प्रिये तिमीले यो पत्र नपाएपनि(दोस्रो पत्र)(भाग-२)

भाग-१ बाट अघी
तिम्रो दिनचर्या सँधै रहस्यमय नै रह्यो ।तर मेरो बिचारमाँ तिमी सिपी र मोति जस्तो थियौ बाहिरी जगत तिमीलाई सिपी भनेर चिन्थ्यो म मोति ,तर न तिमी म सँग नजिकिन खोज्थ्यौ न म तिमी सँग नजिकिन सक्थेँ तिम्रो र मेरो अवस्था माँ मात्र चाहना र साहसको फरक थियो ।
"हामी दुई जना साथी बन्न सकिन्छ?"एक दिन मैले पानी भर्दै गर्दा तिमीलाई सोधेको थीएँ।
"पानी भर्ने साथी "चुरोटको धुवाँ भन्दा पनि पातला कुरा तिमीले धुवाँ बीचमै उडायौ ।एकोहोरो टोलाएँ ,वाल्ल परेँ ।
तिमीलाई थाहा छैन मैले तिमीलाई एक दिन पछ्याएँ ,पहिला घरबाट कति खेर निस्कन्छौ पर्खेर बसेँ अनि बिस्तारै पछ्याएँ ।तिमी त्यो दिन तरकारी किनेर फेरि कोठा फर्कियौ ,मलाई मेरो पछ्याई निरर्थक लाग्यो ,टाढा हिँडेको नजिक हिँडेको थाहा नै हुँदैनथ्यो तिम्रो ,उहि फ्याङ्टे चप्पल ,जाडोको बेलामा उहि टोपी भएको ज्याकेट ,अनि उहि पुराना लाग्ने जीन्सहरु ,जिन्स तिमी सँग धेरै थिए तर सबै पुरानै ,उस्तै लाग्थे ।

तिमीले पत्ता लगाउँदा त मैले पछ्याउन थालेको त करिब दुई चार दिन भइसकेको थियो ,शायद हफ्ता नै !
"तिमी किन मरिहत्ते गरिरहेको छौ ?"तिमीले गालि गर्यौ तर त्यो गाली पनि संगित बनेर छिर्यो मेरो कानमाँ
"म तिम्रो साथी बन्न चाहन्छु ।"त्यसपाली भने मेरो बोलि प्रष्ठ थियो ।मैले धेरै दिन मेहेनत गरेर त्यो साहस जुटाएको थिएँ ।
"तिमी साधारण को भिँडमाँ अर्को एउटा साधारण मान्छे हौ ,असाधारण बन्ने प्रयास नगर "
त्यो वाक्यको अर्थ मैले त्यति खेर पत्ता लाउन सकिन म लुरु लुरु कोठा फर्के ।धेरै केलाएँ ,खेलाएँ तिम्रा शब्दहरुलाई अनि पनि पत्ता लाउन नसके पछि मात्र त्यो रात म तिम्रो कोठा ढकढकाउन पुगेको हुँ ।
"किन तिमी माँ के छ र असाधारण ?"ढोका खोल्ने बित्तिकै मैले त्यो प्रश्न गरेँ
तिमी मुस्कायौ ,अनि मलाई भीत्र आउन भन्यौ ।मेरो प्रश्न तिमीलाई असाध्यै घत लागे जस्तो मुस्कान थियो मैले त्यतिन्जेल सम्म त्यो अनुहारमाँ मुस्कान देखेको थिइन मलाई लाग्थ्यो त्यो अनुहारमाँ मुस्कान वर्जित छ ,रोक छ मात्र धुवाँ छ वरिपरि त्यो अनुहारको ।म केहि नबोलि भित्र छिरेँ ।
"कफि लिन्छौ?"
"मेरो प्रश्नको उत्तर खोई ?"म अडिग थिएँ त्यो दिन एउटा नजानिँदो शक्तिले म मा सहन शक्ति भरे जस्तो भएको थिएँ ।तिम्रो अघि पर्न साँचै ठुलै सहनशक्ति चाहिन्छ ।
"किन तिमी बुट्टा भरिसकेका कल्पना लाई च्यात्न यस्तो उत्ताउलो भएको?"तिम्रो मुस्कान यथावत थियो अनि तिम्रा शब्दहरु! म धेरैजसो त तिम्रा शब्दहरुको अर्थ नै निकाल्न सक्दिनथेँ ,अहिले जब म तिनै शब्दहरु दोहोर्याउँछु मलाई सबै प्रष्ठ भएझैँ लाग्छ कुनै ध्यानमाँ बसेको जोगिले ग्यान पाए जस्तो !
मैले त्यो रात पनि केहि पत्ता लाउन सकिन तर तिम्रो मा खाएको कफिको स्वाद जिब्रोमाँ लट्पटिरह्यो ।
त्यसको भोलिपल्ट तिमी झ्वाट्ट मेरो कोठामाँ छिरेकि थीयौ!अस्तब्यस्त कोठा देखेर मलाई चाहिँ सारै रिस उठ्यो ।किन म ध्यान दिन्न सरसफाईमाँ ?तिमीले चुरोट खाने साथी नपाएर आएको भन्यौ ।त्यहि दिन चाहिँ तिमीलाई साथि किन चाहियो मैले खुट्याउन सकिन तर शायद त्यो बिहानको सर्प्राईज गिफ्ट थियो भगवानको मलाई ,कहिले काहिँ त्यहि कुरा पाउन कति पैताला घस्नु पर्छ ,कहिले त्यहि कुरा हिँडेर आफुकहाँ आउँछ । तिमीले आधा जलेको चुरोट मतिर तेर्स्याउँदा मलाई मायालुको आधा म्रित्यु भागबन्डामाँ परेर लिए झै लाग्यो ।मैले हाँसी हाँसी म्रित्यु अंगालेँ ।


समय को बिताइ सँगै तिमी बिस्तारै खुल्दै गयौ । म तिमीलाई कोण कोणबाट बुझ्ने प्रयास गर्थेँ ति दिनमाँ ।
"तिमीलाई आज एउटा कुरा भन्नु छ ,म तिमीलाई भन्ने पनि थिइन तर तिमी म मा अलि बढि नै इन्ट्रेस्टेड छौ झैँ लाग्यो ।" मेरो कानमाँ तिम्रो यो शब्द अझै पनि गुन्जिरहन्छ कुनै वार्निङ बेल झै । त्यति खेर मलाई तिम्रो कुनै पनि कुरा म बाट लुकेका छन् झै लाग्दैनथ्यो तर कुन गाँठो चाँडो खुल्ने र कुन ढिलो खुल्ने गाँठोको प्रक्रिति ,गाँठोको आकार र खोल्ने मान्छेको बलमाँ भर पर्दो रहेछ ।त्यो गाँठो त्यहि समयमाँ फुस्किनु पर्ने रहेछ ।
मैले नभन भन्ने कारण देखिन तर जब तिमीले "आइ एम एच आइ भि पोजिटिभ" भन्यौ मलाई लाग्यो नसुनेको भए हुने रहेछ ।तिम्रो मुस्कान यथावत थियो ,म्रित्यु माथि विजय पाए जस्तो ,तिमीले चुरोट फेरि सल्कायौ त्यहाँ म्रित्युलाई अंगाले जसरि त्यति खेर मात्र मलाई तिम्रा वाक्य वाक्य को अर्थ पत्ता लाग्यो,
"तिमी साधारण को भिँडमाँ अर्को एउटा साधारण मान्छे हौ ,असाधारण बन्ने प्रयास नगर "
"किन तिमी बुट्टा भरिसकेका कल्पना लाई च्यात्न यस्तो उत्ताउलो भएको?"


मेरो बिहेको कुरा चल्दा मैले तिमीलाई नै पहिले सुनाएको थिएँ ।तिमीले मुस्कुराउँदै एउटा सोझो केटो पाएको त्यो पनि छुट्यो भन्यौ ।मलाई तिम्रो वास्तविकता थाहा पाए पछि झन माया बढे झै भयो ,तर शायद जीवन सम्झौता हो मैले पनि सम्झौता गरेँ ।बिहे को लागि घर जाने दिन तिमी मेरो कोठामै थियौ ,म अझै सम्झन्छु तिमीले मेरा ओठ त्यो दिन चुमेको ,जब बिहा पछि कानुनि रुपले म मेरी पत्नि को भएको थिएँ उस्ले चुम्दा मेरो ओठ पोले झैँ हुन्थ्यो ।

जब म फर्केर आएँ त्यो कोठामाँ तिमी थिइनौ ,मैले अचम्म मानिन ,आज सात बर्ष बित्यो प्रिये तिमिले यो पत्र नपाए पनि लेख्दैछु ।

1 comment:

Anonymous said...

ho ho jiban vanekai samjhauta ho. jo samjhauta garna sakdainan uniharu tikna sakdainan. Ani chumdakheri otha pole chanhi kunai rog lagera hola. Doctor sanga consult garda hunchha.