कल्पनाकुञ्ज(भाग-२)

भाग-१ बाट अघि,

बाहिर बाट ठुलो जस्तो लाग्थ्यो ,सबै तिर ढुङ्गाको गारो उठाएर बनाएको पर्खाल ,अनि ठुलो फलामे गेट र गेट बाहिर को जुँगे चौकिदार , बिलकुलै नाम बिपरित को अनुहार देखायो कल्पनाकुञ्जले , नाम कल्पनाकुञ्ज किन पनि थाहा छ मलाई ,किनकि यस्ले निकै भयानक वास्तविकता हरु निलेको छ यसमा आउने मान्छेहरुसँगै ,यो त्यहि भएर शायद कल्पनामै मात्र रम्न चाहन्छ।म पनि कल्पनामैँ रमाउन चाहन्छु ,किनकि मेरो वास्तविकता ले आजकल मलाई घोच्न थालेको छ ,मैले हेर्ने ऐनाले आजकल मलाई गिज्याउन थालेको छ ।

मैले सोचेकी थिएँ कल्पनाकुञ्ज सुधार ग्रिहहरु भन्दा प्रिथक हुनेछ ,तर आखिर मा सुधार ग्रिह सबै उस्तै नै हुन् बिग्रेका लाई सपार्ने कारागार न हो आखिर , उहि मुटु नभएका ढुङ्गे पर्खाल हरु , उहि स्वतन्त्रता निमोठ्ने चौकिदारहरु , मैले थोरै अनुहार खुम्च्याउँदै त्यो चौकिदारको ढुंगे अनुहार हेरेँ , अररो , अनुहार भरि केहि काटेका दागहरु भएको ,शायद युद्द मा पनि लडेको हुँदो हो पहिले,आर्मि होला पहिलेको त्यो ,अहिले रिटायर भएर यता आएको पनि हुनसक्छ ,फेरि सोचेँ त्यत्रो युद्द लडेको मान्छे जाबो सुधार ग्रिह को चौकिदार भएर के बस्थ्यो झगडा गरेको होला कसै सित अनि बसेको होला त्यो खत ,टोपि कसैले जबरजस्ति उसको टाउको मा लादेको जस्तै लाग्थ्यो ,एकदमै नमिलेको ,राक्षस हरु त्यस्तै हुन्थेहोला पहिला पहिला , बुवाको नजिकै गएँ र टाँसिएर ,छेलिएर हिँड्ने प्रयास गरेँ , आफ्नो टि-शर्टको बाहुला आफ्ना हत्केलाले थाहा नपाईकन दबाईरहेको रहेछु ,त्यो छोडेर आफ्नो हातलाई थोरै हलुका बनाएर हिँड्ने प्रयास गरेँ,आफ्नो डरलाई र नैराश्यतालाई त आखिरमा मैले जित्नु नै पर्ने थियो । म किन बुवा सँग नजिकिँदै छु ? अब आउने दिनहरु मैले मेरो परिवार छोडेर यहि कल्पनाकुञ्जमा बिताउनु पर्नेछ । कहिले काहिँ यहि सोचले मात्रै पनि मन भारि हुन्छ । चौकिदारको अनुहारमा कुनै परिवर्तन देखिएन मेरो अनुहार देखेर ,एकचोटि तिखो नजरले मलाई हेरे पछि मुन्टो बटार्यो उसले ,मेरो नजरमा उ असाधारण मैले सोचे भन्दा भिन्न होला तर उसको नजरमा त म अति साधारण बिग्रिएकि केटि न हुँ त्यहि झुण्ड भित्रकि ,जस्लाई उ हरेक दिन यहि फलामे गेट बाट भित्र उसको अनुहार हेर्दै छिर्दै गरेको देख्छ ।

भित्र छिरे पछि भने केहि सन्चो भयो फूलबारि देखेर ,मलाई फुलहरु मन पर्छ बिशेषत: काँडा माथि का फुलहरु किन किन आँफै उभिएजस्तो लाग्छ त्यो काँडामाथि !


"तँपाईहरु एकछिन बाहिर गइदिनुहुन्छ ?मलाई सुरुचि सँग एकछिन गफ गर्नु छ ! त्यतिन्जेल सम्म Admission procedure सिध्याउनुहोस् न !" त्यहाँको चिफ हुनुपर्छ त्यो भन्ने ,बुवा आमा बाहिर निस्कनु भयो । मलाई थोरै असहज भएकाले मैले मुन्टो कन्याएँ उसको कुर्सि अघिको कुर्सिमा बसेपछि ,धेरै जस्तो म यसै गर्छु जब के गर्ने मलाई थाहा हुँदैन । त्यहाँ त Interview नै लेला जस्तो थियो उसले । नङ्ग लामो भएको रहेछ , घिच्रो चर्याए चर्याए जस्तो पनि भयो । मैले उसको आई डि कार्ड पढ्ने प्रयास गरेँ शायद सुरेश लेखिएको थियो नाम !


"सुरुचि तिमी नढाँटि भन ,सुध्रिने चाहना कस्को हो तिम्रो वा आमा बुवाको ?" आमा बुवा बाहिर निस्कने बित्तिकै उसले प्रश्न सोध्यो ।
" सुध्रिने चाहना कस्को हुन्न ? तिरस्क्रित भएर बाँच्न कसलाई मन हुन्छ र ?" मैले उसको टेबलमाँ राखेको पेपरवेट खेलाउँदै जवाफ फर्काएँ । पेपरवेट भित्र देखिएका थोपा थोपा हरु पानी नभए पनि मलाई खेलाउँदा खस्लान कि जस्तै लाग्छ ।
"के भएर लत बसेको जान्न सक्छु ?"
"अहँ सक्नुहुन्न । कुनै कुनै कुरा हरु नितान्त ब्यक्तिगत हुन्छन् । " मैले ठाडो ईन्कार गरेँ ।
"तिमी त्यस्तो हार्ने मान्छे त देखीन्नौँ ।" उसले रहस्यमय उत्तर फर्कायो ।
"मतलब ?"
"मैले धेरै सङ्गत गरेँ तिमी जस्तै अरुहरुको पनि ,अरु Rehab center र यसमाँ फरक के छ थाहा छ ? हामि तिमिहरुलाई एउटा केस मात्र मान्दैनौँ एउटा साथि मान्छौँ ,तिमिले त्यो ब्यक्तिगत कुरो पछि यसैका कुनै न कुनै कर्मचारिलाई अवश्य भन्नेछौ । त्यसमाथि करिब करिब मैले तिम्रो ब्यक्तिगत कुरा बुझेँ । म त्यो कुरा कोट्याउँदिन तर एउटा कुरा के बुझ भने संसार एउटा मान्छे मात्र हुन्न ,उसको yes अथवा no मात्र हुन्न । त्यसलाई छोडेर अघि बढ्नुपर्छ ।तिमी त्यहिँ अलमलियौ र त्यसमै गल्ति भयो ।"
"होला !"मैले सुस्तरि जवाफ फर्काएँ ।अघि मैले घुमाईरहेको पेपरवेट अहिले रोकिईसकेको थियो ।
"ठिकै छ यो कल्पनाकुञ्जमा तिम्रो सबैभन्दा नजिक रहने मान्छेलाई त भेटाईदिनै पर्यो "
उसले घण्टि बजायो । चर्को घण्टिको आदेश पालना गर्न होला एउटा मान्छे भित्र छिर्यो । मलाई घण्टिको आदेश मान्दै भित्र छिरेर छाति चौडा पारेर उभिने मान्छेहरु यन्त्र मानव लाग्छन् भावना शुन्य ,चेत शुन्य । उ पनि मलाई कुनै अपवाद लागेन ।

"सुधालाई बोलाउ त !"मेरो तन्द्रा भङ्ग गर्दै उसले अरायो ।यन्त्र मानव जसरि आएको थियो त्यसरि नै फर्कियो पनि । म मुस्कुराउँदै उसलाई हेरिरहेँ ।
"तिमि असाध्यै राम्रो मुस्कुराउँछौ ।"
"मलाई थाहा छ यो पनि तँपाई को उपचारको अंश हो ।"
"होईन साच्चै !"उसले अझै पनि मलाई बिश्वस्त पार्ने प्रयास गर्यो ।तर मलाई थाहा छ म कति राम्रि छु भनेर !

सुधा नै होला उसको कोठा नक गरेर छिर्ने ,लामो कपाल ,सुतिको कुर्ता ,लामा औँला को लामो नङ्गमा मिठो रातो रंगको नेलपोलिश ,हुन सक्ने साधारण मेक अप गरेर पनि परि जस्तै असाधारण देखिरहेकि थिई , मैले आफुलाई हेरेँ आफुलाई सुधासँग दाँजेँ , म पहिला यत्तिकि थिएँ कि थिईन त ? यति खेरको मेरो रुपरङ्गको ठ्याक्क गणितिय उल्टो केटि मान्छे बनाउनु भनेर कसैले भगवानलाई भन्यो भने पक्कै सुधा बन्छे होला ।

"सुरुचि उ सुधा हो तिम्री साथी नै भनौँ ! र सुधा उ सुरुचि ।"
"हाई " उसले हात अगाडि बढाई ,मैले पनि आफ्नो हात तेर्स्याईदिएँ ।
"ल ठिकै छ ,यति खेर सम्म तिम्रो बुवा आमाले पनि तिम्रो Admission procedure सिध्याईसक्नुभएको होला ,तिम्रा सामानहरु , गिटार ,कर्टकोबेन र ब्रायन एडम्सका सिडिहरु सबै तिम्रो कोठामा पुगिसकेका होलान हिँड जौँ बाहिर ! सुधाले तिमीलाई तिम्रो कोठा सम्म छोडिदिनेछे । "
"मेरो ब्याग चेक भएको हो ?"
"हो तर मैले तिमीलाई त्यो कुरा लुकाईन नि !"उ मुस्कुरायो । मैले उसको मुस्कानले नै गर्दा त्यो माफ पनि गरेँ ।

बुवा आमा मलाई हेर्नलाई पर्खेर बस्नु भएको रहेछ । अन्तिम पटक मैले बुवालाई ऊँगालो मारेँ ,एकछिन रोए पनि !
"मैले तँलाई अहिले सम्म केहि कुरामा गालि गरेको छैन सुरुचि तर तँ यहाँ किन आएकि नबिर्सि ,मलाई मेरी पुरानि छोरि फर्काउने प्रयास गर मेरै लागि भए पनि !"
बुवा यति भनेर बाहिर निक्लनु भयो , म त्यहिँ ऊभिएर हेरिरहेँ ।

क्रमश:

2 comments:

Anonymous said...

ग्राहक म मात्र हो कि क्य हो?

Manoj said...

ha ha ha. I am also here RB dai.