले प्रसङ्गलाई आखिरमा त्यहिँ डोर्याएँ ।
"खोई के हो के हो अहिले सम्म बुझ्नै सकेकि छैन , नाम चाहिँ रोहन हो ! मलाई उ मन पर्छ । जहाँ सम्म लाग्छ उसलाई पनि म मन पर्छ । तर यो कुरा मैले भन्ने कुरै आएन , उ पर्पोज गर्ने नाम नै लिँदैन , कस्तो लाग्यो त तिमीलाई रोहन ?"

उसको अनुहार लाजले गुलाबि भयो ,गोलो ,गुलाबि लजाएको अनुहार पर्फेख्ट चन्द्रमा ! बल्ल बल्ल उसले सिध्याएकी थिई आफ्नो वाक्यलाई त्यति भन्दा पनि !

"मलाई त हरेक केटाहरु नाम मात्र फरक भएका एकै किसिमका जन्तु हुन जस्तो लाग्छ !" मैले आफ्नो नङ्गमा छिरेको मैलो सिंकाले झिकेर बरण्डाबाट बाहिर फ्याक्दै जवाफ फर्काएँ ।

उ एकछिन चुप लागी , थोरै खीन्न भई जस्तो लाग्यो उसको अनुहार देख्दा ! म पनि कस्तो बुद्दु ! भख्खर सपना डुलेर आएकिलाई वास्तविकतामा फुल छेउमा धेरै काँडा हुन्छन् भनेर देखाएपछि त उ खीन्न नभएर के हुन्छे त ! म पो धेरै भोगेर दुख पचाउने भइसकेकि थिएँ ।

"परबाट हेर्दा राम्रो थियो ! तिमीलाई धेरै माया गर्छ जस्तो छ । "
"जहाँ सम्म लाग्छ एकदम धेरै !" उसले छिनमैँ आफ्नो खिन्नता बिर्सि , अघि हराएको गुलाबि मुस्कान फेरि कोठा भरि छरियो ।
"तिम्रो पनि त थियो होला नि हैन ?केहि sugest गर न म नयाँ नयाँ मान्छेलाई ! "
"के ? boy friend ? मलाई रोग पालिराख्ने शौक छैन , मैले धेरै पहिले त्यसलाई आफ्नो जीवन बाट काटेर मिल्क्याईदिसकेँ । " म फिक्का हाँसो हाँसे । उ केहि बोलिन ,शायद उसले म भित्रको घाउलाई देखी ! म उसलाई त्यो देखाउन चाहन्नथेँ तर उसले पर्दा भित्र पनि नियालि शायद !

"तिमी सकेसम्म सुत्ने प्रयत्न गर ! सकेनौ भने पुरानो उपाय छ एउटा १०० देखि उल्टो गन्ने ट्राई गर ! एकदम ईफेक्टिभ छ !" यति भनेर सुधा बाहिर निस्किई ! मैले ढोका को चुकुल लगाएँ अनि भोलि सुर्य पक्कै उदाउला भन्ने आशमा पल्टिएँ ।

................................... .................................. ......................................
एक हफ्ता पछि ,

योगाका कक्षाहरु एकदम झर्को लागेर आउँछ मलाई ! सँधै उत्तानो परेर घरि टाउको मा खुट्टा लगेको छ ,घरि एउटा नाकले सास लिएर अर्को नाकले फ्याकेको छ , घरि चट्टि मा सुतेको छ सिधा भएर ! सुत्नु नै छ त बिहान बिहान किन उठ्नु ? तर पनि एकहफ्ताको समयमा नै कल्पनाकुञ्जले मलाई बाँधेको छ ! के गुणले मलाई थाहा छैन तर कल्पना कुञ्जले मलाई बाँधेको छ । सुधा सानो समयमैँ मेरो मन मिल्ने साथी भई । उ सँधै रोहनका कुराहरु सुनाउँथि डेटबाट आएपछि , रोहनले एक्स्प्रेस गर्न सकेको थिएन ,सुधा त्यसैको प्रतिक्षामा थिई । म चुपचाप सुनिराख्थेँ उसको फक्रिन लागेको प्रेमका कथाहरु ! ,यता सुरेश भनेँ मेरो पछि लागिरहन्थ्यो , के को लागि मलाई थाहा छैन ,शायद म उसको लागि कल्पनाकुञ्जको सबै भन्दा इन्ट्रेस्टिंग केस थिएँ अरु भन्दा प्रिथक , तर आआफ्नो स्वभाव र पछिल्ला घाउहरुले गर्दाहोला मलाई हरेक केटाहरु घिनलाग्दा लाग्थे । मलाई उसको नजिक जान मन लाग्दैन थियो ।

"तिमी एकदम राम्रो प्रोग्रेस गर्दै छौ ! " सुरेश मलाई धेरै बेर देखि योगा गरेको नियालिरहेको रहेछ । उसले मलाई गरेको तिमी सम्बोधन मलाई मन पर्दैन ! उसको लागि त म आजकल डिस्टिंक्सनको नम्बर भएको रिजल्ट जस्तो न हुँ । एउटा केटी जो एक हफ्तामै यती बदलिई । उसको राम्रो पर्फमेन्स देखाउने एउटा सर्टिफिकेट ! हेर्नुहोस् हामी कल्पनाकुन्जमा बिरामिलाई साथि जस्तो गरी ब्यवहार गर्छौ ! र त्यसको प्रोग्रेस उ हाम्रो प्यासेन्ट सुरुचिमा हेर्नुहोस् । तर वास्तवमै म राम्रो प्रोग्रेस गरिरहेको थिएँ आजकल मलाई चिटचिट पसिना आउन बन्द भएको थियो त्यसबाट ध्यान हटाउन खोज्दा पनि म सक्न थालेको थिएँ ।

"थ्यांक्स ! " म टावेलले पसिना पुछ्दै आफ्नो कोठा तिर फर्किएँ ।
"सुधा पनि तिम्रो कुरा गरिरहन्छिन् ! मलाई तिमी धेरै दिन कल्पनाकुञ्ज बस्लिउ जस्तो लाग्दैन ! " कोठा तिर लाग्दै गर्दा उ पनि मेरो पछि पछि आयो ।
"कति चाँडो खेदाउने बिचार गर्नुभएको ?"
"हामीलाई त जति चाँडो खेदाउन पाईयो त्यति राम्रो ! " उ मुस्कुरायो । मैले उसको मुस्कुराहट पनि याद नगरि आफ्नो कोठाको ढोका ढ्याम्म लगाएँ ।

.......................... ............................... ............................... ......................

नुहाएर आज रिल्याक्स मात्र भएर नजिकै को कस्मोपोलिटन पल्टाएँ एकै छिन । आजकल मेरो पनि शरिर सुन्दर भएको छ झैँ लाग्यो मलाई । अनुभुतिले मात्रै पनि मान्छेलाई सुन्दर बनाउँदो रहेछ शायद ।
"अबुई तिम्रो पाखुरामा ट्याटु पनि रहेछ ,मैले यादै नगरेको !" सुधा अचानकभित्र छिरी ।
"छ त ,जमानामा त हामी पनि हट थियौँ नि ,तिमी जस्तो नभए पनि ।" मैले नजिकै को सिरक मा आड लागेर जिउ थोरै ठड्याउँदै जवाफ फर्काएँ ।
"प्लिज .............. तिमी जहिल्यै आफ्नो सुन्दरतालाई मेरो सँग किन दाँज्छौ ? हरेक केटी सुन्दर हुन्छे !"
"तिम्रो अघि त म के नै छु र ? मलाई कता कता आफ्नो नारित्व कतै बिर्सिएर आफू खालि खालि भौतारिरहे जस्तो लाग्छ । " मैले उसको आँखा मा आँखा जुधाउँदै जवाफ फर्काएँ ।
"तिमी अनि तिम्रा कुराहरु , बुझेर कहिल्यै बुझि नसक्नु , आज रोहन सँग डेट छ ?राम्री छु भनेर त भनी हाल्यौ ! के ड्रेस लगाएर जाउँ भनेर सजेष्ट गर्छौ ? "

"जाउ न ,राम्रि भएर जाउ , बा आज चाहिँ रोहन ले पर्पोज गरी पो हाल्छ कि !"
"त्यहि कुरेर पो बुढो भईयो , तिमी केहि सिकाउँदिनौँ , आफ्नो एक्सपेरियन्स केहि शेयर गर्दिनौ अनि ?" सुधा झ्यालमा अडेसा लागेर मलाई जिस्क्याउँदै बोलिरहेकी थिई ।
"मलाई आज तिमिले बुझ्ने केहि कुरा भन्न मन छ , मेरो अतितको बारेमा मेरो बारेमा एकछिन बस्छौ ?" मैले आग्रह गर्दै उसलाई भनेँ , उ चुपचाप मेरो छेउमा आएर बसी ।
क्रमश:

1 comment:

नवराज said...

The plot is going interesting. This time you are successful in adding suspence as the story is advancing forward. The last paragraph makes the reader enthusiastic to wait for the next part. Good job rajit.