कल्पनाकुन्ज

कठघरा मा दोषि भएर उभिँदा र सजाय नपाउँदा खुशि लाग्छ भनेर कसैले भन्छ भने म त्यसलाई सम्पुर्ण रुपमा गलत मान्नेछु । दोषि भएर पनि सजाय नपाउनु र त्यसको आत्मबोध आफुलाई हुनु जस्तो असहज केहि पनि हुन्न रहेछ । आफु भासिएजस्तो लाग्छ कुनै दलदलमा अनि पल प्रति पल जति निस्कन खोज्यो उति डुबे झैँ लाग्छ ।

त्यो दिन हाम्रो घरको Living room धेरै बेर सम्म तनावग्रस्त रहिरह्यो । म घोसेमुन्टो लगाएर उभिएको उभियै भएँ । घरि घरि आँखा उठाउन खोज्थेँ तर फेरि झूकाउनु परिहाल्थ्यो । बुवा आँशु भरिएका आँखाले मलाई हेरिरहनु भएको थियो । मलाई वहाँको अनुहार हेर्न मन लागेको थिएन अथवा भनौँ मैले आँखा जुधाउन सकिन । लोग्नेमान्छेको आँखामा आँशु ज्यादै दयनिय देखीन्छ । एकदम बिवश लाग्छन् मलाई लोग्नेमान्छेहरु रुँदा ! निरुपाय भएर मात्र रुन्छन् लोग्ने मान्छे , जहिले सम्म निकास देख्दछन् तबसम्म रुन जानेका हुन्नन् ! खोई के सुहाउँदैन के सुहाउँदैन ? तिँ माथि त्यो त मेरो आफ्नै जन्म दिने बाउको आँशु थियो त्यो पनि मेरो कारणले उब्जेको ,एउटि जवान छोरीको कारणले धेरै बेर मनमनैँ आँफैलाई धिक्कार्दै बित्यो ।

"जा सुरुचि सुत्न जा भोलि कुरा गरौँला !" लामो मौनता आखिरमा तोडियो त्यो कोठाको ! बुवाले फेरि पनि आफु धैर्यवान रहेको देखाउनुभयो आफ्ना शब्दहरुले। सँधै जस्तै आज पनि बुवा आमाले मलाई हकार्न सक्नु भएन ,कुनै नयाँ कुरा होईन ,यो वहाँहरु दुईजनाको बानिमैँ छैन । मलाई यो वहाँहरुको सबैभन्दा ठूलो कमजोरि लाग्छ , दुवैजना रिसाउन जान्नुहुन्न ।शान्त शालिन अनुहार मात्र देख्छु जहिले हेरे पनि ।

बाहिर निस्केँ ,कोठा तिर जान खोजे तर बुवा आमाको ढोका छोडेर जान मन लागेन ,के कुरा गर्नुहुने रहेछ एक आपसमाँ मैले सुन्नु थियो । प्यासेजमा बत्ति निभाइसकेको थिएँ म ढोका मैँ आड लागेर बसेँ ।


"के गर्ने त अब ?" बुवा निराश भएर होला सुस्तरि बोल्नुभयो । सँधै को जस्तो तेज थिएन । म वहाँको बोलिले नै वहाँको अवस्था चिन्छु ।
"हाम्रो पालन पोषण मा कमि भए जस्तो त लाग्दैन !तै पनि किन ? आखिर हामी नै किन ? " आमा एक्कासि भक्कानिनु भयो ।
"नरो न , अब रोएर मलाई पनि कमजोर नबना है सन्ध्या ! तँ छेस र त अझै पनि केहि भइहाल्ला कि भन्ने आशमा छु ।"
"मैले जागिर धेरै अघि छोड्नुपर्ने ,घर ब्यवहार मा सहयोग होला भनेर जारि राखेँ उ जन्मेपछि पनि ! जागिर नभएको भए समय त दिन सक्थेँ सुरुचिलाई !"आमा फेरि आफ्नै दोष निकाल्ने क्रम मैँ हुनुहुन्थ्यो ।
"अब भइसकेको कुरा छोड , तै पनि तेरो जागिर को के दोष ? खालि यसो उसो गर्यो आफैँलाई दोष दिन्छे ! बाउ आमा जागिरे भएकाका सबै छोराछोरी Addict भएका छन् र ? अब के गर्ने सोच ,लत छुटाउन सकिएन भने बिकराल हुन्छ यो समस्या त !"
" तै पनि उसका कुराहरु तँपाई भन्दा मलाई थाहा हुनु पर्ने नि त ! आखिर आमा हुँ उसकि ,साथि जस्तै नै ब्यवहार गरेकी छु ? किन लुकाई उसले कुरा ? अस्ति मेरो पर्स बाट पैसा हराउँदा त कतै हिसाब बिर्सेछु झै लागेको थियो ,हिजो उसको कोठामा त्यत्रो कुरा भेटिएपछि पो थाहा लाग्यो !"
"फेरि रुन थालि , नरो भनेको हैन सन्ध्या !" बुवा थोरै झर्किनु भयो ,वहाँ ले रिसाएको मैले देखेको छैन , आमाको हिकहिक यथावत थियो ,शायद आँशु पुछेर अब नरुने कोशिश गर्दै हुनुहुन्थ्यो तर सकिरहनु भएको थिएन ।

"ब्लड चेक चाहिँ पहिला गर्नुपर्ला ,के थाहा धेरै सिरिन्ज चलाएर !!!!!!!!!!!!!!!!!!!!!!!" आमा को रुवाई अचानक बढ्यो अगाडिका आँशु रोक्ने सम्पुर्ण प्रयास लाई असफल बनाउँदै ।
"हैन त्यस्तो त भएको छैन होला ! मेरो बिचारमा रिह्याब सेन्टर नै ठिक होला ,थोरै दिन सुधार्ने नै प्रयास गरौँ !"
"सबलाई थाहा हुन्छ त्यसो गरे त ! छर छिमेक मा कसरि मुख देखाउने ,को केटाले बिहे गर्छ यस्लाई ? "
"अहिले पनि थाहा हुन्छ ,त्यति राम्रा ठूला आँखा तलका छाला सबै काला भइसके ,ओठ हेर न हाम्री छोरीको कत्ति कालो छ ,पहिला त्यस्तो थियो र ? हामीले नै खुट्याउन ढिलो गर्यौँ ,अब यहाँ भन्दा ढिलो गर्नुहुन्न ! हो उ बहकिएकि हो गलत बाटोमा लागेकि हो , तर उसको भन्दा तेरो र मेरो बढि गल्ति छ हामिले पहिला नै पत्ता लाउन सक्नु पर्थ्यो । अब त रिह्याब सेन्टर लानै पर्छ ! अरु भन्दा त्यो कल्पनाकुन्ज ठिक छ भन्छ मेरो एउटा साथि ,त्यसको छोरालाई पनि तिन महिना त्यहाँ राखेको आजकल नर्मल छ अरे ।" बुवाले सान्त्वना दिनु भयो आमालाई !

म बिस्तारै आफ्नो कोठा तिर लागेँ ,मलाई मेरो परिणाम थाहा भइसकेको थियो ।आफ्नो बुवा आमा लाई म दोष दिन्न । अझै पनि सुधार्ने प्रयास गर्दै हुनुहुन्छ ।चुपचाप कोठा आएँ अनि सोचेँ म वहाँहरुको जे बिचार हुन्छ त्यहि गर्नेछु । सक्नु नसक्नु आफ्नो ढाउँमा छ तर आफ्नो तर्फ बाट सुध्रने सकेसम्मको प्रयास गर्नेछु ।

करिब दुई बर्ष अघिको गल्ति ले गर्दा म अहिले को ठाउँमा आईपुगेँ जहाँ मेरै आफ्नाहरु मन नलागि नलागि नै भए पनि मलाई आफुबाट अलग्याउँदै छन् ।कुनै घाउ लागेको आफ्नै अंग जस्तै जस्लाई नकाटे शरिर नै खानेछ । के म त्यो परिवार को रोग भएर निस्कि सकेको छु त ? म घर बाट अलग्गिन चाहन्न र लत बाट अलग्गिन सक्दिन । कोठा आएँ आज मेरो कोठा बिहानै सफा गरिएको थियो ,मैले केहि पाउने सम्भावनै थीएन कोठामा तै पनि धेरै बेर सम्म खोज जारि राखेँ नभेटेर गलेँ ,चिटचिट पसिना आएझैँ भयो हात गोडाहरु कामे जस्तै भयो ओछ्यान मा पल्टिएँ ,बिस्तारै मनमाँ उठेका भुकम्प हरु सेलाएझै भयो धेरै चोट दिएर हावाहुण्डरि थामिएझैँ लाग्यो ।
धेरै दिन पछि ऐना हेर्न मन लाग्यो । ऐना अघि उभिएर आफ्नो आँखा , ओठ हेरेँ । बुवा ले भने जस्तै काला भइसकेका थिए । कपाल त पहिल्यै कलर गरेर महिले खैरो बनाइसकेको थिएँ । म पहिला यति नराम्रि थिइन । अगाडि पछाडि सबै तिर नियालेँ नारित्व कतै हराएको थियो । मलाई आफ्नो पहिलेको स्वरुपमा फर्किन मन लाग्यो । रात भरि एल्बमका पुराना फोटाहरु हेरेर रुँदै बस्दै गरेँ । यो समस्याको कारण म थिएँ समाधान मा मैले पहल गर्नै पर्छ , म कल्पना कुन्ज जानेछु ।सुत्नु अघिको मेरो निर्णय त्यहि नै थियो । आँशु पुछे गालाभरि आँशुका टाटालाई यथावत राख्दै आफ्नो ओछ्यान मा पल्टिएँ ।

No comments: